तस्वीर- एक्स/बीजेपी

अन्तर्राष्ट्रिय

भारतले मनायो स्वतन्त्रता दिवस

By खबरहब

August 15, 2023

नयाँ दिल्ली- भारतले आज आफ्नो ७७ औँ स्वतन्त्रता दिवस मनाएको छ । सन् १९४७ अगस्ट १५ मा अंग्रेज शासनबाट स्वतन्त्र भएको दिनको स्मरणमा भारतमा हरेक वर्ष स्वतन्त्रता दिवस मनाइन्छ ।

दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँ दिल्लीको लाल किलाबाट सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले नयाँ युगमा भारतले कहिल्यै नथाक्ने र हार नमान्ने उद्घोष गरे । सन् २०१४ मा सत्तामा आएका मोदीले आजसमेत १० औँ पटक स्वतन्त्रता दिवसका दिन लाल किलाबाट सम्बोधन गरिसकेका छन् ।

प्रधानमन्त्री मोदीले ७७औं स्वतन्त्रता दिवसको अवसरमा देशवासीलाई बधाईसमेत दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘तपाई सबैलाई स्वतन्त्रता दिवसको धेरै धेरै शुभकामना । यस ऐतिहासिक अवसरमा अमृतकलमा विकसित भारतको संकल्पलाई बलियो बनाउनुहोस् । जय हिन्द !’

स्वतन्त्रता दिवसको कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वतन्त्रता दिवसमा १० हजारभन्दा बढी सुरक्षाकर्मीहरु खटाइएको छ ।

आइतबार मध्यरातदेखि नै ठूला सवारी साधनलाई राजधानी प्रवेश गर्न रोक लगाइएको छ । सिमानाको निगरानी र गुप्तचर संकलनका लागि जवान तैनाथ गरिएको छ ।