वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय « Khabarhub

वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कावासोती- नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन् । नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरुले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन् । केही वर्षअघिसम्म काँधमा जाल बोकेर नदीमा माछा मार्न जाने बमबहादुर मुसहर हिजोआज साइकलमा तरकारी बोकेर हाटबजार जाने गर्छन् ।

“वैकल्पिक पेसा नखोजे त भोकै मरिन्छ । तरकारी बेचेर मनग्य कमाइ भइरहेको छ । जीविकोपार्जनमा पनि सहज हुँदै गएको छ”, उनले भने । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती छेउको सानो घर र घरनजिकैको सामूहिक प्लटमा आफैँले फलाएका स्थानीय जातका तरकारी बेच्ने बमबहादुर कहाँ ग्राहक झुम्मिने गरेका छन् ।

उनले लुँडे, खोले साग, फर्सीको मुन्टा, लोकल खुर्सानी, केरुङ साग, मकै, बोडी र ताजा निगुरो बेच्छन् । कावासोती हाटबजारमा प्रत्येक हप्ताको सोमबार, बुधबार र शनिबार बमबहादुर साइकलमा तरकारी बोकेर हाट लाउन जाने गरेका छन् ।

“नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएको हाम्रो परिवार अहिले तरकारी बेच्न हाटबजार आउने गरेका छौँ”, उनले भने, “पुगेसम्म त आफैँले उत्पादन गरेका तरकारी बेच्छु । व्यापार त गर्नै पर्छ, कहिलेकाहीँ स्थानीय उत्पादन पनि खरिद गरेर बेच्ने गरेको छु ।” पुर्ख्यौली पेसा सङ्कट आउन थालेपछि आफूहरू वैकल्पिक आयआर्जनको बाटोतर्फ लागेको स्थानीयवासी रमिया मुसहरले बताइन् ।

“हुन त हाम्रो परम्परागत पेसा माछा मार्ने नै हो तर यो पेसामा समस्या आउन थाल्यो । नदीमा माछा पाइन छाड्यो”, उनले भनिन्, “निकुञ्जको निगरानी पनि बढ्दै गयो । गैँडा, बाघलगायत जङ्गली जनावरको जोखिम भएकाले मुसहर समुदाय पेसा परिवर्तनतर्फ लागेका हौँ ।”

पछिल्लो समय कृषि पेसाबाटै जीविकोपार्जन गर्दै आएका स्थानीयवासी धर्मबहादुर मुसहर मछुवारी पेसाभन्दा खेतीकिसानीले परिवारमा केही खुसियाली थपिएको बताए । उनका अनुसार केही मुसहर परिवारले बस्ती छेउकै खाली जग्गामा खनिएको माछा पोखरीमा रहु, नैनी, कमनलगायतका उन्नत जातका माछा पालेर थप आयआर्जन पनि गर्ने गरेका छन् ।  माझी, मुसहर र बोटे समुदायका मानिसमा चेतनाको विकास भएसँगै माछा मारेर मात्र जीवन नचल्ने देखेर अन्य पेसा अँगाल्ने क्रम बढेको स्थानीयवासी सन्तबहादुर माझीले बताए ।

“माझी, मुसहर र बोटे समुदायका मानिसहरू अहिले खेतीपाती, ज्याला मजदुरी, वैदेशिक रोजगारी र कतिपय  सिकर्मी÷डकर्मी पेसातर्फ उन्मुख भएका छन्”, उनले भने, “पहिलेपहिले तराई क्षेत्रमा आवादी खुले पनि राज्यसँगको पहुँच नहुँदा जग्गा, जमिन जोड्ने कुराबाट वञ्चित मुसहर समुदाय कतिपय स्थानीय बस्तीका किनारमा झन्डै दुई पुस्तादेखि भूमिहीन अवस्थामै छन् ।”

नदी, खोलाको माछा र निकुञ्जको निगुरो, तामामा आश्रित यो समुदाय पेसा परिवर्तन गरेर निकुञ्जबाट बाहिर निस्कने प्रयास गरे पनि आर्थिक उत्थानमा राज्यको नजरबाट भने ओझेलमै रहेको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  २ : ४३ बजे

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी

उपराष्ट्रपति यादवबाट ‘ईद उल फित्र’ को शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा