विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

आज आश्विन २८ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर १५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

हमाससँग १२६ जना बन्धक रहेको इजरायलको दाबी

प्यालेस्टाइनी लडाकु समूह हमासले ८ दिनअघि घातक आक्रमण गरेयता १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा कम्तीमा एक हजार ३०० जनाको मृत्यु भएको र करिब १५० इजरायली र विदेशी बन्धक बनाएको हुनसक्ने अनुमान इजरायली अधिकारीहरूले गरेका थिए ।

त्यसयता इजरायली बमबारीमा प्यालेस्टाइनी इलाकामा दुई हजार ३०० भन्दा बढीको मृत्यु भइसकेको छ भने दशौं हजार सैनिकहरू आक्रमणको तयारीका लागि गाजाको सीमामा जम्मा भएका छन् ।

सेनाका प्रवक्ता रिचार्ड हेक्टले पनि हमासले एक्कासी गरेको आक्रमणको जवाफमा सुरु गरिएको सैन्य कारबाहीका क्रममा २८६ इजरायली सैनिकको मृत्यु भएको बताएका छन् ।

इजरायली अधिकारीहरूले दक्षिणी इजरायलमा हमास आक्रमण स्थलबाट शवहरू फेला परेका र पहिचान गरिएकाले ज्ञात बन्धकहरूको सङ्ख्यामा परिमार्जन गरिएको बताएका छन् ।

हेक्टले एक ब्रिफिङमा १२६ जनालाई हमासले बन्धकको रूपमा लगेको ‘पुष्टि’ भएको बताएका छन् ।

यो सङ्ख्या शनिबार १२० बाट बढेको थियो र अधिकारीहरूले आगामी दिनहरूमा यो सङ्ख्या परिवर्तन भइरहने चेतावनी दिएका छन् ।

सेनाले गाजामा छापा मार्दा बन्धक बनाइएका केही व्यक्तिको शव फेला पारेको पनि बताएको छ ।

हमासले इजरायली आक्रमणमा २२ जना बन्धक मारिएको दाबी गर्दै आएको छ । उसले अघोषित इजरायली आक्रमणको जवाफमा बन्धकहरूलाई मार्ने चेतावनी दिएको छ ।

यौन दुर्व्यवहारको आरोपमा राष्ट्रसङ्घले ९ जना शान्ति सैनिकलाई फिर्ता गर्दै

संयुक्त राष्ट्रसङ्घले यौन तथा अन्य दुर्व्यवहार गरेको आरोपमा पूर्वी कङ्गोमा कार्यरत दक्षिण अफ्रिकी दलका नौ शान्ति सैनिकलाई फिर्ता गर्ने बताएको छ ।

शान्ति सैनिक र दक्षिण अफ्रिकाका एक वरिष्ठ अधिकारीलाई ‘उनीहरूविरुद्धको आरोपको गम्भीरता’ लाई ध्यानमा राख्दै तत्काल स्वदेश फिर्ता गर्ने निर्णय गरेको राष्ट्रसङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती वरिष्ठ अधिकारीले आफूमाथि लागेको आरोपको अनुसन्धानमा अवरोध गरेका र अन्य शान्ति सैनिकलाई धम्की दिएको बताइएको छ ।

अन्य दुई वरिष्ठ अधिकृतलाई पनि बदलिने राष्ट्रसङ्घले जनाएको छ । पूर्वी कङ्गोमा शान्ति स्थापनार्थ १२ हजारभन्दा बढी शान्ति सेना तैनाथ गरिएको छ । यस क्षेत्रमा एक सयभन्दा बढी सशस्त्र समूह सक्रिय रहेको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घको आफ्नो प्रारम्भिक मूल्याङ्कनमा कर्फ्युको समय सकिएपछि नौ शान्ति सैनिक वेश्यावृत्ति हुने निषेधित बारहरूमा गएका थिए ।

उनीहरूमाथि शान्ति मिसनका कर्मचारी र उनीहरूलाई पक्राउ गर्न खोज्ने सैनिकहरूमाथि समेत आक्रमण गर्न खोजेको आरोप लगाइएको छ । दक्षिण अफ्रीकी अधिकारीहरूले आफ्नो राष्ट्रिय अनुसन्धानकर्मीको परिचालनमार्फत पूर्ण सहयोग हुने सङ्केत गरेको राष्ट्रसङ्घले जनाएको छ ।

अधिकारीहरूले पीडितलाई सहयोग गरिने तथा शान्ति स्थापना मिसन कार्यमा राष्ट्रसङ्घको मानकलाई कायम राखिने प्रतिबद्धता व्यक्त गरेका छन् । कङ्गोदेखि हैटीसम्मा परिचालन गरिएका राष्ट्रसङ्घका शान्ति सैनिकबाट हुने यौन दुर्व्यवहारका यस्ता आरोप विश्वका विभिन्न भागमा नयाँ होइन । थुप्रै घटनामा पीडितहरू बालबालिका हुने गरेका छन् ।

दुर्व्यवहारको घटना विशेषगरी कङ्गोमा धेरै भएको छ । सन् २०१७ मा राष्ट्रसङ्घका विरुद्ध विश्वभर गरिएको दुई हजार यौन दुर्व्यवहारका घटनामा कङ्गोमा मात्र एक तिहाइ भएको थियो ।

राष्ट्रसङ्घमाथि यस्ता आरोपहरूको सम्बोधनका लागि पर्याप्त काम नगरेको आरोप समेत लाग्दै आएको छ । गत वर्ष महासचिव एन्टोनियो गुटेर्रेसले यस्ताखालका दुर्व्यवहारलाई उचित सम्बोधन गर्ने नसकिए पनि निरन्तर प्रयास गरेको बताएका छन् ।

इसरोले अक्टोबर २१ मा पहिलो गगनयान मिसन सञ्चालन गर्ने

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोका प्रमुख डा एस सोमनाथले भारतीय अन्तरिक्षा यात्री परियोजना गगनयानको हिस्साका रूपमा ‘टिभी–डी१’ (टेस्ट डेभलपमेन्ट फ्लाइट १) को पहिलो परीक्षण उडान कात्तिक ४ (अक्टोबर २१) मा हुने बताएका छन् ।

उनका अनुसार डी१ को उडानपछि यस्तै प्रकृतिका कम्तीमा तीन वटा परीक्षण गरिने छ । आगामी वर्षको अन्त्यमा मानव अन्तरिक्ष उडानका क्रममा भारतीय अन्तरिक्षा यात्रीहरूलाई राख्ने क्रु मोड्युलको परीक्षण गर्नका लागि टिभी–डी १ को परीक्षण उडान आन्ध्र प्रदेशको श्रीहरिकोटामा सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिने छ ।

“टिभी–डी१ मिसन अक्टोबर २१ का लागि निर्धारण गरिएको छ, यो गगनयान कार्यक्रम हो, गगनयान कार्यक्रमका लागि क्रु इस्केप सिस्टमको प्रदर्शन र परीक्षणको आवश्यकता छ, गगनयान कार्यक्रममा क्रु इस्केप सिस्टम धेरै महत्वपूर्ण छ”, इसरो प्रमुख सोमनाथले मदुराईमा पत्रकारहरूसँग भने ।

टिभी–डी१ परीक्षण उडानमा क्रु मोड्युललाई बाह्य अन्तरिक्षमा प्रक्षेपण गर्ने, त्यसलाई पुनः पृथ्वीमा फर्काउने र बङ्गालको खाडीमा टचडाउनपछि पुनःप्राप्ती गर्ने कार्यक्रम समावेश छ ।

“त्यसैले क्रु इस्केप सिस्टम प्रदर्शन गर्ने उक्त उडानको एक अवस्था हो, हामीले देखाउने यो अवस्थालाई ट्रान्सोनिक अवस्था भनिन्छ, प्रत्येक महिना हामी कम्तीमा एउटा उडान गर्नेछौँ, टिभी–डी१ को परीक्षण उडानपछि हामीसँग जीएसएलएभ र एसएसएलएभ हुनेछ ।

त्यसपछि मानवरहित गगनयान मिसन सुरु हुनेछ, यो बीचमा पीएसएलएभ उडान हुनेछ, त्यसैले जनवरीअघि तपाईँले कम्तीमा चारदेखि पाँचवटा उडान देख्नुहुनेछ”, सोमनाथले भने ।

‘स्थिति नियन्त्रणको सुनिश्चितता कसैले पनि गर्न नसक्ने’ इरानको चेतावनी

इरानले गाजा पट्टीमा इजरायली भूमि आक्रमणले मध्यपूर्वका अन्य स्थानमा द्वन्द्व बढाउनसक्ने चेतावनी दिएको छ ।

इजरायली सेना सीमामा तैनाथ रहेका बेला इरानी विदेशमन्त्री होसेन आमिर अब्दुल्लाहियन र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ ।

इरानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कसैले पनि स्थितिको नियन्त्रण र द्वन्द्वको विस्तार नगर्ने ग्यारेन्टी दिन सक्दैन ।”

“युद्ध र सङ्कटको दायरा विस्तार हुनबाट रोक्न चाहनेहरूले गाजामा प्यालेस्टिनी नागरिक र सर्वसाधारणविरुद्ध वर्तमान बर्बर आक्रमणहरू रोक्न आवश्यक छ,” उनले भने ।

अमिर अब्दुलाहियानले अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमा गरेको आक्रमणमा एक हजार ३०० जनाको ज्यान जाने गरी भएको आक्रमणपछि अमेरिकाले इजरायललाई स्पष्ट समर्थन गर्दै आएको भन्दै आलोचना गरेका छन् ।

हमासका नेतालाई लक्षित गरी गरिएका इजरायली हवाई आक्रमणमा परी दुई हजार ३०० भन्दा बढीको मृत्यु भएको छ । दुवैतर्फ मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका छन् ।

वासिङ्टनमा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अमेरिकालाई इजरायलको लामो समयदेखिको शत्रु र हमासको समर्थक इरान ‘प्रत्यक्ष संलग्न’ हुने सम्भावना रहेकोले युद्ध बढ्ने डर रहेको बताएका छन् ।

इराक, लेबनान र सिरियाको क्षेत्रीय भ्रमणका क्रममा इरानका उच्च कूटनीतिज्ञ आइतबार कतार पुगेका थिए ।

इजरायलले लेबनानसँगको संयुक्त राष्ट्रसङ्घको गस्तीमा रहेको उत्तरी सीमामा सैनिक र ट्याङ्क तैनाथ गरेको छ भने इरान समर्थित लडाकू समूह हिजबुल्लाहसँगको घातक गोली हानाहानपछि चार किलोमिटर (२.५ माइल) चौडा क्षेत्र सर्वसाधारणका लागि बन्द गरेको छ ।

इजरायललाई समर्थन गर्ने पश्चिमा देशहरूले द्वन्द्वको क्षेत्रीय फैलावटविरुद्ध चेतावनी दिएका छन् ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इजरायलविरुद्ध शत्रुतापूर्ण गतिविधि रोक्न अमेरिकाले यस क्षेत्रमा दोस्रो विमानवाहक पोत तैनाथ गरेको बताएका छन् ।

हमासले गत साताको आक्रमणमा १०० भन्दा बढीलाई बन्धक बनाएको एजरायलले दावी गरेको छ ।

इरानी विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा अमिर अब्दुलाहियानले बेरुत र दोहामा हमासका उच्च अधिकारीसँग भेटवार्ता गरेको र उनीहरूले नागरिक बन्धकको मुद्दालाई प्राथमिकता दिएको र आवश्यक कदम चाल्ने बताएका छन् ।

तर ती के हुनेछन् भन्नेबारे थप विवरण दिइएको छैन ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ८ : ०५ बजे

दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

दोलखा – दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई

वर्ल्डलिङ्कको रिट खारेज हुँदा राज्यकोषको अर्बौं रकम सुरक्षित

काठमाडौं – सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

चितवन – सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न

स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्पष्ट योजनाका साथ