भ्रष्टाचारको कारण नै संसदीय व्यवस्था बन्यो | Khabarhub Khabarhub

भ्रष्टाचारको कारण नै संसदीय व्यवस्था बन्यो


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा मुलुकमा मिलीजुली सरकार बनेको एक वर्ष पुग्नै लागेको छ। तर पछिल्लो समय प्रधानमन्त्रीको काम र अभिव्यक्ति विवादमा तानिन थालेको छ। जसका कारण प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको भूमिकामा रहेका व्यक्तिले राजीनामा दिएका छन्। आखिर क्रान्तिबाट शान्तिपूर्ण राजनीतिमा आएर पटक–पटक सिंहदरबारको नेतृत्व गरेको व्यक्ति किन विवादित र अन्योलग्रस्त अवस्थाबाट गुज्रिरहेको छ ? किन टुट्दै छ पुराना दलमाथिको विश्वास ? वरिष्ठ चिकित्सक, नागरिक अगुवा डा.सुन्दरमणि दीक्षितसँग कृष्ण तिमिल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंहरूले अगुवाको भूमिका खेलेर शान्ति प्रक्रिया मार्फत राज्यमा स्थायित्व ल्याउने भन्दै ल्याएको माओवादी किन यस्तो भयो आज ?
माओवादीको युद्ध सुरु भएको बेलामा युद्ध नै हुन्छ भनेर हामीले पनि विचार गरेका थिएनौँ। सानो समूहमा चार वटा भरुवा बन्दुकबाट सुरु भएको थियो त्यो आन्दोलन। तर जब उनीहरूले कुरा उठाउँदै गए, त्यसपछि सरकार परिवर्तन हुँदै गएको थियो। सरकारको काम त्यसै पनि आलोचित नै हुन्छ। त्यसमा पनि उनीहरूले उठाएका कुरा जसमा अन्यायलाई नियन्त्रण गर्नुपर्छ भन्ने सवाल थियो। अरु पनि उनीहरूले उठाएका कुरा जायज थिए।

पछि गएर उनीहरूको ज्यादती बढ्दै गयो। जघन्य अपराधहरू पनि हुँदै गए। उनीहरूले उठाएका धेरै मुद्दाहरू सही थिए भनेर हामीले समर्थन दियौँ। तर पछि अब ज्यादती भयो र लक्ष्मण रेखा पार भयो भनेर मैले लेखेको पनि थिएँ। त्यसपछि उनीहरू शान्तिपूर्ण वातावरणमा आए। प्रचण्ड चुनाव जितेर आए। त्यत्रो जनयुद्ध गरेर आएको मान्छे प्रधानमन्त्री हुनु भनेको एकदमै राम्रो कुरा थियो। त्यसपछि हामीले प्रचण्डको नेतृत्व माओवादी आएर केही गर्लान भन्ने सोचेका थियौ। तर प्रचण्डले आउने बित्तिकै कटवाल काण्डमा गल्ती गर्नुभयो।

त्यसपछि पनि हामी ठिकै छ जनयुद्धमा आर्मी र उनीहरूको झगडा परेकै हो। त्यसैले कटवाल काण्ड गराए भनेर त्यसलाई पनि ठिकै छ भन्यौँ। पहिलो पटक प्रधानमन्त्री हुँदा त्यही काण्डले असफल भएर राजीनामा पनि दिनु परेको थियो। दोस्रो पटक प्रधानमन्त्री भएर आएपछि त्यसबेला सुधार गर्छन् भन्ने थियो तर भएन। भ्रष्ट्राचार रोक्छन् भनेर सोचेका थियौँ त्यो हुँदै भएन। अहिले आएर त प्रचण्ड मै लाऊँ, मै खाऊँ जसरी भए पनि सत्तामा टिकौँ भन्ने भए। सुरुदेखि नै माओवादीको कुनै नैतिकता र आचरण नै देखिएन। तीन पटक प्रधानमन्त्री हुँदा पनि उनका सहयोगीले केही गर्न सकेनन्। हामीलाई प्रचण्डले जे भनेर आएका थिए त्यो केही गरेनन् हामीलाई र पुरै माओवादी युद्धलाई नै धोका दिए।

प्रचण्डमा आएको यो परिवर्तनको कारण पनि खोज्नु पर्ला नि ?
मान्छेको शक्ति धान्न सक्ने क्षमता हुनुपर्छ। जस्तो नेल्शन मण्डेला, सिंगापुरको ली क्वान यु, भरतका महात्मा गान्धी यी सबै शक्तिमा पुगे। सत्तामा पुगेपछि जनताको समस्या, मर्का र पिरमा डुबे तर यहाँ प्रचण्डले पैसा र शक्ति धान्न सकेनन्। आफ्ना तहका सहयोगीहरूलाई पनि पन्छाउँदै गए। उनी आफ्नो परिवारवादमा गए। लोभले उनलाई घेर्याे। प्रचण्डलाई भ्रष्ट्राचारले धेरै घेरेको देखिन्छ। हुँदाहुँदा माओवादीको विचार त्यागेर कांग्रेससँग मिलेर गएका छन्। मुलुकको लागि राष्ट्रियता, राष्ट्रवादी देखिएनन्।

प्रचण्डको व्यक्तित्वमा आएको परिवर्तन ठुलो देखिन्छ। त्यो सर्वहारा गरिब वर्ग र अहिलेको सर्वहारा गरिब हेर्ने चस्मामा परिवर्तन ल्याउनुमा अन्तर्राष्ट्रिय शक्तिको भूमिका छ कि छैन ?
छैन, कोही आफूमाथि हाबी गर्न खोज्छ भने त्यो आफ्नो शक्तिमा भरपर्छ। कुन उद्देश्यले जनयुद्ध गरेको त्यो हुनुपर्छ। म यता लडे उसले मलाई फकायो भनेर राज नेताले भन्न पाउँदैन। महात्मा गान्धीले आफ्नो परिवारलाई ओझेलमा पारेर जनता नै परिवार हुन् भनेका थिए। त्यस्तो व्यक्ति हुनुपर्छ। १७ हजार व्यक्तिको मृत्यु हुनेगरी भएको त्यो जनयुद्धको विचार त्याग्नु हुँदैन। लोभ सबैलाई लाग्छ तर नेता बन्ने ठुला व्यक्ति लोभमा फस्नु हुँदैन। तर जसमा प्रचण्ड फसे।

त्यो जनसत्ता र त्यो जनअदालत भनेर उनीहरूले देखाएको सपना यो राज्य सत्ता र यो न्यायालयबाट अनुभूति गराउन किन सकेनन् ?
अहिले उनी मै लाऊँ, मै खाऊँ भन्नमा लागे। जनयुद्धमा युवाहरू धेरै मरे प्रचण्ड दिल्लीमा बसेका थिए। उनका परिवारमा कसैलाई गोली लागेन। त्यस्तो मान्छे सत्तामा आउँदा पनि केही गर्न सकेनन्। केही गर्न नसकेपछि उनका सपना र नारा अधुरा भए।

जनयुद्धको बेलामा प्रचण्डले देखाइएको सपना नै काल्पिनिक थियो ?
प्रचण्डले जुन कुरा उठाएर अगाडि बढेका थिए। उनको त्यो विचार नै होइन रहेछ । उनको त कसरी शक्तिमा जाने कसरी सत्ताबाट फाइदा लिने भन्नेमा मात्र ध्यान रहेछ। जनयुद्ध सकेर आएर पनि चुनाव जितेर आएका थिए। हामीले देख्दा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले उठाएका भ्रष्टाचारका मुद्दामा प्रचण्डले साथ दिएको जस्तो देखिएको थियो। र हामीले भन्यौँ २००७ सालदेखि भएका भ्रष्टाचार अब बन्द हुन्छ किनभने पछिल्लो समय सार्वजनिक भएका तीन भ्रष्टाचारका मुद्दामा यिनले टुङ्गो लगाएर दण्ड दिन सके प्रोत्साहन हुन्छ भनेका थियौँ। पछि जनयुद्धको बेला जस्तै भयो। हुँदा हुँदा अहिले त एनसेल काण्ड आयो। त्यसैले प्रचण्डको बोलीमा र गराइमा आकाश पातालको फरक छ। प्रचण्डको बोलीमा नैतिकता देखिएन।

लोकतन्त्र र संविधान जारी भएपछिको परिवर्तन र वास्तविकतालाई कसरी हेर्नु हुन्छ ?
नेपालको परिवर्तनमा लोकतन्त्र भित्र संसदीय व्यवस्था जुन अपनायौँ त्यसलाई राम्रोसँग विश्लेषण नगरी ल्यायौँ। तर अहिले हेर्दा त्यो प्रणाली २००७ सालदेखि अहिलेसम्म हामीलाई फापेन। हामीले यो व्यवस्था परिवर्तन गर्नुपर्छ। प्रचण्डले यसपाली चुनावमा जाने बेलामा म कार्यकारी राष्ट्रपतिको लागि लड्छु, यो संविधानलाई परिवर्तन गर्नको लागि लड्छु भनेका थिए। एमालेले पनि यो भएन अब हामी पनि यो देशव्यापी चुनिएको प्रधानमन्त्री प्रणालीमा हामी जान्छौँ भनेर वचन दिएको थियो। तर चुनाव सकिने बित्तिकै हातमा शक्ति आइहाल्यो। त्यसपछि त्यो वचन सकियो र हामीलाई यहाँ धोका भयो।

त्यसैले हामीले यो संसदीय व्यवस्था अर्को ७० वर्ष चलाउँदै गयौ भने नेपाल डुब्छ। यहाँ व्यवस्था फ्याँक्ने भन्यो भने देशद्रोही भन्छन्। व्यवस्था फ्याक भनेको हो, लोकतन्त्र फ्याक भनेको होइन। लोकतन्त्र भित्र अनेक पद्धति छन्। अमेरिका र बेलायतको एउटा पद्धति छ। इन्डियाबाट सर्लक्क यो व्यवस्था ल्याए, त्यो हामीलाई फापेन। त्यसैले हामीले संविधानलाई परिवर्तन गरेर कार्यकारी राष्ट्रपतिमा जानुपर्छ। संसदीय व्यवस्थामा नै जाने हो भने भ्रष्टाचारको मुल कारण नै संसदीय व्यवस्था हो। नेपाल डुबेको आज भ्रष्टाचारबाट हो र भ्रष्टाचार मौलाउने व्यवस्था नै संसदीय व्यवस्था भएको छ।

सङ्घीयताले डुबाउने हो कि गणतन्त्रले डुबाइराखेको छ ?
सङ्घीयताको हामीले धेरै वकालत गर्यौं। पिछडिएका व्यक्तिहरूको पहिचान गरौँ, सम्मान गरौँ, उन्नति गरौँ भनेर हामी सङ्घीयतामा गयौँ। तर माथिको कुहिएको सिस्टम संसदीय व्यवस्था जुन छ। त्यहाँबाट गलत भयो। । हामीले त्यहाँका जनजाति दलित माहिला उठुन् भन्यौँ र सबै त्यहाँ गएर थुप्रियो। अहिले हेर्दा सङ्घीयता हामीलाई घाँडो भयो। त्यसैले अब तत्काल संसदीय व्यवस्था र सङ्घीयताको बारेमा छलफल गरेर अगाडि बढ्नुपर्छ।

यसमा पनि पुराना पार्टी लागेका छैनन्। नयाँमा हेर्ने समय छ। उनीहरूलाई अवसर छ। यही फोहोर नालीमा बसेर पैसा कमाउने बेलासम्म पुरानाहरू संसदीय व्यवस्थामा नै बस्न चाहन्छन्। अहिले गगन थापा, बालेन साह, हर्क साम्पाङ, रवि लामिछाने उठेको भए उनीहरूले केही गर्न सक्छन् कि भन्ने हुन्थ्यो। अहिलेका पुराना दलहरू त यही प्रणालीमा बस्छन्।

अब समाउने ठाउँहरू सकिँदै गएका छन्। नयाँ पार्टीहरू आएका छन् सुधारको धारणा आएर कुनै पार्टी रूपान्तरण हुन सक्ला कि ?
प्रचण्डबाट अब रुपान्तरणको धारणा आउँदैन। मैले देखेको देश प्रतिको माया केपी ओलीमा छ। किनभने त्यो रोगी मान्छे आज देशको माथिल्लो भागमा यो चिसोमा गएका छन्। उनलाई त रुघाखोकी लाग्यो भने मर्न पनि सक्छन्। उनले संसद् पनि भङ्ग गरेका छन्। उनका छोराछोरी श्रीमती फस्टाएको पनि देखिँदैन। रविको पार्टी आउला तर ठुलो संख्याले आउन सक्दैनन्। राजेन्द्र लिङ्देनको पनि त्यति संख्या छैन। पैसा ठुला दलसँग नै छ। ओलीसँग अहिलेका नयाँ पार्टी एक भएर गए भने अहिलेको गठबन्धनलाई हराउन सक्छन्।
नेपाली जनताले पनि भोट हाल्न आफ्नो विवेकलाई प्रयोग नगर्ने रहेछन्। त्यसैले मेरो विचारमा राष्ट्रपतीय प्रणालीमा नगई नेपाल अब उठ्नै सक्दैन। दलदलमा फसिसकेको नेपालबाट भ्रष्टाचार निर्मुल हुनै सक्दैन।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ११ : ०२ बजे

सुदूरपश्चिममा ३४ प्रतिशत मात्र बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच

झापामा सम्बन्धविच्छेदका मुद्दा बढे

भद्रपुर– गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको

गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक

हिन्दु धर्ममा पूजाआजाको सुरुमा किन लिइन्छ संकल्प ? 

काठमाडौं– हिन्दु धर्ममा पूजाको निकै महत्त्व रहेको छ । पूजा

नीति तथा कार्यक्रम अघि संसद भवनमा रिहर्सल (तस्बिरहरु)

काठमाडौं– सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम