दिनभर आज बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा सर्वोच्चको रोक, रेशम चौधरी नछुट्ने, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर, सरकारद्वारा मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा, नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई पार्टीबाट निलम्बन गर्न महामन्त्री थापाको माग, देउवा कानून, देउवा कानून, न्याय तथा मानव अधिकार समितिको सभापति लगायतका समाचारले प्रमुख स्थान पाए ।
बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा सर्वोच्चको रोक
सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा रोक लगाएको छ ।
सरकारको सो निर्णय तत्काल लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अदालतले दुबै पक्षलाइ छलफलका लागि बोलाएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश दिएको हो । सरकारलाई न्यायाधीश रेग्मीको इजलासले कारण देखाऊ आदेश पनि जारी गरेको छ भने जेठ ८ गते अन्तरिम आदेशका सम्बन्धमा सुनुवाइका लागि रिट निवेदक र सरकारी पक्षलाई बोलाएको छ ।
सरकारको सो निर्णयविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणनले रिट दायर गरेका थिए ।
रेशम चौधरी नछुट्ने, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर
रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो ।
अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्ने दाबीसहित उनको जन्मकैदको फैसला सदर भएको हो ।
सरकारद्वारा मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा
सरकारले जनआन्दोलनमा घाइते भई केही दिन अघि निधन भएका मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जनआन्दोलनमा घाइते भएर केही दिनअघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
जनआन्दोलनमा घाइते भएका मुकेशको वैशाख २७ गते मृत्यु भएको थियो ।
बैठकले एपिजी बैठकमा भाग लिन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको टोलीलाई स्वीकृति दिएको छ । त्यस्तै मोतीपुर सवस्टेशन निर्माणका लागि बाणगंगा नगरपालिकामा १५ बिगाहा जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय भएको छ ।
त्यस्तै बैठकले बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकको विस्तारित सडक सीमाभित्रका घर टहराहरू हटाई क्षतिपूर्ति दिने निर्णय गरेको छ भने तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता शर्माले बताइन् ।
त्यस्तै प्रवक्ता शर्माले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सरकारको भन्दापनि आम जनताको हतारोको विषय भएकाले यसलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडेर नहेर्न आग्रह गरिन् । उनले नागरिकता ऐन प्रमाणीकरणका लागि सरकारका तर्फबाट राष्ट्रपतिलाई कुनै दबाब नदिइएको स्पष्ट पारिन् ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई पार्टीबाट निलम्बन गर्न महामन्त्री थापाको माग
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार विरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे धारणा सार्वजनिक गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै महामन्त्री थापाले नक्कली शरणार्थी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका पदाधिकारीलाई निलम्बन गर्नुपर्ने माग गरेका छन् ।
गम्भिर आरोप लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्र्ने अन्यथा पार्टीले निलम्बन गर्नुपर्ने उनको धारणा छ । यसबारे पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा पनि आफूले यो विचार राखेको भन्दै महामन्त्री थापाले हिजो पनि, आज पनि र भोलि पनि आफ्नो धारणा यही नै रहने उनको भनाइ छ ।
‘‘विधिको शासनको स्थापित मान्यता र अभ्यास अनुसार फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुन्छ, हुनुपर्छ । पदमा भएको व्यक्तिले आफूलाई त्यसबाट अलग राख्नुपर्छ अन्यथा सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धानको मार्ग प्रसस्त गर्नुपर्छ । अनुसन्धानबाट निर्दोष साबित भए पुनर्स्थापना हुन्छ नै । यो कानूनीमात्र होइन न्यूनतम नैतिक विषय पनि हो ।’’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस र पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउनुपर्ने भन्दै अनुसन्धान हुन्जेलसम्म निलम्बन हुने कुरा स्वभाविक रहेको उल्लेख गरेका छन् । आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानूनबमोजिमको सजाय पाउनै पर्ने भन्दै उनले यसलाई पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्ने बताएका छन् । परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने, र पार्टीको कुनै पनि तह,पद वा सांगठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनुपर्ने उनले जनाएका छन् ।
‘‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस र यस पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउने हो, आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानून बमोजिमको सजाय पाउनै पर्छ । जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वभाविक हो र पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्छ । परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने, र पार्टीको कुनै पनि तह,पद वा सांगठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनु पर्छ ।’’ उनले लेखेका छन् ।
आरजुको भनिएको अडियोबारे तत्काल छानबिन गर्न नेविसंघको माग
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणाले दिएको उजुरीमाथि तत्काल छानबिन गर्न माग गरेको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नक्कली अडियो छानबिनको लागि राणाले दिएको उजुरीमाथि तत्काल छानबिन गर्न माग गरेका हुन् । उजुरी दिएको धेरै दिन बित्दा पनि छानबिन हुन नसक्नु दुःखद रहेको भन्दै उनले तत्काल अडियोको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
देशकै इज्जतमाथि प्रश्न उठाउने गरी भएको नक्कली शरणार्थी प्रकरणमा सत्य सूचना थाहा पाउनु नागरिकको अधिकार रहेको उल्लेख गर्दै नेविसंघले शरणार्थी प्रकरणलाई लिएर निराधार र अपुष्ट सूचनाका कारण सञ्चारमाध्यमकै विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको जनाएको छ ।
त्यसैले, नागरिकको सो अधिकारको सम्मान गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी नागरिकलाई झुठो अफवाह र गलत सूचनाबाट दिग्भ्रमित हुनबाट रोक्नका निम्ति सञ्चारमाध्यमको भूमिका थप प्रभावकारी बनाउन नेविसंघले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ ।
मुलुकको आर्थिक अवस्था सुधार हुने नीति ल्याउन सरकारलाई सत्तारुढ दलकाे सुझाव
सत्तारुढ दलले मुलुकको आर्थिक अवस्था सुधार हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
उनीहरूले सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा मंगलबार बसेको सरकारलाई समर्थन गर्ने दलहरूको बैठकमा कृषि, पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने र आर्थिक अवस्था पनि सुधार हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बिभिन्न दलका नेताहरूले परम्परागत भन्दा पनि नयाँ ढङ्गको कार्यक्रम ल्याउन पनि सुझाव दिएको उनले जानकारी दिए । जनअपेक्षा पूरा गर्ने विषयलाई प्राथमिकता दिन सुझाव आएको उनले बताए ।
सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रम तयारी गरेको छ । बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
कानुन निर्माण प्रक्रियालाई तीव्रता दिइने
सङ्घीय संसद्अन्तर्गत कानुन तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरणसम्बन्धी र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई जतिसक्दो छिटो दफाबार छलफलका लागि अघि बढाउने भएको छ ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज बसेको पहिलो बैठकमा उक्त दुई विधेयकलाई जतिसक्दो छिटो अघि बढाउनुपर्ने विषयमा समितिका सदस्यहरुले सुझाव दिएका थिए । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ र सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐन संशोधन विधेयक समितिमा आएको र दफाबार छलफल गरी निष्कर्षमा पु¥याउनुपर्ने समितिका सभापति देउवाले जानकारी गराए ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समितिमा आएका दुई विधेयकलाई जतिसक्दो छिटो समितिबाट पास गरेर पठाउनुपर्ने र सङ्क्रमणकालीन न्याय मुलुकको इज्जतको विषय भएकाले महत्वका साथ अघि बढाइदिन आग्रह गरे । उक्त विधेयकमा सम्पत्ति शुद्धिकरणसम्बन्धी एक सय पाँच र सङ्क्रमणकालीन न्यायसम्बन्धी एक सय ८६ वटा संशोधन परेको छ । अब समितिमा दफावार छलफल हुनेछ ।
नेकपा (एमाले) का उपाध्यक्ष एवम् समितिका सदस्य सुवासचन्द्र नेम्वाङले समितिमा भएका दुई विधेयकलाई तत्काल अघि बढाउनका लागि सबै एकताबद्ध भएको र सङ्क्रमणकालीन न्यायको विषयमा एकमतका साथ अन्तर्राष्ट्रिय मान्यता, सर्वोच्च अदालतको फैसला र पीडितको भावनाअनुरुप ऐन संशोधन गर्नुपर्ने सुझाव दिए ।
सांसदहरु रञ्जु ठाकुर, सोविता गौतमलगायतले समितिको बैठकको कार्यविधि बनाएर उक्त विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए । समितिका सभापति देउवाले अर्को बैठकमा समितिको बैठकको कार्यविधि तय गरिने र समितिका विधेयकलाई अघि बढाउने जानकारी दिए ।
देउवा कानून, न्याय तथा मानव अधिकार समितिको सभापति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानून न्याय तथा मानव अधिकार समितिको सभापति बनेका छन् ।
आज देखी सुरु भएको प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये कांग्रेस सभापति देउवाले कानून समितिको अध्यक्षता गरेका हुन ।
उनले जेष्ठ सदस्यको नाताले सो समितिको सभापतित्व ग्रहण गरेको संसद सचिवालयले जनाएको छ ।
यसैगरी राजनीतिक दलका अध्यक्ष मध्ये राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने राज्य व्यवस्था समितिको बैठकको सभापतित्व ग्रहण गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
सो भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
‘आजबाट समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको छ । संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको छु ।’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै संयोजक अधिकारीले भने ‘सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ । सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु’
जवाफमा सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि सभामुखले धन्यवाद दिएका थिए । आजबाट समितिका बैठक उत्साहपूर्ण रुपमा सुरु भएको जनाउँदै सभामुखले संसद सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको बताए ।
‘सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरुको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’ सभामुखले भने ।
धरानका मेयरको विरोधमा पत्रकारको आन्दोलन जारी
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङको अभिव्यक्ति र अशोभनीय क्रियाकलापको खिलाफमा पत्रकारहरू मैदानमा उत्रेका छन् ।
मेयर साम्पाङले निरन्तर पत्रकारलाई अपमान गरेको तथा सार्वजनिक गरेको अभिवृत्ति अशोभनीय भएको भन्दै आन्दोलनमा उत्रेका नेपाल पत्रकार महासङ्घ सुनसरीले आज धरानका पूर्व मेयरहरुसँग अन्तरक्रिया गर्ने भएका छन् । सोमवार उनीहरूले मेयर साम्पाङको विरोध स्वरुप मौन जुलुस निकालेका थिए ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरी प्रमुख राईले पटक पटक पत्रकारहरूलाई गालीगलौज तथा सञ्चार क्षेत्रमाथि आक्रमण प्रयास गरेको पछि बाध्य भएर विरोधमा मौन जुलुस प्रदर्शन गर्नु परेको अध्यक्ष जनकऋषि राईले जानकारी दिए । उनका अनुसार मेयर राईले आफ्नो अभिव्यक्ति नसच्चाएसम्म तथा प्रेस स्वतन्त्रता प्रति लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी रहने छ ।
राईका कारण सुनसरीका पत्रकारहरू असुरक्षित हुन पुगेको भन्दै सांकेतिक स्वरुप सोमबार नगरपालिकाको गेटमा पत्रकारहरूले मुख थुनेर विरोध जनाएका थिए । सो अघि भानु चोकबाट छाता चोक, चतराइन हुँदै धरान उपमहानगरपालिकाको गेटसम्म प्ले कार्ड प्रदर्शन गरिएको थियो ।
धरानका मेयर साम्पाङको अशोभनीय क्रियाकलाप र अभिव्यक्तिका कारण गृहमन्त्रीसमक्ष सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् ।
महानगरको कर्मचारीले भ्रष्टाचार गरे मेरो मोबाइलमा खबर गर्नुहोस्– बालेन शाह
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफू मातहतका कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित उजुरी दिन अपिल गरेका छन् ।
काठमाडौंका ‘भ्रष्ट कर्मचारी’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत गएका मेयर शाहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराएका छन् ।
‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौँ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित,’ उनले भनेका छन्, ‘कसैले बिना प्रमाण यसले यति भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।
उनले अगाडि मोबाइल नम्बर उपलब्ध गराउँदै भनेका छन्, ‘हामी लाई ९८६३५९२०११ मा व्हाट्सएपमा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।’
ए डिभिजन लिगमा थ्री स्टार र आर्मीको बराबरी
सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार र आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको ६९ औँ मिनेटमा लाकेन लिम्बुले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८६ औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै थ्री स्टारले १८ खेलमा २६ अंक जोडेको छ । आर्मीले १८ खेलमा २५ अंक जोडेको छ ।
त्यस्तै मंगलबार नै च्यासल मैदानमा पुलिसले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
पुलिसको जितमा मोसेस ग्याबाह तुमले खेलको ६१ औँ मिनेटमा निर्णायक गोल गरे । जितसँगै पुलिसले १८ खेलमा २२ अंक जोडेको छ । एपीएफले १८ खेलमा २२ अंक नै जोडेको छ ।
प्रतिक्रिया