प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले के भने ? | Khabarhub Khabarhub

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले के भने ?


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा  सांसदहरूले नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको धारणा राखेका छन् ।

शून्य समयमा बोल्दै सांसद अम्मरबहादुर थापाले अहिले विद्यालयका लेखापाल र सहयोगी तथा सहकारीपीडितले धर्ना दिइरहेको विषयलाई सरकारले गम्भीरताका साथ लिन भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद अर्जुननरसिंह केसीले पनि देशभरका विद्यालयका कर्मचारी माइतीघरमा धर्नामा बसेको विषय उठाउँदै उनीहरूका समस्या समाधानका लागि सरकारसँग माग राखे। उनले विद्यालय कर्मचारीका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राखे । केसीले बूढानीलकण्ठ स्कुलमा भ्रष्टाचार र अनियमितता भएको र विद्यार्थी भर्ना प्रक्रियामा पनि नियम मिचिएको बताए ।

सांसद अच्युतप्रसाद मैनालीले जेठ २९ गते पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकमाथि भएको भौतिक आक्रमणको छानविन गरी कारबाहीको माग गरे । सांसद अजयकुमार चौरसियाले नागरिकताविहीन व्यक्तिका माग सम्बोधनका लागि सरकारसँग माग गरे । जन्मसिद्ध नागरिकले पनि नागरिकताबाट वञ्चित हुनुपरेको धारणा सांसद ज्वालाकुमारी साहको भनाइ थियो ।

सांसद अनिता देवीले मधेसमा घरेलु हिंसाका घटना बढ्दै गएको र यस्ता हिंसाको मुख्य कारण दाइजो रहेकाले यो कुप्रथा अन्त्यका लागि सम्बन्धित कानुनको कार्यान्वयनका लागि माग राखिन् ।

सांसद अनिसा नेपालीले आगामी आर्थिक वर्षको बजेट असमान ढङ्गले आएको र विनियोजनमा कुशलता नदेखिएको बताइन् । सांसद अशोककुमार चौधरी र अस्माकुमारी चौधरीले आगामी आर्थिक वर्षको बजेटले थारु समुदायलाई समेट्न नसकेको बताए । सरकारले आगामी आर्थिक वर्षको बजेटले पिछडिएका र विपन्न वर्गका लागि कुनै विशेष कार्यक्रम ल्याउन नसकेको उनको भनाइ छ ।

राष्ट्रिय परिचयपत्र बनाउँदा संविधानको व्यवस्थाविपरीत महिलाले सिन्दुर, शिर छोपिएको लुगा हटाउनुपर्नेजस्ता नियम बनाएकाले अहिले धेरै मुस्लिम महिलाका लागि राष्ट्रिय परिचयपत्र बनाउन समस्या रहेको सांसद अब्दुल खानले बताए ।

सांसद डा अमरेशकुमार सिंहले तराईका जिल्लामा नदी कटानका कारण खेतीयोग्य जमिन नष्ट हुँदै गएको र मानवबस्ती पनि जोखिममा रहेकाले तटबन्धका लागि माग गरे । सांसद किरणकुमार साहले रौतहटको गौर जोड्ने लालबकैया नदीको पुल निर्माणको काम १० वर्षदेखि अलपत्र रहेकाले उक्त पुल निर्माणलाई शीघ्रता दिइनुपर्ने धारणा राखे ।

शून्य समयमा सांसद अमृतादेवी अग्रहरीले तराईका जिल्लामा गर्मी बढेका बेला विद्युत् कटौती गर्दा त्यसले जनजीवन झनै अस्तव्यस्त बनेकाले विद्युत्को नियमित आपूर्तिको माग राखिन् । सांसद एकनाथ ढकालले नेपाल भ्रमणमा आउने बौद्धमार्गी भिक्षुका लागि  विमानस्थलमा सहज होस भनी माग गरिन् । सांसद अरुणकुमार चौधरीले कर्णाली चिसापानी पुल प्राविधिकरुपमा जीर्ण बनिसकेकाले त्यसको मर्मतसम्भारका लागि संसद्को ध्यानाकर्षण गर्नुभयो ।

सांसद असीम शाहले नेपाली जनताको आत्मसम्मान र भावनामा चोट पुग्नेगरि भारतीय पक्षबाट विभिन्न समयमा आक्रमण हुने गरेको र अहिले भारतीय चलचित्र आदिपुरुषमा नेपालका राष्ट्रिय विभूति सीता भारतमा जन्मेको भन्ने कुरा राखिएकाले यसबारे सरकारको आधिकारिक धारणा आउनु पर्ने बताए ।

सांसद ईश्वरबहादुर रिजालले दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङमा विसं २०७२ को भूकम्पका कारण गएको पहिरो अहिले पनि नरोकिएकाले यसको रोकथामका लागि सरकारसँग माग गरे ।

आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यक्रम छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १ : ०७ बजे

विकास–निर्माणका काममा सरकार क्रियाशील छ : मन्त्री शाही

ढोरपाटन– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास–निर्माणका काममा

प्रधानसेनापति खुला म्याराथनमा खड्का प्रथम

काठमाडौं– यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी

प्रतिरोधात्मक कर लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल

हुम्लामा हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर

चङ्खेली– हुम्लाको चङ्खेली गाउँपालिकाले हरेक दुई महिनामा अनिवार्य निःशुल्क स्वास्थ्य

‘धरान रन’को उपाधि केन्याली धावकलाई

धरान– केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को