विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

आज असार १, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून १६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

नयाँ दिल्लीस्थित नेहरू स्मारक सङ्ग्रहालय तथा पुस्तकालयको नाम परिवर्तन

भारतको राजधानी नयाँ दिल्लीस्थित नेहरू स्मारक सङ्ग्रहालय तथा पुस्तकालयको नाम परिवर्तन गरिएको छ ।

भारत सरकारले उक्त नाम परिवर्तन गरेर प्रधानमन्त्री सङ्ग्रहालय तथा पुस्तकालय राखेको छ ।

भारतको विपक्षी दल कांग्रेसले स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको स्मरणमा राखिएको सङ्ग्रहालय र पुस्तकालयको नाम परिवर्तन गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको चर्को आलोचना गरेको छ ।

पछिल्लो समय भारतमा ऐतिहासिक आधारमा राखिएका सहर, स्मारक तथा उद्यानलगायतका स्थानको नाम परिवर्तन गर्ने क्रम बढिरहेको बताइन्छ ।

बिल गेट्स र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भेट

माइक्रोसफ्टका सहसंस्थापक तथा समाजसेवी बिल गेट्सले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट गरेका छन् ।

विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक गेट्स पछिल्लो समय चीन भ्रमण गर्ने पश्चिमा व्यापारिक नेतामध्ये एक हुन् ।

विश्वका सबैभन्दा धनी व्यक्ति र सबैभन्दा प्रतिष्ठित परोपकारी व्यक्तिहरूमध्ये एकसमेत मानिने यो चार वर्षमा उनको पहिलो भ्रमण हो ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार गेट्सको भ्रमणका क्रममा चिनियाँ राष्ट्रप्रमुखसँग भेट गरेका हुन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार चीन भ्रमण गर्नुअघि भेट गरेका हुन् ।

बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले मलेरिया र क्षयरोगविरुद्ध लड्न चिनियाँ प्रयासलाई सहयोग गर्न पाँच करोड अमेरिकी डलर दिने बिहीबार घोषणा गरेको थियो ।

फाउन्डेसनले गेट्स, बेइजिङ नगरपालिका सरकार र सिङ्घुआ विश्वविद्यालयद्वारा स्थापित बेइजिङस्थित समूह ग्लोबल हेल्थ ड्रग डिस्कभरी इन्स्टिच्युट (जीएचडीडीआई) सँग सहकार्य नवीकरण गर्ने घोषणा गरेको छ ।

गेट्स फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो पाँच करोड अमेरिकी डलरले क्षयरोग र मलेरियाजस्ता सङ्क्रामक रोगहरूको लागि जीवनरक्षक उपचारको माध्यमबाट विश्वव्यापी स्वास्थ्य परिणामसुधार गर्ने प्रयासलाई समर्थन गर्नेछ ।’’

गेट्स फाउन्डेसनका अनुसार बिहीबार गेट्सले जीएचडीडीआईमा सम्बोधन गर्दै मलेरिया उन्मूलन र गरिबी न्यूनीकरणमा चीनको प्रयासको प्रशंसा गरेका थिए ।

गेट्सले भने, “चीनले गरिबी घटाउन र स्वास्थ्य परिणाममा सुधार ल्याउन महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।” चीनले विशेष गरी अफ्रिकी देशहरूले सामना गरिरहेका वर्तमान चुनौतीहरू सामना गर्न अझ ठूलो भूमिका खेल्नेछ ।

गेट्सले पछिल्लो पटक सन् २०१९ मा चीन भ्रमण गरेका थिए । उक्त अवसरमा उनले प्रथम महिला पेङ लियुआनसँग एचआइभी÷एड्स रोकथाममा आफ्नो फाउन्डेसनको कामबारे छलफल गरेका थिए ।

गत वर्ष चीनको भ्रमणका क्रममा उनले बेइजिङमा भएको एक मञ्चमा विकासशील मुलुकमा शौचालयको अभावप्रति ध्यानाकर्षण गराएका थिए ।

यस वर्ष अमेरिकी व्यापारिक नेताहरूले चीनको भ्रमण गरेका छन् । दुई आर्थिक शक्तिबीचको विशाल बजार र व्यापारिक सम्बन्धको बारेमा आशावादी कुरा गरेका छन् ।

जेपी मोर्गन चेजका प्रमुख कार्यकारी अधिकृत जेमी डाइमोनले पनि हालैका हप्तामा चीनको भ्रमण गरेका थिए भने टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले पनि तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक चीन भ्रमण गरेका थिए ।

चीनमा व्यापक व्यापारिक चासो राख्ने मस्कले बेइजिङमा वरिष्ठ अधिकारीहरूसँग भेट गरेका थिए र साङ्घाईको बाहिरी इलाकामा टेस्लाको ‘गिगा फ्याक्ट्री’ मा कर्मचारीहरूसँग पनि छलफल गरेका थिए ।

गत मार्चमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले बेइजिङको भ्रमण गर्दै आफ्नो कम्पनीको चीनसँग ‘सहजीवी’ सम्बन्ध रहेको बताएका थिए ।

भारतको जम्मु कश्मीरमा सुरक्षाकर्मीसँगको मुठभेडमा छ विदेशी आतङ्कवादी मारिए

भारत प्रशासित जम्मु कश्मीरको कुपवाडा जिल्लामा शुक्रबार आतङ्कवादी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा परी पाँच विदेशी आतङ्कवादी मारिएका छन् ।

कुपवाडा जिल्लाको एलओसीको जुमागुन्ड क्षेत्रमा सुरक्षाकर्मीसँगको मुठभेडमा परी पाँच जना आतङ्कवादी मारिएको अधिकारीले जनाएका छन् ।

सो क्षेत्रमा खोजी अभियान जारी रहेको कश्मीरका अतिरिक्त महानिर्देशक विजय कुमारले पुष्टि गरेका छन् । कारबाहीका क्रममा दुई जना आतङ्कारीलाई नियन्त्रणमा लिइएको छ । त्यहाँ भएको सुरक्षा कारबाहीको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

भारतमा ४२ करोड मूल्य बराबरको कोकिन बरामद

ब्राजिलबाट पठाइएको ४१ करोड ६० रुपैयाँ भन्दा बढीको कोकिन दिल्लीमा बरामद भएको छ । राजस्व गुप्तचर निर्देशनालय (डिआरआई) को गुप्तचर जानकारीको आधारमा यति ठुलो मात्रामा कोकिन बरामद गरेको हो ।

सो कोकिन ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोबाट कुरियर सेवामार्फत दिल्ली पठाइएको थियो। सूचना प्राप्त भएपछि डिराआई को दिल्ली क्षेत्र एकाइले सो पार्सलको खोजतलास गरेको थियो ।

पार्सलको खोजीका क्रममा १९२२ ग्राम कोकिन बरामद भएको दिल्ली प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ४२ करोड भएको अनुमान गरिएको छ । यसरी आएको कोकिन दुईवटा बक्समा राखिएको थियो ।

अनुसन्धान अधिकारीहरूले ती केही पार्सल माथि शंका गरेका थिए, जसमध्ये कोकिन रहेको पार्सल अस्वभाविक रुपमा भारी भएको अनुभव गरियो र तीनलाई खोलेर हेर्दा कोकिनको ठूला मात्रामा फेला पर्न गयो ।

अनुसन्धानका क्रममा ९७२ बल भित्रबाट पोलिथिनमा प्याक गरिएको कोकिनका पाउडर बरामद भएको थियो । परीक्षण गर्दा ती सेतो रंगको पाउडर पार्सल भित्र थियो । सो बारेमा थप अनुसन्धान भइरहेको छ ।

न्युजिल्याण्डमा आर्थिक मन्दीको अवधि सुरु

न्यूजिल्याण्डमा आर्थिक मन्दीको अवधि सुरु भएको छ । बिहीबार जारी गरिएको आधिकारिक तथ्यांक अनुसार न्युजिल्यान्डको कृषिमा आधारित अर्थतन्त्र मन्दीमा प्रवेश गरेको छ ।

आम निर्वाचनको केही महिना अगाडि आएको विनाशकारी चक्रवातले व्यापक मन्दी निम्त्याएको जनाईएको छ । न्यूजील्याण्डमा २०२२ को अन्त्यमा ०.७ प्रतिशतले गिरावट आएपछि पहिलो त्रैमासिकमा अर्थतन्त्र ०.१ प्रतिशतले संकुचित भएको तथ्यांक सार्वजनिक भएको छ ।

चार महिना पछि न्युजिल्याण्डमा आम निर्वाचन हुँदैछ । सो प्रसङ्ग जोड्दै न्युजिल्याण्डका अर्थमन्त्री ग्रान्ट रोबर्टसनले मन्दीमा प्रवेश गर्नु ‘आश्चर्यजनक कुरा होइन’ भन्दै आर्थिक मन्दीलाई स्विकारै गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘हामीलाई थाहा छ २०२३ एक अत्यन्त चुनौतीपूर्ण वर्ष हुन गइरहेको छ किनकि विश्वव्यापी वृद्धि सुस्त छ, मुद्रास्फीति लामो समयसम्म रहन्छ र उत्तर आइल्याण्डको मौसम घटनाहरूले घर र व्यवसायहरूमा प्रभाव पारिरहेको छ,’ रोबर्टसनले भने।

अकल्याण्डमा जनवरीमा आएको बाढी तथा फेब्रुअरीमा आएको चक्रवात गेब्रियलका कारण भएको विनाशले अर्थतन्त्रमा गम्भीर असर पर्न गएको उनको स्पष्टीकरण छ ।

न्यूजील्याण्ड सरकारले मौसम प्रकोपबाट भएको क्षतिको क्षतिपूर्ति पुरा गर्न १५ मिलियनसम्म लाग्ने अनुमान गरेको छ। सन् २०२० पछि न्युजिल्यान्डको यो पहिलो मन्दी हो। कोरोना महामारीका कारण धेरै देशले आफ्नो सिमाना बन्द गर्नुपर्‍यो, जसका कारण निर्यात रोक्नु परेको थियो, सो चपेटामा परेको न्युजिल्याण्डमा २०२० मा मन्दी आएको थियो ।

विपक्षी वित्त प्रवक्ता निकोला विलिसले भने, ‘बढ्दो मुद्रास्फीतिको बावजुद संकुचित भएको न्यूजील्याण्डको अर्थतन्त्रको लागि रातो बत्ती बालेको छ। कृषि, उत्पादन, यातायात र सेवाहरू सबैमा गिरावट देखियो।

अमेरिकी साम्राज्यवादी नीतिविरूद्ध एकजुट हुने इरान र क्युबाबीच सहमति

अमेरिकी साम्राज्यवादी नीतिविरूद्ध एकजुट हुने इरान र क्युबाबीच सहमति भएको छ । इरानी राष्ट्रपति इब्राहिम रायसी र क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेल बिच अमेरिकाविरूद्ध एक जुट भएर सामना गर्न सहमति भएको हो ।

अमेरिकाले दुवै देशमाथि धेरै प्रकारका प्रतिबन्ध लगाइरहेको अवस्थामा क्युबाको राजधानी हवानामा भएको भेटवार्तामा दुवै देशका राष्ट्रपतिका बिचमा सो सहमति भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सो भेटमा दुवै नेताले अमेरिकाको आलोचना गरेका छन् । क्युबाका राष्ट्रपति क्यानेलले दुवै देशले वीरतापूर्वक, दृढ प्रतिरोध, प्रतिबन्ध, दबाब, धम्की, नाकाबन्दी र अमेरिकी साम्राज्यवादको सामना गर्ने सहमति भएको जनाएका छन ।

वानामा आफ्ना समकक्षी इब्राहिम राईसीलाई होस्ट गर्दै राष्ट्रपति क्यानेलले भने कि ‘दुई देशहरूले वीरतापूर्ण, दृढ प्रतिरोध, प्रतिबन्ध, दबाब, धम्की, नाकाबन्दी र अमेरिकी साम्राज्यवाद र उसका सहयोगीहरूको उदासीनताको सामना गर्नु परेको छ ।’

अमेरिकाले दुवै देशहरूमाथि धेरै प्रकारका प्रतिबन्ध मात्रै लगाएको छैन, उसले दुवै देशलाई आतंकवादलाई बढावा दिएको आरोप पनि लगाउँदै आएको छ ।

सो भेटमा दुई नेताबीच भन्सार, दूरसञ्चार र न्यायलगायतका क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । इब्राहिम रायसीले एक व्यापारिक फोरममा भाग लिएका थिए, जहाँ उनले इरानले विज्ञान र प्रविधि, हाइड्रोइलेक्ट्रिक र थर्मोइलेक्ट्रिक प्लान्टहरू र खानीमा कम्युनिष्ट देश क्युबासँग काम गर्ने बताए।

इरानी राष्ट्रपतिले सो अघि निकारागुआ र भेनेजुएलाको पनि भ्रमण गरेका थिए ।

क्यानडामा भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु

क्यानडाको मनिटोबा प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । सोही क्रममा १० जना घाइते भएका छन् । क्यानडाली प्रहरीले ट्विटर मार्फत विनिपेगको पश्चिममा रहेको कारबेरी नजिकै एउटा ठूलो सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको हो ।

जानकारीका अनुसार अपाङ्गता भएका व्यक्ति बोकेको एउटा सानो ट्रक र विशेष गाडी एक आपसमा ठोक्किएको हो ।

‘पन्ध्र जनाको मृत्यु भएको पुष्टि भएको छ,’ प्रहरीले भन्यो, ‘जबकि अन्य १० जनालाई विभिन्न चोटपटक अस्पताल लगिएको थियो। घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।’

क्यानडाकी नेता हेदर स्टेफेन्सनले ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले ट्वीट गर्दै भनेकी छिन, ‘यो दुर्घटनाले मेरो मुटु भाँचिएको छ ।’दुर्घटनास्थल नजिकै सडकको छेउमा रहेको होटल रेष्टुरेन्टमा काम गर्ने निर्मेश वडेराले सो घटना दिउँसो भएको बताए ।

उनले भने, ‘आजसम्म कुनै गाडीमा यस्तो भीषण आगलागी भएको देखेको छैन ।’ उनका अनुसार सडक दुर्घटनापछि सेमी ट्रक सडक छेउमा खसेको र अर्को गाडीमा आगो लागेको थियो ।

भारतीय विदेश राज्यमन्त्रीको निवासमा पेट्रोल बम प्रहार

विगत केही सातादेखि मणिपुर हिंसाको आगोमा जलिरहेको छ । आमजनतासँगै प्रशासनिक अधिकारी र राजनीतिज्ञलाई पनि बदमासहरुलेले निशाना बनाउँदै लगेको छ ।

यसै सन्दर्भमा बिहीबार राति केन्द्रीय विदेश राज्यमन्त्री आरके रञ्जन सिंहको इम्फालको कोङ्बामा रहेको घरमा भीडले आगजनी गरेको छ । मणिपुर सरकारले यस विषयमा जानकारी दिएको छ ।

यो घटना बाहिर आएपछि समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै विदेश राज्यमन्त्रीले भने, ‘म अहिले आधिकारिक कामका लागि केरलामा छु । धन्यबाद हिजो राती मेरो घरका कोही पनि घाइते भएनन्। बदमाशले हानेको पेट्रोल बमले मेरो घरको भुइँ तल्ला र पहिलो तल्लामा क्षति पुगेको छ ।’

यसबाहेक, उनले भने कि ‘मेरो गृह राज्यमा के भइरहेको छ देख्दा धेरै दुःख लागेको छ। म अझै पनि शान्तिको लागि अपील गरिरहनेछु। यस्तो हिंसा गर्नेहरू पूर्णतया अमानवीय छन्।’

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : ०० बजे

एसीसी यु-१६: युगान्डाविरुद्ध नेपाली ओपनरद्वय यादव र जैसीले बनाए अर्धशतक

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

संसदीय सुनुवाइसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दैछ ।

मदन भण्डारी फाउण्डेशन एमालेमा गुट निर्माणको ‘प्लेटफर्म’

काठमाडौं– जननेता मदन भण्डारीका विचारको व्याख्या गर्ने माध्यमका रूपमा स्थापित

होमस्टेले गाउँमै बस्न सिकाउँदै

तनहुँ– घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्र व्यस्त हुने महिलाको दैनिकी