रूपन्देही– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि कूल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आज आर्थिक मामिला तथा योजनामन्त्री धनबहादुर मास्कीले सार्वजनिक गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख, पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख र वित्तीय व्यवस्थापनतर्फ तीन अर्ब ५८ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
आगामी वर्षको खर्च ब्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँड भइ आउने राजस्व २ अर्ब ५० करोड ३० लाख अनुमान गरिएको छ ।
त्यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट ८४ करोड, विशेष अनुदानबाट ५६ करोड, चालु आर्थिक वर्षको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने प्रदेश सरकारको अनुमान छ । बजेटमा २ लाख रोजगारी सृजनालाई प्राथमिकतामा राखिएको छ ।