अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

July 16, 2023

आज असार ३१, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतमा कुनै पनि धर्म खतरामा छैन : राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आफ्नो मुलुकमा कुनै पनि धर्म खतरामा नरहेको जनाएका छन् ।

इण्डियन इस्लामिक कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले भारत एक समावेशी लोकतान्त्रिक मुलुकका रुपमा रहेको र यहाँ सबै नागरिकको समान स्थान रहेको उल्लख गरे ।

उनले भारतमा अन्य धर्मिक समूहजस्तै इस्लाम धर्मको पनि महत्वपूर्ण एवम् गौरवशाली स्थान रहेको स्पष्ट पारे । आतंकवादको कुनै धर्म नहुने भन्दै डोभालले भारतमा हरेक भाषा धर्म तथा संस्कृति शताब्दीऔँदेखि एक साथ रहीआएको जिकिर गरे ।

भारतमा इस्लाम धर्मावलम्बीको सङ्ख्या ३३ इस्लामिक देशमा बस्ने मुसलमानको सङ्ख्याभन्दा धेरै रहेको भन्दै उनले इस्लामले भारतमा शान्ति र अमनको जीवन्त अभिव्यक्तीलाई बढावा दिएको पनि उल्लेख गरे ।

अमेरिकामा शक्तिशाली भूकम्प अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्कामा ७।२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी टेलिभिजन सञ्जाल एबीसीले जनाएको छ ।

स्थानीय समयअनुसार शनिबार अबेर अलास्काको प्रायद्विपनजिकै स्याण्ड पोइन्टबाट ५५ माइल दक्षिण पश्चिममा भूकम्प गएको राष्ट्रिय मौसम सेवाले जानकारी दिएको छ । यसअघि भूकम्पको तीव्रता ७ दशमलब ४ म्याग्निच्युड मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।

अलास्काको कोडिआक क्षेत्रमा भूकम्पको जनाउ दिन साइरन बजेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । अमेरिकी मौसम सेवाको सुनामी चेतावनी केन्द्रले सुनामी आएपनि यसबाट कुनै जोखिम नरहने जानकारी दिएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार सन् १९०० यता पछिल्लो भूकम्पको केन्द्रविन्दुको २५० किलोमिटरको क्षेत्रमा ७ म्याग्निच्युडभन्दा बढी तीव्रताका ९ वटा भूकम्प गइसकेको छ ।

‘प्रशान्त अग्निचक्र’ भनिने भौगोलिक क्षेत्रमा पर्ने अलास्का भूकम्प र ज्वालामुखीको जोखिममा रहेको बताइन्छ ।

बङ्गलादेशमा अस्पताल भर्ना हुने डेङ्गुका बिरामीको सङ्ख्या एघार हजार नाघ्यो

बङ्गलादेशमा एघार हजारभन्दा बढी डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन् । शनिबार अपराह्नसम्म देशमा एघार हजार चार सय ७६ जना बिरामी अस्पताल भर्ना भएका त्यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

डेङ्गुबाट गत बुधबार र शनिबार एकैदिन सात जनाको मृत्यु भएको छ । एकै दिन भएको मृत्युको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । हालसम्म एक सय जनाको मृत्यु भएको छ । गत मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो । हाल डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार चार सय ५४ पुगेको तथा एक सय जनाले ज्यान गुमाएका महानिर्देशनालयले बताएको छ । यो वर्ष डेङ्गु सङ्क्रमितमध्ये १२ हजार पाँच सय १९ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

यो महिनामा मात्रै थप आठ हजार तीन सय १६ जना डेङ्गुका नयाँ सङ्क्रमित फेला परेका तथा ५४ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले पुगेको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।

दलाई लामाको योगदानबारे श्रीलंकामा बौद्धिक गोष्ठी सम्पन्न श्रीलंकामा तिब्बती धर्मगुरु दलाई लामाको योगदानबारे बौद्धिक गोष्ठी आयोजना गरिएको छ । श्रीलंकाको केलान्या विश्वविद्यालयले लामाको योगदानबारे गोष्ठी आयोजना गरेको हो ।

धर्मगुरु लामाको ८८ औँ जन्मदिनको उपलक्ष्यमा विश्वविद्यालयको मानविकी, समाजशास्त्र एवम् बौद्ध तथा पाली संकायले गोष्ठीको आयोजना गरेको हो ।

सतिपत्थ्यना अखबारका अनुसार लामा तिब्बतीहरुका आध्यात्मिक एवम् धार्मिक गुरु हुन् । बौद्ध धर्मबारे उनले १ सयभन्दा धेरै पुस्तक लेखिसकेका छन् । उनलाई सन् १९८९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

सन् १९३५ मा ल्हामो धोन्दुपका रुपमा तिब्बतको टाकेस्टरमा जन्मेका उनलाई १३ औँ दलाई लामाको पुनर्जन्मका रुपमा १४ औँ दलाई लामा घोषित गरिएको थियो ।

हामीसँग पनि विभिन्न प्रकारका क्लस्टर हतियारको पर्याप्त भण्डार छ : राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले ‘क्लस्टर बम’ जस्ता हतियार प्रयोग गर्ने हो भने जवाफ दिन आफ्नो देशसँग पनि पर्याप्त त्यस्ता हतियार रहेका बताएका छन् ।

युक्रेनले संयुक्त राज्य अमेरिकाबाट क्लस्टर हतियार प्राप्त गर्न थालेको सन्दर्भमा तत्क्षण विस्फोट हुन नसक्ने क्लटर बमले नागरिकहरूमा निम्त्याउने दीर्घकालीन जोखिमप्रति सर्वत्र र चिन्ता चासो व्यक्त भएको छ । अमेरिकाले निर्यात गरेका विवादास्पद हतियारहरू लामो समयसम्म विस्फोट नभइ त्यसै रहने हुँदा त्यो जनसाधारणका निम्ति गमभीर जोखिम हो ।

“रसियासँग विभिन्न प्रकारका क्लस्टर हतियारको पर्याप्त भण्डार छ,” राष्ट्रपति पुटिनले एक सरकारी टेलिभिजनका पत्रकारलाई भने । उनले भने “यदि क्लस्टर बम हाम्राविरुद्ध प्रयोग भएमा त्यसको बदलामा हामी पनि जवाफ दिन सक्छौ, त्यो हाम्रो अधिकार हो, देशलाई त्यस्ता हतियार आवश्यक परे पनि अहिलेसम्म हामीले त्यसको प्रयोग गरेका छैनौँ । ”

रुसले युद्ध मैदानमा क्लस्टर हतियार प्रयोग गरेको आरोप ह्युमन राइट्स वाच र युक्रेनी सेनाले लगाएका छन् । क्लस्टर हतियारमाथि धेरै देशले प्रतिबन्ध लगाएका छन् । विशेष गरी युरोपमा त्यो अवैधानिक मानिन्छ । ओस्लो महासन्धिअनुसार पनि त्यसको प्रयोग गैरकानुनी हो । यद्यपि रुस,अमेरिका र युक्रेन उक्त महासन्धिका पक्षराष्ट्र होइनन् ।

यसैबीच, मानवतावादी संस्थाहरूले क्लस्टर हतियारको प्रयोगका निन्दा गरेका छन् । उनीरूले युक्रेनलाई त्यस्ता हतियार उपलब्ध गराउने अमेरिकी निर्णयको पनि भर्त्सना गरेका छन् । यद्यपि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई त्यस्ता हतियार उपलव्ध गराउने कठिन निर्णय आफूबाट भएको बताएका छन् । उनले युक्रेनको रित्तिएको गोलाबारुद भण्डारलाई भरथेगका निम्ति अप्रिय निर्णय गर्नुपरेको सार्वजनिक रुपमा भन्दै आएका छन् ।

सुडान द्वन्द्व : ओम्दुरमानमा आरएसएफको भीषण आक्रमण

सुडानी सशस्त्र बलसँग द्वन्द्वरत अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफले ओम्दुरमान शहरमा भीषण आक्रमण गरेको छ ।

उक्त समूहले अस्पताललाई ड्रोन आक्रमणको निशाना बनाएको र आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । आक्रमणमा अरु २२ जना गैरसैनिक नागरिक घाइते भएको सुडानी सेनाले जनाएको छ । यस सम्बन्धमा आरएसएफले कुनै टिप्पणी गरेको छैन ।

राजधानी खार्तुमको उत्तरपश्चिममा अवस्थित ओम्दुरमानको मिलिटरी मेडिकल कोर अस्पतालको आपतकालीन परिसरमा आक्रमण गरेर आरएसएफले अन्तर्राष्ट्रिय मानवीय कानून र युद्धका सबै नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ । आक्रमणमा परेको अस्पतालबाट त्यसको स्थापनाकालदेखि नै नागरिक र सैन्य कर्मचारीलाई सेवा प्रवाह हुँदै आएको थियो ।

गत अप्रिल १५ देखि सुडानभर सुडानी सशस्त्र सेना र आएएसएफबीच सशस्त्र युद्ध जारी छ । पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार द्वन्द्वमा परी तीन हजारभन्दा बढीको मृत्युभएको छभने छ हजारभन्दा बढी घाइते भएका छन् ।

कोरियामा भीषण बाढी: ३३ जनाको मृत्यु, १० जना बेपत्ता

दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो ।

पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् । गत साता ५०० मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशहरूमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।

उत्तरी ग्योङसाङ प्रान्तमा दश जना बेपत्ता छन् । बाढी, घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको सङ्ख्या बढेको छ । मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट गत राति सातवटा शव निकालिएको थियो ।

अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका सात हजार आठ सय ६६ जनालाई विस्थापित भएका छन् । सार्वजनिक सुविधाहरूको क्षतिको सङ्ख्या एक सय ४९ पुगेको छ । सडक भत्किएका छन भने सवारी साधन बगेका छन् जताततै बाढीको विनाशमात्र दृष्टिगोचर हुन्छ ।

बुर्ज खलिफामा भारतीय झण्डाका साथै मोदीको तस्वीर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको भ्रमण सकेर संयुक्त अरब इमिरेट्स यूएई पुगेका छन् । प्रधानमन्त्री मोदीलाई यूएईको राजधानी अबु धाबीमा त्यहाँका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यानले स्वागत गरेका थिए ।

उनको भ्रमणको सम्मानमा यूएईको दुबईमा निर्मित सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा भारतीय झण्डाका साथै मोदीको तस्वीर देखाइएको थियो । सोही क्रममा मोदीलाई स्वागत गर्न दुबईमा बनेको विश्वको सबैभन्दा ठूलो भवन बुर्ज खलिफामा भारतीय तिरंगासहित मोदीको तस्वीर देखाइएको थियो ।

आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेका छन् । सन् २०१४ मा प्रधानमन्त्री बनेयता मोदीको यो पाचौँ यूएई भ्रमण हो ।

अन्धाधुन्ध गोली चल्दा अमेरिकाको जर्जियामा चारजना मारिए

अमेरिकाको जर्जियमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा चार जना मारिएका छन् । जर्जियाको ह्याम्पटन शहरको डगवुडमा एक ब्यक्तिले अन्धाधुन्द गोली चलाउँदा चारजना मारिएका हुन् ।

मारिनेमा तीन जना पुरुष र एक महिला रहेको स्थानीय प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने ४० वर्षीय एन्ड्री लङमोर भएको प्रहरीले पत्ता लगाएको छ ।

हत्यापछि फरार रहेका लङमोरसँग अहिले पनि दुई वटा हतियार रहेको भन्दै प्रहरीले निजलाई पक्राउ गर्न सघाउनेलाई दश हजार डलरको पुरस्कार घोषणा गरेको छ ।

घटनामा कति मानिस घाइते भए भन्ने बारेमा केही खुलाइएको छैन ।