विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज साउन ३१, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट १६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

पाकिस्तानमा हेपाटाइटिसका बिरामीको सङ्ख्या बढ्दै
पाकिस्तानमा हेपाटाइटिसका बिरामीको सङ्ख्या बढ्दै जान थालेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनका अनुसार मुलुकमा हेपाटाइटिस बी र सीबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

पाकिस्तानमा १५ लाख जनामा हेपाटाइटिसको सङ्क्रमण रहेको अनुमान गरिएको छ । यद्यपि पाकिस्तानमा हेपाटाइटिसका धेरै सङ्क्रमितहरु आफूमा यस रोगको सङ्क्रमण रहेकोमा अनभिज्ञ रहेको बताइएको छ । त्यसमा पनि आर्थिक एवम् सामाजिक कारणले धेरै सङ्क्रमितहरु उपचारका लागि अस्पताल जाँदैनन् ।

यसबारे जनचेतनाको आवश्यकता रहेको पोस्ट ग्राजुएट मेडिकल इन्स्टिच्युटका प्राध्यापक अल फरिद जाफरले जनाएका छन् । त्यसबाहेक हेपाटाइटिस रोगबारे विद्यालयको पाठ्यक्रममै समावेश गर्नुपर्ने उनको भनाइ छ ।

नाइजरमा भएको आतङ्कवादी आक्रमणमा १७ सैनिक मारिए

अफ्रिकी मुलुक नाइजरको पश्चिमी सीमा नजिकै संदिग्ध जिहादीहरूले गरेको आक्रमणमा १७ जना नाइजर सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

नाइजरको रक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर मालीको सीमानजिकको कौउउगौ शहरमा आतङ्कवादीले सेनामाथि हमला गर्दा १७ जनाले ज्यान गुमाएका तथा २० जना घाइते भएका जनाएको छ । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ ।

सबै घाइतेलाई राजधानी नियामे ल्याइएको छ । एक सय भन्दा बढी आक्रमणकारीलाई निक्रिय पारिएको दाबी गर्दै सेनाले अतिवादीलाई परास्त गर्न सैन्य बल प्रबिद्ध रहेको बताएको छ ।

जिहादी विद्रोहले अफ्रिकाको साहेल क्षेत्रलाई एक दशकभन्दा बढी समयदेखि आक्रान्त पारेको छ । सन् २०१२ मा उत्तरी मालीमा फैलिएको जिहादी आक्रमणले त्यसको तीन वर्षपछि छिमेकी नाइजर र बुर्किना फासोलाई पनि गाँजेको छ ।

तीन देशबीचको सीमानामा नियमित रूपमा इस्लामिक स्टेट समूह र अल–कायदासँग सम्बद्ध विद्रोहीहरूले आक्रमण गर्दै आएका छन् । उक्त क्षेत्रमा अतिवादी आक्रमणमा परी हजारौं सेना, प्रहरी अधिकारी र सर्वसाधारणले ज्यान गुमाएका छन् भने लाखौँ पलायन भएका छन् ।

निरन्तको रक्तपात र आक्रमणबाट आजित भएका ती देशका सेनाले सैन्य विद्रोहको असफल प्रयास पनि गर्दै आएका छन् । गत महिनाको २६ तारिखमा नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बजुमलाई अपदस्थ गरिएको छ ।

उनलाई हिरासतमा राखेर सेना प्रमुखले राज्यसत्ता आफूले सञ्चालन गरेको घोषणा गरेका छन् । उनलाई तत्काल निःशर्त थुनामुक्त गर्न र लोकतन्त्र बहाली गर्न अमेरिकालगायत अन्तरराष्ट्रिय समुदायले माग गर्दै आएका छन् ।

नाइजरलाई उत्तरपूर्वी नाइजेरियाको उग्रवादी समूह बोको हरामले पनि आक्रमण गर्दै आएको छ ।

संयुक्त राष्ट्रसङ्घद्वारा कोलम्बिया हिंसाको निन्दा
संयुक्त राष्ट्रसङ्घले कोलम्बियामा नाटकीय ढङ्गले हिंसात्मक घटना बढेको भन्दै निन्दा गरेको छ । कोलम्बियामा यो वर्षको पहिलो छ महिनामा ५० भन्दा बढी नरसंहारका घटना भएका छन् ।

सरकार र सशस्त्र समूहबीचको युद्ध विरामका बावजुद ११ प्रतिशतले हिंसा बढेको राष्ट्रसङ्घले जनाएको छ । मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका प्रतिनिधि जुलिएट डे रिवेरोले बढ्दो हिंसाप्रति दुःख व्यक्त गरेकी छन् ।

बोगोटामा मानवीय अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उनले सुरक्षा बलमाथि भएका अन्धाधुन्ध आक्रमण, गैर–राज्य र सशस्त्र समूह तथा आपराधिक सङ्गठनका नरसंहारका घटनाले सबैलाई चिन्तित तुल्याएको बताइन् ।

गत वर्षको अन्त्यमा राष्ट्रपति गुस्ताभो पेट्रोले देशका पाँच प्रमुख सशस्त्र समूहहरूसँग द्विपक्षीय युद्धविरामको घोषणा गर्नुभएको थियो तर त्यसको पूर्ण पालना नहुँदा अमूल्य मानव जीवन अतिवादी समूहको आक्रमणमा नाश भइरहेको छ ।

बितेका छ महिनाम नरसंहारका घटनामा १९ जना बालबालिकाका साथै एक सय ६८ जना मारिएका छन् ।

लिबियाको राजधानीमा झडप हुँदा २७ जनाको मृत्यु
अफ्रिकी मुलुक लिबियाको राजधानी त्रिपोलीमा दुई प्रमुख सशस्त्र समूहबीच भएको झडपमा २७ जनाको मृत्यु भएको छ । त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रका अनुसार झडपमा परी एक सयभन्दा बढी घाइते भएका छन् ।

सन् २०११ कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि सङ्घर्षरत प्रभावशाली ४४४ ब्रिगेड र अल–रदा बीचको झडप सोमबार राति शुरु भएको हो । दुवै पक्षबीचको द्वन्द्व अझै जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

झडपमा ज्यान गुमाउने दुवै समूहका कार्यकर्ता हुन् वा तीमध्ये केही सर्वसाधारण नागरिक पनि थिए भन्नेबारेमा स्पष्ट भएको छैन । मृतक एवम् घाइतेको अवस्था पनि केन्द्रले खुलाएको छैन । त्रिपोलीलाई आधार बनाएर मानवीय सहयोगका काम गरिरहेको रेडक्रिसेन्ट सोसाइटीले पनि एएफपीलाई कुनै सूचना दिन अस्वीकार गरेको छ ।

जी टीभी र सोनीलाई मर्जरको अनुमति
भारत सरकारले सोनी र जी टीभीलाई मर्जरको अनुमति दिएको छ। मर्ज भएपछि यो भारतको सबैभन्दा ठूलो मिडिया कम्पनी बन्ने छ । जी भारतकै स्थानीय प्रसारक हो। यो कम्पनी जापानको सोनीको भारतीय शाखासँग मर्ज हुनेछ ।

मर्ज भएको मिडियासँग ७० भन्दा बढी भारतीय च्यानल हुनेछन् । त्यस्तै, फिल्म स्टुडियो र फिल्महरु पनि हुनेछन्। जसले डिज्नीसँग टक्कर दिनेछ।

दुई मिडिया गाभिएपछि विश्वकै तीव्र गतिमा बढिरहेको भारतीय मनोरञ्जन बजारमा सोनीको पकड थप बलियो बन्नेछ । हाल भारतमा ६० भन्दा बढी च्यानलसहितको डिज्नी स्टार सबैभन्दा ठूलो टीभी नेटकवर्क हो।

सम्झौताअनुसार एकअर्कामा गाभिएपछि कम्पनीको ५० दशमलव ८६ प्रतिशत सेयर सोनीले राख्नेछ भने जीका संस्थापकको भागमा ३ दशमलव ९९ प्रतिशत सेयर रहनेछ। बाँकी सेयर अरु सेयरहोल्डरको हातमा हुनेछ। यो सम्झौता २०२१ मै भएको थियो। तर, त्यसमा ढिलाइ हुँदै आएको थियो।

भारतमा कुनै समय ससाना एकाइहरुमा रहेको मिडिया उद्योग अब ठूलाठूला समूहमा एकगठ हुँदै गएका छन्।

जी र सोनीको भारतीय संस्करणको वार्षिक आम्दानी २ अर्ब डलर हाराहारी भएको अनुमान गरिन्छ। तर, गाभिए पछि पनि यो कम्पनीले निकै कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने हुन्छ।

अर्बपतिहरु मुकेश अम्बानी र गौतम अदानी दुवैले मिडिया कम्पनी विस्तार गरिरहेका छन्। गत वर्ष अदानीले जबर्जस्ती एनडीटीभी किनेका छन् । अम्बानीको जिओसिनेमाले यो वर्ष निशुल्क आईपीएल प्रसारण गरेको थियो ।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध चौथो मुद्दा दर्ता

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अर्को आपराधिक मुद्दा दर्ता भएको छ । उनलाई जर्जियामा चुनावी नतिजा उल्ट्याउन ठगी, धम्की र जालसाजी गरेको आरोप लगाइएको छ।

ट्रम्पले भने आफूमाथि लगाइएको नयाँ आरोपको निन्दा गरेका छन् । आफ्नो आपराधिक मुद्दाको बारेमा सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका छन्, ‘मलाई धाँधली भएको महसुस हुन्छ। साढे दुई वर्षअघि उनीहरूले आरोप किन लगाएनन् रु किनभने तिनीहरू मेरो चुनावी अभियानको बीचमा अशान्ति सिर्जना गर्न चाहन्थे।’

गत सोमबार जर्जियाको ग्रान्ड ज्युरीले पूर्व राष्ट्रपतिलाई आपराधिक आरोपमा अभियोग लगाएका थिए । ट्रम्पले २०२० को राष्ट्रपति चुनावमा डेमोक्र्याटबाट पराजयलाई उल्टाउने प्रयास गरेको आरोप छ। यो सँगै ५ महिनामा डोनाल्ड ट्रम्पविरुद्ध दर्ता भएको यो चौथो आपराधिक मुद्दा हो । ट्रम्प पहिले नै न्यूयोर्क, दक्षिण फ्लोरिडा र वाशिङ्टनमा मुद्दाको सामना गरिरहेका छन् ।

पछिल्लो घटनामा पूर्व राष्ट्रपतिसँगै ह्वाइट हाउसका पूर्व चिफ अफ स्टाफ र नेता रुडोल्फ जिउलियानी विरुद्ध पनि मुद्दा दर्ता भएको छ । ट्रम्प विरुद्ध जारी अभियोगमा भनिएको छ, ‘ट्रम्प र यस अभियोगमा संलग्न अन्य अभियुक्तहरूले जानाजानी अवैध रूपमा ट्रम्पको पक्षमा चुनावी नतिजा परिवर्तन गर्ने प्रयास गरेका थिए।’

वास्तवमा यो मामिला जनवरी २, २०२१ को हो । जब ट्रम्पले जर्जियाका शीर्ष निर्वाचन अधिकारी ब्राड राफेन स्परगरलाई फोन गरेर चुनावी नतिजा आफ्नो पक्षमा ल्याउन आदेश दिएका थिए।

म्यान्मारमा पहिरोमा परी २५ जनाको मृत्यु, १४ जना बेपत्ता
म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड खानीमा पहिरोमा परी २५ जनाको मृत्यु भएको छ । घटनामा १४ जना अझै बेपत्ता छन् ।

आपतकालीन सेवा अधिकारीहरूले बेपत्ताको उद्धारका लागि उद्धार कार्य जारी रहेको बताएका छन्। अविरल वर्षा र बाढीका कारण आइतबार काचिन प्रान्तको हपाकान्त सहरको बाहिरी भागमा रहेको जेड खानीमा पहिरो गएको थियो।

मंगलबार बेलुकासम्म उद्धार कार्यका क्रममा २५ जनाको शव निकालिएको एक उद्धारकर्मीले सञ्चारमाध्यमलाई बताए । उनले १४ जना अझै बेपत्ता रहेको र उनीहरूको उद्धारका लागि बुधबार पनि उद्धार कार्य जारी रहने बताए ।

उद्धारकर्मीहरूले शवहरू फेला पार्न माटो सफा गर्नुपरेको थियो भने केही शवहरू पानीमा तैरिरहेका थिए।उत्खननका क्रममा भारी वर्षाका कारण करिब १५०–१८० मिटर ९५००–६०० फिट० अग्लो माटोको थुप्रो भत्किएको उद्धारकर्मीहरूले बताएका छन् ।

सञ्चारमाध्यमका अनुसार वर्षायामका कारण खानी सञ्चालनमा रोक लगाइएको भए पनि बहुमूल्य सामग्री भेटिने आशमा स्थानीय बासिन्दा हिलोमा जम्मा भएको अवस्थामा पहिरो खसेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ८ : ०० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको