आफ्नै गीतमा कपिराइट लाग्छ, यो भन्दा पीडा के होला ? | Khabarhub Khabarhub

आफ्नै गीतमा कपिराइट लाग्छ, यो भन्दा पीडा के होला ?


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नेपाली संगीत क्षेत्रमा कलाकारको योगदानको चर्चा कम हुन्छ। तीसको दशकमा नेपाली गायन यात्राको थालनी गरेर नेपाली गीत संगीतलाई थुप्रै आधुनिक, राष्ट्रिय, लोकगीत सिर्जना गरेर समृद्ध बनाउनुहुने बहुप्रतिभाका धनी एक सरल व्यक्तित्त्व साथै अग्रज कलाकार सूर्य थुलुङ्गसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंका ‘यो नेपाली ठिटो’ र‘माछी मारन’ लगायतका गीत निकै चर्चित छन्। तपाईंको नेपाली संगीतप्रतिको गौरवशाली यात्रालाई कसरी सम्झने ?
पहिला मलाई संगीतमा लाग्छु भन्ने थिएन। पछि रेडियो नेपालमा काम गर्दै जाँदा धेरै कुरा सिक्दै गएँ। एउटा गाएपछि अर्को गाउँदै जाऊ भन्ने हुन्थ्यो। पछिल्लो समय अझै राम्रो गीत प्रस्तुत गर्नुपर्छ भन्ने हुन्थ्यो। त्यसैले म निरन्तर संगीतमा लागेँ।

सांगीतिक यात्राको सुरुवात कसरी आरम्भ गर्नुभयो ?
म पहिलादेखि नै अरूका गीतहरू गाउँथेँ। सङ्गीतमय वातावरण भएको ठाउँ इलाममा जन्मेको हुनाले बोर्डर वारिपारि (नेपाल र दार्जिलिङ)को सङ्गीतको वातावरणले प्रभाव पारेको रहेछ भनेर अहिले बुझ्छु।

इलाममा जब जागिरे जीवन सुरु गरेँ तब गीतहरू गाइरहँदा धेरै साथीहरूले तपाईँ गीत गाउनुहोस् भनेर प्रोत्साहित गरेर स्टेजमा उतार्नुभयो। मैले गाएका गीतहरू निकै दर्शक श्रोताहरूले रुचाउनुभयो। त्यसपछि नियमित रूपमा नयाँ समूह बनाएर इलाममा गीत गायनमा सक्रिय भए। यही गीतको आधारले नै काठमाडौँ सरुवा भएर पनि आएँ।

पछि हाम्रो विभागको हाकिमहरू आउनुभयो र गीत रेडियो नेपालमा गाउनुपर्छ भन्नुभयो र मैले त्यो सम्भव छैन भनेपछि उहाँहरूले काठमाडौंमा सरुवा गर्दिन्छु भन्नुभयो। मैले रेडियो नेपालमा स्वर परीक्षण गरेँ। पहिलो गीत मेरो मित्र डम्बर पहाडीले सङ्गीत र रचना गर्नुभएको ‘मन्दिरमा गई खाएको कसम’ भन्ने थियो।

यी संघर्षका दिन सम्झदै गर्दा पुराना र अहिलेका गीतलाई कसरी तुलना गर्नुहुन्छ ?
पहिला हामी तुरुन्तै नाम कमाउने र चर्चा पाउने भनेर गीत र संगीत क्षेत्रमा लागेको होइन। सङ्गीत व्यावसायिक रूपमा पनि त्यति थिएन त्यस कारण सङ्गीत सङ्गीतको रूपमा नै प्रयोग हुन्थ्यो। पछिल्लो समय आएर धेरै परिवर्तन हुँदै गयो। पहिला हामी रेडियोमा गीत पास गर्नुपर्ने चलन थियो। शब्दहरूको शुद्धिकरण हेरिन्थ्यो। गीत सुनिन्थ्यो र सबै अग्रजहरूको बीचमा बसेर लाइभ रेकर्ड गरिन्थ्यो। कतै केही कुरा गलत भएमा उहाँहरूले यहाँ यस्तो गर भन्नुहुन्थ्यो।

अहिले जस्तो कम्प्युटरमा रेकर्ड गरेर भावनात्मक स्वरहरू हाल्ने कुरै थिएन। पुरै लाइभ बजाइन्थ्यो। अग्रजसँग बस्दा गीतहरु जीवन्त हुन्थे। त्यसैले पनि हुनसक्छ पहिलाका गीतहरू अहिले पनि सुन्दा मज्जा हुन्छ।

सिर्जना गर्दा विविधता पनि हुन्छ। राष्ट्रिय गीतलाई मिल्ने आवाज आधुनिकमा नमिल्न पनि सक्थ्यो होला तर तपाईंको आवाजमा त्यस्तो देखिएन यो कसरी सम्भव भयो ?
भाव फरक हुनसक्छ। प्रेम सम्बन्धी आधुनिक गीत फरक हुनसक्छ। शब्दमा त्यस्तै भावमा डुबेर गाउनु पर्ने हुन्छ। राष्ट्रियतामा एउटा जागरणको जोस लिएर गाउनुपर्ने हुन्छ। त्यति गायकीमा फरक होला स्वरले फरक पार्ला जस्तो लाग्दैन।

नयाँ गीतहरूको बारेमा केही सोच्नु भएको छ ?
नयाँ गीतहरू धेरै गरेको छु। तर अहिलेको धेरै धाइरहनु पर्ने खर्च गर्नुपर्ने अवस्था छ। म यस्तो कलाकार हुँ अहिलेसम्म गीत बेचेको छैन। म हेरिरहेको हुन्छु मेरो गीतहरू बेचेर धेरै खाइरहेको हुन्छन्। मेरो नयाँनयाँ गीतहरू युट्युबमा राखेर पैसा कमाएको देखिन्छ। म कहिलेकाहीँ साथीहरूको लागि फेसबुकबाट शेयर गर्छु त्यसपछि एफएमतिर बोलाउँछन्। एफएममा नयाँ गीत बजाउन भनेपछि दियो त्यही कपी गरेर युट्युबमा पुगेको हुन्छ।

मैले रिलिज गर्नुपर्ने गीत पहिला नै युट्युबमा पुगेको हुन्छ।अहिले मैले चलाउन खोज्दा यसमा कपी राइट हान्छ मलाई। गीत संगीतमा मैले दुःख गरेको छु। मेहनत गरेको छु तर पापी मान्छेको जमातले यो कुरा बुझेका छैनन्। उनीहरूले बुझ्नुपर्छ कि एउटा सिर्जनालाई कति मेहनत चाहिन्छ। जसमा सङ्गीतकार, गायक एरेन्जरले कति मेहनत गर्छ। सिर्जनाको मेहनत छुट्टै छ, स्टुडियो र म्युजिसियनलाई पैसा तिरेको हुन्छ। यस्ता सिर्जनालाई दुरुपयोग कसैले गर्नु हुँदैन।

यसको लागि कुनै निकाय छैन जसले यो समस्याको समाधान गरोस् ?
निकाय छ। साथीहरूले मुद्दा हाल्नुपर्छ भन्नु हुन्छ तर कहाँ खोज्ने ? उहाँहरूलाई भन्ने हुन्छ। कानुनी रूपमा भन्दा पनि उहाँहरू आफै मानवीय हिसाबले बुझिदिनु भयो भने सहज हुन्थ्यो। किनकी सिर्जना चोरी हुनु भनेको ठुलो अपराध हो। नेपालमा कानुन नलागे पनि विदेशमा कडा रुपमा लिन्छन्। त्यो प्रबन्ध सरकारले नै गर्नु उपयुक्त हुन्छ जस्तो लाग्छ।

तपाईँले अहिलेसम्म कति गीतहरू सिर्जना गर्नु भएको छ ?
मैले गीतमा थुप्रै काम गरेको छु। चलचित्रका लागि संगीत गरेको छु। चलचित्रका लागि पनि मैले गीत गाएको छु। नाटकहरू सबै गरेर चारदेखि पाँच सय सिर्जनामा काम गरेको छु। सिर्जना भनेको छोराछोरी जस्तो हुनेरहेछ सबैको माया लाग्छ। एउटा सर्जकले कुनै सिर्जनालाई भिन्नता गर्दैन। तर पनि राष्ट्र कविले मलाई दिनु भएको ‘मेरो मन दुख्छ हजुर भाइको मन दुख्यो भने’ त्यो गीत मनपर्छ मलाई।

अग्रजले गाएको गीत थाहा हुने तर नाम थाहा नपाउने कारण के होला ?
यो किन हो थाहा भएन। म पहिला रेडियो नेपालमा थिएँ। कतिपय गीतहरूमा नाम नभनी पनि प्रसारण गरिन्थ्यो। त्यस कारण गीतहरू पपुलर भए पनि मेरो नाम पपुलर भएनछ भनेर बुझेको हुँ। त्यो बेला आफूलाई व्यापकप्रचारप्रसार गर्ने चलन पनि थिएन।

अहिले गीत संगीत क्षेत्रमा देखिएको परिवर्तनले कस्तो संस्कारको निर्माण गर्छ जस्तो लाग्छ ?
हाम्रो बेलामा गीतमा मौलिकता हुनु अनिवार्य थियो। ती गीतहरू अहिलेसम्म पनि बाँचिरहेका छन्। अहिले कति जनाले कोठामा बसेर गीत बनाएका छन्। यताको टाउको उताको पुच्छरमा छ। यताको पुच्छर उताको टाउकोमा छ। सुन्नेलाई नै कन्फ्युज हुने। त्यो एउटा धर्म कलाकारले छोड्नु हुँदैन। जहिले पनि लोकगीत भनेको लोकको सम्पत्ति हो। एउटा गीत तयार हुनलाई त्यो ठाउँको मान्छेले कति वर्ष लगाएर त्यो शब्द, लय सिर्जना गरेको होला ? जो गीत गाउँथे उनीहरुले नामको लागि काम गरेका थिएनन्। त्यो परिवेशलाई देखेर त्यसले प्रभाव पारेर व्यक्त गरेको हो। शब्दहरू थियो लयहरू थियो। त्यो शब्दलाई तोडमोड नगर्ने एउटा धर्म हुनुपर्यो। लोकगीतका लागि काम गर्ने भए संकलन गर्नुपर्यो। लोकमा आधारित छ भने लोकमा आधारित हो भन्नुपर्यो। तर अहिले त्यो छैन।

धेरैपछि तपाईंहरूले स्वर्णिम गायन समाज गठन गर्नुभयो र कार्यक्रम पनि गर्नुभयो। धेरै पछि स्टेजमा गाउँदा कस्तो महसुस भयो ?
म बिरामी थिएँ। तर पनि गाएँ । यो खुसीको कुरा थियो। हामी सबै पुराना कलाकार एक भएका थियौँ। हाम्रा पुराना गीतहरू पनि गाउने अवसर प्राप्त भएको छ। यो समूहमा जोडिएर सक्रिय भएर लाग्ने छौँ।

थुप्रै लोकप्रिय गीतहरू छन् तिनलाई पुनः रेकर्ड गरेर बजारमा ल्यायो भने के होला ?
‘माछी मार न’ मैले गाएको गीत हो। यसको संकलन नवीन गुरुङको हो। यो गीत धेरै प्रसारण भएको छ। पहिला एक जना रमेश खड्का, पहल चाम्लिङ र त्यसपछि अरु गायिकाले पनि गाउनु भएको थियो। त्यो राम्रो भएको छ, हिट भएको थियो। रिमिक्स गर्नु राम्रो हो। तर त्यो लोकगीतको अनुहार नै बिगारेर गरेको देख्दा दुःख लाग्छ मलाई। (एभिन्युजको सहकार्यमा तयार अन्तवार्ता)

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ८ : १३ बजे

काठमाडौं महानगरको कार्यालय समय बिहान ९ बजेदेखि

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको

धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द

जनकपुर– आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०-८१ को

वेस्टइण्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहितको अर्धशतक

काठमाडौं – वेस्टइन्डिज ‘ए’ विरुद्ध दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नेपाली

परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल

ऊर्जा विकासमा १२ वर्षभित्र ६१ खर्ब रुपैयाँ आवश्यक, लगानी कसरी जुटाउने ?

काठमाडौं । नेपालले सन्‌ २०३५ भित्र कम्तिमा २८ हजार ५००