मिले लुट्ने, नमिले फुट्ने | Khabarhub Khabarhub

मिले लुट्ने, नमिले फुट्ने



भगवान विष्णु र देवराज इन्द्रबीच मर्यादाको विषयलाई लिएर संघर्ष चल्यो । कुरैकुरामा उत्तेजित इन्द्रले १२ वर्षसम्म पृथ्वीमा एक थोपा पानी बर्साउन नदिने घोषणा गरे । इन्द्रको विश्वास थियो– ‘पृथ्वीबासीको रक्षाका लागि सम्पूर्ण देवगण मेरो शरणमा आउने छन् ।’ यही सोचेर उनले मेघलाई वर्षा नगराउने आदेश दिए । तत्काल वर्षा रोकियो । वर्षा रोकिएपछि मानव लोकमा कोकोहोलो मच्चिएला भन्ने इन्द्रको विश्वास थियो । तर किसानले सोचे– ‘यदि एकदशक हामी आफ्नो कर्तव्यमा चुक्यौँ भने सन्ततिले कर्मको बाटो बिर्सन सक्छन् ।’

उनीहरु तत्काल खेत जोत्न थाले । खडेरीमा किसानले खेत जोतेको देखेर भ्यागुतोले आश्चर्य प्रकट गर्‍याे । किसानले उसलाई पनि आफ्नो कर्ममा लीन हुन सम्झायो । भ्यागुतोले पनि सोच्यो– ‘यदि मैले पानी नआएको निहुँमा टर्टराउन बिर्सिएँ भने त्यो मेरो धर्म विपरीत हुन्छ ।’ उ पनि घोक्रो तानी तानी टर्टराउन थाल्यो । भ्यागुतो टर्टराएको सुनेर आश्चर्यचकित हुँदै मयूरले अनर्थको काम नगर्न सल्लाह दियो । भ्यागुतोले मयूरलाई सम्झायो– ‘भाइ, हाम्रो अधिकार भनेको कर्म गर्नु हो । कर्म गरेपछि फल नपाइने कुरै छैन ।’ मयूर पनि बिन्दास ढंगले पखेटा फिँजाएर नाच्न थाल्यो ।

आफ्नो आदेश कार्यान्वयन भएको हेर्न इन्द्र पृथ्वीमा झरे । उनका आँखा कोलाहल हेर्न लालायित थिए । तर आश्चर्य सबै आफ्नो काममा निर्लिप्त देखेर इन्द्रको होसहवास उड्यो । उनले व्यर्थको मेहनत नगर्न किसानलाई आग्रह गर्दा उल्टो किसानले थर्काए– ‘तपाईं आफ्नो काम गर्न/नगर्न स्वतन्त्र हुनुहुन्छ तर हामीलाई हाम्रो काम गर्न दिनुस् । किनकी कर्म नै धर्म हो ।’ किसानको भनाइले इन्द्रको आँखा खुल्यो । उनलाई लाग्यो– ‘आज जुन देवराज इन्द्रको पद मैले पाएको छु, त्यो मेरो कर्मका खातिर हो । यदि कर्मबाट च्यूत भएँ भने संसारले गर्ने आदर सम्मानबाट म वञ्चित हुन्छु । बदनामी बाहेक मेरो हात केही लाग्ने छैन ।’ उनले तत्काल मेघलाई पानी बर्साउन आज्ञा दिएर गल्तीको प्रायश्चित गर्दै स्वर्गलोक फर्किए ।

आफूलाई नेपाल धर्तीको इन्द्र सम्झिने पीके, शेरबहादुर, केपी, रामचन्द्र, माधव मिलेनन् भने के हुन्छ ? उत्तर हाजिर छ– उनीहरूको आफ्नै पखेटा काटिने बाहेक केही हुँदैन । देशको राजश्व र देवश्व मास्नु हुन्न भन्ने प्रज्ञा र चेतनाबाट समेत च्यूत भइसकेकाबाट भाग्य र भविष्यको अपेक्षा गर्नु आत्मघात सिवाय केही होइन । आफ्नो घर परिवार मिलाउन त चुकेका यिनीहरु तीन करोड जनताको व्यवस्थापनमा पटकपटक असफल सावित भइसकेका छन् । लाज लुगामा नभएर नियतमा हुन्छ । 

यो पृथ्वीमा मानिस आउने–जाने, उत्थान–पतन सबै कर्मअनुसारका स्वाभाविक फल हुन् । सारा नेपालीले आफ्ना बाउबाजेसँगै तर्पण दिने राजा वीरेन्द्रको वंश नासपछि अस्वाभाविक बाटैबाट भएपनि अर्को राजा आएर त्यो ठाउँ पूर्ति गरेकै हुन् । राजा नभएर सिंहासन खाली भएन । जतिसुकै रोए कराए पनि कुनै एक व्यक्ति राजपरिवारसँग सति गएको सुनिएन । पद्धति हैन राजा खुसी पारेर राजनीतिमा अनवरत जागिर खाएका पञ्च बहुदलमा बसाईं सरेर राजावादी र बहुदलवादी दुवै पसलमा आफूलाई बिकाए ।

पत्रकारको भेषमा उदाएका पात्र रमेशनाथ पाण्डेले राजा महेन्द्र, बीपी, जीपी हुँदै प्रचण्डसम्मको सूत्रधार हुन भ्याए । दुई तिहाइ सरकार हुँदा बीपीका पिलर भनिएकाहरू उनैलाई ‘कू’ गर्ने रणनीतिका मतियार बने । माओवादी महाभारतमा प्रचण्डलाई गणेश भएर मन, वचन र कर्ममा सघाएका बाबुराम भट्टराई आफ्नो विगतप्रति पश्चातापको प्रलाप गरिरहेका छन् ।

सिद्धान्त, जेल, संघर्ष नभएर अबको सम्बन्ध धन्दाले निर्धारित गर्छ । शहीद, बेपत्ता परिवार, लडाकु, घाइते भनेका प्रचण्डको राजनीतिक म्यारिज खेलका ‘माल’ हुन् । जुन सरकार आए पनि प्रचण्ड यिनै तूरुप लिएर आर्जनको मोलमोलाइ गर्न भ्याउँछन् । बीपी कोइराला, मदन भण्डारी देउरालीका ढुंगा हुन् । यिनको माथमा अबिर छरेर एक फन्का लगाएपछि जति अपराध गरे मुक्ति पाइने आम कांग्रेस र एमालेजनको बुझाइ हो । 

कुनै पनि पार्टी लोकप्रियताले नभएर चुनावका दिन पाक्ने पकवान र चुनाव खर्चको चाँजोपाँजोमा ‘भाले’ हुने हुन् । चुनावको टिकट लिलाम बढाबढ नै हो । सबै राजनीतिक दलका मुखियाले यो सत्य घाँटीघाँटीसम्म बुझेका छन् । वर्षको सय, पचास करोडको आम्दानी नगर्ने व्यक्ति प्रमुख राजनीतिक दलको मुखिया हुने सपनामा पनि नसोचे हुन्छ ।

सरकार भनेको छलकपटको पुलिन्दा हो भन्ने सत्य सबैका घाँटीघाँटीमा छ । सरकारले स्वास्थ्य उपचार सहज बनाएको घोषणा गरेका दिन सर्वाधिक नागरिकको ज्यान जान्छ । आधा वर्षलाई पुग्ने खाद्यसामग्री जोहो छ भनेर सरकारी पदाधिकारीले भनेको भोलिपल्ट बजारमा कालोबजारीको बर्चस्व हुन्छ । सिंहदरबारदेखि ब्रह्मनालको दाउरासम्म कमिसनको जालो छ । उपचारमा मात्र हैन, खरानी हुन पनि सोर्स लगाउनुपर्ने अवस्था छ । यी सबै भोग्दाभोग्दै पनि समृद्धिको बेसुरा राग सुन्नु परेको छ ।

भनिन्छ– सबैभन्दा सत्य कहानी भट्टीले सुनेको हुन्छ भने झुठो प्रलापको साक्षी अदालत बन्ने गर्छ । न्यायमूर्तिहरू कानले हेर्छन् । जब आँखाले हेर्नेहरुको आतंक बढ्छ, तब कानले हेर्नेहरू चनाखो हुन्छन् । को ठीक, को बेठीकको बहस आफ्ना ठाउँमा छ । तर सत्य चाहिँ के हो भने जब झण्डेहरुको बाक्लो उपस्थितिले कार्यपालिका र न्यायपालिकाबीच अन्तर भेटिन्न तब न्याय लिलामको वस्तु बन्छ । न्याय हराएको मुलुकमा चल्ने भनेको धनवाद, डनवाद नै हो । 

बिन लादेन र सद्दाम हुसेन अमेरिकाको पालनपोषणमा हुर्किएका पात्र थिए । कालान्तरमा तिनै पात्रको टाउको दुखाईबाट आजित अमेरिकाले साम, दाम, दण्ड भेदको बाजी राखेर सिध्याउनु पर्‍यो । यो त टेलर मात्र हो, भागबन्डाको राजनीति नसच्चिने हो भने कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको रत्यौलीले न्याय मर्नेछ । त्यसमाथि गरिबको आवाज बोल्ने मिडियाको चरित्र एकछिन सामाजिक सञ्जालमा हेर्दा ऐना हुन्छ ।

उत्ताउलो राजनीतिक नेतृत्वलाई न्यायालयले लगाम लगाएका संसारमा थुप्रै उदाहरण छन् । छिमेकी मुलुक भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तानी सेनाका एक लाख जतिलाई बन्दी बनाइन् । पाकिस्तान टुक्र्याएर दुई स्वतन्त्र देश बनाइन् । सिक्किमलाई भारतमा बिलय गरिन् । दक्षिण एशियाका कुनै शासक उनलाई आँखा उठाएर हेर्न सक्दैनथे । अटलविहारी बाजपेयीले त गान्धीलाई ‘रणचण्डी’ उपाधि दिए । धाँधली र सरकारी बलको प्रयोग गरी उनले पश्चिम बंगालको चुनावमा सीपीएम पार्टीलाई चुनाव बहिष्कारका लागि बाध्य पारिन् ।

त्यसपछि कांग्रेसको एकलौटी शासन चलाइन । तर जगमोहनलाल नामका न्यायाधीशले इन्दिरा गान्धीले गराएको चुनाव कानुनी खिलाफ भएको भन्दै बदरको घोषणा गरिदिए । यो फैसलाले सम्पूर्ण भारत हल्लियो । एउटा न्यायाधीशको फैसलाले सर्वशक्तिमान् इन्दिरा गान्धीले शक्ति र सत्ताबाट हात धुनुपर्‍यो । करोडौँकी ‘राजमाता’ भनिएकी गान्धी चुनावमा नराम्रोसँग पछारिइन् । ‘म नै राज्य हुँ’ भन्ने लुइस चौधौँको अहं अरुमा रूपान्तरण हुन्छ, तब यस्ता घटना स्वाभाविक बन्दै जान्छन् । पाकिस्तान, बंगलादेशमा त यस्ता थुप्रै नजिर छन् । 

जनता पाखुरी बजार्ने काममा अग्रसर भएको भए यो देशका नेता उहिल्यै सन्यासी हुन्थे । कोरोनाले महाविकट, भूइँचालोको त्रासदी र नाकाबन्दीले पनि नेपाली चरित्र बीसको उन्नाइस भएन । सिंहदरबारको कुर्सीमा आसिन शासकभन्दा सिंहदरबार भजाउने दलालहरू शक्तिशाली बन्दै गए । देशका विषय विज्ञहरू आफ्नो विषयमा कम अरु विषयमा बढी चतुर भएर निस्कन थाले । कालो कोट लगाउने वकिलहरु वकालतभन्दा जग्गा बेचबिखनको धन्दामा जमे । 

पत्रकारको कलम लेखाइमा थोरै, दाइहरूलाई सल्लाह दिन धेरै बिक्न थाल्यो । सम्पत्तिका नाममा जसको एउटा चिउरा मिल नभएकाहरू निजीक्षेत्रका नेता दरिए । राजनीतिको पहिलो खुड्किलोमै पछारिएकाहरू मानवअधिकारवादी र नागरिक समाजका प्रतिनिधिको अवतारमा अनुवाद भए । जिन्दगीमा जसले एउटा पुस्तक सग्लो पढेको छैन, तिनीहरु देशलाई काम नलाग्ने डाक्टरको पदवी बोकी स्वघोषित बुद्धिजीवी भएर शहर पसे । बैंकहरूले कालोसूचीमा नाम डामेकाहरु खुल्ला अर्थतन्त्रका मतियार भए । सिंहदरबार यस्तो ७७ औँ जिल्ला प्रमाणित भएको छ, जहाँ पस्दा मै हुँ भन्ने माइकलाल फर्किँदा रुझेको बिरालो बन्दै निस्किएका छन् ।

कृष्णलाल अधिकारी मकैको खेती पुस्तक लेखेको अभियोगमा मारिए । आज पनि मकैमा खुम्ले लाग्छ । विज्ञले त्यसको ओखती बताउँछन् । तर सत्ता र शक्तिबाट अन्धो मानिस कति भयभीत हुँदोरहेछ भने खुम्ले र आफूमा अन्तर देख्दोरहेनछ । कृष्णलाल मारिए पनि उनको लेखनी सत्यबाट डगमगाएको छैन । मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ– ‘…. सरकारले आफ्ना देशका कुकुरहरू भन्दा विदेशी कुकुरहरूको बढ्ता मान गर्छ तर चोर डाकाहरुबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुरहरू काम लाग्दैनन् । स्वदेशी कुकुरहरू नै काम लाग्छन् ।’

पूरा विश्व ढुकुर मार्ने बन्दुकमा भर परिरहेका बेला मेसिनगन बनाउने गेहेन्द्रशम्शेरको उत्साहले निरन्तरता पाएको भए, चीनको इच्छाशक्ति जापानसम्म पुर्‍याएर युद्धविराम गराइदिएकोमा टंकप्रसाद आचार्यलाई नोबेल शान्ति पुरस्कार र लक्ष्मीप्रसाद देवकोटालाई नोबेल साहित्य पुरस्कार प्रदान गरिसकिएको हुने थियो । ती सुखद दिनको प्रारम्भ भइदिएको भए आज नेपाली शिष्ट, सभ्य, सुसंस्कृत नेपालका समृद्ध नागरिक बन्ने थिए । राज्य भनेको एउटा त्यस्तो अकाट्य शक्ति हो, जसले अहिले मात्र हैन, २० वर्षपछि जन्मनेहरूको पनि भविष्य सुरक्षित गरिदिनु पर्छ । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ६ : ०९ बजे

सर्वोच्चका न्यायाधीश भट्टराईले आजदेखि अनिवार्य अवकाश पाउँदै

काठमाडौं– सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले शुक्रबारदेखि अवकाश पाउँदैछन्। सर्वोच्च

अमेरिकी क्रिकेटलाई चर्चामा ल्याउने दुई भारतीय

सौरभ नेत्रवालकरले सुपर ओभरमा गरेको सनसनीपूर्ण प्रदर्शनले अमेरिकाले पाकिस्तानलाई हरायो।

सरकारले सेनालाई घरजग्गा भाडामा दिएपछि स्थानीय आक्रोशित

काठमाडौँ– पाकिस्तान अधिनस्थ गिल्गिट बाल्टिस्तानमा सरकारले सेनालाई घरजग्गा भाडामा दिएपछि

भारी वर्षा र बाढीका कारण फ्लोरिडामा आपतकाल घोषणा

काठमाडौं– लगातार भारी वर्षा भएपछि अमेरिकाको फ्लोरिडा आपतकाल घोषणा गरिएको

देशकै तेस्रो ठूलो विद्युत सबस्टेशनको उद्घाटन आज, प्रधानमन्त्री हेटौंडा जाँदै 

काठमाडौं– हेटौँडामा नवनिर्मित देशकै ठूलो विद्युत् सबस्टेसनको औपचारिक उद्घाटन आज