हर्ष र उमंग छाओस्, दसैँमा विकृति नआओस् | Khabarhub Khabarhub

हर्ष र उमंग छाओस्, दसैँमा विकृति नआओस्

'अहिले कताकता राज्यले नै संस्कृतिको नाश गर्न खोजेको भान हुन्छ'


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्म मान्नेका घरमा दसैंको चहलपहल सुरु भइसकेको छ । दसैंको तयारीमा घटस्थापना गरिसकेका छन् । आश्विन शुक्ल प्रतिपदादेखि नवरात्रसम्म शक्तिको आरधनाको विषयमा विभिन्न चर्चा र परिचर्चा हुन्छ । शक्ति स्वरुपा देवीको पूजा आराधना, देवीको विषयमा जोडिएर र विजयादशमीको टीका, साइत र विधिमा आधारित रहेर संस्कृतिविद् प्रा. डा. माधव भट्टराईसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

हिन्दु धर्म, संस्कृति, राष्ट्रिय धर्म संरक्षणको एउटा अभियानमा जोडिएको व्यक्तिको हिसाबबाट प्रष्ट पारिदिनुहोला । यसपालिको घटस्थापना चित्रा नक्षत्र र वैधृति योग छ, शान्ति गरेर मात्र घटस्थापना गर्नुपर्छ भन्छन् यो कस्तो योग हो ? के हो समस्या ?
शुक्ल प्रतिपदाको दिन घटस्थापना हुन्छ । जुन जमरा राख्ने दिन हो । संयोग हेर्दा नक्षत्र पनि राम्रो छैन । योग पनि राम्रो छैन । हामीसँग घटस्थापना गर्ने अर्को दिन छैन । सामूहिक रूपमा दसैँ पूजा देवी पूजा गर्नेहरू वा राज्यको तर्फबाट गर्नेहरूले चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्छ भनेर पञ्चाङ्गले पनि भनेको छ । त्यसैले पञ्चाङ्गले गरेको साइतपछि गर्नुपर्छ । त्यो भन्दा अगाडि चित्रा नक्षत्र र वैधृतिको शान्ति गर्नुपर्छ । खास गरी राज्यको तर्फबाट हुने ठाउँमा शान्ति गर्नैपर्छ । त्यस्तै योगमा जमरा राख्दा वा घटस्थापना गर्दा त्यति शुभ हुँदैन। व्यक्तिगत रूपमा शान्ति गरेर गर्न सम्भव हुँदैन । सामूहिक रूपमा गर्नेले गर्दा राम्रो हुन्छ ।

चित्रा नक्षत्र र वैधृति योग भनेको के हो र यसको दोष के हो त ?
यसको पुरा अर्थ भन्दा मान्छेमा त्रास बढ्छ । तर यसको अर्थ घटस्थापना नै नगर्ने भन्ने होइन । राज्यको तर्फबाट राज्यका विभिन्न निकायका व्यक्तिहरूले जुन पूजाको प्रसाद लगाउँछन् त्यो ठाउँको जमरा राख्दा गर्नुपर्छ भन्ने हो । पहिला पनि गरेको हो । पहिला एउटा नक्षत्रको मात्र दोष पर्दथ्यो । व्यक्तिगत रूपमा सबैले सम्भव हुँदैन । बिहानै होइन अलिकति विलम्ब गरेर घटस्थापना गर्ने हो । यसको कुनै दोष हुँदैन ।

व्यक्ति विशेषले दोष काट्छु भनेर भन्यो भने देवीको प्रसाद लगाउँदै गर्दा गर्न सकिने केही हाम्रा विधि छन् कि ?
पद्धतिका पुस्तकमा छन् । कसरी गर्ने भनेर त्यसको शैली उल्लेख हुन्छ । एक डेढ घण्टाको कुरा हो । व्यक्तिले पनि गर्न सक्छ । तर सर्वसाधारण सबैले गर्न अलि सम्भव हुँदैन । सामूहिक रूपमा इच्छा भयो भने गर्न सकिन्छ । अहिलेको युगमा धेरैले यो कुरा नमान्लान् तर शास्त्रीय हिसाबले यो राम्रो योग होइन ।

घटस्थापना विधि साधनहरु के–के हुन् ?
हामीले जुन ठाउँमा घटस्थापना गर्छौँ वा देवीको पूजा गर्छौ त्यो ठाउँलाई चोखो र सफा बनाउने पहिलो काम हो । आफ्नो क्षमता अनुसारको सजावट गर्ने गर्नुपर्छ । चोखो माटो ल्याउनु पर्यो, जमरा राख्नलाई जलपूर्ण घडा राख्ने र सबै भन्दा पहिलो कुरा भनेको भक्ति र भाव नै हो । जयन्ती मंगलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवधात्री स्वाहा स्वधा नमोस्तुते । यो मन्त्रको प्रयोग गर्ने र देवीको आह्वान गर्ने र त्यही ठाउँमा नव दुर्गाको आह्वान गर्ने, ध्यान गर्ने गर्न सकिन्छ ।

यसपाली यो नवरात्र अवधिभरमा कुनै तिथि टुटेका योगहरू छन् कि छैनन् ?
त्यस्तो नराम्रो योग छैन । यसपाली नवरात्रिको तिथि टुटेको छैन । दशमी तिथि टुट्दा हामीले नवमीमा टिकाको साइत दियौँ । अहिले तिथिमा कुनै समस्या छैन ।

फूलपातीमा विशेष गरी ९ प्रकारका पालुवा वा जडीबुटीजन्य वनस्पति भित्र्याउने जुन सांस्कृतिक मान्यता छ । फुलपातीसँग जोडिएको विधि के हो ?
हामीले ९ किसिमका अन्न र वनस्पती जुटाउने हो । धान, अशोक, बेसार, हलेदो वा औषधीय गुण भएका वनस्पतिहरूलाई ल्याएर घरमा प्रसादको रूपमा भित्र्याउने प्रचलन हो । पञ्चेबाजा, शंखघण्टा होस् वा यसमा अरूको मालश्री गाउने मौलिक प्रचलन पनि हाम्रो छ ।

मालश्री हामीले पछिल्लो समयमा हाम्रो संस्कृतिलाई संवृद्ध बनाउन ल्याएको बाजा हो कि धुन हो ?
यो एक प्रकारको धार्मिक धुन हो । त्यही धुनमा आधारित रहेर दुर्गाको भजन हुन्छ । मालश्री अहिले हराउँदै गएको छ । पहिला त्यसको किताब हुन्थ्यो । अहिले पाइँदैन । कतै कतै गाउँछन् । त्यसलाई हामीले प्रोत्साहन गर्नुपर्ने हो । हाम्रा धुनहरु आयातित बाजाहरूले खाइरहेका छन् । अहिले विवाहमा पनि मान्छेहरूले पञ्चेबाजा बजाउन थालेका छन् । हाम्रो बाजाहरुमा आत्मीयता छन्, मौलिकता छन् तर त्यसलाई हामीले त्याग्दै गुमाउँदै गइरहेका छौँ ।

मालश्री धुन हामीले जुन ढङ्गबाट दशैसँग जोडेर बजाउँछौँ वा बजाउने परम्परा रही आएको छ । यो धुन भारतमा राम लीलामा बजाएर रमाइलो गर्ने प्रचलन छ । त्यो प्रचलनसँग यो कत्तिको अन्तर सम्बन्धित छ ?
मालश्रीमा पुरै शक्तिको आराधना हुन्छ । शक्तिको चरित्रहरूको गुणगान गरिन्छ । जय दुर्गे कालीका भनेर । कालीको रूपमा हाम्रो नेपाली सेनाले पनि प्रयोग गर्छन् । राम लीला भनेको भारतको र हाम्रो धेरै कुरा तुलना हुँदैन । उनीहरूको लामो समय बीचमा विदेशीहरूको शासन भयो । मौलिकता त्यहाँ रहेन । त्यहाँ हामीले जुन बेला उत्तराखण्ड हाम्रो हातमा वा हाम्रो अधिनमा थियो । भारतको अहिलेको उत्तराखण्डमा भएका अधिकांश मन्दिरहरू नेपालीले अमरसिंह थापाहरूले बनाएका छन् । भद्रकाली मन्दिर, नेपाली धर्मशाला पत्रिकाहरू, केदारनाथका धर्मशालाहरू छन् । बेलायती उपनिवेशको समयमा त्यहाँका सांस्कृतिक अतिक्रमण भयो । मुस्लिमहरूको शासनको समयमा अंग्रेजको शासनको समयमा सबै ध्वस्तै पार्याे । अहिले पुनर्जागरणको रूपमा आएको हो त्यहाँ । त्यसैले रामलीला पनि सत्यको विजयको रूपमा रामले रावणलाई वध गरेको भनेर मनाइन्छ । हाम्रो दसैंको कथा त्यहाँ गएर पनि गाँसिन्छ । त्यसमा अभिनय गरेर रामले रावणलाई मार्यो भनेर सन्देश दिनको लागि उनीहरूले बनाएका हुन् ।

तर अहिले कताकता राज्यको तर्फबाट नै नाश गर्न खोजेको हो कि जस्तो हामीलाई भान भएको छ । जस्तो गाईका कुरा, वृक्षहरुको कुरा अहिले बाटो बनाउने भनेर पहिला बरपिपलका रुख चौतारीहरू भएको ठाउँमा डोजर लगाइन्छ । हाम्रोमा सबै कुरा मौलिक थियो । हाम्रो दक्षिणको सम्पूर्ण परम्परा मौलिक नै थियो । उनीहरू त घटस्थापना गर्ने पनि थोरै हुन्छन् । फूलपातीबाट सुरु गर्छन् र एउटा माटोको देवीको मूर्ति बनाउँछन् । भारतमा राम्रोसँग दुर्गा पूजा हुने भनेको कोलकत्ता (काली)मा हो । तर हाम्रो जस्तो घटस्थापना मान्ने थोरै ठाउँ छ भारतमा । तर हामीले हाम्रो कर्म नछोडेको र हामी शक्तिको उपासक हौँ । नेपालीको विविधता संसारभर प्रसिद्ध थियो । अब त धेरै ठाउँमा हाम्रै नेपालीहरूले नै प्रश्नहरू उठाइरहेका छन् । विरोध गरिराखेको छौँ ।

हामीले हाम्रा मौलिकताहरू मासिरहेका छौँ, भारतीयहरू उनीहरूको संस्कृतिलाई पुनर्जागृत गर्न खोजिरहेका छन् किन ?
आफ्नो धर्म संस्कृतिका नयाँ प्रथाहरू पहिचानका नयाँ परम्पराहरू उनीहरूले नयाँ रूपमा प्रवर्तन गरिरहेका छन् । प्रचलनमा ल्याएका छन् । हामी भएको पनि मास्दै छौँ । यो गलत अभ्यास हो ।

महाअष्टमीको दिन शक्तिशाली बलि दिनैपर्छ भन्ने एउटा हाम्रो बलि पूजासँग जोडिएको शास्त्रीय मान्यता छ । तर पछिल्लो समयमा बलि दिनु हुँदैन, बलि पूजा नै धर्म भन्दा बाहिरको हो भन्ने ढङ्गबाट प्रचार भइरहेको छ । खास गरेर धार्मिक, शास्त्रीय र पौराणिक हिसाबबाट भन्दा यो विषय कसरी जोडिन पुग्छ ?
यो हामीले गरेको होइन । हजारौँ वर्षदेखि चलिआएको प्रथा हो । विधिमा काहीँ कमजोरी छ भने सच्याउनुपर्छ । यसमा धेरै प्रतिकात्मक अर्थ पनि राख्छ । सुरक्षा निकायहरूमा यो बली बढी हुन्छ । गाईलाई हामी माताको रूपमा मान्छौँ, त्यसको नाश भइराखेको छ । जानीजानी त्यसको प्रचार भइरहेको छ । त्यसलाई हामीले धार्मिक भन्यौँ । राज्यले पनि राष्ट्रिय जनावर भनेको छ । दुनियाँमा राष्ट्रिय जनावरमाथि कुनै पनि अवहेलना दुर्व्यवहार गर्नेलाई कडा कारबाही हुन्छ । तर नेपालमा कताकता सरकारकै सहमति छ कि भन्ने पनि छ । किनभने सरकारमा बस्ने व्यक्तिहरू सांसदहरूले यसको वकालत गर्ने प्रयत्न गरिराखेका छन् । यिनीहरूले यस्ता ठुला हत्या हुँदा नबोल्नुले एउटा दुर्गाको देवीको थानमा शक्तीपिठमा कसैले बली गर्यो भने त्यसमा बोल्नु त तिनलाई धिक्कार छ । उनीहरू बोल्ने अधिकार पनि छैन ।

हामी कुनै धर्मको अन्याय गर्दैनौँ हामी सनातनीहरू सबै धर्म सर्वे भवन्तु भन्छौँ । अरूको धर्म सम्प्रदायहरुले ठुला ठुला जनावरहरू हात्ती, उँट ,गाई, बाख्रा, बोका काटिरहेका छन् त्यसमा कोही बोल्दैनन् । हाम्रो देवीको पूजामा प्रश्न उठाउँछन् भने त्यस्ता मान्छे घृणित व्यक्ति हुन् । म बलि प्रथाको समर्थक होइन । साकाहारी हुँ । तर म शास्त्रको कुरा र राष्ट्रको कुरा बोल्ने मान्छे हुँ ।

शास्त्रले त जसले मासु खान्छ, जो तामसी छ, जो राजसी छ उसले बलि अनिवार्य गर्छ भनेको छ । त्यस कारणले म बलि दिन्न । हाम्रो परिवारमा मासु भित्रिँदैन तर चलिआएको परम्पराको समर्थक हुँ म ।

त्यो हामीले बनाएको होइन । ती परम्परादेखि चलिआएका छन् । ती शास्त्र पुराण वेदहरूमा उल्लेख भएका कुरा हुन् । जसले वेद छोएको छैन, धर्मशास्त्र पल्टाएको नै छैन उसले हाम्रो शास्त्रमा बलि छैन भनेर भन्छ । त्यस्ताको जवाफ हैन ।

यो धर्म संस्कृति बिथोल्नको लागि आएकाले चलाएको बहस मात्र हो ?
त्यो एउटा खुलेआम प्रहार गरेको मात्र हो । कसैले नखाओस्, नैतिकताको पालना गरोस्, सात्त्विक भोजन गरोस्, शुद्ध र सच्चरित्र जीवन जिओस्, कोही सात्त्विक छ भने बलि गर्नु पर्दैन । तर मान्छे बोडरमा बस्छ चौबिस घण्टा राइफल ताकेर बसेको छ । त्यो मान्छेले त्यो संस्थाले निकायले बलि गर्यो भने एउटा बोको काट्न सकेन भने शत्रु आउँदा त्यसले के गर्छ सरेन्डर गर्छ पहिला । बोको काट्नेको त्यहाँ प्रतिकात्मक अर्थ पनि छ । शूरता र वीरताको प्रतीक पनि हो।

एकादशी, पूर्णिमा, औंसीका दिन पारेर बिभत्स रूपले सडकमा मासु माछा बेचेको देखिन्छ । त्यसमा बोल्नु पर्यो । त्यो अधर्म हो पाप हो । मासु खाँदा नियमले खानु पर्यो । आफ्नो स्वादको लागि पेट भर्नको लागि खानेछ भने त्यो पाप हो । शास्त्रले त्यो व्याख्या गरेको छ ।

बलिको सन्दर्भमा बोको, राँगो, भेडो, कुखुरा, हाँसलाई विभिन्न प्रतिक मानिन्छ यसको अर्थ के हो ?
त्यो भनेको नक्कली कुरा हो । पहिला आफू सात्त्विक बन्नुपर्यो । पहिला आफू मासु छोड्नुहोस् । मासु खानु पर्यो भने देवतालाई चढाएको मौकामा विधिपूर्वक अर्पण गरेर खाँदा दोष लाग्दैन भनेर भनेको छ । जसले यो कुरा उठाएको छ उहाँले हाम्रो धर्ममा आक्रमण वा त्यसलाई प्रहार गरेर मानिसहरूमा भ्रम सिर्जना गरिरहेका छन् ।

नौ दिनसम्म हामीले देवीको पूजा गर्दा त्रुटि भयो भने दशमीको दिन के गर्नुपर्छ र देवीको प्रसाद कसरी ग्रहण गर्नुपर्छ ?
बिहान देवी बिसर्जन हुन्छ । यदि नियमसँग साइत हेरेर घटस्थापना गरेका छौँ र विधि पूर्वक पूजा आजा गरेको छौँ भने त्यहाँको स्थापना गरेको देवीलाई टिकाको दिन बिहान बिदाइ गर्ने यस पटकको दसैँमा पूजा गर्यौं गल्ती भएको भए माफ गरिदिनुहोस् भनेर अहिले हजुरलाई बिदा गर्दछौँ । फेरी हामीले अर्को पटक बोलाए बापत अर्को पटक पनि आएर आर्शिवाद दिनुहोस् भनेर विधिपूर्वक देवी विसर्जन गरेपछि वास्तवमा टिका खुल्छ । मान्यजनबाट गुरुजनबाट टिका जमरा फूलपातीका दिन भित्र्याएका फुलपातीहरु ग्रहण गरेर मान्यजनले आर्शिवाद दिनुहुन्छ । सके साइतमा टिका लगाउँदा हुन्छ तर त्यो दिन नै टिकाको दिन हो । त्यसैले देवी बिसर्जन साइतमा गर्ने त्यसपछि टिका प्रसाद जतिबेला लगाए पनि हुन्छ ।

दसैंमा टीका लगाउँदा दिने आर्शिवाद र मन्त्र के हो ?
हाम्रो नेपाली आर्शिवाद आयू द्रोणसुते श्रीयो दसरथे शत्रुक्षयं राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने । दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते। विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे । यो आर्शिवाद हुन्छ । यसमा जति उल्लेख गरेका पात्रहरू विभिन्न अजर अमर कृति भएका पात्रहरू छन् । उनीहरुकै नाम समेटिएको छ । तिनको जस्तो कृति प्राप्त होस् भनेर दिइएको छ । दसैँमा कुनै विकृति नआओस् सबैमा हर्ष उमङ्ग छाओस् । बडादशैँको सबैलाई शुभकामना ।।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ११ : ५५ बजे

शैक्षिक सुधार अपरिहार्य रहेकोमा जोड

तनहुँ– नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा

चिसो मौसममा हुने छालाको एलर्जी र बच्ने उपाय

चिसो मौसममा छालाको समस्याले धेरैलाई सताउने गर्दछ। यो समस्या चिसो

व्यावसायिक रुपमा सफल बलिउडका चार निर्देशक

काठमाडौँ– बलिउडमा आफ्ना फिल्म ‘पाँच सय करोड क्लब’मा प्रवेश गराउँने

हात्तीको प्रतीक घरमा राख्दा फाइदै फाइदा

आफू बस्ने घर सफा र सुन्दर बनाउने सबैको चाहना हुन्छ

आजको मौसम कस्तो छ ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल