मूल्यवृद्धिले दुग्ध व्यवसायमा सङ्कट « Khabarhub

मूल्यवृद्धिले दुग्ध व्यवसायमा सङ्कट


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले दूधमा गरेको मूल्य वृद्धिका कारण दुग्ध व्यवसाय सङ्कटमा परेको व्यवसायीले बताएका छन् । नेपाल डेरी एशोसिएशन कोशी प्रदेशले आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले दूधको मूल्य बढाएपछि दुग्ध व्यवसाय सङ्कटमा परेको जनाएको हो । सरकारले किसानले उत्पादन गरेको दूधको मूल्य वृद्धि गरेपछि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको एशोसिएशनका कोशी प्रदेश अध्यक्ष गङ्गाबहादुर खड्काले बताए ।

“मूल्यवृद्धि गर्दा दुग्ध व्यवसायमा समस्या हुने जनाएका थियौँ”, उनले भने, “तीन महिनायता व्यवसाय समस्याग्रस्त भएको छ ।” नेपालमा भन्दा भारतमा दूधको मूल्य सस्तो हुँदा भारतबाट नेपालमा भित्रिरहेको उनको भनाइ छ । यही अवस्था रहे किसानको दूधको भुक्तानी दिन नसकिने र मिल्क होलिडे मनाउनुपर्ने अवस्था आउने उनले बताए ।

दूध व्यवसायीले भण्डारण गरेको अर्बौ रुपैयाँको घ्यू, चिज, पाउडर दुध लगायतका दुग्धजन्य पदार्थ बिग्रिने अवस्थामा पुगेको उनको भनाइ छ । सरकारले दुधको मूल्य घटाएर किसानलाई उत्पादनको आधारमा दिने गरेको अनुदान बढाउनुपर्ने एसोसियसनको माग छ ।

तीनै तहका सरकारले दूधको उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम ल्याएपछि हाल मुलुक दूधमा आत्मनिर्भर छ । “सरकारले जसरी दूध उत्पादन बढाउन विभिन्न योजना ल्यायो, त्यसरी नै दूग्धजन्य पदार्थको विविधिकरण र बजारीकरणमा सहयोग गर्नुपर्ने एशोसिएशनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले बताए।

सरकारले दूध उत्पादनमा प्रोत्साहन गरेपछि हाल दूध उत्पादन दोब्बर वृद्धि भएको बताए । दूधको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष असर निर्यातमा भएको छ । गत वर्ष पाँच अर्बको छुर्पी निर्यात गरिएपनि हाल निर्यात स्वात्तै घटेको बताउँदै उनले भने, “छिमेकी मुलुक बङ्गलादेश र तिब्बतमा दूधको बजारको सम्भावना हामीले अध्ययन गरेका छौँ, सरकारले निर्यातको वातावरण बनाइ दिनुपर्छ, अनुदान दिनुपर्छ ।”

किसानले उत्पादन गरेको नौनी, छुर्पी, चिज लगायतका वस्तु बिक्री नहुँदा हाल किसानले उत्पादन लिन छाडिएको एशोसिएशनका केन्द्रीय महासचिव हेमचन्द्र खनालले बताए । “उत्पादित दूध स्वदेशमै खपत हुने अवस्था छैन, लागत मूल्य धेरै हुँदा निर्यात गर्ने वातावरण छैन”, उनले भने, “सरकारले किसान र व्यवसायीलाई बचाउने योजना तत्काल ल्याउनुपर्छ ।”

एशोसिएशनका कोशी प्रदेश अध्यक्ष खड्काले हाल तीन लाख केजी नौनी घ्यू बिग्रिने अवस्थामा पुगेको बताए । “मसँग मात्रै ५२ हजार केजी नौनी घ्यू स्टक छ”, उनले भने, “बिक्री नभए खाल्डो खनेर गाड्नुको विकल्प छैन ।” धेरै व्यवसायीले स्टक गरेको दुग्धजन्य पदार्थ बिग्रिने अवस्थामा पुगेको एशोसिएशनले जनाएको छ ।

भारतको तुलनामा नेपालमा दूधको मूल्यमा करिब रू पाँचको अन्तर रहेको एशोसिएशनले जनाएको छ । हाल मुलुकमा दैनिक सात लाख लिटर दूधको कारोबार हुँदै आएको एशोसिएशनले जनाएको छ । कोशी प्रदेशमा दैनिक तीन लाख लिटर दूधको कारोबार हुने गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ८ : ४२ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी