राजनीति आयातित भयो, आफै केही गर्नुपर्छ | Khabarhub Khabarhub

राजनीति आयातित भयो, आफै केही गर्नुपर्छ



राजनीतिका लागि विचार आयात गरिन्छ। संविधान, क्रान्तिका मोडल आयात हुन्छन्। तर राजनीति गर्ने नेता कुनै पनि मुलुकमा आयात गर्न सकिँदैन। राजनेता जन्माउनको लागि कुनै पनि मुलुकले एउटा ठुलो कालखण्ड गुजार्नु पर्छ। नेपालको सन्दर्भमा हामीले विचार आयात गरेका छौँ। तर राजनीति गर्ने नेता आयात गर्न नसक्दा मुलुक सधैँ अस्थिरतामा फसिराखेको छ। अस्थिरताकै बिचबाट नेपालले धेरै दशक बिताइसकेको छ। वैकल्पिक राजनीतिक दल किन असफल हुन्छन् ? यसै विषयमा जोडिएर काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक एवं भाषा तथा आमसञ्चार विभागका प्रमुख, जरोकिलो महाअभियानका संकल्पकर्ता डा. निर्मलमणि अधिकारीसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंहरूले सुरु गरेको जरोकिलो महाअभियान के हो ? राजनीतिमा विकल्प भनेको के हो ? तपाईंहरूले कस्तो खालको राजनीतिक पुस्ता वा विद्यार्थी जन्माइराख्नु भएको छ ?
नेपालबारे चाहिने जति पनि ज्ञान, योजना, नीति र क्रियाकलाप हुन् त्यसको केन्द्र नेपाल नै हुनुपर्छ भन्ने मान्यताले जरोकिलो महाअभियान सुरु गरेका हौं। जरो भनेको उत्पत्ति अथवा मूल स्रोत कहाँ हो भनेर जनाउन खोजेको हो। किलो भनेको हाम्रो संस्कृतिमा मौलो गाड्ने चलन छ त्यो केन्द्र भनेर पहिचान गर्ने हो।
नेपालको राजनीतिको सन्दर्भमा मात्र होइन, शिक्षामा अर्थतन्त्रमा र अन्य क्षेत्रमा त्यो देखिन्छ। अन्यत्रै निर्णय हुने, बाहिरैको विचार लिने बाहिरैबाट राजनीति प्रतिको विचार लिन निर्देशित हुने भन्ने एक आपसमा आरोप प्रत्यारोप व्यापक सुनिन्छ। त्यो नभई नेपालको मामिलामा नेपाल नै केन्द्र हुने र यसमा हामीले प्रतिमान र उपमान भन्ने दुई शब्दको प्रयोग गर्छौँ। प्रतिमान भनेको आदर्श मान्ने त्यो चाहिँ आफ्नो सभ्यता संस्कृति इतिहासका पाठबाट लिने र बाहिरको कुरा चाहियो भने त्यसलाई उपमानको रूपमा अर्थात् उदाहरणको रूपमा मात्र लिने र चल्ने सबै कुरा हुनुपर्छ। यसमा मूलतः चार वटा कार्य क्षेत्र छन्। यसलाई हामीले जरो किलो महाअभियान भन्यौं।

एउटा धर्म, संस्कृति, तन्त्र, कुनै पनि देश स्वाधीन, स्वायत्त, सार्वभौमसत्ता सम्पन्न र शक्तिशाली हुनको लागि आफ्नो धर्म, संस्कृति र सभ्यता बलियो हुनुपर्छ।
दोस्रो, शिक्षातन्त्र यसमा शिक्षा, प्रशिक्षण, भाषा, सीप, कला-साहित्य पर्छन्। तेस्रो हामीले पहिचान गरेको भनेको अर्थतन्त्र हो। अर्थतन्त्र स्वाधीन र विश्व परिस्थितिलाई पनि पहिचान गरेर सम्बोधन गर्नसक्ने हुनुपर्यो। यो सबै कुरा आफ्नो ठाउँमा महत्त्वपूर्ण छन्। अहिले आधुनिक युगमा राज्यको जुन भूमिका प्रधान भएर गयो। राज्य राम्रोसँग सञ्चालन हुनुपर्यो। त्यसलाई हामीले राज्य तन्त्र भन्यौँ। यो सबैमा नेपालकै मौलिक दृष्टिकोण लिनुपर्छ। त्यसलाई प्रतिमान बनाएर चाहिएको कुरा बाहिरबाट पनि लिन सकिन्छ। आफ्नो पनमा नेपाललाई अगाडि बढाऔं भन्ने मूल मान्यतालाई लिएर जरोकिलो महाअभियान सुरु गरेका हौं। वि.सं. २०७२ सालमा दसैंको घटस्थापनामा यसको संकल्प लिइयो र त्यही सालको वसन्त पञ्चमीमा यसको औपचारिक प्रारम्भ भयो।

जरोकिलो महाअभियान अन्तर्गत धेरै संस्था छन्। जस्तो म विश्वविद्यालयमा प्राध्यापन गर्छु। म प्रत्यक्ष राजनीतिमा छैन। कयौँ मान्छेहरू अन्य क्षेत्रमा हुनुहुन्छ। यही जरोकिलो विचारधारा लिएर केही राजनीतिमा पनि सक्रिय हुनुहुन्छ। यसरी सातै प्रदेशमा यसका गतिविधिहरू भइरहेका छन्। अरु जति पनि देशमा नेपालीहरू रहनु भएको छ लगभग ३० देशमा यो महाअभियानको क्रियाकलाप भइरहेको छ।

यो राजनीतिक अभियान हो ?
यसको एक पाटोमा जसको राजनीतिमा रुचि छ। जिम्मेवारी बोध छ उनीहरू पनि छन्। तर राजनीति कहिल्यै नगरेका पनि संलग्न छन्। यो अभियान भनेको एउटा विचाधारा हो। त्यो विचारधारा भएका मानिसहरू विभिन्न क्षेत्रमा छन्। त्यसमध्ये केही मान्छेहरू राजनीतिक क्षेत्रमा पनि छन्।

राजनीतिक पार्टीप्रतिको बढ्दो अविश्वास राजनीति प्रतिको वितृष्णा र वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस हुँदा हामी विकल्प हुन सक्छौँ भनेर तपाईंहरूले वैकल्पिक अभियान चलाएको हो ?
वैकल्पिक भन्ने शब्द यो अभियानका सदस्यले कहिल्यै पनि प्रयोग गर्दैनन्। वैकल्पिक भनेको त्यसको नाम लिने प्रधान अरु नै हो। त्यसको खाली ठाउँ भयो भने हामी पनि त्यहाँ ठाउँ पाउ भन्ने भाव आउने भएकोले यो अभियानमा भएकाले कहिले पनि वैकल्पिक शब्द प्रयोग गर्दैनन्। यिनीहरूले प्रयोग गर्ने यो मूलधारको अभियान हो। किनभने यहाँको मौलिक धर्म, संस्कार, शिक्षा, पद्धति, मौलिक अर्थतन्त्र र राजनीतिक दर्शन पनि छ।

अहिले मान्छेले सुनेको पुँजीवादी अर्थतन्त्र, समाजवादी अर्थतन्त्र, मिश्रित अर्थतन्त्र भनिन्छ। यो अभियानले अनुसन्धान गरेर अर्थतन्त्रको ढाँचा अगाडि सारेको छ। त्यस्तै शिक्षा पद्धतिमा धेरै कुरामा अनुसन्धान गरेर यसका पुस्तक पनि निस्केका छन्। धेरै भिडियो सामग्री पनि युट्युबमा अरु प्रकाशन पनि छन्। लगभग २५ वर्षदेखि यो अनुसन्धान चलिरहेको छ। पुरा सिद्धान्तसहित नेपालमै जरो नेपालमै किलो नेपालमै मूल र नेपालमै केन्द्र भएको राजनीतिक सामाजिक आर्थिक शैक्षिक सिद्धान्त सबै बनेर आएको हुनाले यसलाई वैकल्पिक नभनी नेपालको मूललाई बोकेको हुनाले मूल धारको भन्ने गरिएको छ।

यो अभियानभन्दा बाहिर निस्किएर हेर्दा चरम वितृष्णा, घृणा, आक्रोश राजनीति र प्रणाली प्रतिको नकारात्मकता धेरै हाबी किन भइराखेको छ ?
नेपालमा २००७ सालमा परिवर्तन आएपछि ठुलो अवसर थियो। त्यो बेलामा नेपालको समाज र राजनीतिलाई हाँक्नेहरु कोही लण्डनमा न्युयोर्कमा पानी पर्दा नेपालमा छाता ओढ्नुपर्छ भन्ने भए भने कोही मस्को वा बेइजिङमा जस्तो पानी पर्छ अनि यहाँ छाता ओढ्नुपर्छ भन्ने अथवा विदेशकै प्रतिमानलाई लिएर गर्ने शक्ति नेपालमा भए। उनीहरूले नेतृत्व गरेको हुनाले नेपालको शिक्षा, परराष्ट्र नीति, अर्थतन्त्र कस्तो हुनुपर्छ भने उनीहरूले त कसैले समाजवादी भने कसैले पञ्चायती व्यवस्थामा जसले आफूलाई माटो हावापानीको व्यवस्था भन्नेले पनि धेरै कुरा विदेशी पद्धतिको थियो। त्यसैले नेपालमा कहिले पनि यहाँको शिक्षा अर्थतन्त्र राजनीतिदेखि नेपालकै सभ्यता अनुसार यहाँलाई नै प्रतिमान मान्ने गरी नगरेको हुनाले त्यो व्यवहारिक यथार्थ र राजनीति गर्ने शिक्षा चलाउनेहरूले दिएको ढाँचा बिचमा कुनै तादात्म्य नै भएन। त्यो कारणले पनि नेपालले दुख पाएको हो र आन्दोलन भइरहेको छ। त्यही कारण मान्छे सन्तुष्ट हुँदैन किनभने रोग एकातिर छ समाधान अर्को तिर छ। त्यसैले यो नेपालको मौलिकतालाई हेरेर यहाँको अनुसन्धान गरेर अगाडि बढ्नुपर्छ भनेर भर्खर कुरा सुरु हुँदै छ। सार्वजनिक संकुचनमा नेपालको आफ्नो मौलिकता हेर्ने भन्दा पनि अन्यत्र कुद्ने कोही सिंगापुर जस्तो बनाउँछु भन्ने कोही बेलायत जस्तो बनाउँछु भन्ने। सबै यस्तो हाहा गर्नेले नेतृत्व गरेको बेला हो। बल्ल ५/७ वर्ष यता मौलिकताका कुरा सुनिँदै छन् भने बल्ल नेपालले बाटो पक्रिनलाई प्रारम्भ भएको छ। यो सात वर्ष नेपाल कुहिरोको काग जस्तै हिँडिरहेको थियो। त्यसैले नेपालीले दुःख पाएको कुरा स्वाभाविक देखिन्छ।

हामीले यो सात दशकको बिचमा पुस्ता पनि त्यस्तै जन्माएको थियौँ। त्यो पुस्तालाई अनुकूल हुने राजनीति गरिदिएको भए यस्तो वितृष्णा आउँथ्यो ?
राजनीति, शिक्षा, अर्थतन्त्र जे भने पनि यसमा प्रजातान्त्रिक वा लोकतान्त्रिक सहभागिताको हिसाबले लाग्ने भन्ने सैद्धान्तिक रूपमा छ। तर नेतृत्वमा रहने २००७ साल, २०१७ साल र २०३५ साल तिर नेपालको परिवेश हेर्यो भने केही मान्छेले देशको राजनीतिलाई एउटा दिशा दिने अवस्था रह्यो र ती मान्छेले दिनरात पढेको किताब कहाँ गयो भन्दा काल माक्र्स र लेलिनले यसो भने भनेर नेपालीको समय खेर गयो। त्यसैले त्यो पुस्ताले के चाहेको थियो। नेपाललाई चाहिएको के हो ? नेपालको शक्ति के हो ? प्राकृतिक श्रम साधन, सांस्कृतिक श्रम साधन, सांस्कृतिक संसाधन नेपालको के हो ? कसले हेरे यहाँ कसैले हेरेनन्। सबै कुरा विदेशीले भनेको हेर्ने भएकोले पुस्तालाई हेरेको नै छैन। विद्यालयमा नेपालको बारेमा पढाएको छैन। घर बाहिरको तितेपाती चिन्दैन सारा संसारको हाँक दिन्छ भनेपछि हाम्रो २००७ सालपछिको शिक्षा, अर्थतन्त्र सबै आयातमुखी भएको छ। त्यसैले राष्ट्र चल्ने भनेको नीति सिद्धान्त र दर्शनले हो। नेपालको मौलिक दर्शन तिर मान्छेले याद गर्दै गर्दैन। हाम्रोमा संविधान सभाका चुनाव भए गणतन्त्र राजतन्त्रको बहस चले सार्वजनिक बहसमा विदेशमा यो यो भए भनेर कुरा गर्छन्। हाम्रो परम्परागत ग्रन्थहरूमा के छ ? इतिहास के छ भनेर अहिले सत्तामा प्रतिपक्षमा बसेका पार्टीका कुनै व्यक्तिले चर्चा गर्दैनन्। किनभने एउटाको दिमागमा बेलायतको जस्तो बनाउनुपर्छ भन्ने छ। अर्को दिमागमा बेइजिङ भन्दै अर्कोले अर्को भन्दै दौडिएको छ। यो कुरा काहीँ पढाइएन। त्यसैले नेपालमा राजनीतिक दर्शन के हो ? यहाँको मौलिक भनेर चिन्तन नै भएको छैन। तर पछिल्लो चरणमा जरोकिलो महाअभियान प्रारम्भ भएपछि त्यसमा योगदान गरिरहेको प्रयास गरिरहेको देखिन्छ।

अहिलेको राजनीतिमा बेइजिङ, दिल्ली, मस्को वा अन्तबाट आएको पुस्ताले त्यसरी चलायो रे अनि तपाइहरू जस्तो प्राध्यापकले उत्पादन गरेको विश्वविद्यालयका विद्यार्थी पनि राजनीतिमा छन् उनीहरूलाई के पढाएर पठाउनु भयो ?
विश्वविद्यालयमा रहँदा पनि मैले मौलिकताको लागि बहस पैरवीको काम गरेको छु। तर त्यही विश्वविद्यालयमा हुँदा आजभन्दा १० वर्ष अगाडि मैले हाम्रा यहाँका कुरा पनि राखौँ भन्दा जति प्रतिरोध आउँथ्यो त्यो क्रमिक रूपमा घट्दै गएर पछिल्लो चरणमा नेपालको मौलिक कुरा पनि राख्नुपर्ने रहेछ। यसको वृक्ष फलानो हुनुहुन्छ भनेर राख्ने, सोध्ने र केही पाठ्यक्रमहरू परिवर्तन पनि भएका छन्। नयाँ पुस्ताहरू पनि एकदमै जिज्ञासावान् छन्। आजको दिनमा नेपालमा जति गुरुकुल चल्दै छन् जति गुम्बा बिहारमा बौद्ध वाङ्मयको पढाइ हुँदैछ। जति मुन्दुमको खोजिहुँदै छ यो पुर्नजागरण देखिन्छ। वेदको बारेमा किताबहरू निस्किएका छन्। युटुयुबमा पनि हिन्दु प्रकृतिक पूजक किराँत, बौद्ध र जैनका बारेमा गतिविधि हुँदैछन्। नेपालको इतिहासमा लिखित हामीलाई थाहा भएको मितिमा थिएन। त्यसैले पछिल्लो समय सबै निराशाको कुरा मात्र होइन। पछिल्लो एक दशक यता जागरण भएर मान्छेहरूले आफ्नो पुस्ता के हो ? पुर्खौली के हो भनेर खोजेका छन्। यसमा पहिचानको राजनीतिवाला घुसेपछि चाहिँ उनीहरूले घृणा फैल्याउँछन् तर पहिचानको संस्कृति गर्ने हो भने नेपालमा अनुकूल परिस्थिति बनेको छ।

बहुदल र पञ्चातकालका पाठ्यक्रममा पर्न नसकेका हाम्रा वैद्धिक, बौद्ध, जैन, किरात, बोन यी ठुला ज्ञान पद्धति आज नेपालका विद्यालय विश्वविद्यालय पाठ्यक्रममा आइरहेका छन्। त्यो हामी जस्ता धेरै व्यक्तिको संघर्ष र योगदानको कारणबाट आएको हो। मैले व्यक्तिगत रूपमा एक व्यक्तिको हैसियतले जे गर्नुपर्ने हो त्यो गरिरहेको छु।

नेपालमा केही पार्टीले हामी राजनीतिको विकल्प हौं। २०८४ सालको विकल्प हौँ भन्दै सामाजिक सञ्चालनमा हालीमुहाली गरेको देखिन्छ ?
अहिलेलाई सुरुमा एक खालको जुन हालीमुहाली थियो त्यसमा आएपछि विकल्प भनेको सुधारवादी शक्ति हो। सुधारवादी शक्ति आएको हुनाले मानिसहरूलाई यता पो हुन्छ कि भनेर त्यता लागेको छन्। त्यसले एक किसिमको परिवर्तन र धक्का त दिन्छ। हामीले भनिरहेको कुरा एक मान्छेको ठाउँमा अर्काले मान्छे आएर केही हुँदैन। एक पार्टीको ठाउँमा अर्को मान्छे आए तर सिद्धान्त दर्शन उही लिएर उपस्थित हुने हो। फेरि उस्तै पारा हुने हो। त्यसैले यसको नीति बनाउने हो भने मौलिकतालाई ख्याल गरेर प्रतिमान नेपालको उपमान संसार को हुने काम गर्नुपर्छ। विज्ञान प्रविधि र धर्म र आपसमा राम्रो सम्बन्ध राख्ने योजना बनाएर यस्तो मार्ग चित्र बनाएर गर्नुपर्छ भनेर प्रयास गर्दैछौँ ।

आफ्नो क्षेत्रमा विज्ञ रहेर काम गरेका मान्छेहरू पनि आजको भोलि आएर राजनीति गर्न मिल्छ भनेर हामीले जुन भनिरहेको थियौँ यो अहिले स्थापित भएको छ। यसले धेरै राम्रा मान्छेहरू आउन बाटो खोल्छ। निराशा नै भएर अवसानमा नै जानुपर्ने अवस्थामा नेपाल पुगिसकेको हैन। अब नेपालले कोल्टो फेर्दैछ।

तपाईंहरू पनि भोलिका दिनमा अवसर नपाउँदाको आदर्श र अवसर पाएपछि लम्पसार होला नि ?
अर्थतन्त्र जुन स्वाधीन स्वावलम्बी चाहियो भनेर जुन चेत आएको छ त्यो चेत बिस्तारै ५/१० वर्ष लाग्ला र राष्ट्रको जीवनमा ५/१० भनेको ठुलो समय होइन त्यसैले यो जुन कोल्टो नेपालले फेरिराखेको छ यो धर्म संस्कृतिको क्षेत्रमा मात्र अर्थतन्त्रको क्षेत्रमा मात्र पुगेर अडिने होइन राजनीतिमा पनि जान्छ।

नेपालमा सबै मान्छे संसदमा पुगेर मन्त्री भएर मात्र सफल हुने होइन। सबैको आफ्नो भूमिका रहन्छ। मलाई कुनै पदको लोभ छैन। शिक्षक पेसा भएको मान्छे जाने अरु ठाउँ भए पनि शिक्षण र प्रशिक्षणमै हो। यो एउटा कर्तव्य बोध धेरै बिग्रिसकेको हुनाले एक पुस्ताले मिहिनेत, दुःख, त्याग र समर्पण गर्नैपर्छ। यो एउटा तपस्या हो र यस्तो तपस्यामा कुनै कुरा पायो भन्दैमा धेरै उत्साहित हुनु पर्दैन। नपाएर निराश पनि नहुने र आफ्नो क्षमता अनुसार काम गर्ने हो। विद्यार्थी पनि धेरै थरीका उत्पादन गरिएको छ उनीहरूको पनि घर व्यवहारको कारणले गर्दा कोही कता कता जान्छन् तर एक पुस्ता म जहाँ पनि देश भरी जाँदामा धर्म संस्कार संस्कृतिको बारे त्यहाँका युवाहरू आइरहेको अन्तरक्रिया गरिरहेको आशा अपेक्षा राखेर हेरिरहेको देखेकोले निरन्तर ऊर्जावान् महसुस गरिरहेको छु। नेपाल सबै बिग्रियो खतम भयो केही गर्न सकिँदैन भन्ने होइन। एकातिर जो सात दशकदेखि वा अघिदेखि जुन विदेशी विचारधारा आयो उनीहरूले हालीमुहाली छोड्न खोज्दैनन्। तर अहिले जुन पुर्नजागरणको सचेतना तीव्र रूपमा आइरहेको छ यसले यो पुरानो विचारधारालाई पल्टाइ छोड्छ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  १० : २१ बजे

भारत र जापानका नौसेनाले गरे संयुक्त अभ्यास

काठमाडौं – भारत र जापानले संयुक्त नौसैनिक अभ्यास सञ्चालन गरेका

साझेदार मुलुकसँग सहकार्य गर्न तयार छौं : मोदी

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साझेदार मुलुकहरुसँग सहकार्य गर्न

बारामा गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या, दुई जना पक्राउ

काठमाडौं – बाराको राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा

सङ्खुवासभाको सिसुवा पहिरो विस्थापितका घर निर्माण हुँदै

खाँदबारी – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवाको पहिरोबाट

युनिसेफद्वारा अफ्रिकी बालबालिकाको शिक्षामा लगानी बढाउन आह्वान

नैरोबी – अफ्रिकी बालबालिकाका लागि आधारभूत शिक्षामा ठूलो लगानी अफ्रिकालाई