ब्लग : मेरो बिहे नभाको राइडरलाई चासो ! | Khabarhub Khabarhub

ब्लग : मेरो बिहे नभाको राइडरलाई चासो !



घटना-१

मैले नयाँ बानेश्वरबाट पुल्चोकका लागि पठाओलाई ‘रिक्वेस्ट’ पठाएँ । दुई मिनेटमा पठाओ पिकअप बिन्दुमा आइपुग्यो । आफ्नो गन्तव्यमा लागेँ । पुल्चोक मलाई एउटा अफिसमा जानुपर्ने थियो । त्यो अफिसमा पहिले गएकी थिइनँ, गुगल म्याप हेरेर नै पठाओलाई रिक्वेस्ट पठाएकी थिएँ ।
अफिसमा पुग्दा मैले बोर्ड देखिनँ । मान्छेहरूको पनि चहल-पहल थिएन । कोही पनि भेट नहुने भएपछि म त्यही पठाओमै फेरि नयाँबानेश्वर फर्किने प्लान बनाएँ । त्यो राइडरलाई एकछिन पर्खिन भनें । उसले पर्खियो पनि । 

मलाई र राइडरलाई गेटमा देखेर एक सुरक्षा गार्ड के होला ? भन्दै सोध्दै आइपुगे । मैले आफ्नो कुरा सुनाएँ । तर अफिस ७ महिना अगाडि नै एकान्तकुना सरेको रहेछ । तर गुगलले पुरानै ठाउँ देखायो । म त्यहीँबाट सोही पठाओमा फर्किएँ । फर्कँदा अर्को रिक्वेस्ट पठाउन आवश्यक ठानिनँ । 

फर्किँदै गर्दा बाटोमा मनमनै भाडा मिलाएँ । जाँदा जति, आउँदा पनि त्यति नै । ५० रुपियाँ थपेर दिनुपर्ला भन्ने पनि लाग्यो । हेर्दा कलेज पढ्ने जस्तो  । २०-२१ वर्षको केटोले मिहिनेत गरेको छ । उसले पाँच सात मिनेट मलाई कुर्यो पनि । ५० रुपियाँ टिप्स डिजर्व गर्छ यो मान्छेले भन्ने लाग्यो ।

लागेको पैसा र टिप्स गरेर टोटल पाँच सय रुपियाँ भयो ।

मेरो गन्तव्यमा पुगेपछि उसलाई पाँचसय रुपियाँ झिकेर दिएँ र धन्यवाद भाइ भने । उसले दिदी, पैसा पुगेन भन्यो ।

कति पुगेन ?

उसले अझै तीन सय दिनुस् भन्यो । म अचम्ममा परें ।  सोधें, कसरी आठ सय ? हिसाब गर्न मलाई पनि आउँछ नि ।

मलाई फर्किने बेला पनि रिक्वेस्ट नपठाएर गल्ती गरेको महसुस भयो । डाटा अन गरेर रिक्वेस्ट पठाउनु भन्दा नेटको पैसा यसैलाई दिन्छु भनेर सजिलोतिर लागियो । त्यही सजिलोले अब अप्ठ्यारो स्थिति सिर्जना गर्‍यो । 

मैले उसलाई हिसाब गरेर आफ्नो लागेको पैसा लिएर जाउ भने । तर, उसले मलाई सात मिनेट कुरेको भन्दै एक्ट्रा साढे तीनसय रुपियाँ मागेर दिमाग खराब गर्न थाल्यो । मैले पनि यसैकसै उसलाई त्यत्रो पैसा किन दिनु ? उसले आफ्नो हठ छोडेन, मैले मेरो । 

उसले नदिने भए कति पनि नदिनु भन्न थाल्यो । फ्रीमा त मलाई पनि कसैको सेवा चाहिएको थिएन । मैले बारम्बार ठूलो कुरा नगर भाइ, आफ्नो लागेको पैसा लिएर जाउ भन्दा पनि मानेन । एक त मलाई आफ्नो काम नबनेकोले टेन्सन भइरहेको थियो, दोस्रो मलाई यस्तो अनावश्यक कुरामा राइडरसँग मुख लाग्नुपरेकाले झनै रिस उठ्न थाल्यो । 

म मिहिनेतको कमाइ खाने मान्छे हुँ । फोकटमा पैसा बाटेर हिँड्न, कसैलाई ठगेर, लुटेर बसेको छैन । लागेको पैसा लिएर जाने भए जाउ, नलिने भए केही छैन । ल ८ सय दिन्नँ, तिमी गए हुन्छ भन्दिएँ । तर, त्यति रिस उठ्दा पनि मलाई उसको मिहिनेतको कमाइ नदिई हिँड्न मन लागेन । पाँच सय रुपियाँ लिएर हात अगाडि बढाएँ । उसले समायो पनि । बाइक फर्कायो ।

उसलाई मैले हेरिरहें । थोरै अगाडि पुगेर त त्यसले मलाई अश्लील गाली गरेर पो सुइँकियो ।

म थरथर भएँ । ए भगवान ! आज कसको मुख हेरेर निस्केको थिएँ होला । म कहाँ फोन गरुँ? कसलाई भनुँ? यो दुर्व्यवहारको सामना गर्नै गाह्रो भयो । म नर्मल भएर बस्न सकिनँ । 

त्यसपछि पठाओ कम्पनीलाई फोन गरेर कम्प्लेन गर्छु भन्ने आयो । कमसेकम यति त कम्पनीले सुन्नुपर्छ । फोन गर्दै थिएँ, फेरि एउटा कुरा याद आयो । फर्किने बेला मैले राइडरलाई रिक्वेस्ट नपठाई आएकी थिएँ । कम्पनीले यही कुरामा निहुँ खोज्ला । तपाईं जत्तिको पढेलेखेको मान्छेले रिक्वेस्ट नपठाई हिँड्ने हो ? भनेर सोध्ला । 

त्यहाँ पनि नाजवाफ हुनुपर्ने स्थिति आउँछ । त्यो राइडरले बोलेको शब्दले मेरो मनमा ज्वारभाटा उठे पनि आफ्नै कारणले मलाई यो विषयमा चुप लाग्न बाध्य बनायो । आफ्नै लापरवाहीले अब आइन्दा ‘अफलाइन’ राइडरमा हिँड्न नहुने पाठ सिकायो । 

घटना–२
अनामनगरबाट नयाँबानेश्वर पुग्नुपर्ने थियो । इनड्राइभ बुक गरेँ । त्यसमा  बागेर्निङ गर्न मिल्ने अप्सन हुन्छ । मैले १० रुपियाँ बार्गेनिङ गरेँ । पानी पर्न लागेको थियो, त्यो राइडरलाई छिटो बानेश्वर पुर्‍याइदेऊ भनें ।

हनुमानस्थानको मन्दिरनिर पुगेपछि त्यो राइडरले दिदी तपाई कति लोभी हो, १० रुपियाँको बार्गेनिङ गरेर बस्नुहुन्छ । हेर्दा भने यति राम्रो जुत्ता, लुगा लगाउनु भएको छ, अनि १० रुपियाँ बार्गेनिङ गरेको सुहाएन भन्यो । 

मलाई झनन रिस उठ्यो । तिमीले किन एसेप्ट गरेको त ? भनेर प्रश्न गरें । जसरी मलाई बार्गेनिङ गर्ने अप्सन हुन्छ, त्यसरी तिमीलाई एसेप्ट नगर्ने पनि अप्सन हुन्छ । एसेप्ट गरेर तिमी आउने, अहिले बीच बाटोमा लोभी र सोभी भन्दै बस्ने ? भनेर कराइदिएँ । नरिसाउनु न दिदी, हामीजस्तो भाइहरूलाई  ४०/५० रुपैयाँ बढी दिएर तपाईं गरिब हुनुहुन्न भन्यो । 

म एउटा मिटिङ एटेन्ड गरेर दिमागमा ५० तनाव लिएर निस्केकी थिएँ । १० होस् वा पाँच रुपियाँ, बार्गेनिङ गर्न मिल्ने अप्सन हुन्छ , मैले त्यो अप्सनको प्रयोग गरेँ । सिस्टमबाट चल्ने कुरामा किन अनावश्यक कुराकानी ? यो देशमा कुनै कुरामा सिस्टम छैन । पाइला–पाइलामा नचाहिने विषयमा नागरिकले दुःख पाउँछ । कतिपय ठाउँमा बाझ्नुपर्छ , ठूलो आवाज गर्नुपर्छ । तर, सिस्टममा चल्ने कुरामा पनि जवाफदेही हुनु नपर्ने ? कस्तो सिस्टम हो ? कस्तो देश हो यो ?

घटना–३
नयाँबानेश्वदेखि कलंकी पुग्नुपर्ने थियो । पठाओ बोलाएँ तर उसलाई ‘पिकअप डेस्टिनेसन’ बारे केही मेसो छैन । १० मिनेट बितिसक्यो, आइपुग्दैन । त्यसपछि फोन गरें । चोकबाट उसले मेसो पाइनँ भन्यो । यसरी–यसरी हुँदै आउनु भनेको पनि उ ‘पिकअप डेस्टिनेसन’ आउन सकेन । चोकमा आफैँ गएर लिएर आएँ । नयाँ होला, सिक्दै होला भन्ने लागेर रिक्वेस्ट क्यान्सिल गर्न मन लागेन । 

मैले पनि आफ्नो क्षेत्रमा काम गर्ने क्रममा नयाँ हुँदा पुराना कर्मचारीले गरेको हेपाइ बिर्सिएकी थिइनँ । काम गर्दै गएपछि सिकिन्छ, नयाँलाई मौका दिनुपर्छ जस्तो लाग्छ । त्यही भएर पनि म राइडरलाई चोकमै लिन पुगें । नत्र पठाओलाई चोकमा लिन जानुपर्ने त होइन ।

 त्यसपछि हामी कलंकीतिर लाग्यौं । उसले मलाई घर जान लागेको ? भनेर सोध्यो । मैले हो भनेर जवाफ दिएँ । घर कहाँ हो ? भनेर पनि सोध्यो । कतिमा पढ्नुहुन्छ ? के काम गर्नुहुन्छ ? उसले सोधेका कुराहरूको जवाफ दिए पनि म इरिटेड हुन थालें । के यो आवश्यक छ ? उसका प्रश्न जायज हुन् ? यस्तो कुरा दिमागमा आइसकेको थियो । तर पनि हामी नेपालीलाई मन नपरेको कुरा झेल्नुपर्ने बानी लागिसकेको हुन्छ ।  तपाईँ चुप लाग्नुस् भने पनि हुन्थ्यो, तर रुढ बन्न मन लाग्दैन ।

मैले केही नसोधे पनि उसले आफूले अमेरिकी एम्बेसीमा सुरक्षा गार्डको काम गरिरहेको सुनायो । चार जनालाई एम्बेसीमा सरसफाइमा काम लगाइदिएको पनि सुनायो । सरसफाइको काम गर्नेको पनि त्यहाँ ७० हजार तलब हुने कुरा सुनायो ।

यी सब कुरा मैले झेल्दै गएँ । रविभवननिर पुगेपछि उसले तपाईले किन बिहे नगर्नुभएको भनेर प्रश्न गर्यो । मैले आफूलाई कन्ट्रोल गर्नुको सीमा रहेन । आफ्नो कामसँग ध्यान राख्नुस् भन्दिए । 

त्यसपछि पनि उ चुप बस्न सकेन । दिदी, तपाई त कस्तो विदेशी जस्तो भन्न थाल्यो । हामी नेपालीहरूको बानी त सार्वजनिक बसमा पनि एक अर्का यात्रुसँग बोल्ने खाजा बाँडेर खाने चलन पो हुन्छ । एउटै बाइकमा बसेर बोल्दै नबोली हिँड्न कसरी सकिन्छ ? बोल्दै गएपछि एक अर्काको सुख–दुःख थाहा हुन्छ । मैले कतिलाई त दस्तुरमा डिस्काउन्ट गरिदिएको छु, उनीहरूको कुरा सुनेर । समस्या छ भने भन्नु, म डिस्काउन्ट गर्दिन्छु ।

मलाई कतिबेला गन्तव्यमा पुगौंला भयो । यो राइडरबाट छुटकारा पाउनु नै मेरा लागि ठूलो राहत हुने थियो । सुख–दुःख सुनाउने रे मैले, अनि उसले मलाई डिस्काउन्ट दिने रे ! गन्तव्यमा पुगेपछि २० रुपियाँ थपेर दिएँ । उसको मुख नहेरी म आफ्नो ब्याग बोकेर निस्कें । उ मलाई कति छुची भन्दै फुसफुसाउँदै थियो । मैले फर्केर हेरिनँ ।

बिहानै दिमाग खराब भएपछि, दिनभर म आफूलाई डिस्टर्ब पाउँछु । त्यो राइडरले मेरो दिन खराब गर्यो । 

घटना– ४
बसुन्धरामा एकजना दिदीकोमा पार्टी एटेन्ड गर्न गएकी थिएँ । रात उतै बस्ने गरी । पार्टी गर्दा गर्दै मेरो पिरियड भयो ।

दिदीले बस्न भने पनि मलाई पिरियडमा अर्काको घर असजिलो लाग्छ । पठाओ पाइहाल्छ, तत्काल पुगिहालिन्छ भनेर दिदीलाई सम्झाएँ र निस्किएँ । 

छोटो बाटो लैजान्छु भन्दै राइडरले महाराजगञ्जको चोकबाट भित्र छिरायो ।

त्यो भित्री बाटो खाल्टै–खाल्टो परेको रहेछ । मलाई त्यो बाटो हिँड्नै मुस्किल पर्यो । त्यस्तो बाटोमा पनि त बाइक चलाउने तरिका हुन्छ । मुटु बाहिर निस्केला जस्तो भयो । त्यसमाथि पिरियड भएको मान्छे । चार दिनमा बग्ने ब्लड त्यही दिन सकिन्छ जसरी त्यो राइडरले उफार्यो । 

सहनै नसकेपछि मैले आफूलाई सन्चो नभएको र बिस्तारै चलाउन अनुरोध पनि गरेँ । तर, उसले बाइक भनेको बिस्तारै चलाउन बनेको साधन होइन भनेर पो जवाफ दियो । दिदी त कस्तो डराउनु हुँदो रहेछ । मेरो गर्लफ्रेन्ड डराउँदैन , उसले ७०-८० को स्पीडमा चलाउन भन्छे । मेरो गर्लफ्रेन्ड जत्तिको हुनुपर्यो के दिदी !

भनेकै नमान्नेसँग गर्ने के हो ? कतिबेला बाइकबाट खसाल्छ भनेर आफ्नो ज्यान जेगाउतिर ध्यान केन्द्रित भयो । 

ज्ञानेश्वर चोकमा प्रहरी थिए । यतै वरबाट दिदी मैले थोरै मापसे गरेको छु । म बाइक फर्काएर कालोपुल हुँदै लैजान्छु भन्यो ।

मैले मापसे गरेर बाइक चलाउने हो भनेर गाली गरेँ । रातिमा अलिकति नखाई कसले चलाउन सक्छ ? निन्द्रा मारी–मारी तपाईँहरूको सेवा गरेको छु । थोरै त चढाउनुपर्यो नि भन्यो । 

राम्रो बाटो आएपछि उसले फेरि उस्तै स्पीडमा चलाउन थाल्यो । मैले जति भने पनि मनमर्जी गर्नबाट रोक्न सकिनँ । आज यसले जिउँदै घर पुर्याइदिँदैन भन्दै मैले भगवान पशुपतिनाथ जप्न थालें । हे भोलेनाथ मेरो ज्यान अब हजुरकै हातमा सुम्पेँ । 

यहाँ केही घटना उल्लेख गरिएको छ । तर यस्ता घटना धेरैले सामना गर्नुपरिरहेको छ । पठाओ, इनड्राइभ एक व्यक्ति मात्र होइन, एक राइडर मात्र होइन, यो एक कम्पनी  पनि हो । एक राइडरले कम्पनीको गरिमा बोकेर हिँड्ने कि नहिँड्ने ? उनीहरूले यात्रुसँग कति बोल्ने र कति नबोल्ने भन्ने कुराको मापन कम्पनीले गर्ने कि नगर्ने ? अनुशासन, संयमता यी राइडरहरुले देखाउने कि नदेखाउने ?

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ५ : ०३ बजे

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्