विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

आज मंसिर ३०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर १६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

कुवेती अमिर शेख नवाफको ८६ वर्षको उमेरमा निधन
कुवेतका अमिर शेख नवाफ अल अहमद अल जबार अल सबाहको ८६ वर्षको उमेरमा निधन भएको छ । कुवेतको दरबारी मामिला हेर्ने मन्त्री शेख मोहम्मद अब्दुल्लाह अल सबाहले विज्ञप्ति जारी गर्दै अमिरको निधन भएको जानकारी दिएका हुन् ।

‘ठूलो दुख र निराशाका साथ हामी – कुवेती जनता, अरब र इस्लामिक राष्ट्रहरु र मित्रहरु – प्रभुको शरणमा पुग्नुभएका स्व। अमिर शेख नवाफ अल अहमद अल जबार अल सबाहप्रति शोक व्यक्त गर्दछौँ ।’ मन्त्री शेख मोहम्मद अल सबाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कुवेती अधिकारीहरुले अमिरको निधनको कारणबारे केही खुलाएका छैनन् । अब उनका सौतेनी भाइ शेख मेशाल अल अहमद अल अबार अल सबाह नयाँ अमिर बन्ने कुवेतका उपप्रधानमन्त्री एवम् मन्त्रिपरिषद् मामिलाका राज्यमन्त्री इसा अल कन्दारीलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।

यसअघि सन् २०२० मा सौतेनी दाजु शेख सबाह अल अहमद अल जबार अल सबाहको ९१ वर्षको उमेरमा अमेरिकामा निधन भएपछि शेख नवाफ कुवेतका नयाँ अमिर बनेका थिए ।

गाजामा गल्तीवश ३ बन्धक मारिए स् इजरायली सेना
इजरायलले गाजामा बन्धक बनाइएका तीन जना कैदीको गल्तीवश मृत्यु भएको भन्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । इजरायली सेनाले उक्त घटनालाई लिएर तेल अभिभमा भएको प्रदर्शनप्रति पनि खेद व्यक्त गरेको छ ।

इजरायली सेनाका अनुसार योतम हैम, एलन शम्रिज र समर अल–तलालकालाई गाजा शहरको सीमा क्षेत्रमा अपरेशनको क्रममा गोली हानिएको थियो । हमासले अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका अनुमानित २४० व्यक्तिमध्ये यी तीन जना पनि थिए ।

इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले भने, “शेजैयामा भएको लडाइँको क्रममा इजरायली रक्षा बल ९आईडीएफ० ले गल्तीले तीन जना इजरायली बन्धकलाई खतराको रूपमा पहिचान गरेको थियो र फलस्वरूप उनीहरूमाथि गोली चलायो र बन्धकहरू मारिए ।” “आईडीएफ यस दुखद् घटनाको बारेमा गहिरो दुःख व्यक्त गर्दछ र परिवारको दुःखमा समवेदना प्रकट गर्दछ ।’’

उनीहरूको शव इजरायलमा सारिएको थियो । अनुसन्धानबाट उनीहरू २८ वर्षीय र हेम, २५ वर्षीय एल–तालल्का र २६ वर्षीय शाम्रिज भएको पुष्टि भएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उनीहरूको मृत्युलाई ‘सहन कठिन दुखद्’ घटना भनेका छन् ।

“सम्पूर्ण इजरायल आफ्नो क्षतिप्रति दुःखी छन्,” उनले भने । ह्वाइट हाउसले पनि यो घटनालाई ‘दुःखद गल्ती’ भनेको छ । घटनाको खबर फैलिएपछि तेल अभिभस्थित इजरायलको रक्षा मन्त्रालयमा सयौं मानिस भेला भएका थिए र नेतन्याहुको सरकारलाई हमास शासित क्षेत्रमा रहेका १२९ जना बन्धकको रिहाइका लागि आग्रह गरेका थिए ।

युरेनियमको भाउ १७ वर्षयताकै उच्च
सीमित आपूर्ति र तीव्र मागका कारण युरेनियमको मूल्य शुक्रबार करिब १७ वर्षयताकै उच्च स्तरमा पुगेको छ । आणविक ईन्धनको रूपमा प्रयोग गरिने युरेनियम अक्साइडको कारोबारका लागि महत्वपूर्ण मानिने सम्झौता जनवरी २००७ पछि पहिलो पटक प्रति पाउण्ड अर्थात् करिब ४५३ ग्रामको ८५।७५ डलर पुगेको छ ।

आणविक ऊर्जामा नयाँ चासोको कारण मागमा भएको वृद्धि र युक्रेनमा रूसको आक्रमणपछि तेल र ग्याँस आपूर्तिको बारेमा डरको कारण पनि यो मूल्य वृद्धि कारकहरूको संयोजनको परिणाम हो । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार सन् २०२१ मा आणविक ऊर्जाबाट करिब ७० प्रतिशत विद्युत् उत्पादन गर्ने फ्रान्सजस्ता आणविक ऊर्जामा अत्यधिक निर्भर मुलुकका लागि उच्च मूल्यले टाउको दुखाइको विषय बन्नेछ ।

फ्रान्स, बेल्जियम, बेलायत र रोमानियाले हालै धेरै अवरूद्ध पावर प्लान्टहरूको सञ्चालन र विस्तारको लागि अनुमति दिएका छन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको पब्लिक युटिलिटीज कमिसन ९सीपीयूसी० ले बिहीबार लस एन्जलस नजिकैका दुई रिएक्टरको आयु पाँच वर्ष थप्न स्वीकृति दिएको छ ।

विशेष गरी चीनमा नयाँ परियोजनाहरू पनि सुरु गरिएका छन् । चीनमा २५ रिएक्टरहरू निर्माणाधीन छन् । भारत, टर्की र इजिप्टमा पनि नयाँ परियोजनाहरूको उल्लेख्यरूपमा वृद्धि भएको छ । आणविक उद्योग अनुसन्धान फर्म युएक्ससीका अध्यक्ष जोनाथन हिन्जेका अनुसार आणविक ऊर्जाको बढिरहेको मागलाई आपूर्तिले सम्बोधन गर्न सकिरहेको छैन ।

विश्व आणविक सङ्घ (डब्लूएनए) का अनुसार विश्वको सबैभन्दा ठूलो युरेनियम उत्पादक कजाखस्तानमा रहेको मागलाई आपूर्तिले सम्बोधन गर्न सकेको छैन । गत वर्ष विश्वव्यापी उत्पादनको ४३ प्रतिशत काजखस्तानले सम्बोधन गरेको थियो । कजाखस्तानले विशेष गरी निकासीको लागि प्रयोग गरिएको सल्फ्यूरिक एसिडको कमी र बन्दोबस्तीको समस्याहरूको सामना गर्नुपरेको हिन्जले बताए ।

डब्लूएनएका अनुसार सन् २०२२ मा विश्वभर करिब ५८ हजार टन युरेनियम निकालिएको थियो । गत वर्ष विश्वमा युरेनियम उत्पादनको चार प्रतिशत हिस्सा ओगटेको नाइजरमा हालै भएको सैन्य ’कू’ बाट पनि वित्तीय बजार चिन्तित भएको हिन्जेले बताए ।

रिपब्लिकन नेतृत्वको अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सले सोमबार रूसबाट युरेनियम आयातमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ । यो विधेयक अझै पनि डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहेको सिनेटबाट पारित हुन बाँकी छ । यी सबै कारकहरू युरेनियमको ठूलो भण्डार जम्मा गर्ने र मूल्य वृद्धि गर्ने वित्तीय खेलाडीहरूको उदयबाट जटिल छन् ।

यीमध्ये सबैभन्दा ठूलो भण्डार गृह क्यानडाको स्प्रोट हो, जसले जूनको अन्त्य सम्ममा लगभग २८ हजार टन यूरेनियम भण्डारण गरेको छ ।

युरेनियमको बढ्दो माग पूरा गर्न अमेरिकी राज्य यूटाजस्ता स्थानहरू जस्तै विश्वभरिका पुराना खानीहरू पुनः खोलिएका छन् । ‘’युरेनियमको माग बलियो रहनेछ र बढ्नेछ,’’ युएक्ससीका हिन्जेले भने, “रातारात आपूर्ति बढाउन सम्भव छैन ।”

‘‘नतिजाको रूपमा यदि केही छ भने, मूल्य अझ बढ्नेछ, घट्ने वा नियन्त्रण हुने होइन ।’’

अमेरिकामा घरबारविहीनको सङ्ख्यामा उल्लेख्य वृद्धि
संयुक्त राज्य अमेरिकामा घरबारविहीन हुनेको सङ्ख्या यस वर्ष कीर्तिमानी स्तरमा पुगेको छ । शुक्रबार सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदनले घरबारविहीन हुनेको सङ्ख्या कीर्तिमानी स्तरमा पुगेको देखाएको हो ।

अमेरिकी आवास तथा शहरी विकास विभागका प्रमुखले गरेको गणनाअनुसार डिसेम्बरसम्ममा देशभर छ लाख ५३ हजार १०० भन्दा बढी मानिस घरबारविहीन भएका छन् ।

यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ७० हजार ६५० अर्थात् १२ प्रतिशत बढी हो र सन् २००७ मा तथ्याङ्क सङ्कलन सुरु भएयताकै सबैभन्दा बढी हो ।

अफ्रिकी अमेरिकीहरू कुल अमेरिकी जनसङ्ख्याको १३ प्रतिशत छन् तर घरबारविहीन भएका मध्ये ३७ प्रतिशत अफ्रिकी अमेरिकीहरू रहेका छन् ।

सन् २०२२ देखि २०२३ को बीचमा पहिलो भाषका रूपमा स्पेनी भाषा प्रयोग गर्ने भनेर पहिचान गर्ने व्यक्तिमा घरबारविहीन हुनेको सङ्ख्यामा २८ प्रतिशत अर्थात् ३९ हजार १०६ जनाले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१२ देखि नै घरबारविहीन अवस्थामा रहेका बालबालिकाको सङ्ख्या पनि १६ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

जनवरीमा घरबारविहीन भएका छ लाख ५३ हजार १०० मध्ये हरेक १० जनामा छ जना आश्रयस्थल वा अन्य अस्थायी आवासमा थिए भने १० मध्ये चार जना मानव बस्तीका लागि नबनेको ठाउँमा थिए ।

क्यालिफोर्नियामा सबैभन्दा धेरै एक लाख ८१ हजार ३९९, न्युयोर्कमा एक लाख तीन हजार २००, फ्लोरिडामा ३० हजार ७५६, वासिङ्टनमा २८ हजार ३६, टेक्सासमा २७ हजार ३७७ र ओरेगनमा २० हजार १४२ जना घरबारविहीन छन् ।

विशेषज्ञहरूका अनुसार संयुक्त राज्य अमेरिकामा घरबारविहीनताको सङ्कटलाई गरिबी, मानसिक स्वास्थ्य, लत र आवासको अभावलगायत धेरै कारकहरूले बढावा दिइरहेको छ ।

रूसको चुनावमा हस्तक्षेप गर्नेलाई कडा सजाय दिने पुटिनको चेतावनी
आगामी वर्षको निर्वाचनमा विदेशी हस्तक्षेप भएमा यसको विरुद्धमा रूसले ‘कठोर’ कदम लिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । उनले विपक्षी नेताहरूले विदेशमा रहेर आफूविरूद्ध निर्वाचन अभियान चलाउनसक्ने सम्भावनालाई संकेत गर्दै विदेशमा बसी स्वदेशी अभियानलाई प्रभावित पार्न खोज्ने जोकोही पनि रूसी कानुनको कठघरामा उभिनुपर्ने चेतावनी दिएका छन्।

संसद्को तल्लो सदन डुमामा पार्टीका नेताहरूसँगको भेटमा पुटिनले भने, ‘रूसको आन्तरिक मामिलामा कुनै पनि हस्तक्षेपलाई रूसी कानुन अनुसार दण्डित र कठोर सजाय दिइनेछ ।’

उनले भने, ‘हामी हाम्रा जनताको स्वतन्त्रता, सार्वभौमिकता र आफ्नो भविष्य रोज्ने अधिकारको रक्षा गरिरहेका छौं । हाम्रो देशमा शक्तिको स्रोत केवल रूसका जनता मात्र हुन् ।’

गत वर्ष युक्रेनको युद्धभूमिमा पश्चिमा प्रतिबन्ध र असफलताको सामना गर्नुपरेका पुटिन सन् २०२३ को अन्त्यमा थप उत्साहित देखिएका छन् । पछिल्लो समय बहुचर्चित युक्रेनी प्रतिआक्रमणले रूसी रेखाहरू तोड्न असफल भएको छ, अर्थव्यवस्था सुधार भइरहेको छ, र कीभको लागि पश्चिमी समर्थन कमजोर भएको देखिन्छ, अमेरिकी कंग्रेस र युरोपेली सङ्घमा नयाँ सहायता कार्यक्रमहरू रोकिएका छन् ।

पुटिनले पछिल्लो समय युक्रेनी सैनिकलाई कैदीका रूपमा पक्राउ गर्ने क्रम ह्वात्तै बढेको बताएका छन् । गत हप्ता उनले मार्च २०२४ को चुनावमा पाँचौं कार्यकालका लागि राष्ट्रपतिपदका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेका थिए । प्रभावशाली विपक्षी नेताहरू जेलमा रहेकाले लगभग २५ वर्ष सत्तामा रहेका पुटिनलाई आफ्नो विजय यात्रा सहज बनेको छ ।

विशेष गरी भ्रष्टाचार विरोधी अभियानकर्ता एलेक्सी नाभाल्नीलगायत अधिकांश प्रमुख रूसी विपक्षी नेताहरू जेलमा थुनिएका छन् वा निर्वासित जीवन बिताइरहेका छन् ।

पाकिस्तानमा प्रहरी र सेनाको चौकीमा हतियारधारीको आक्रमण
उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी चौकी र सेनाको चौकीमा हतियारधारीहरूले गरेको आक्रमणमा गरेका छन ।

जुन आक्रमणमा परी केही अफिसर र सिपाहीहरू मारिएका छन भने तथा दर्जनौं घाइते भएका छन् । पाकिस्तानी प्रहरीका अनुसार अफगानिस्तानको सिमानामा पूर्व तालिवान गढहरूमा हिंसाको बढ्दो अभियानलाई विस्तार गर्दै शुक्रबार बिहान आक्रमणहरू भएका थिए।

तीन दिनअघि सोही प्रान्त खैबर पख्तुनख्वामा आत्मघाती बम आक्रमणमा २३ पाकिस्तानी सैनिकको मृत्यु भएको थियो ।

प्रहरीमाथि शुक्रबारको आक्रमण प्रान्तको डेरा इस्माइल खान डिभिजनको ट्यांक जिल्लामा भएको थियो। प्रहरीका अनुसार दुई अधिकारीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

यस घटनामा तीन आक्रमणकारीको पनि मृत्यु भएको जनाइएको छ । प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको थियो भने तेस्रोले आफैंलाई विस्फोट गराएको उनले बताए। विस्फोट नभएको आत्मघाती ज्याकेट पनि फेला परेको छ र प्रहरीले परिसरलाई सुरक्षित बनाउन अपरेशन सुरु गरेको छ ।

प्रहरी अधिकारी इफ्तिखार शाहका अनुसार पाकिस्तानीसुरक्षा बलले उनीहरूलाई घण्टासम्म बन्दुक युद्धमा संलग्न गराएको थियो । प्रहरी अधिकारीहरू घाइते भएका थिए।

पाकिस्तानको डन समाचारका अनुसार अफिसर शाहले पोस्टमा रहेका सबै बाँकी अफिसरहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको र क्षेत्रमा थप हतियारधारी मानिसहरूको अलर्टपछि खोजी अभियान चलिरहेको बताए।

गाजा युद्धमा ६३ पत्रकार मारिए : सीपीजे
इजरायल–हमास युद्धका क्रममा गाजामा ६३ जना पत्रकार मारिएका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्टले संकलन गरेको तथ्याङ्क अनुसार अक्टोबर ७ यता कम्तिमा ५६ प्यालेस्टिनी, चार इजरायली र तीन लेबनानी पत्रकार मारिएका हुन् ।

युद्धका क्रममा ११ जना पत्रकार घाइते, तीनजना बेपत्ता र १९ जना पक्राउ परेको जनाएको छ । पत्रकारहरू माथि धेरै आक्रमण भएको, धम्की दिइएको, साइबर आक्रमण गरेको, सेन्सरसिप र उनीहरूको परिवारका सदस्यहरूको हत्या भएको तथ्यांक सार्वजनिक भएको छ ।

सीपीजेको मध्य पूर्व र उत्तर अफ्रिका कार्यक्रम संयोजक शेरिफ मन्सुरले भने, ‘सीपीजेले पत्रकारहरू संकटको समयमा महत्त्वपूर्ण काम गर्ने नागरिकहरू हुन् र युद्धरत पक्षहरूद्वारा लक्षित हुनु हुँदैन भन्ने कुरामा जोड दिन्छ।’

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : ५८ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको