काठमाडौँ -पोखरामा भएको यति एयरलायन्सको दुर्घटनाले फेरि एकपटक नेपालको हवाई क्षेत्रको सुरक्षालाई सतहमा ल्याएको छ । नेपालमा पटक पटक हुने विमान दुर्घटनाले नेपाली आकाश अझैँ सुरक्षित छैन भन्ने झन् ठूलो खराब सन्देश अन्तर्राष्ट्रियस्तरमा गएको छ । पोखरामा चालकदलका सदस्यसहित ७२ जनाको मृत्यु भएको विमान दुर्घटनामा आधारित भएर नेपाल वायु सेवा निगममा तीन दशक जहाज चलाएर अवकाशप्राप्त पूर्व वरिष्ठ पाइलट ओम गुरुङसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश:
पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनालाई एउटा वरिष्ठ क्याप्टेन भएको नाताले कसरी हेर्नु भएको छ ? हिजो मौसमले साथ दिएको थियो । यति एयरलाइन्सको म्यानेजमेन्ट उसको आफै हो । त्यसको रेखदेख गर्ने प्राविधिक टोलीहरू कतिको सक्रिय थियो । पहिलेको हिसाबमा अहिले धेरै अपडेट भएको छ । अनुभवी क्याप्टेन, एटिआर जहाज र गन्तव्यस्थल पोखरा जुन छोटो दुरी राम्रो हवाई मार्ग भएको ठाउँमा पनि त्यस्तो भयो । यो दुःखद हो । तर कारण अहिल्यै भन्न गाह्रो छ ।
यो दुर्घटनामा जहाजको पनि केही खराबी हो र ? नेपाल सरकारले नै भनेको छ कि १५ वर्ष भन्दा पुरानो जहाज ल्याउन पाइँदैन भनेर । यो जहाज आएको दुई तिन वर्ष भयो । त्यसैले यो नराम्रो हैन । नयाँ जहाज बिग्रिँदैन भन्ने छैन, त्यसको म्यानेजमेन्ट महत्वपूर्ण हो । यो जहाज २००७ सालमा बनेको भनिएको छ । यो १५ वर्ष भएछ १५ वर्ष जहाजको पुरानो उमेर हैन । ३७ वर्ष सम्म पनि राम्रोसँग चल्छ । यो कुरालाई दुर्घटना मात्र भन्नु हुँदैन । हिजो दुर्घटना हुँदा पूर्व क्याप्टेनहरूको खोजी हुन्छ, त्यो भन्दा पनि त्यो क्षेत्र भित्र उठेका समस्याहरू जान्नु पर्याे । अब देखि हरेक दुर्घटनामा पुरानो र नयाँ जहाज भनेर दाँज्नु हुँदैन ।
पाइलटले प्राविधिक पक्ष कसरी थाहा पाउने ? सिस्टम त हामीलाई थाहा छ र तर सिस्टमको कुनै भाग बिग्रिएको छ भने इन्जिनियरले हेर्दछ र पाइलटलाई चित्त बुझेन भने फेरी जँचाउन सकिन्छ ।
नयाँ विमानस्थलमा अवतरण गर्ने १० सेकेन्डको समयमा दुर्घटना भएको छ, तेस्रो पटकको समयमा यो उडान भयो यसलाई सामान्य मान्ने ? स्वाभाविक मान्नु पर्दछ । किनभने यो हामीलाई अन्तर्राष्ट्रिय रिकग्नाइज प्राक्टिस हो । किनभने जसलाई जति बेला मन लाग्यो त्यो समयमा उड्न पाइँदैन । त्यसमा धेरै विशेषज्ञहरू डाक्टरहरू भएर अध्ययन गरेर एउटा समय निर्धारण गरेको हुन्छ । ल्यान्डिङ र टेकभको पनि समय तोकिएको हुन्छ । हिजोकाले कुरामा नयाँ बनेको एयरपोर्ट भनौँ, जहाजको मौसम सबै हेर्दा दुर्घटना हुने कुनै कारण थिएन । हिजो मेरो अनुभवमा पोखरामा धेरै चराहरू हुने गर्दछन्, दुर्घटना भने प्राय उड्ने बलामा र झर्ने बेलामा हुन्छ ।
क्याप्टेन कमल केसीले कोपाइलट अन्जु खतिवडालाई प्रशिक्षण गराउँदा रनवेमा १२ दिशाबाट पनि अवतरण गराउँदा यो दुर्घटना भएको हो त ? हो । किनभने उहाँले गराउने सामान्य प्रक्रिया हो । वरिष्ठ क्याप्टेनलाई सिकाउनु पर्दछ । उहाँले लाइसेन्स पनि पाइसक्नु भइसक्यो । उहाँले हिजो टर्निङ गर्दा चार्ज अलि बर्ता भयो कि त्यो बेला नै बाङ्गिएको जहाजलाई सिधा बनाउनु पर्दछ । त्यो बेला केही चिजले ठोक्यो भने मान्छे अतालिन्छ । सैद्धान्तिकमा १०० अंक नै ल्याए पनि अभ्यासमा पनि राम्रो हुनु पर्दछ । रियल क्राइसिसमा जहाजलाई कसरी नियन्त्रण गर्दछ, त्यसमा भर पर्दछ ।
हिजोको दुर्घटना हुनुअघिको जहाज उडाई र ढल्काई हेर्दा दुर्घटनाको कारणबारे केही भन्न सकिन्छ ? त्यो अप्राकृतिक हो । घुम्तीमा त्यो प्रकारले चलाउनु हुँदैन । ओभर करेक्सन भयो भने खतरा हुन्छ, मान्छे खतम बनाउँछ ।
खसमा १२ किन रोज्नु पर्ने अवस्था आउँछ, ३० मा प्रयोग गर भनेर एटिसि ले भनेको कुरा उसले किन मान्न सकेन होला ? टावरले हावाको बहाव हेरेर, मौसमको अवस्था हेरेर त्यो भनेको हुन्छ । जस्तो फेवातालबाट हावा आयो भने ३० बाट नै ल्यान्ड गर्नु पर्दछ । त्यसैले हिजो मौसम पनि राम्रो थियो । काठमाडौँबाट गएको प्लेन १२ मा गर्दा पनि हुने हुँदा उहाँले क्याप्टेनलाई सिकाउन १२ माग्नु भयो होला ।
बाहिर र नेपालमा प्लेन उडाउँदा के फरक पाउनु भयो ? बाहिर हामीलाई बेसिक मात्र सिकाउने हो । यहाँ आएर हामीले भौगोलिक आधारमा गर्छौँ ।
पोखरामा भएको दुर्घटनामा पाइलटले बस्ती जोगायो भन्ने सुनिन्छ, साच्चै हो त ? अगाडि रनवे देख्छ भने उ सुरक्षित हुन्छ भनेर उसले त्यता नै लान्छ, खतराको बाटो जाँदैन । बस्ती जोगाउने कुरा मात्रै होइन होला ।
तपाईले उडान भर्ने क्रममा केही अनौठो घटना घटेको छ ? हामीले लुक्ला उडान भरेको घटना अनौठो लाग्छ । त्यसमा एउटा मात्र रनवे छ, मैले जहाज ल्याण्ड गर्दा एक किसिमले हावाको झोकाले जहाज नै पर धकेल्यो । त्यस्तो बेला घुमाएर ल्यान्ड गर्नु पर्दछ । त्यसमा घुमाएर ल्यान्ड गरे । पछि त्यो ठाउँमा जाँदा रुखहरू बढेका रहेछन् । अहिलेको जस्तो त्यो बेला रुख बढेको भए दुर्घटना हुन्थ्यो जस्तो लाग्छ । यो मेरो जीवनको अनौठो घटना हो ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)