को हुन् उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादव ? « Khabarhub

को हुन् उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादव ?


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी जसपा नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।

यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उनका दुई दाजुभाइ तथा तीन दिदीबहिनी छन् । साथै श्रीमती, दुई छोरा र एक छोरी छन् ।

उनी विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव भएका थिए । यादव गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । उनी यसअघि २०७४ सालमा पनि बारा–२ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

मधेस आन्दोलनका क्रममा दरिलो पहिचान बनाएका उनी राजनीतिक जीवनअघि बाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेशामा समर्पित थिए । बाराको कलैयामा अवस्थित श्री पन्ना देवी कन्या माविमा उनी विज्ञान र गणित विषयको शिक्षक रहेका थिए ।

भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गरेका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो ।

नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी उच्च शिक्षा लिई भारतको सीतामढीबाट बिएससी अध्ययन गरी फर्किंदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो । उक्त समयमा तराई मधेशका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उनी २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गरेका हुन् ।

सो पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि राजविराज महाधिवेशनमा नेपाल सदभावना पार्टी विभाजनको विरोधमा आनन्दी देवीको नेतृत्वमा पार्टी एकताका लागि आमरण अनसनमा बस्ने यादव पहिलो नेता थिए ।

राजनीतिका क्रममा उनको भेट उपेन्द्र यादवसँग भएपछि २०५९ सालमा मधेशी जनाधिकार फोरममा आबद्ध भएका थिए । त्यसपछि उनी २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य निर्वाचित भएका थिए भने विसं २०६५ मा पार्टी महासचिव भए । यादव स्वच्छ तथा इमान्दार छविका नेता मानिन्छन् ।

उनी विसं २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपाबीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य भएका थिए । विसं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री भएका उनी हाल जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेताको भूमिकामा समेत रहेका छन् ।

पार्टी तथा सरकारको प्रतिनिधि भई उहाँले हालसम्म संयुक्त राज्य अमेरिका, पोल्याण्ड, चीन, संयुक्त अधिराज्य, बेल्जियम, युएई (संयुक्त अरब इमिरेट्स) लगायत देशको भ्रमण गरिसकेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ५ : ३० बजे

उदयपुरमा तीन हजार ८४८ जना किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

काठमाडौं– उदयपुरमा तीन हजार ८४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

काठमाडौं– पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष प्रणालीअन्तर्गत

‘पत्रकारले देश र जनताका पक्षमा निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनु पर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पत्रकारले देश

जन्ती बस दुर्घटना : मृतकका परिवारलाई प्रदेश सरकारले दियो आर्थिक सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको बस

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति योजना लक्ष्यअघि नै सम्पन्न

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका