दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज दिनभर रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित, नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ३ लाख दिने, कृषि विश्वविद्यालयका डिन निलम्बनमा, स्तन क्यान्सरको शल्यक्रिया भैरहवाबाटै, अदालतमा मुद्दा नपरेका क्याम्पसहरूमा ५ चैतमा स्ववियु निर्वाचन हुनेलगायत समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू :

रामसहाय यादव नयाँ उपराष्ट्रपतिमा निर्वाचित

नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।

शुक्रबार राष्ट्रपति पदका लागि भएको निर्वाचनमा उनी ३० हजार ३२८ मतभार पाएर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनले संघीय संसदका १८४ जना सांसदले दिएको मतको मतभार १४ हजार ५३६ र प्रदेशसभाका ३२९ जना सदस्यले दिएको मतको १५ हजार ७९२ मतभार पाएका हुन् ।

बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन् ।

राष्ट्रिय एकतालाई मजबुद बनाउँछु : नवनिर्वाचित उपराष्ट्रपति यादव

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुद र प्रवर्द्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, “मुलुक समृद्धरुपमा अगाडि बढोस्, शान्तिप्रक्रिया निष्कर्षमा पुग्न बाँकी छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका लागि पनि मेरोतर्फबाट हुने प्रयास मैले इमान्दारिपूर्वक गर्नेछु ।”

नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालले निर्वाचित भएको प्रमाणपत्र दिएका छन् । नवनिर्वाचित उपराष्ट्रपतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतले बधाई दिएका थिए ।

नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ३ लाख दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएको नेपाली टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

बिहान प्रधानमन्त्री निवासमा बोलाएर खेलाडीलाई बधाई तथा शुभकामना दिएका प्रधानमन्त्री प्रचण्डले जनही ३ लाख दिने घोषणा गरेका हुन्।

युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा ‘नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गर्दछु।’ लेखेका छन्।

बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री प्रचण्ड स्वयम् उपस्थित भएर खेलाडीलाई हौसला प्रदान गरेका थिए ।

कृषि विश्वविद्यालयका डिन दत्त निलम्बनमा

कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ ।

दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो ।

गत मङ्गलबार भएको जुम बैठकमा एक जनाको प्रस्तुति भइरहँदा डिन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको थियो । त्यस्ता दुईवटा भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरेर छानबिन समिति गठन गरिएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले दत्तलाई निलम्बन गरेर तीन सदस्यीय छानबिन समिति बनाएको जानकारी दिए । विश्वविद्यालयका प्राध्यापक डा श्रवणकुमार साहको संयोजकत्वमा प्रा डा दुर्गा देवकोटा र प्रा नारायणराज जोशी सदस्य रहेको छानबिन समिति गठन गरिएको छ ।

पन्ध्र दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको उनले बताए । विश्वविद्यालयले डिन दत्तलाई निलम्बनको पत्र बुझाएको छ । डिन दत्तलाई तत्काल कारबाही गर्न चौतर्फी दबाब परेपछि निलम्बन गरिएको बताइएको छ ।

स्तन क्यान्सरको शल्यक्रिया भैरहवाबाटै

भैरहवामा स्तर क्यान्सरको विशेषज्ञ सेवा सुरु भएको छ । विगत १२ वर्षदेखि क्यान्सर उपचारमा लागेका डाक्टर सञ्जय पाण्डेको नेतृत्वले भैरहवाबाट स्तन क्यान्सरको शल्यक्रिया सम्मको सेवा सुरु गरेको हो ।

भैरहवाको ओजस अस्पतालबाट स्तन क्यान्सरको सबै उपचारको व्यवस्था गरिएको छ । हालै मात्रै स्तन क्यान्सरको सफल शल्यक्रिया गरेका डाक्टर पाण्डेले अब स्तन क्यान्सरको भैरहवामै शल्यक्रियासम्मको उपचार हुने जानकारी दिए ।

क्रमिक रुपमा स्तन क्यान्सरका बिरामीहरूको संख्या बढ्दै गएको छ । जनचेतनाको अभाव र पहुँच नहुँदा कतिपयको ज्यान जाने गरेको भए पनि स्तन क्यान्सरको उपचार कम खर्चिलोमै गराउन सकिने गरी सेवा भैरहवामा सुरु भएको छ ।

चितवन, काठमाडौँलगायतका क्षेत्रमा हुँदै आएको शल्यक्रिया अब अत्याधुनिक तरिकाले भारतको मेदान्ता जस्तो स्तरको शल्यक्रिया कक्षबाट शल्यक्रिया गर्ने गरी व्यवस्था मिलाइएको डाक्टर पाण्डेले भने।

महिलामा मात्रै नभएर पुरुषमा पनि स्तर क्यान्सर हुन सक्छ । महिला भन्दा पुरुषको स्तन क्यान्सर घातक मानिन्छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार अहिलेकै गतिमा पुरुषमा क्यान्सर बढ्दै गयो भने सन् २०३० सम्ममा विश्वका हरेक पाँच मध्ये एक जनालाई ७५ वर्ष अघि नै स्तन क्यान्सर हुने सम्भावना रहेको छ ।

स्वास्थ्य कार्यालयले सुत्केरीलाई पोषण खर्च दिने

स्वास्थ्य कार्यालय तनहुँले सुत्केरीलाई पोषण खर्च बापत रकम उपलब्ध गराउने भएको छ ।

गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालयमार्फत चालु आर्थिक वर्षमा सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउन लागेको हो । लक्षित समूहका आमा र बच्चाको पोषण अवस्थामा सुधार ल्याई स्वास्थ्य अवस्था सुदृढ गर्नका लागि सुत्केरी भएको ४५ औँ दिनसम्म पोषिलो खानाका लागि पोषण खर्च उपलब्ध गराउन लागिएको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार सुत्केरीलाई एकमुष्ठ नौ हजार रुपैयाँ प्रदान गरिनेछ ।

कार्यालयले सुत्केरीलाई पोषण खर्चबापतको रकम उपलब्ध गराउनका लागि सबै स्थानीय तहसँग विवरण माग गरेको छ । ‘चालु आर्थिक वर्ष २०७९÷८० को साउन महिनादेखि सुत्केरी भएका महिलालाई उक्त रकम प्रदान गरिने छ, त्यसका लागि दश वटै स्थानीय तहसँग विवरण माग गरेका छौँ’, उनले भने।

अति विपन्न, दलित, अपाङ्ग र लोपोन्मुख सुत्केरी आमा पोषिलो खाना कार्यक्रममार्फत रकम उपलब्ध गराउन लागिएको उनले बताए। अति विपन्न, दलित, अपाङ्ग र लोपोन्मुख समुदायको वर्गमा पर्ने सुत्केरी आमा हुनुपर्ने र त्यसको पहिचान सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गर्नुपर्ने प्रमुख अधिकारीले बताए ।

गर्भपतन गराएकाको हकमा पोषण खर्च उपलब्ध नगराइने जनाइएको छ । आवश्यक कागजात सङ्कलन गरी स्वास्थ्य संस्थाले वडाको सिफारिस साथ नगरपालिका, गाउँपालिकाको स्वास्थ्य शाखामा विवरण उपलब्ध गराउने र स्वास्थ्य शाखाले एकमुष्ठ विवरण तयार गरी रकम भुक्तानीका लागि प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराई स्वास्थ्य कार्यालयमा सिफारिससहित विवरण उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

यो रकम लिनका लागि सम्बन्धित वडा कार्यालयबाट लक्षित वर्गअन्तर्गत पर्ने भनी गरिएको सिफारिस पत्र, नागरिकता वा परिचय खुल्ने आधिकारिक सरकारी कागजातको प्रतिलिपि, जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, सुत्केरीको नाममा खोलिएको बैङ्क खाताको चेकको प्रतिलिपि उपलब्ध गराउनुपर्ने कार्यालयले जनाएको छ ।

यसैबीच व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीबाट प्रसूति सेवा लिएकालाई उत्प्रेरणा खर्च र यातायात खर्च उपलब्ध गराइएको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत प्रोत्साहन उपलब्ध गराउने नीतिबमोजिम उनीहरूलाई उत्प्रेरणा खर्च र यातायात खर्च उपलब्ध गराइएको हो ।

चालु आवमा उक्त स्वास्थ्य चौकीबाट ११ जनाले प्रसूति सेवा लिएका छन् । उनीहरूलाई जनही रु दुई हजारका दरले यातायात खर्च र रु आठ सयका दरले उत्प्रेरणा खर्च उपलब्ध गराइएको चौकीका प्रमुख देविन्द्र कार्कीले जानकारी दिए ।

चालु आर्थिक वर्षमा राइनास नगरपालिकाको करिब आधा बजेट खर्च

लमजुङको राइनास नगरपालिकाले साढे १६ करोड खर्च गरेको छ । नगर सभामा उपप्रमुख पुष्पराज खनालले अर्ध वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै राइनास नगरपालिकामा चालु आर्थिक वर्षमा हालसम्म १६ करोड ५३ लाख ८८ हजार रुपैयाँ खर्च भएको जानकारी दिए ।

उनका अनुसार चालु आवका लागि ३८ करोड २० लाख ४ हजार रुपैयाँको बजेट विनियोजन भएको थियो । उनले भने हामीले पारित गरेका योजनाहरू अधिकांशको सम्झौता भएको र धेरैजसो योजनाको आधाभन्दा बढी काम भइसकेको छ ।

उनले भने, ‘यो वर्षका योजना १५ प्रतिशत सम्पन्न भएका छन्, नगरपालिकाले विनियोजित रकम समयमै सम्पन्न गर्ने गरी काम अघि बढाएको छ, यो काम हुन्छ ।’

अदालतमा मुद्दा नपरेका क्याम्पसहरूमा ५ चैतमा स्ववियु निर्वाचन हुने

मध्यपश्चिम विश्वविद्यालयले अदालतमा मुद्दा नपरेका क्याम्पसहरूमा यही ५ चैतमा स्ववियुको निर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले अदालतमा मुद्दा नपरेका विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा निर्वाचन गर्ने निर्णय गरेको हो।

चैत ३ गते अर्थात् आज शुक्रबार मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भनेको थियो। तर, चैत २ गते बसेको विश्वविद्यालयको बैठकले उच्च अदालत सुर्खेतले निर्वाचन रोक्ने आदेश जारी गरेसँगै स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो।

तर, शुक्रबार बसेको बैठकले अदालतमा मुद्दा परी स्थगित गरिएका स्थानमा बाहेकका अन्य सम्पूर्ण आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरूको प्रतिवद्धता बमोजिम र शैक्षिक क्यालेन्डरलाई समेत मध्यनजर गर्दै चैत ५ गते विश्वविद्यालयमा स्ववियुको निर्वाचन सम्पन्न गर्न र गराउन सबैलाई जानकारी सँगै निर्देशन गर्ने निर्णय गरेको छ ।

आठ महिनामा साढे १३ अर्ब रकम विदेशियो

काठमाडौँ– चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत करिब साढे १३ अर्ब रकम विदेशिएको छ । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार तीन सय २४ लाभांशवापत रकम फिर्ताको सिफारिस गरेको हो ।

विभागले आठ महिनामा रोयल्टीबापत दुई अर्ब आठ करोड ९३ लाख ९७ हजार एक सय सात, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार आठ सय २५ भारतीय रुपैयाँ तथा सात हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।

विभागले फागुनमा मात्रै लाभांशवापत करिब तीन अर्ब विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले दुई अर्ब आठ करोड १० लाख ८३ हजार विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीवापत फागुनमा मात्रै ३३ करोड ३० लाख ९१ हजार पाँच सय ३७, दुई लाख ५० हजार २४ अमेरिकी डलर, बीस लाख १० हजार ५५ २५ भारतीय रुपैयाँ फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ ।

कैदीबन्दी कोचाकोचले सरुवा रोग फैलिने डर

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कुल एक सय ७७ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल चार सय ९८ कैदीबन्दी छन् ।

धेरै कैदीबन्दी हुँदा सुत्न, खाना खान र शौचालय प्रयोग गर्न समस्या भएको कारागार प्रशासनले जनाएको छ । पन्ध्र–सोह्र जनाले एउटै बाथरुम प्रयोग गर्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले गुनासो गरेका उनीहरूका आफन्तजन बताउँछन् । कारागारमा अहिले महिला ७४, चार सय २१ पुरुष र तीन नाबालक छन् । साविकको पश्चिमाञ्चल क्षेत्रमै नमूना करागारका रूपमा रहेको भए पनि अहिले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या बढ्दै गएको जेलर पुनराम पौडेलले बताए ।

“मनोरञ्जनलगायत प्रयोजनका लागि बनाइएका कोठा कैदीबन्दी सुत्नका लागि प्रयोग गरेका छौँ”, उनले भने । सदरमुकाम परासीको मुख्य बजार क्षेत्रमा रहेको कारागार साँघुरो भएपछि केही वर्ष पहिले फराकिलो स्थानमा सारिएको थियो । कैदीबन्दी बढ्दै जाँदा समस्या भएको हो। सेवा–सुविधाका हिसाबले अन्य जिल्लाका कारगारभन्दा राम्रो भए पनि क्षमताभन्दा बढी कैदीबन्दी राख्दा अप्ठ्यारो भएको पौडेल बताउँछन् ।

“धेरै जना एकै ठाउँमा राख्दा सरुवा रोगको सङ्क्रमण छिटो फैलिने जोखिम बढेको छ”, उनले भने । बेला–बेलामा देशका कतिपय कारागारमा हैजा, झाडापखलालगायत सरुवा रोगका कारण एकैपटक सबै कैदीबन्दी बिरामी पर्ने समस्या देखिने गरेको छ ।

पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु

पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ८ : ०० बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने