आज चैत ३- २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च १७, २०२३। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:
अष्ट्रेलियाले अमेरिकासँग २२० वटा टोमाहक क्रुज मिसाइल खरिद गर्ने
अष्ट्रेलियाले अमेरिकासँग २२० ‘टोमाहक क्रुज मिसाइल’ खरिद गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो ।
हिन्द–प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढेकामा चिन्ता व्यक्त गर्दै अष्ट्रेलियाले आफ्ना हतियार भण्डारको आधुनिकीकरण गर्न तथा सामरिक सामर्थ्य वृद्धि गर्न अमेरिकाबाट आणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बी खरिद गर्ने घोषणा गरेको केही दिनपछि टोमाहक क्रुज मिसाइल किन्ने निर्णय सार्वजनिक भएको छ ।
अष्ट्रेलियाका अधिकारीहरूले नयाँ आणविक शक्तिबाट चल्ने पनडुब्बीबाट टोमाहक मिसाइल प्रहार गर्न सहज हुने बताएका छन् । नब्बे करोड अमेरिकी डलर मूल्य बराबरका ती क्षेप्यास्त्रको आपूर्ति एरिजोनास्थित रेथियन मिसाइल एण्ड डिफेन्सले गर्नेछ ।
जापानले पनि गत महिना चिनियाँ प्रभाव बढ्न नदिने प्रयासस्वरुप आफ्नो सेनाको स्तरवृद्धि गर्ने योजनाको घोषणा गरेको थियो । सन् २०२६ सम्ममा ४०० टोमाहक क्रुज मिसाइल खरिद गरी रणनीतिक स्थानमा तैनाथ गर्ने योजना तर्जुमा गरिएको छ ।
अमेरिकाले प्रस्तावित टोमाहक मिसाइल बिक्रीबाट आफ्नो विदेश नीति तथा राष्ट्रिय सुरक्षा उद्देश्यमा असर नपर्ने जनाउँदै पश्चिमी प्रशान्त क्षेत्रमा आफ्नो सबैभन्दा महत्वपूर्ण सहयोगीमध्येको एक अष्ट्रेलिया भएको बताएको छ ।
अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले पनि आफ्नो देशले पनि अमेरिकासँग निकट सम्पर्कमा रहेर काम गर्ने बताएका छन् । लामो दूरीसम्म प्रहार गर्ने क्षेप्यास्त्र आफ्नो देशसँग रहेको सुनिश्चित गर्नु राष्ट्रका निम्ति महत्वपूर्ण भएको उल्लेख गर्दै उनले मुलुकको सुरक्षाका निम्ति त्यो अझ महत्वको विषय भएको बताएका छन् ।
स्लोभाकियाले युक्रेनलाई लडाकु विमान प्रदान गर्ने
स्लोभाकियाले पनि छिमेकी मुलुक युक्रेनलाई १३ वटा मिग २९ लडाकु विमानहरू प्रदान गर्ने भएको छ ।
आफ्नो मुलुकले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई लडाकु विमान सहयोग गर्न लागेको स्लोभाक गणतन्त्रका प्रधानमन्त्रीले शुक्रबार बताएका छन् ।
पोल्याण्डपछि यस किसिमको विमान सहयोग गर्ने स्लोभाकिया दोस्रो नेटो सदस्य राष्ट्र हो ।
‘हामी हाम्रा १३ मिग १९ जेटहरू युक्रेनलाई हस्तान्तरण गर्नेछौं’ स्लोभाकका प्रधानमन्त्री एडुआर्ड हेगरले पत्रकार सम्मेलनमा भने ।
साथै उनले युद्धग्रस्त युक्रेनलाई कुब एयर डिफेन्स सिस्टम पनि सहयोग गर्ने बताएका छन् ।
भारतमा व्यावसायिक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु
दक्षिण भारतीय शहर हैदरावादमा बहुतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा छ जनाको मृत्यु भएको छ । घटनामा अरु छ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो ।
‘आगलागीमा दुई पुरुष र चार महिला गरी छ जनाको मृत्यु भएको छ’ एक प्रहरी अधिकारीले भनेका छन् । त्यस्तै, अन्य ६ जनाको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते ६ जना मध्ये चार जनाले आगोबाट बच्न भवनबाट हाम फालेका थिए ।
आगलागी नियन्त्रणका लागि १२ वटा दमकल घटनास्थलमा पुगेको र शुक्रबार बिहानसम्म आगो निभाउने कार्य जारी रहेको बताइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत प्रवाहमा समस्या उत्पन्न हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
चिनियाँ राष्ट्रपति सीले रुसको भ्रमण गर्ने
चीनका राष्ट्रपति सी जिन्पिङले रुसको भ्रमण गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सीले रुसको भ्रमण गर्न लागेका हुन् ।
उनले यही मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने जनाइएको छ । राष्ट्रपति पदमा तेस्रो पटक चयन भएसँगै सीले पहिलो विदेश भ्रमण गर्न लागेका हुन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यसबारे जानकारी दिएका हुन् । यद्यपि भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।
भेटवार्ताका क्रममा विभिन्न समझदारी तथा सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । “नेताहरूले नयाँ युगमा प्रवेश गरेको र व्यापक साझेदारी र रणनीतिक सम्बन्धलाई मजबुत बनाउने संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नुहुनेछ,” पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले भने ।
उशाकोभका अनुसार दुई शक्तिशाली नेताले सन् २०३० सम्मका लागि रूसी तथा चिनियाँ आर्थिक सहयोगसम्बन्धी संयुक्त घोषणापत्रमा पनि हस्ताक्षर गर्नेछन् ।
उनले भने “दुवै नेताले द्विपक्षीय सम्बन्धका बारेमा लेखेका लेख तथा विचारहरू सोमबार रूसी र चिनियाँ पत्रिकामा प्रकाशित हुनेछन् । यो वास्तविक वार्ताको पूर्वसन्ध्यामा एक महत्वपूर्ण सङ्केत हुनेछ ।”
उनहरूले युक्रेनमा रूसको सैन्य अभियानलाई पनि एजेन्डामा समावेश गरेको उशाकोभले बताए ।
“पक्कै पनि युक्रेन द्वन्द्वबारे छलफल हुनेछ । हामी यस विषयमा चिनियाँ नेतृत्वको संयमित र सुविचारित अडानको उच्च कदर गर्छौं,” उशाकोभले भने।
उनले बेइजिङले ‘यो सङ्कटको वास्तविक कारण बुझेको’ र गत महिना प्रकाशित युक्रेन द्वन्द्वमा चीनको शान्ति पहलको मस्कोले स्वागत गरेको बताए ।
पुटिन र सीबीच सोमबार ‘अनौपचारिक’ भेटवार्ता र रात्रिभोज हुने र त्यसपछि मङ्गलबार औपचारिक वार्ता हुने क्रेमलिनका सल्लाहकार उशाकोभको भनाइ छ ।
मस्कोमा पुटिनसँगको भेटपछि चिनियाँ राष्ट्रपति सी बेइजिङ फर्कने कार्यक्रम छ ।
फिफा निर्णयको न्युजिल्यान्ड र अष्ट्रेलियाद्वारा स्वागत
यो वर्ष न्युजिल्यान्ड र अष्ट्रेलियामा आयोजना हुने महिला विश्वकप प्रतियोगिता प्रायोजनको अनुमति साउदी अरबलाई नदिने अन्तरराष्ट्रिय फुटबल महासङ्घ ९फिफा०को निर्णयको खेल आयोजक दुवै देशले स्वागत गरेका छन् ।
प्रतियोगिताका सह–आयोजक न्युजिल्यान्ड र अष्ट्रेलियाले साउदी अरबको पर्यटन बोर्डले यस वर्षको महिला विश्वकपलाई प्रायोजन नगर्ने घोषणाको शुक्रबार स्वागत गरेका हुन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले गत बिहीबार रुवाण्डाको राजधानी किगालीमा खेल प्रायोजनको अनुमति साउदीलाई नदिने घोषणा गरेका छन् ।
साउदी अरबमा महिलालाई मानवोचित व्यवहार नगरिएको,उनीहरूलाई आधारभूत मानवाधिकारबाट वञ्चित गरिएकोलगायत त्यहाँका महिलाको स्थिति दयनीय भएकाले उक्त देशलाई महिला विश्वकपको प्रायोजना गर्ने अनुमति प्रदान नगर्न दुवै देशले फिफालाई लिखित अनुरोध गरेका थिए ।
आगामी जुलाईमा न्युजिल्यान्ड र अष्ट्रेलियाले पहिलोपटक महिला विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दैछन् । उक्त प्रतियोगितामा ३२ देशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया