विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दक्षिण चीन सागरमा जारी विवादको शान्तिपूर्ण समाधान खोजिनुपर्छ : भारत

भारतले दक्षिण चीन सागरमा जारी विवादको शान्तिपूर्ण समाधान खोजिनुपर्ने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दक्षिण चीन सागरको विवादको शान्तिपूर्ण समाधान खोजिनुपर्ने जनाएका हुन् ।

हालै दक्षिण चीन सागरमा चिनियाँ तटरक्षक पानीजहाजले फिलिपिनी आपूर्ति जहाजमा पानीको फोहोरा प्रहार गरेको घटनाबारे टिप्पणी गर्दै बागचीले सबै पक्षलाई अन्तर्राष्ट्रिय कानूनको पालना गर्नसमेत आह्वान गरे ।

उनले यस्ता विवादमा शान्तिपूर्ण समाधान खोजिनुपर्ने भारतको लामो समयदेखिको धारणा रहेको उल्लेख गरे ।

चीनले दक्षिण चीन सागरमा आफ्नो सार्वभौमिकताको दाबी गर्दै आएको छ । दक्षिण चीन सागरमा सार्वभौमिकताका विषयमा चीन र अन्य दक्षिण पूर्वी एसियाली मुलुकबीच लामो समयदेखि विवाद जारी छ ।

मलेसियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् ।

स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भने, “दुर्घटनामा विमानमा सवार आठ जनासँगै कारमा र मोटरसाइकलमा सवार एक–एक जना गरी १० जनाको मृत्यु भएको छ ।”

मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेको जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रमुख नोराजमान महमुदका अनुसार विमान उत्तरी रिसोर्ट टापु लाङकावीबाट राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ उडेको थियो ।

हवाई दुर्घटनाबारे ब्युरोले तत्बाल अनुसन्धान सुरू गर्ने उनले बताए ।

मलेसियाली वायु सेनाका पूर्व सदस्य मोहम्मद स्याहमी मोहम्मद हाशिमले भने, “विमान अनियमित रुपमा उडिरहेको आफूले देखेको र त्यसको केही समयपछि ठूलो आवाज सुनिएको थियो ।”

उनले भने, “म घटनास्थलतर्फ गएँ र एउटा विमानको अवशेष देखेँ । मैले एउटा मानव शरीरमा आगो लागेको पनि देखें । तर आगो जलिरहेकोले मैले केही गर्न सकिनँ ।”

अन्य प्रत्यक्षदर्शीका अनुसार विचक्राफ्ट मोडेल ३९० शाह आलमको उपनगर नजिकै एल्मिना इस्टेटको जमिनमा ठोक्किँदा आगो लागेको थियो । विस्फोटको ठूलो आवाज पनि सुनिएको प्रहरीले जनाएको छ ।

एक्स (ट्वीटर) का एक प्रयोगकर्तामार्फत् दुर्घटना स्थलबाट आगो र कालो धुवाँ निस्केको एक छोटो भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा भग्नावशेष चारैतिर छरिएको थियो र पृष्ठभूमिमा घरहरू देख्न सकिन्थ्यो ।

अमेरिकी राष्ट्रपति बाइडेन अग्निपीडितलाई भेट्न हवाई जाने

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जील बाइडेन हवाई राज्यको भ्रमणमा जाने भएका छन् ।

विपक्षीहरूको तीक्ष्ण आलोचनापछि राष्ट्रपति अग्निपीडितलाई भेट्न तथा हालैको भीषण डढेलोबाट भएको वस्तुस्थितिबारे जानकारी लिन आगामी सोमबार हवाई भ्रमणमा जान लागेका हुन् । आगामी साता आगालागी भएको स्थलबाट भग्नावशेष हटाइसकिने अपेक्षा गरिएको छ ।

हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो यही साउन २३ गते बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छ भने केयौँ घाइते भएका छन् । सबै मृतकको सनाखत हुन सकेको छैन । पर्यटकीयस्थल लहाइना र मौवीका भौतिक संरचना खरानीमा परिणत भएका छन् ।

डढेलोका कारण झण्डै १३ हजार घरमा क्षति भएको छ । दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएका तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

सङ्घीय सरकारले छ सयभन्दा अधिक कर्मचारी परिचालन गरेर प्रभावित स्थलमा आवश्यक व्यवस्था गरिरहेको छ भने पचास हजारभन्दा बढी अग्निपीडितलाई भोजनको प्रबन्ध गरिएको, ७५ हजार लिटर स्वच्छ पेयजल, पाँच हजार खाट र दश हजार सिरक डसनाको प्रबन्ध गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए ।

श्रीलङ्कामा खडेरीको प्रकोप

पचास हजारभन्दा बढी श्रीलङ्काली परिवार खडेरीको चपेटामा परेका छन् ।श्रीलङ्काका नौ प्रान्तमध्ये आठ प्रान्तका ५० हजारभन्दा बढी परिवार खडेरीको चपेटामा परेका विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ ।

डिएमसीले आज सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा सुक्खा मौसमका कारण खानेपानीको अभावमा एक लाख ८० हजारभन्दा बढी प्रभावित भएका उल्लेख गरिएको छ । सुक्खाबाट उत्तरी र पूर्वी प्रदेश सबैभन्दा बढी प्रभावित भएका छन् ।

यसअघि कृषिमन्त्री महिन्दा अमरवीराले खडेरीका कारण ३७ हजार एकड धान खेती नष्ट भएको बताएका थिए । कृषकलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै कृषि अधिकारीहरूले क्षतिको मूल्याङ्कन गरिरहेका छन् । श्रीलङ्काको मौसम विज्ञान विभागका अनुसार दक्षिणपश्चिम मनसुन असफलताका कारण सुक्खा मौसम सेप्टेम्बरको अन्त्यसम्म जारी रहनेछ ।

सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा राष्ट्रसङ्घ चिन्तित

संयुक्त राष्ट्रसङ्घले मानवीय सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा चिन्ता व्यक्त गरेको छ । इराकको राजधानी बग्दादस्थित राष्ट्रसङ्घीय कार्यालयमा २० वर्षअघि भएको घातक हमलाको सन्दर्भमा उक्त संस्थाले सहायताकर्मीमाथि आक्रमण नरोकिएकामा चिन्ता व्यक्त गरेको हो ।

यो वर्ष संसारभर ६२ जना मानवीय सहायताकर्मीले विभिन्न आक्रमणमा परी ज्यान गुमाएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घले हरेक वर्ष अगस्ट १९ मा बग्दादमा भएको आत्मघाती बम विष्फोटको सम्झनामा विश्व मानवीय दिवस मनाउँदै आएको छ ।

उक्त आक्रमणमा २२ जनाको ज्यान गएको थियो । आक्रमणमा तत्कालीन मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र इराकका लागि राष्ट्रसङ्घका प्रमुख सर्जियो भिइरा डे मेलोले ज्यान गुमाएका थिए ।

यस वर्ष विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा ६२ जनाको मृत्यु हुनुका साथै अन्य ८४ सहायताकर्मी घाइते भएका र ३४ जना अपहरणमा परेका छन् ।केही वर्षयता अफ्रिकी मुलुक दक्षिण सुडान सहायता कार्यकर्ताका लागि विश्वको सबैभन्दा जोखिमपूर्ण स्थान बनेको छ । त्यहाँ मानवीय सहायता कर्मचारीहरूमाथि ४० पटक आक्रमण भएको र २२ जनाको ज्यान गएको मानवीय मामिलासम्बन्धी राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ । मध्य अफ्रिकी गणतन्त्र, माली, सोमालिया, युक्रेन र यमनमा पनि मानवीय सहायताकर्मी मारिएका छन् ।

यसरी मारिनेमा ९० प्रतिशतभन्दा बढी स्थानीयवासी हुन् । तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गर्ने अमेरिकी नेतृत्वको आक्रमणको अराजकताको बीचमा सन् २००३ मा भएको त्यो विस्फोटमा ब्राजिलका भिइरा डे मेलो सहित २२ जनाको ज्यान गएको थियोभने करिब १५० स्थानीय र अन्तरराष्ट्रिय सहायताकर्मी घाइते भएका थिए ।

विद्यार्थी, पर्यटक र कामदारको भेषमा चिनियाँ जासुस

चीनले पर्यटक, कामदार र विद्यार्थीको प्रयोग गरी अन्य मुलुकमा जासुसी गर्ने गरेको पाइएको छ । विद्यार्थी, पर्यटक र कामदारका रुपमा अन्य देशमा रहेका चिनियाँ नागरिकले जासुसी गर्ने गरेको खुलासा भएको हो ।

हालै पर्यटकको भेषमा रहेका चिनियाँ जासुसले अमेरिकाको अलास्कामा रहेको फोर्ट वायनराइट सैन्य आधारमा घुसपैठको प्रयास गरेका थिए । उनीहरुको साथमा ड्रोनसमेत रहेको पाइएको छ । उनीहरुले त्यहाँ राखेको उपकरणबाट संवेदनशील जानकारी हासिल गर्न सकिने अमेरिकी सेनाका पूर्ववरिष्ठ अधिकारी डेभिड डेम्टुलाले जनाएका छन् ।

 

त्यस्तै, केही समयअघि हङकङमा जारी चिनियाँ दमनबारे बेलायतको संसदीय समितिमा सुनुवाइ भइरहँदा एक जना चिनियाँ पर्यटक बैठक कक्षमा देखा परेका थिए । हङकङका मानवअधिकारवादी अभियन्ता फिन लाउले ती व्यक्ति चिनियाँ जासुस रहेको भनी दाबी गरेका थिए ।

त्यसैगरी, सन् २०११ मा भारतीय सैन्य शिविरको तस्वीर लिइरहँदा तीन जना चिनियाँ पर्यटकहरु पक्राउ परेका थिए । भारतीय अधिकारीले उनीहरुसँग वैध राहदानी र भिसा नभएको जनाएका थिए । अनुसन्धानबाट उनीहरु चिनियाँ प्रविधि कम्पनी हुवावेमा कार्यरत रहेको पाइएको थियो ।

सन् २०२२ मा भारतमै जासुसीको आरोपमा सोङ सिआओलान नाम गरेका चिनियाँ पर्यटक पक्राउ परेका थिए । बोध गयामा पक्राउ परेका उनी जासुस रहेको र उनले तिब्बती धर्मगुरु दलाई लामाको सुरक्षामा जोखिम उत्पन्न गरेको भारतीय सुरक्षा अधिकारीको ठहर छ ।

चीनले पर्यटकमात्रै नभएर विद्यार्थी र वैज्ञानिकहरुलाई पनि विदेशमा जासुसीका लागि प्रयोग गर्दै आएको पाइएको छ । हालै जर्मन आन्तरिक मामिलामन्त्री न्यान्सी फासेरले चिनियाँ वैज्ञानिकहरुले संवेदनशील सूचना प्राप्त गरेकोप्रति चिन्ता जाहेर गरेकी थिइन् । त्यसबाहेक चिनियाँ जासुस र गुप्तचर अधिकारीहरुले अमेरिकी विश्वविद्यालयलाई पनि निशाना बनाइरहेको पाइएको छ ।

चीनले आफ्ना नागरिकलाई जासुसीका लागि प्रोत्साहन गर्दै आएको छ । चीनले जासुसी गर्नेलाई पुरस्कारको व्यवस्थासमेत गरेको बताइन्छ । चीनले आफ्ना नागरिकलाई एक अर्काविरुद्ध जासुसी गर्न प्रोत्साहन गरेको भन्दै हालै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरले चिन्ता व्यक्त गरेका थिए ।

केही समयअघि बेलायतले संवेदनशील सूचनाको चुहावट र जासुसी रोक्न भन्दै ५० जना चिनियाँ विद्यार्थीलाई देशनिकाला गरेको थियो । त्यस्तै, अमेरिकाको इलेनोई इन्स्टिच्युट अफ टेक्नोलोजीमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरिरहेका जी चाओचुन नामक एक जना चिनियाँ विद्यार्थीलाई गोप्य जानकारी संकलन गरेको आरोपमा ८ वर्षको जेल सजाय सुनाइएको थियो ।

चीनले जासुसलाई विद्यार्थीका रुपमा परिचालन गरी प्रविधि चोरी गर्दै आएको अमेरिकी संघीय जाँचबुझ ब्युरो एफबीआईका निर्देशक क्रिस्टोफर रेले बताएका छन् । उनका अनुसार दीर्घकालका लागि अमेरिकाको राष्ट्रिय सुरक्षा र अर्थतन्त्रमा चीनबाट सबैभन्दा ठूलो जोखिम रहँदै आएको छ ।

अमेरिकाको वाशिङ्टनमा रहेको सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिज (सीएसआईएस) को तथ्यांकअनुसार सन् २००० यता २२४ वटा सैन्य, राजनीतिक र व्यापारिक जासुसीका घटनामा चिनियाँ संलग्नता रहेको छ । पछिल्ला केही वर्षयता चीनले ठूलो परिमाणमा आम नागरिकको व्यक्तिगत जानकारी चोरी गरेको सीएसआईएसले जनाएको छ ।

पश्चिम अफ्रिकाको केपवर्डेमा डुंगा दुर्घटना, ६० जनाको मृत्यु

पश्चिम अफ्रिकी देश केपवर्डेको समुद्री तटमा आप्रवासी चढेको डुंगा पल्टिँदा पानीमा डुबेर ६० जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार उक्त दुर्घटनामा बालबालिकासहित ३८ जनालाई जिवितै उद्धार गरिएको छ । १ सय जना बोकेको डुंगा केपवर्डे नजिक आन्द्र महासागरमा पल्टिएको थियो ।

दुर्घटनामा पर्नेहरु सेनेगल र सिएरालियोनका नागरिक भएको जनाइएको छ । अन्टार्टिका नजिकको समुद्री तटमा सोमबार डुंगा दुर्घटना भएको अनुमान गरिएको छ ।

स्पेनिसहरुको माछा मार्ने टोलीले दुर्घटना भएको थाहा पाएपछि उद्धार तथा खोजी सुरु गरिएको थियो । उक्त समुद्री मार्ग हुँदै युरोप जाने क्रममा गत वर्ष मात्रै ५ सय ६० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ८ : ०१ बजे

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय