पारिजातको फूल हामी सबैले देखेका छौँ । पारिजातको फूल महिलाले नाकमा लगाउने फुली जस्तै देखिन्छ । यो चाँदी जस्तै सेतो हुन्छ भने यसको नली सुन्तला रङ्गमा अलि पहेँलोपहेँलो हुन्छ । पारिजात एक यस्तो फूल हो जुन झरेपछि मात्र चढाउन योग्य मानिन्छ ।
पारिजातको पौराणिक कथा अनुसार एकजना पारिजात नाम गरेकी राजकुमारी थिइन् । उनको उमेर बढ्दै जाँदा युवा अवस्थामा सूर्यसँग एकतर्फी प्रेम बसेछ ।
जसका कारण एकदिन उनले हिम्मतका साथ सूर्यलाई आफ्नो मनको कुरा खोल्दै प्रेम प्रस्ताव राखिछन् । तर, उनको प्रेम प्रस्ताव सूर्यले अस्वीकार गरिदिएछन् ।
प्रेम प्रस्ताव अस्वीकार भएको चोट सहन नसकेर राजकुमारीले आत्महत्या गरिछिन् र उनको दाहसंस्कार भयो ।
राजकुमारीको दाहसंस्कार गरेको ठाउँमा एउटा वनस्पति पैदा भयो । जसको नाम पारिजात कहलिन पुग्यो ।
यो फुल रातमा फुल्छ, तर बिहान सूर्योदय हुनुअगाडि नै झरिसक्छ । जसलाई अहिले पारिजातले सूर्यलाई हेला गरेको भनेर पनि अनुमान गरिन्छ ।
पारिजातको फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा समेत मोहित भएको शास्त्रहरूमा भेटिन्छ ।
अनेक देवदेवीको प्रिय यो फूल बोटबाट टिप्न हुन्न, पाप लाग्छ भन्ने जनविश्वास रहँदै आएको छ । भगवानको प्रिय यो फूललाई पवित्र मानिन्छ ।
प्रतिक्रिया