नेपाली हिन्दु नारीको पर्व तीज सुरु, आज दर खाएर मनाउँदै « Khabarhub

नेपाली हिन्दु नारीको पर्व तीज सुरु, आज दर खाएर मनाउँदै


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली हिन्दु नारीले हरितालिका (तीज) पर्वको पहिलो दिन आज साँझ दर खाएर मनाउँदै छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु भएको छ ।

माइती पक्षले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा व्रतालुका लागि अझ आडिलो हुने बताइन्छ।

निराहार व्रतका लागि आडिलो बनाउन दर

तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाइ भोलिको व्रतका लागि पूर्व तयारी गर्छन् ।

विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए ।

महिलाहरूले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

विकृतिमा परिणत हुँदै तीजको संस्कृति

पछिल्ला वर्षमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राईको धारणा छ ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीले जोड दिएका छन् ।

एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा दर खाने दिनका लागि तोकिएको छ । पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गरेको छ ।

दर खाएर सुरु गरिँदै चार दिने तीज

आज दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृर्तीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरी तीज समापन हुन्छ ।

यसवर्ष असोज २ गते मङ्गलवार भगवान् गणेश उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी र ऋषिपञ्चमी पर्व मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

गणेश चौथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ । ऋषिपञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ । असोज २ गते मङ्गलवार बिहान चौथी तिथि र त्यसै दिन मध्याह्नकालमा पञ्चमी तिथि परेकाले दुवैपर्व एकै दिन मनाउनुपर्ने गरी निर्णय गरिएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।

हरितालिकाको पौराणिकता

तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् ।

तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १ : ०५ बजे

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि