विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज भदौ ३१ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १७ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

ताइवानमाथि चीनको सैन्य दबाब बढ्दो

ताइवानमाथि निरन्तर सैन्य एवं कूटनीतिक दबाब बढाएको चीनले अब मनोवैज्ञानिक दबाब पनि बढाइरहेको छ । स्वशासित ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा लिएको बेइजिङले ताइपेइमाथि पुनः नियन्त्रण कायम गर्ने मनसुवा निरन्तर व्यक्त गर्दै आएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङले ताइवानसँग पुनःएकीकरण हुनैपर्नेमा जोड दिँदै आएका छन् भने देशको पुरानो प्रान्तलाई मुख्यभूमिमा गाभ्न आवश्यक परेमा बल प्रयोग गर्न पछि नपर्ने चेतावनी पनि दिँदै आएका छन् । यद्यपि आफ्नै संविधान र प्रजातान्त्रिक रूपमा निर्वाचित सरकार भएको ताइवानले आफूलाई चिनियाँ मुख्य भूमिभन्दा पृथक मान्दै आएको छ ।

चीनले आइतबार बिहानैदेखि ताइवान वरिपरि २८ वटा लडाकु विमान उडाएको छ । ताइवानी अधिकारीहरूका अनुसार अधिकांश ती विमानले ताइवान र चीनको मुख्य भूमिलाई छुट्याउने जलमार्गको मध्य रेखा पार गरेर स्वशासित टापुको दक्षिणपूर्व र दक्षिणपश्चिम हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेका छन् ।

चीनले लामो दूरीका अभ्यास र तालिम ‘मिसन’ सञ्चालन गरिरहेको तथा ताइवानी रक्षा स्थितिको निगरानी गरिरहेका ताइवानको रक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ । पछिल्ला चिनियाँ गतिविधिले बेइजिङ र ताइपेईको सम्बन्ध अनपेक्षित रुपमा चिसिएको छ ।

गत हप्ता साता पनि चिनियाँ लडाकु विमान र जहाज ताइवानी जलक्षेत्र र आकाशमा बारम्बार उडाइएका थिए । बेइजिङले यस महिना ताइवान ‘स्ट्रेट’ बाट संयुक्त राज्य अमेरिका र क्यानडाका दुईवटा जहाज पार भएपछि बेइजिङले आफ्ना सेनाहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको बताइएको छ ।

ताइवानको रक्षा मन्त्रालयले गत बुधबार र बिहीबार बिहान पनि टापुको वरिपरि ६८ चिनियाँ विमान र १० नौसैनिक जहाज निरन्तर उडाएर निगरानी गरेको बताएको थियो । गत डिसेम्बर प्रायः दैनिक रुपमा चीनले ७० भन्दा बढी लडाकु विमान ताइवान वरपर उडाएको थियो ।

गत अप्रिलमा ताइवानका राष्ट्रपति साई इङ्ग वेनले क्यालिफोर्नियामा अमेरिकी सभामुख केभिन म्याकार्थीलाई भेटेपछि बेइजिङले ताइपेईमाथि एक किसिमको घेराबन्दी गरेर सैन्य अभ्यास गर्दै आएको छ । अमेरिकासँग नजिक रहेको ताइपेईमाथिको बेइजिङको दबाब सामान्य भएको सैन्य विश्लेषकहरू बताउँछन् ।

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

दक्षिण अमेरिकी मुलुक ब्राजिलको अमेजन क्षेत्रमा एउटा प्रोपेलर विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

विमानमा रहेका १२ यात्री र चालक दलका दुई जना सदस्यको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । घटनाको अनुसन्धान सुरु गरिएको जनाउँदै उनीहरूले प्रतिकूल मौसमका कारण दुर्घटना भएको बताएका छन् । अमेजनस राज्यका सुरक्षा सचिव भिनिसियस अल्मेडाले अतिकम ‘भिजिबिलिटी’ मा अवतरण गर्दा दुर्घटना भएको बताएका छन् ।

ब्राजिलको विमान निर्माता कम्पनी एम्ब्रेरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रप विमानमा सुरक्षाका सबै पूर्वशर्त एवं उड्डयन नियमको पूर्णपालना गरिएको जनाइएको छ । विमान कम्पनीले एक विज्ञप्ति निकालेर यान्त्रिक खराबीका कारण दुर्घटना भएको मान्न सकिने आधार नभएको बताएको छ ।

धेरै राष्ट्रिय निकुञ्ज नजिक रहेको लोकप्रिय पर्यटकीय गन्तव्य बार्सिलोसमा माछामार्ने मनोरञ्जनात्मक खेलमा सहभागी हुन एक जना व्यापारीले उक्त विमान चार्टर गरेका थिए । विभिन्न प्रजातिका माछाका लागि परिचित उक्त स्थानमा हरेक वर्ष यो महिना माछा मार्नेको भीड लाग्ने गर्दछ ।

पाकिस्तानमा ६ फुटबल खेलाडी अपहरित

पाकिस्तानको बलुचिस्तान प्रान्तमा ६ जना फुटबल खेलाडीको अपहरण भएको छ । बलुचिस्तान प्रान्तको डेरा बुग्ती क्षेत्रमा ६ जना फुटबल खेलाडी अपहरणमा परेका हुन् ।

सिबी क्षेत्रमा आयोजना हुन लागेको एक प्रतियोगितामा सहभागी हुनका लागि त्यसतर्फ जाने क्रममा उनीहरु अपहरणमा परेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

उनीहरुलाई अज्ञात हतियारधारीको समूहले डेरा बुग्ती जिल्लाको कच्छी नहर क्षेत्रबाट अपहरण गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि २४ खेलाडी सिबीतर्फ जान लागेको बेलामा हतियारधारी गिरोहले उनीहरु चढेको गाडी रोकेर अपहरण गरेका थिए । अपहरणकारीले पछि १८ जनालाई छाडेको र बाँकी ६ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।

पाकिस्तानका अन्तरिम आन्तरिक मामिलामन्त्री सर्फराज बुग्ती र बलुचिस्तान प्रान्तका गृहमन्त्री जुबैर अहमदले अपहरणमा परेका खेलाडीको खोजी गरी तत्काल रिहा गर्न सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

चीन र भारतका पर्यटकलाई लोभ्याउन म्यानमारको सैन्य सरकारको नयाँ अफर

चीन र भारतका पर्यटकलाई आकर्षित गर्न सैन्य सरकारले ‘भिसा अन अराइभल’ दिने निर्णय गरेको छ । म्यानमारको सरकारी सञ्चारमाध्यमले एक रिपोर्टमा यस्तो जनाएको हो ।

सैनिक सरकारले विदेशी पर्यटकको आगमन र उनीहरूको विदेशी मुद्रालाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।

‘ग्लोबल न्यु लाइट अफ म्यानमार’ ले सैन्य शासनको अध्यागमन विभागलाई उद्धृत गर्दै यो नयाँ योजना छिट्टै घोषणा गरिने र प्रारम्भमा यसलाई एक वर्षको परीक्षणका रूपमा सञ्चालन गरिने जनाएको छ ।

‘भिसा अन अराइभल’ पाउने पर्यटकलाई प्रतिबन्धित क्षेत्रबाहेक सबै ठाउँमा जान अनुमति दिइने पत्रिकाले बिहीबारको आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

हालको प्रणालीमा दुवै देशका नागरिकले पर्यटक भिसाका लागि अनलाइन वा म्यानमारको दूतावासमा आवेदन दिनुपर्ने हुन्छ । म्यानमारमा सन् २०२१ को ‘कु’को विरोध अझै छ र सैन्य सरकार यसलाई दबाउन सङ्घर्ष गरिरहेको छ । सैनिक सरकारले देशमा आफ्नो पूर्ण नियन्त्रण नभएका क्षेत्रहरू रहेको स्वीकार गरेको छ ।

अमेरिका र अस्ट्रेलिया जस्ता देशले आफ्ना नागरिकलाई म्यानमार नजान सल्लाह दिएका छन् ।तर म्यानमारसँग चीन र भारतको लामो सीमा छ र दुवै देशले त्यहाँको सैनिक सरकारसँग कूटनीतिक सम्बन्ध कायम राखेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : ०५ बजे

बाँकेको बाल सुधार गृहमा तोडफोड र आगजनी

नेपालगन्ज– बाँकेको जयन्दु बाल सुधार गृहमा रहेका किशोर र युवाहरूले

बाँझो जमिनमा सामूहिक आलुखेती

म्याग्दी– मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक

आन्दोलनरत शिक्षक संगठन र सरकारबीच आज पनि वार्ता हुँदै

काठमाडौं– आन्दोलनरत शिक्षक र सरकार बिचमा आज पनि वार्ता हुने

प्रहरीसहित राजस्व टोलीले छापा मारेपछि सिरहाका व्यावसायी आतंकित

सिरहा– सिरहाको मिर्चैयामा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले एक कपडा

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

काठमाडौँ– सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि