प्रत्येक चारमध्ये एक जनामा मानसिक समस्या | Khabarhub Khabarhub

प्रत्येक चारमध्ये एक जनामा मानसिक समस्या

'स्वस्थ मनको लागि सकारात्मक स्वभाव आवश्यक छ'



नेपाली समाज पछिल्लो समयमा देखासिकीबाट चलिरहेको छ। चाडपर्वको समयमा खर्च, रमाइलो, मोजमस्ती धेरै गर्नुपर्छ। कसैको अभावमाथि हामीले त्यसो भन्दै गर्दा न्याय वा अन्याय के गरिरहेको छौँ भन्ने प्रश्नबाट हामी गुज्रिरहेका छौं। त्यहाँ पनि एक खालको आर्थिक दबाब छ। गरिब समुदायमा हुने खाने र सम्पन्न परिवारको प्रभाव पनि छ। यो दबाब र प्रभावको बिचबाट हामी यस्ता चाडपर्व कसरी मनाउँछौँ ? यसरी मनाउनु पर्छ भन्ने कुराले कस्तो दबाब सिर्जना गर्छ ? यो दबाबको असर परिवारमा कहिलेसम्म रहन्छ ? यी र यस्तै विषयमा केन्द्रित रहेर द स्कूल अफ साइकोलोजी नेपालका अध्यक्ष मनोविद् डा. नरेन्द्र ठगुन्नासँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली हिन्दुहरुको मुख्य पर्व दशै सुरु भइसकेको छ। अभाव हाम्रो वास्तविकता भयो। तर खर्च गर्नैपर्ने एक खालको प्रभाव र दबाब छ। यसरी दबाबबाट चाडपर्व मनाउँदा मानसिक रूपमा कस्तो प्रभाव पार्छ ?
मनोविज्ञानको महत्त्वपूर्ण काम भनेको व्यक्तिको आर्थिक व्यवस्थापनलाई सहयोग गर्ने पनि हो। पछिल्लो समयमा देखासिकीको मात्रा बढेको छ। समुदायमा हुने खाने र हुँदा खानेको बिचको खाडल छ। त्यसले समाजमा बसेर चाडपर्व मनाइरहँदा व्यक्तिहरूमा एक प्रकारको दबाबहरू हुन्छ। त्यस दबाबले उनीहरूको अर्थ व्यवस्थाको प्रक्रियाहरूमा काहीँ न काहीँ असन्तुलन ल्याइदिन्छ। जसको परिणाम स्वरूप व्यक्तिलाई कहिले काहीँ मनोवैज्ञानिक समस्या थपिन्छ।

दसैँ, तिहार वा परम्परागत रूपमा चलिआएका चाडपर्वहरू मनाउने क्रममा केही दिनको खुसीको लागि हामीले वर्षै भरिको बोझ थपी राखेका हुन्छौँ। त्यसलाई सही ढङ्गले व्यवस्थापन गर्न सकिएन भने सामाजिक स्वास्थ्य र मनोवैज्ञानिक स्वास्थ्यका समस्या देखा पर्नसक्ने, तनावहरू बढ्न सक्ने, डिप्रेसन निम्तिन सक्ने सम्भावना हुँदा वित्तीय व्यवस्थापनको सकारात्मक रूपमा सही तरिकाले आत्मसाथ गरेर पर्व मनाउँदा राम्रो हुन्छ।

अहिले सामाजिक, धार्मिक सद्भाव पनि खलबलिएको छ। बेरोजगारी, गरिबी बढेको छ। भविष्य खोजिरहेको पुस्ताको लागि मनोवैज्ञानिक दबाब धेरै छन् तिनलाई कसरी व्यवस्थापन गर्ने ?
जीवनमा व्यक्तिहरूको जन्मिने बेलादेखि मृत्युको मुखमा पुग्नुभन्दा अगाडिको जीवन चक्रलाई हेर्ने हो भने प्रत्येक अवस्थामा विभिन्न प्रकारका दबाबसहित बाँच्नुपर्ने हुन्छ। अहिलेको युवाहरूले पाउने अवसर भइदिएको भए र व्यक्तिसँग भएको क्षमताको उपयोग गर्ने मेकानिजम भएको भए त्यो दबाब केही हदसम्म कम हुन्थ्यो। तर त्यो दबाब अहिले थेग्नै नसक्ने गरी देखिएको छ।

अर्थलाई सन्तुलनमा राख्नको लागि आवश्यक पर्ने दबाब सबै ठाउँमा छ। किनकि चाल्स डार्बिनको सिद्धान्तले नै आफ्नो अस्तित्वको लागि व्यक्तिले सङ्घर्ष गर्नुपर्छ भनेको छ। त्यस कारण सङ्घर्ष गर्दैमा सामाजिक मानसिक समस्याको जोखिम बढ्ने हो भन्ने होइन तर जुन तरिकाको असहजताको बिचमा अहिलेका युवा बालबालिका सङ्घर्ष गरिराखेका छौँ। त्यसले मनोसामाजिक समस्यालाई बढाउन सहयोग पुगिराखेको छ।

आफ्नो क्षमता नबुझ्दा पनि व्यक्तिहरूमा एक प्रकारको असहजता भएको छ। स्वच्छ प्रतिस्पर्धा छैन। त्यसले एक प्रकारको दबाब सिर्जना भएको छ। त्यो दबाबलाई सही रुपमा सदुपयोग गर्न नसक्दा र जीवन उपयोगी सिपहरूलाई पनि सही तरिकाले समय सापेक्ष रूपमा व्यक्तिले प्रयोग गर्न सकेन भने मनोवैज्ञानिक दबाब बढ्छ र मनोवैज्ञानिक दबाबले गर्दा सामान्य खालको मानसिक स्वास्थ्यहरूको जोखिम हुने गर्छ। त्यसको जोखिम भनेको व्यक्तिको मनोदशामा असजिलो हुने हुन्छ।

हाम्रो समाजमा सबैभन्दा बढी मनोवैज्ञानिक दबाब कसलाई परेको पाउनुहुन्छ ?
विकासार्थ मनोविज्ञानले यो क्षेत्रमा बढी काम गर्छ। जसलाई हामी विकासार्थक मनोविज्ञान भन्छौँ। डेभलपमेन्टल साइकोलोजी भनिन्छ। जन्मदेखि मृत्यु नहुँदासम्म प्रत्येक उमेरका व्यक्तिहरूमा विकासार्थक मनोविज्ञानले हाम्रो सम्पूर्ण जीवनचक्रलाई नै आठ भागमा विभाजन गरेको छ। प्रत्येक भागका उमेर अनुसार फरक फरक चुनौती छन्।

एउटा मनोविज्ञान प्रभाव छ व्यक्तिहरूमा भने अर्काे शारीरिक रूपमा पनि उमेर बढ्दै जाँदा शरीरले सहयोग नगर्ने हुँदा मनोवैज्ञानिक प्रभाव परेकै हुन्छ। प्रत्येक अवस्थामा आफ्नो हिसाबले प्रत्येक उमेरका व्यक्तिहरुमा एक तहको दबाबमा सबै छन्। तर बालबालिकाको समस्यामा हामीले वास्ता गर्दैनौँ र ज्येष्ठ नागरिकको पनि समस्या हुँदैन भनेर बुझ्ने चलन छ।

अहिले हेर्दा सबै भन्दा बढी मारमा परेको युवा पुस्ता नै हो। बाहिर तिर ३५ देखि ४५ वर्षसम्मका युवाहरु जुन आफ्नो भविष्य बनाउने व्यक्तिहरूमा बढी दबाब जस्तो देखिन्छ।

बाल्य अवस्थाबाटै यो खालको समाजमा प्रशिक्षण वा मनोविज्ञान हाबी गराउन सकिँदैन ?
यही कुरा हामीले धेरै फोरमहरूमा भनिराखेका हुन्छौँ। विकासात्मक मनोविज्ञानमा विभिन्न चरणहरु छन्। त्यो चरणबाट नै बालबालिकालाई मनोवैज्ञानिक रूपमा बलियो बनाउने र अभिभावकहरुले पनि अभिभावकत्वको बारेमा सही रूपमा बुझ्नु पर्यो। अभिभावकले पनि बालबालिकाको मनोविज्ञानका आयामहरू बुझ्नुपर्छ। केही वर्षअघिसम्म संयुक्त परिवार हुने गर्दथ्यो। त्यो परिवारमा सांस्कृतिक कुराहरूका प्राक्टिस बढी हुने गर्दथ्यो। जसले गर्दा गाह्रो अप्ठ्यारो हुँदा एकअर्काको कुरा बुझ्ने हौसला हुने हुन्थ्यो। अहिले बालबालिकाहरू एकल परिवारमा हुर्किन्छन्। जसले गर्दा उनीहरूले आफ्नो कुरा भन्न सक्दैनन्। समस्या त आउँछ तर समस्यालाई व्यक्तिले कसरी हेर्छ र बढी प्रत्यक्षीकरण गर्छ भन्ने कुराको ख्याल गर्नुपर्छ। त्यसले गर्दा कुनै समस्या आयो भने सकारात्मक रूपले कसरी समाधान गर्ने भन्ने विषयमा ध्यान दिनुपर्छ।

मनोवैज्ञानिक रूपमा त्यो अवस्थालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराको बारेमा सानैदेखि हामीले सोसल इमोसनल लबिङका कुराहरू भनिराखेका छौं। त्यो कुरालाई प्रयोग गरेर अभिभावकले बालबालिकालाई सिकाउनुपर्छ। विद्यालय शिक्षाको तहदेखि नै त्यो सिकाउनुपर्छ। कार्यस्थलमा जाँदा पनि व्यवस्थापनको तहबाट त्यो कुरा सिकाउन सकियो भने सम्भवतः अबका पुस्तालाई असहज परिस्थिति आउँदा सहजै व्यवस्थापन गर्न सक्छौँ। त्यसकारण अहिले सबैको दायित्व भनेको बाल मनोविज्ञानको बारेमा वा विकासात्मक मनोविज्ञानमा जीवनलाई सुखी र सहज बनाउनको लागि मनोविज्ञानले कसरी सहयोग गर्छ भन्ने कुराको बारेमा सबैले बुझाउन सक्नुपर्छ।

मनोवैज्ञानिक समस्या समाधानका लागि समाज परिवार व्यक्ति सबैको भूमिका रहयो ?
परिवार, परिवारको सदस्य मिलेर समुदाय बन्यो र समुदाय समुदाय मिलेर राष्ट्र बन्यो। आफ्नो क्षमता जति छ त्यसको आधारमा चाडपर्वमा खर्च गर्नुपर्यो। वर्ष भरिको आफ्नो आय व्यायको पहिला नै योजना बनाएर छलफल गरेर खर्च गर्नुपर्छ। सुरुदेखि नै त्यसरी खर्च गरेमा बालबालिकाले पनि बुझछन्। जसले गर्दा मनोसामाजिक सुस्वास्थ्य राम्रो हुन्छ।

आर्थिक हिसाबबाट कोही व्यक्ति सम्पन्न छ भने उसलाई मनोवैज्ञानिक दबाब र प्रभाव हुँदैन भन्ने बुझाइ हो ?
यसो हो भने त आर्थिक रूपमा सम्पन्न भएको व्यक्तिहरूमा मानसिक स्वास्थ्यको जोखिम नहुनु पर्ने हो। विकसित देशहरू जहाँ पैसाको कुनै कमी छैन त्यहाँ कुनै मानसिक स्वास्थ्यको समस्या नहुनु पर्ने हो। तर त्यहाँ अझ बढी मानसिक समस्या देखिन्छ।

आर्थिक सम्पन्नता एउटा पाटो मात्र हो। हामी जस्तो विकासोन्मुख देशमा रहेका जनताहरूको आधारभूत आवश्यकता भनेको गाँस, बास र कपास हो। यत्ति तीन कुरा पुरा गर्न सके एक किसिमको सहज अवस्था बन्छ। विकसित देशहरूमा जहाँ आर्थिक क्रियाकलाप धेरै छन्। त्यहाँ बोलिदिने कोही छैन। त्यो कारणले गर्दा सबै कुरा महत्त्वपूर्ण हो। तर हाम्रो सन्दर्भमा आर्थिक व्यवस्थापनको पाटो पनि कतै न कतै एउटा महत्त्वपूर्ण कडीको रूपमा रहेको छ भन्न सकिन्छ।

चाडपर्व मनोवैज्ञानिक रूपमा हामीले भोगी राखेको समस्याबाट बाहिर निस्किनको लागि सकारात्मक विचार ल्याउनको लागि एउटा महत्त्वपूर्ण अवसर हो ?
हो। आज भन्दा पाँच वर्ष पछाडि फर्केर हेर्ने हो भने अहिले जस्तो मानसिक स्वास्थ्यका समस्याहरू त्यो बेला थिएनन्। त्यो बेला कसैलाई केही गाह्रो साह्रो पर्यो भने एक अर्काको सहयोग हुन्थ्यो। गाउँघरमा बस्थ्यौँ। गाउँघरमा घर टाढा तर मन नजिक हुन्थ्यो। जसको कारणले हरेक कुरामा सहयोग हुन्थ्यो। अहिले सहर बजारमा बस्दा घर नजिक भयो तर मन टाढा भयो। मनको कुरा बुझ्ने वातावरण टाढा भयो। जसले गर्दा जोखिम बढ्यो। परम्परागत रुपमा चलेका पर्व, जात्रा र मेलाले भेटघाट र मनका कुरा साट्ने अवसर भयो। वर्षभर दुःख गर्न सहर बस्नेहरु गाउँ गइराखेका छन्। अब हामीलाई दुख गाह्रो अप्ठ्यारो परेको कुराहरू घरपरिवारका सदस्यसँग बसेर साट्ने हो। रमाइलो गर्ने हो। त्यहाँ खुशी अवश्य मिल्छ।

समुदायमा काम गर्दागर्दा जुन दबाब थियो त्योबाट बाहिर आएर केही समयको लागि रमाइलो गर्नुपर्छ भन्ने कुरा चाड पर्वले सिकाएका छन्। त्यसले हाम्रो मनोसामाजिक, सांस्कृतिक क्षमतालाई बढाएको छ। सांस्कृतिक लचकता भनेको मलाई अप्ठ्यारो भयो भने मलाई हेर्ने मान्छेको कमी छैन है भन्ने आत्मविश्वास हो। त्यसको लागि हाम्रा पर्व र जात्रा महत्त्वपूर्ण छन्।

अहिले मान्छेलाई एकलकाँटे केले बनायो त ?
हाम्रो समाजमा छोटो समयपछि केही कुरा स्वाभाविक परिवर्तन आउँछ। त्यही भएर हाम्रो सोचाइ जस्तो छ पछिल्लो पुस्ताको फरक छ। त्यसैले एकलकाँटे बनाउनुमा सबैको योगदान छ। अहिले प्रविधि छ। पहिले हामी गाउँमा छिमेकमा गएर खेल्थ्यौँ। अहिले इन्टरनेटमा जोडिएका छौँ। अहिले खाना खान बाहिर जाँदा पनि पहिला वाइफाइको पासवर्ड माग्छौँ। मोबाइल चलायो खाना खायो निस्कियो। त्यो मोबाइल नभएको भए हार्दिकता हुन्थ्यो। कुराकानी हुन्थ्यो मनको कुरा बुझिन्थ्यो। त्यो कारण पहिलो कनेक्टिभिटी र अभिभावकत्वको मुख्य समस्या हो। हामीले हाम्रा बालबालिकालाई जे सिकाउँछौँ उनीहरूले त्यही सिक्छन्।

त्यही भएर हामी सबैले बालबालिकालाई विकासात्मक मनोविज्ञानको बारेमा बुझाउनुपर्छ। जसको प्रत्यक्ष सम्बन्ध परिवारका सदस्यहरूसँग छ। म कस्तो व्यवहार गर्छु र मलाई मेरा परिवारले कसरी हुर्कायो त्यसमा भरपर्छ। पहिला संयुक्त परिवार हुन्थ्यो। सामाजिकीकरण बालबालिकाले घरैबाट सिकिसकेका हुन्थे। अहिले एकल परिवार छ। दुवै श्रीमान् श्रीमती अफिसमा काममा जाने र बच्चा घरमा एक्लै हुन्छन्।

बाहिर खेल्न जाँदा पनि केही बिगार्दा छिमेकीले कराउने, आफ्नो खोल्ने ठाउँ छैन, आफ्नो समुदाय छैन। ती कुरालाई कसरी समेट्ने भनेर हामीले बालबालिकालाई हुर्काउने कुरामा ध्यान दिनुपर्छ। बालबालिकालाई सामाजिक भावनात्मक मायाका कुराहरू सिकाउनुपर्छ। तब मात्र बालबालिकाले चाडपर्वको महत्त्व र कुनै समस्या आए कसरी समाधान गर्ने भन्ने कुरा बुझ्न सक्छन्।

अभिभावक नै समस्यामा भए मानसिक रूपमा सकारात्मक सन्देश कसरी दिन सक्छ ?
अहिले प्रत्येक चार जना व्यक्तिमा एक जनामा कुनै प्रकारको मानसिक स्वास्थ्यको समस्या छ। त्यसमा पनि हाम्रो जस्तो देशमा युवा जति सबै देश बाहिर छन्। उनीहरूको परिवारमा केटाकेटी घरमा छन्। अभिभावकहरूले पनि आफ्नो मनोसामाजिक सुस्वास्थ्यमा ध्यान दिनुपर्छ। किनकि अरूलाई सहयोग गर्नु भन्दा पहिले आफ्नो अवस्था राम्रो हुनुपर्छ। त्यसपछि बल्न हामी बालबालिकाको कुरा सुन्न सक्छौं। यसमा राज्यको दायित्व पनि हुन्छ। गाँस, बास र कपासको प्रबन्ध राज्यले गरेमा अरु व्यवस्थापन हामीले सहज रुपमा गर्न सक्छौं। त्यो अवस्थामा हामी बालबालिकाको लागि सहज वातावरण दिन सक्छौं।

तनाव र आर्थिक समस्याबाट व्यक्तिलाई बाहिर निकाल्नको लागि स्वास्थ्य र शिक्षाको भूमिका के छ ?
मानसिक समस्याको जोखिमको लागि स्वास्थ्य र शिक्षा दुवैको भूमिका महत्त्वपूर्ण छ। स्वास्थ्य र शिक्षा ती खम्बाहरु हुन जुन पिल्लरको माध्यमबाट हामी प्रत्येक व्यक्तिको मनोसामाजिक सुस्वास्थ्यलाई राम्रो राख्नको लागि जग तयार गर्न सक्छौँ। त्यही भएर प्रत्येक व्यक्तिको मौलिक अधिकार भित्र राखिएको हो। के राज्यले कर मात्र उठाएर दायित्त्व पुरा हुन्छ ? त्यो त होइन। त्यसलाई झकझकाउने काम हामी समुदायको व्यक्तिहरूको हो। त्यसैले यो एक अर्कासँग जोडिएको छ। यो मनोवैज्ञानिक रूपमा सुस्वास्थ्य राम्रो राख्न पनि शिक्षा र स्वास्थ्य दुवै पिल्लरको रूपमा रहेको छ। किनकि स्वास्थ्य राम्रो नभएपछि राम्रो शिक्षा पाइएन। शिक्षा पाउन पनि त मनोवैज्ञानिक रूपमा व्यक्ति ठिक हुनुपर्छ। शिक्षा पाउन पैसा कमाउनुपर्छ। त्यसैले यी विषय एक अर्कोसँग सम्बन्धित हुन्छन्।

नेपालमा मनोसामाजिक समस्याको कारण १० वर्षे जनयुद्ध, बेरोजगारी समस्या, नाकाबन्दी, कोरोना महामारी, भूकम्प, आर्थिक संकट जस्ता ठूला घटना र दुर्घटनालाई मान्न सकिन्छ। यो यी सबैलाई आइपर्ने समस्या हुन भनेर कसरी आम मानिसलाई मनोवैज्ञानिक रुपमा फिट बन्न सुझाव दिनुहुन्छ ?
यसमा राज्यले गर्नुपर्ने कुरा राज्यले गर्छ। म को हो र मैले के गर्नु पर्ने हो ? भनेर आम मानिसले पनि बुझ्नुपर्छ। मानिसले सबैभन्दा पहिला आफूसँग भएको क्षमताहरूलाई बुझ्नुपर्छ। त्यो क्षमतालाई सही तरिकाले बुझ्न र बुझाउन सक्यौँ भने त्यसपछि व्यक्तिले मैले के गर्ने ? के नगर्ने भनेर निर्णय गर्छ। त्यस कारणले पहिला आफूलाई चिन्न सक्नुपर्छ। हामीले आफूसँग भएको क्षमताहरूलाई सही ढङ्गले उपयोग गर्न सक्ने अवस्थालाई व्यवस्थित गर्न सक्नुपर्छ।

अर्को, पर्याप्त मात्रामा सुत्नु, सन्तुलित आहार, मनोरञ्जन, व्यायामलाई नियमित गर्नुपर्छ। यी कुरालाई नियमित बनाएमा धेरै समस्याको समाधान हुन्छ। केही हदसम्म हाम्रो सामाजिक सुस्वास्थ्यलाई बलियो राख्न सक्छौँ। त्यो सम्पूर्ण कुरा राख्न एक शब्दमा भन्दा हामीसँग सकारात्मक स्वभाव हुनु आवश्यक छ। आफूप्रति, अरूप्रति र प्रकृतिप्रति कृतज्ञता ज्ञापन गर्न सक्नुपर्छ। यसले मात्र पनि हाम्रो मनोसामाजिक सुस्वास्थ्यलाई राम्रो राख्न सहयोग गर्छ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ११ : ०५ बजे

आन्तरिक पर्यटकको रोजाइमा वेतना सिमसार

बेलबारी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा रहेको वेतना सिमसार आन्तरिक पर्यटकको

राजविराज-सखडा खण्ड मर्मत गरिँदै

राजविराज– वर्षाको समयमा राजविराज–सखडा र सखडा–नेउर खण्डमा आवागमनमा समस्या हुने

भारतमा परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानून लागू

काठमाडौं– भारत सरकारले शुक्रबार राति परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ

बजेटले उत्पादन वृद्धि र रोजगारीलाई उच्च प्राथमिकता दिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक रूपान्तरणको

वीरगन्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट

जनकपुरधाम– वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१-०८२ का लागि २