चार सय केभी क्षमताको दोस्रो ठूलो इनरुवा सबस्टेसन निर्माण सम्पन्न | Khabarhub Khabarhub

चार सय केभी क्षमताको दोस्रो ठूलो इनरुवा सबस्टेसन निर्माण सम्पन्न


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

इनरुवा- मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा चार सय केभी क्षमताको इनरुवा सबस्टेशन निर्माण सम्पन्न भएको छ । ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो चार केभी सबस्टेसन निर्माण सम्पन्न गरी सोमबार साँझ चार्ज गरिएको हो ।

मुलुकभित्र पूर्व-पश्चिम विद्युत आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जिआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो । इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा तीन सय १५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन् । जसको क्षमता नौ सय ४५ एमभिए छ ।

इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् आदान प्रदान हुन सक्ने छ । इनरुवा–ढल्केबर प्रसारण प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले निर्माणाधीन सबस्टेशन तथा प्रसारण लाइन निर्माणलाई तीव्रता दिन प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

उनले प्रसारण लाइनको अभावमा उत्पादित बिजुली खेर जाने अवस्था आउन नदिन सबै उपाय अबलम्बन गर्न समेत निर्देशन दिए अनुसार सवस्टेशन निर्माण सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लामा पर्ने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीय रुपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डका रुपमा रहेको बताए ।

“सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने छ, यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ, यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया चार सय केभी अन्तरदेशीय र नेपाल, भारत तथा  बंगलादेशबीचको व्यापारका लागि इनरुवा/अनारमनी चार सय केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ”, कार्यकारी निर्देशक घिसिङले भने ।

पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हव बनेको प्राधिकरणको बुझाइ छ । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्वपूर्ण मानिएको छ । अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण गरिएका र सञ्चालन हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् कोशी  करिडोर दुई सय २० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ ।

कोशी करिडोरको इनरुवा–वसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुङ्गेसाँघु खण्ड निर्माणाधीन छ । यस्तै, तुम्लिङटार–शीतलपाटी दुई सय २० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । अरुण हव-इनरुवा चार सय केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ ।

आयोजना प्रमुख शुक्र देवकोटाले इनरुवा सबस्टेसनलाई आगामी दिनमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको बताए । बर्खाको समयमा तराईमा हुने डुबान, विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिक आउन नसक्दा सबस्टेसनको निर्माण प्रभावित भएको थियो ।

विसं २०७८ कात्तिकमा सबस्टेसन निर्माण क्षेत्रमा आएको बाढीले उपकरणमा क्षति पुगी पुनः आयात गर्नु पर्दा निर्माणमा केही ढिलाइ भएको आयोजना प्रमुख देवकोटाले उल्लेख गरे । आयोजनाअन्तर्गत नै चार सय केभी ढल्केबर सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छ भने हेटौंडा सबस्टेसन निर्माणको अन्तिम चरणमा छ ।

इनरुवा र हेटौंडा सबस्टेसन निर्माणका लागि २०७५ पुसमा  ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको इनरुवा सबस्टेसनको अनुमानित लागत १ करोड ४३ लाख अमेरिकी डलर र रू २० करोड ४८ लाख रहेको छ । सबस्टेसन निर्माणको सुपरीवेक्षण एनइए इन्जिनियरिङ कम्पनीले गरेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ३ : ०१ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने