विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

आज आश्विन ३० २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर १७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतको सर्वोच्च अदालतद्वारा समलिङ्गी विवाहलाई मान्यता दिन अस्वीकार
भारतको सर्वोच्च अदालतले मङ्गलबार समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यद्यपि अदालतले एलजिबिटिक्यु सम्बन्धलाई स्वीकार गर्नु र तिनीहरूलाई भेदभावबाट संरक्षण गर्नु मुलुकको कर्तव्य थियो भनेको छ ।

सर्वोच्च अदालतले समलिङ्गी यौनलाई प्रतिबन्ध लगाउने औपनिवेशिक कालको कानूनलाई खारेज गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले पछिल्लो पाँच वर्षदेखि समलिङ्गी साझेदारीलाई कानूनी हैसियत दिने संहिता बनाउने कदमको विरोध गर्दै आएको छ ।

धेरै समलिङ्गी जोडीका वकिलहरूले यसै वर्षको सुरुमा अदालतलाई उनीहरूको सम्बन्धलाई पूर्णरूपमा वैधता प्रदान गर्न आग्रह गरेका थिए तर पाँच सदस्यीय इजलासले वैवाहिक समानताको विस्तार संसदीय निर्णय भएको फैसला गरेको छ ।

‘विवाहमा कानून निर्धारण गर्नु संसद् र राज्य विधानसभाहरूको क्षेत्राधिकार हो’, सर्वोच्च अदालतका प्रधानन्यायाधीश डी वाई चन्द्रचूडले आफ्नो फैसला सुनाउँदै भने ।

भारतको संविधानले विद्यमान कानुनअन्तर्गत समलिङ्गी जोडीहरूलाई विवाह गर्ने मौलिक अधिकारको प्रत्याभूति नगरेको फैसलामा भनिएको छ । विद्यमान कानूनले एक महिला र एक पुरुषको रूपमा पहिचान भएका जोडी वा दुवै ट्रान्सजेन्डर भएकालाई विवाह गर्न अनुमति दिन्छ ।

भारतलाई अझै पनि समलिङ्गी विवाहलाई स्वीकार गर्ने र तिनीहरूलाई भेदभावबाट जोगाउने दायित्व रहेको प्रधानन्यायाधीश चन्द्रचूडले बताए । ‘एकआपसमा माया र स्नेह महसुस गर्ने हाम्रो क्षमताले हामीलाई मानव भएको महसुस गराउँछ’, उनले भने, ‘समलिङ्गी सङ्घ र समलिङ्गी व्यक्तिहरूसँग भेदभाव गर्दै भन्ने समानताको मागलाई अदालतले स्वीकार गरेको छ ।’

फ्रान्सका राष्ट्रपति म्याक्रोँ इजरायल भ्रमणमा जाने
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मङ्गलबार इजरायल भ्रमण गर्ने तयारी गरेको जेरुसेलम पोस्टले उल्लेख गरेको छ। इजरायलमा हमास आतङ्ककारी समूहले गरेको घातक आतङ्ककारी हमलापछि हुन लागेको उनको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

हमास समूहद्वारा अक्टोबर ७ देखि इजरायलमा गरिएका शृंखलाबद्ध हमलामा परी १,४०० इजरायलीको हत्या भएको छ । करिब २०० जनालाई अपहरण गरिएको छ । हमास आतङ्ककारीहरूले अपहरण गरेका मध्ये एक जना फ्रान्सेली इजरायली नागरिक माया स्किम सोमबार टेलिग्राममा पोस्ट गरिएको भिडियोमा देखा परेका थिए । सो भिडियो सार्वजनिक भएपछि म्याक्रोँले उनको तत्काल निःशर्त रिहाईको माग गरेको द जेरुसेलम पोस्टले उल्लेख गरेको छ। म्याक्रोँ इजरायलका दृढ समर्थक हुन् ।

यसअघि अक्टोबर ८ माम्याक्रोँले इजरायली समकक्षी आइज्याक हर्जोग र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्ता गरेका थिए । इजरायलमा गरिएको आक्रमणको निन्दा गर्दै फ्रान्सले पीडित देशलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो ।

हमासको आक्रमणपछि शनिबार बिहान दक्षिणी र मध्य इजरायलमा रकेटको ब्यारेज प्रहार भएपछि म्याक्रोँले नेतान्याहु र हर्जोगसँग वार्ता गरेका थिए । यसै बीच हमासले इजरायलमा आक्रमण गरेपछि बेपत्ता भएका थुप्रै फ्रान्सेली नागरिकका परिवारका सदस्यहरूसँग सोमबार फ्रान्सका पूर्वप्रधानमन्त्री म्यानुअल भाल्सले भेट गरेका छन् । उनले तेल अवीवमा बेपत्ता भएकाहरूको परिवारलाई सान्त्वना दिएका छन् । इजरायलको राष्ट्रिय एकता पार्टीका नेता बेनी गान्ट्जले जर्मन चान्सलर ओलाफ स्कोल्जसँग भेट गर्न लागेको जेरुसेलम पोस्टले जनाएको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या २ हजार ७५० पुगेको छ भने घाइतेको सङ्ख्या ९ हजार ७ सय पुगेको छ । मन्त्रालयले इजरायली आक्रमणमा मारिएका व्यक्तिहरूमा ७५० भन्दा बढी बालबालिका रहेको बताएको छ।

हमासको आक्रमणबाट इजरायलमा मर्नेको सङ्ख्या अहिले १,४०० भन्दा बढी भएको इजरायल डिफेन्स फोर्स ९आईडीएफ०ले जनाएको छ।

रुसी राष्ट्रपति पुटिन चीनमा
इजराइल–हमास युद्धले ओझेलमा परेको बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० शिखर सम्मलेनमा आपसी सम्बन्धलाई बलियो बनाउन तथा आफ्ना ‘प्रिय मित्र’ चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई भेट्न मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन् । चीनले यसै साता राष्ट्रपति सि को व्यापार तथा पूर्वाधार बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० को शिखर सम्मेलनमा भाग लिन आउने एक सय ३० देशका प्रतिनिधिहरूलाई स्वागत गरेको छ । अतिथिको शीर्ष सूचीमा पुटिन छन् ।

युक्रेनमाथि रुसको आक्रमणले आफ्नो शासन अन्तर्राष्ट्रिय रूपमा एक्लिएपछि पुटिन चीन पुगेका हुन् । क्रेमलिनका अनुसार बीआरआई फोरमका क्रममा उनले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नेछन् । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीचको युद्ध सुरु भएपछि बीआरआई शिखर सम्मेलनलाई छायाँमा पारेको छ ।

“वार्ताका क्रममा अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूलाई विशेष ध्यान दिइने छ”, क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ । यही अक्टोबर ७ मा इजराइलको इतिहासमै हमासले घातक हमला गरेपछि अमेरिकाको नेतृत्वमा पश्चिमा मुलुकहरूले इजरायलको पक्षमा आफ्नो उपस्थिति देखाउँदै आएका छन् ।

हमासले गरेको उक्त आक्रमण अधिकांश सर्वसाधारणसहित १ हजार चार सयभन्दा बढीको मृत्यु भएको थियो । अमेरिकाले चीनलाई आफ्नो ‘प्रभाव’ प्रयोग गरेर युद्धलाई घटाउन आग्रह गरेको छ । हमासको आक्रमणको बदला लिन इजरायलले गाजा पट्टीमा बमबारी सुरु गरेपछि १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडेर भागेका छन् ।

यसै वर्षको सुरुमा चीनले मध्यपूर्वका प्रमुख प्रतिस्पर्धीहरु इरान र साउदी अरबबीच मध्यस्थता गरेको थियो । साथै चीनले इजरायल–हमास द्वन्द्वको युद्धविराम गर्न र शान्ति वार्तालाई अघि बढाउन विशेष दूत झाई जुनले यसै साता मध्यपूर्व पठाएको छ । यद्यपि चीनको सरकारी प्रसारक संस्था सिसिटिभीले मध्यपूर्वको झाईले कुन मुलुकको भ्रमण गर्ने भन्ने स्पष्ट पारेको छैन । परम्परागत रूपमा इजरायल र प्यालेस्टाइनी अधिकारीहरूसँग राम्रो सम्बन्ध राखेको रुसले तत्काल युद्धविरामका लागि आह्वान गरेको छ ।

बेइजिङमा रुसी राष्ट्रपति पुटिन चीनसँग पहिलेदेखि मजबुत भएको सम्बन्धलाई अझ बलियो बनाउने अभियानमा छन् तर विज्ञहरूका अनुसार चीनसँगको सम्बन्धमा मस्को तीव्र रूपमा सानो साझेदार बनिरहेको छ । चीन रुसको सबैभन्दा व्यापारिक साझेदार मुलुक हो । गत वर्ष यी दुई मुलुकबीचको व्यापार एक खर्ब ९० अर्ब डलर पुगेको बेइजिङ भन्सार तथ्याङ्कले देखाएको छ ।

युक्रेन युद्धमा बेइजिङको धारणाप्रति पश्चिमा मुलुकहरूले चीनको आलोचना गर्दै आएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेकामा चीनले मस्कोको आलोचना गर्न अस्वीकार गरेको छ र आफू यस मामिलामा तटस्थ रहेको बताउँदै आएको छ । बीआरआईले पुटिन र सीलाई उनीहरूको गठबन्धनलाई प्रदर्शन गर्ने नयाँ अवसर दिए पनि विज्ञहरूले दुई मुलुकबीच कुनै नयाँ ठूलो सम्झौताको घोषणा नहुने अपेक्षा गरेका छन् ।

“चीनले उच्च प्रचारका लागि कुनै पनि सम्झौतामा हस्ताक्षर गर्न मान्ने छैन भन्ने रुसलाई थाहा छ”, कार्नेगी रसिया युरेसिया सेन्टरका निर्देशक अलेक्जेन्डर गाबेयेभले भने, “सबै कार्ड चीनको हातमा छ ।”

‘साथीहरूको पुनर्मिलन’

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सीले चिलीका राष्ट्रपति ग्याब्रियल बोरिक र कजाकस्तानका राष्ट्रपति कासिम–जोमर्ट टोकायेभसँग भेटवार्ता गरेर मङ्गलबार बीआरआई फोरमको सुरुआत गरेका थिए । शिखर सम्मेलन सुरु हुनुभन्दा अघि चीन र रुसका उच्च कूटनीतिज्ञहरूले सोमबार बेइजिङमा भेट गर्दा एउटै गीत गाएका थिए ।

मस्कोका अनुसार पुटिनलाई शिखर सम्मेलनको ‘प्रमुख अतिथि’ का रूपमा आमन्त्रित गरेकामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले चीनलाई धन्यवाद दिएका थिए । लाभरोभले चीनपछि उत्तर कोरियाको भ्रमण गर्ने जनाइएको छ ।

आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको भेटमा रुसी विदेशमन्त्री लाभरोभले पुटिन र सिले यसै हप्ता भेट हुँदा दुई मुलुकबीच ‘सम्पूर्ण रूपमा’ छलफल गर्ने बताए । जवाफमा वाङले बीआरआईमा रुसको समर्थनप्रति ‘आभार’ प्रकट गरे ।

अमेरिकी राष्ट्रपति बाइडेनले भोलि इजरायलको भ्रमण गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि इजरायल भ्रमणमा जाने भएका छन् । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध जारी रहेकै बेला राष्ट्रपति बाइडेन इजरायल भ्रमणमा जान लागेका हुन् ।

बाइडेनले आफूले इजरायल र जोर्डनको भ्रमण गर्ने सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् । अक्टोबर ७ मा हमासले गाजाबाट अचानक इजरायलमा आक्रमण गरेपछि इजरायलले अहिले हमासविरूद्ध आक्रमण गरिरहेको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका अनुसार हमासको आक्रमणपछि युद्धमा रहेको इजरायलको अवस्था बुझ्न बाइडेनले इजरायल भ्रमण गर्न लागेका हुन् ।

केही दिनअघि विदेशमन्त्री ब्लिङ्केन पनि तेल अभिभ पुगेर इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग हमासविरूद्धको लडाइँ र अमेरिकाको सहयोगबारे कुरा गरेका थिए।

इजरायलमा रहँदा बाइडेनले हमासले बन्धक बनाएका स्वदेशी र विदेशी नागरिकहरुको रिहाइको प्रयास गर्ने जनाइएको छ ।

इजरायल–हमास युद्धमा अहिलेसम्म १४ सय इजरायली र २७ सयभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् भने हमासले झन्डै २ सय जनालाई बन्धक बनाएर लगेको जनाइएको छ ।

यस्तै, इजारयलबाट राष्ट्रपति बाइडेन छिमेकी मुलुक जोर्डन जाने छन्। जोर्डनमा उनले राजा अब्दुल्लाह, इजिप्टका राष्ट्रपति अब्देल फताह अलसिसी र प्यालेस्टाइनी अथोरिटीका प्रमुख मोहम्मद अब्बाससँग भेटघाट गर्ने बताइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : ५९ बजे

धान दिवसमा राष्ट्रपति पौडेल बने बाउसे (तस्बिरहरू)

काठमाडौं– असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल

नर्तकी खुसी पार्न अलेक्जेण्डरले शहरमा झोसेको आगो !

अलेक्जेण्डरले इरानमा विजयध्वजा फहराए। त्यसबेला उनको सेनाले इरान सोत्तर बनाइसकेको

स्याङ्जामा पहिरोमा परी आमा–छोरीको मृत्यु

स्याङ्जा- स्याङ्जामा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

बागलुङ पहिरो अपडेट : दुईजनाको मृत्यु, दुई घाइते

बागलुङ– बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ

गुल्मीमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु, दुईजना बेपत्ता

गुल्मी– गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै