कहिले पो सप्रिएको थियो र कांग्रेस ! | Khabarhub Khabarhub

कहिले पो सप्रिएको थियो र कांग्रेस !



कांग्रेस सभापति शेरबहादुर देउवा मदिराले रमरम भएपछि मुड चलेका बेला भन्छन रे– ‘मैले जाँड खान किसुनजी, चुरोट तान्न गिरिजाबाबु र अन्टसन्ट कुरा गर्न गणेशमानजीबाट सिकेको हुँ ।’ यो भन्दा पनि खतरनाक पार्टीको विधि, पद्दतिभन्दा माथि बस्नुपर्छ भन्ने विद्या यिनले बीपी, केपी र जीपीबाट त्यो भन्दा पहिल्यै सिकिसकेका थिए ।

कम्युनिष्ट पार्टी भन्नासाथ त्यसको राजकुलो सुप्रिमोमा पुगेर अन्तिम हुनु स्वाभाविकै हो । तर देशको ठूलो ‘प्रजातान्त्रिक’ भनिने कांग्रेस मनसा, बाचा, कर्मणा कहिल्यै प्रजातान्त्रिक र पद्दति अनुकूल रहेको प्रमाण फेला पर्दैन ।

बरु स्थापना कालदेखि नै सभापति नामका हेडसरको लहड, सनकलाई प्रजातान्त्रिक अभ्यास भनियो । कांग्रेसजनले ‘स्वर्णयुग’ भनेर गौरव गर्ने बीपीकालीन कांग्रेस समेत दाउपेच र अविश्वासबाट ग्रस्त थियो ।

बीपीको महत्वाकांक्षाका अघिल्तिर माइला तहका नेता लाचार थिए । लागेको बोल्न सक्दैनथे । बोलेको सुनुवाई हुँदैनथ्यो । भाइ तारिणी प्रधानमन्त्रीको पीए थिए । उनलाई आर्थिक लाभ लिएर पुलिस अफिसर सरुवा गरेको आक्षेप उसबेला लागेकै हो ।

राजा महेन्द्र सुवर्णशमशेरलाई प्रधानमन्त्री बनाउन चाहन्थे । बीपी प्रधानमन्त्री भएको पत्नी सुशीलालाई नै चित्त बुझेको थिएन । यस विरुद्ध उनी अनसन नै बसेकी थिइन ।

कांग्रेसभित्रको आन्तरिक रडाको यतिमै सकिदैन । सरकारमा गएपछि राजाले ‘कू’ गर्न लागेको सुइँको पाएका शीर्ष नेताले बीपीलाई बारम्बार सचेत गराएका थिए । गणेशमानसिंहले मन्त्रिपरिषद् बैठकमा यसबारे ध्यानाकर्षण गराउँदा बीपीले झोंक्किदै भनेका थिए- ‘राजाले ‘कु’ गर्दैछन भन्ने पुष्टि गर्न सक्नुहुन्छ ? के ठान्नुभएको गणेशमानजी, म नेपालको प्रधानमन्त्री हुँ । म अहिले नै सेनालाई आदेश दिन्छु- नारायणहिटी राजदरबार घेर भनेर । तपाईंले के सम्झनुभएको छ ? म नेपालको प्रधानमन्त्री हुँ ।’

राजा महेन्द्रको सेटिङ यति बलियो थियो कि सरकारका हातगोडा, मस्तिष्क भनिएका डा.तुलसी गिरी, विश्वबन्धु थापा, सूर्यनाथ उपाध्याय बीपीलाई सेनाले थुन्दा थपडी मार्ने रमिते बने ।

यी नेता बीपीसंग यति सन्निकट थिए कि तुलसी गिरीका दुई पत्नी झगडा हुँदा बीपीले साम्य गराइदिनु पर्थ्याे । आफ्नै घरमा हुर्किएका थापालाई त बीपी ‘तँ’ सम्बोधन गर्थे । राजाले कू गरेको एक दुईदिनअघि बीपी समानान्तरका जिम्मेदार नेता सुवर्णशमशेर दिल्ली रमाना भए ।

पार्टीमा हरेक आर्थिक दायित्वको काँध थाप्ने सुवर्णशमशेर कसरी नाटकीय ढंगमा यस्तो मोडमा पुगे वा पु¥याइए त्यसको लेखाजोखामा कांग्रेस बुझेका पण्डितहरु मौन छन ।

गणेशमानसिंहले मन्त्रिपरिषद् बैठकमा यसबारे ध्यानाकर्षण गराउँदा बीपीले झोंक्किदै भनेका थिए- ‘राजाले ‘कु’ गर्दैछन भन्ने पुष्टि गर्न सक्नुहुन्छ ? के ठान्नुभएको गणेशमानजी, म नेपालको प्रधानमन्त्री हुँ । म अहिले नै सेनालाई आदेश दिन्छु– नारायणहिटी राजदरबार घेर भनेर । तपाईंले के सम्झनुभएको छ ? म नेपालको प्रधानमन्त्री हुँ ।’

सुवर्णशमशेरलाई लेखेको पत्रमा बीपीले भनेका छन- ‘मैले दिल्ली पुगेर इन्दिरा गान्धीलाई भेट्ने कोसिस गर्नेछु । सम्भव भए हामी दुवैजनाले सँगै भेट्न उचित हुनेछ । हामीबीचमा मतभेद छैन, ‘हामी एकै ठाउँमा उभिएका छौं भनेर इन्दिरा गान्धीलाई बुझाउन बढी आवश्यक छ । अब हामीले आफू एक छौं भन्ने आफूले मात्र बुझेर हुँदैनजस्तो छ । हामीले उनीहरु अर्थात भारत सरकारलाई हामी एक भएको बोध गराउनु परेको छ । म दिल्ली पुगेर तपाईलाई सम्पर्क गर्नेछु । सुशीलको त्यहाँको बसोबास बाहेक फर्किने खर्चको पनि बन्दोबस्त गरिदिनु होला ।’

बीपीमा ‘वान मेन आर्मी’को भूतसवार थियो । सुवर्णशमशेर पद्दतिमा विश्वास गर्थे । राजासंग सहकार्य गरेर जानुपर्छ भन्ने लाईनमा उनी अडिग रहे । भारत निर्वासनको विरोध गर्थे, यद्यपि व्यापार भारतमा उनको ठूलो व्यापार र श्रीसम्पति थियो ।

कृष्णप्रसाद भट्टराईले राणाको यही पथ अँगाले । बीपीको कार्यशैलीबाट वाक्क, दिक्क, प्याक्क बनेका सुवर्णशमशेरले भनेका छन- ‘सन १९६८ देखि अहिलेसम्म ८ वर्ष लगातार राजालाई पहिले राजा महेन्द्र र अहिले वीरेन्द्रलाई मेलमिलापको वातावरणमा राजनीति गरौं भनेर बिन्ती पत्र हालेको हाल्यै गरेँ, दर्शन भेट पनि गरेँ । राजाका तर्फबाट त्यसको कुनै प्रकारको सकारात्मक परिणाम पाइनँ । बीपीलाई पनि अहिले हातहतियारको कुरा गर्दा ठीक हुँदैन, हामी सफल हुँदैनौ भनेँ । बीपीले त्यो मान्नुभएन । हुँदाहुँदै विमान बल्लानयनदेखि ओखलढुंगा काण्डजस्ता घटना पनि भए । अहिले बीपी अब राजासँग कुरा गर्न जान्छु भन्नुहुन्छ । पार्टीले राजासँग कुरा गरौं भन्दा कुरा गर्नु ठीक छैन, हतियार उठाउनु पर्छ भन्नुभयो । पार्टीले अब राजासंग कुरा गर्न फाइदा छैन, राजा मेलमिलापका लागि तयार छैनन भन्दा बीपी अब मेलमिलाप गर्न जान्छु भन्नुहुन्छ । पार्टी एकातिर उहाँ एकातिर सधैँ यस्तै नै भइरह्यो । तर के गर्ने हामीले नै उहाँलाई पार्टी भन्दा माथि राख्यौँ ।’

बीपीको समाजवादमा सबै बहकिए । त्यसको अन्तरवस्तु के हो न त्यो बेला कसैलाई थाहा थियो, न अहिले । न उनले त्यसको पर्याप्त व्याख्या गरे, न कांग्रेस निकटका अर्थशास्त्रीहरुले सरल भाषामा अथ्र्याउन सके ।

साहित्यकार विश्वेश्वर प्रसाद र राजनीतिज्ञ बीपीको भिन्नता परख भएन । एउटा गाई पाल्ने, किसानी गर्ने, ओखतीमूलो गर्न सक्ने मध्यम वर्गीय नेपालीको परिकल्पना गर्ने बीपीलाई बट्टाको रेडिमेड दूध केन्द्रित अर्थशास्त्रीहरुले गिजोलिदिए ।

बीपीको बौद्धिकता, अन्तर्राष्ट्रिय राजनीतिक परिवेशको ज्ञानका विषयमा खोट लगाउने ठाउँ छैन । तर साढे ६ दशकअघि बीपी हुँदै शेरबहादुर देउवा सरकारसम्म आइपुग्दा एउटै एजेण्डामा अल्मलिएको स्पष्ट छ ।

त्यहाँदेखि यहाँसम्म उही शिक्षा, स्वास्थ्य र सुशासनका विषय भाषणका रमाइला मसला बनेका छन् । जनताको दुई तिहाई म्यान्डेट प्राप्त बीपी नेतृत्वको सरकारले २०१६ साउन ९ मा ल्याएको नीति तथा कार्यक्रममा प्रशासन यन्त्र दक्ष, सरल, कम खर्चिलो र छरितो बनाउने उद्देश्य राखेको देखिन्छ ।

‘प्रशासन यन्त्रलाई प्रजातान्त्रिक प्रणाली र विचार अनुकूल सुधारको काम एकै वर्षभित्र पूरा होला भन्न सकिन्छ तापनि कोशिस जारी रहने छ । न्याय प्रशासनलाई पनि संविधान बमोजिम निष्पक्ष स्वतन्त्र गराउन तथा जनतालाई सुलभ, सुपथ तरीकाले न्याय पाउने प्रबन्धतर्फ प्राथमिक कदमहरु शुरु भइसकेका छन । धेरै वर्ष सजाय भुक्तान गरिसकेका, राम्रो चालचलन भएका र अशक्त रोगी तथा बुढाबुढी कैदीहरुलाई दण्ड सजाय माफ गरी मुक्त गरिदिने र बन्दीहरुलाई समयानुकूल शिक्षा दिई विभिन्न पेशाको तालिम दिलाई निजहरुलाई असल नागरिक बनाई स्वाबलम्बनबाट जीवन निर्वाह गर्न सक्ने गराउनलाई उचित व्ययवस्था मेरो सरकारबाट हुने भएको छ ।’ नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यो बेला पनि पार्टीका सन्दिग्ध पात्रलाई जेलबाट निकाल्न कानुनी छिद्रको व्यवस्था भएको पाइन्छ । मन्त्रीले आफू र आफ्ना आसेपासेको मात्र काम गरेको, समान व्यवहार नदेखाएको भन्दै सत्तारुढ कांग्रेसकै सांसदहरु सरकारसंग रुष्ट भएका समाचार व्यापक आउँथे ।

सरकार साधन, स्रोत सीमित भएको भन्दै पन्छिन्थ्यो । आफ्नै सरकारसंग रिसाएका सांसदहरुलाई राजासंग मिलेका कांग्रेसले पेट्रोल छर्किने काम गर्थे । ०१७ जेठमा सांसद मणिराम शास्त्रीको डिल्लीबजार स्थित घरमा मन्त्रीहरुको मनोमानी र भ्रष्टाचार विरुद्ध आवाज उठाउन असन्तुष्ट सांसदहरुको जमघट भयो ।

त्यो भेलामा बलबहादुर राई, भूदेव राई, खडगबहादु कार्की पेशलकुमार पोखरेल सहित २६ सांसद सहभागी भएका थिए । अहिले पनि त्यो कर्म सक्कल बम्मोजिम नक्कल निर्वाह भएकै छ ।

समयको अन्तर हो । कांग्रेसबाट कांग्रेस डराउनुपर्ने अवस्था बीउमै रोपिएको थियो । एकाघरका एमपी र बीपीलाई प्रयोग गर्ने श्रृंखलालाई गुटगत व्याख्यामा बाँकी कांग्रेसीजनले स्वार्थको रोटी सेकाए । त्यो प्रवृत्ति पुस्तान्तरण हुँदै गयो ।

बर्माको भ्रमण सकेर चीन पुगेका बीपीले अभूतपूर्व सम्मान पनि पाउँछन । सगरमाथालाई नेपालको नक्सामा ल्याउन उनले गरेको सार्थक प्रयासको इतिहासले उच्च मूल्यांकन गरेकै छ । तर भारतसरह सहयोग गर्न उनले राखेको प्रस्तावमा चिनिया समकक्षी चाउएन लाईले दिएको उत्तर रोचक छ । उनी भन्छन– ‘त्यसो गर्नु नेपालकै हितमा हुने छैन । हामीले धेरै सहायता दियौं भने भारत तपाईंहरुसंग सतर्क हुन्छ । अनि हामी भारतसंग प्रतिस्पर्धा गर्दैछौं भन्ने सन्देश पनि जान्छ । हामी नेपालसंग मित्रता खोजिरहेका छौं । भारतभन्दा अलि कम सहयोग गर्छौं । हुन त हामी जति पनि सहयोग गर्न सक्छौं । तर त्यो नेपाल र हाम्रो दुवैका हितमा हुँदैन ।’

इन्दिरा गान्धीसंगको भेटलाई राजनीतिक जीवनको उपलब्धिसंग जोड्ने बीपी चीन भ्रमणमा जाँदा सूर्यप्रसाद उपाध्यायलाई द्विपक्षीय वार्तामा सहभागी गराउँदैनन । बरु चलाखीपूर्वक काखे छोरी चेतनाको सुसारे बनाएर उनलाई होटलमै सीमित गराइन्छ । चीनसंग भएको वार्ता उपाध्यायले दक्षिणतर्फ प्रवाह गर्छन भन्ने बीपीभित्र भय देखिन्छ ।

बर्माको भ्रमण सकेर चीन पुगेका बीपीले अभूतपूर्व सम्मान पनि पाउँछन । सगरमाथालाई नेपालको नक्सामा ल्याउन उनले गरेको सार्थक प्रयासको इतिहासले उच्च मूल्यांकन गरेकै छ । तर भारतसरह सहयोग गर्न उनले राखेको प्रस्तावमा चिनिया समकक्षी चाउएन लाईले दिएको उत्तर रोचक छ ।

उनी भन्छन– ‘त्यसो गर्नु नेपालकै हितमा हुने छैन । हामीले धेरै सहायता दियौं भने भारत तपाईंहरुसंग सतर्क हुन्छ । अनि हामी भारतसंग प्रतिस्पर्धा गर्दैछौं भन्ने सन्देश पनि जान्छ । हामी नेपालसंग मित्रता खोजिरहेका छौं । भारतभन्दा अलि कम सहयोग गर्छौं । हुन त हामी जति पनि सहयोग गर्न सक्छौं । तर त्यो नेपाल र हाम्रो दुवैका हितमा हुँदैन ।’

अहिले पनि कांग्रेस सभापति र कार्यकर्ताको भेट रैती र मालिकजस्तै छ । अरु त अरु देउवासंग काँधमा काँध मिलाएर फोटो खिच्ने हैसियत भएका कुनै नेता नै छैनन । देउवा सोफामा बस्दा अरु चकटीमा सीमित हुने हो । अझ बुढानिलकण्ठ स्थित निवासमा त दलानभन्दा भित्र पस्ने औकात कमै नेताको छ ।

कांग्रेसलाई जीवनको ओढ्ने ओछ्याउने बनाएका गणेशमान, कृष्णप्रसाद भट्टराईजस्ता अलौकिक राजनीतिज्ञ जीवनको उत्तराद्र्धमा आँसु पिएर पार्टीबाट बाहिरिए । सभापतिलाई पार्टीमाथि मान्ने चरित्रकै कारण यस्ता दृश्य देखिएका हुन् ।

अहिले पनि देशभरिका कांग्रेस एकातिर, देउवाको लहड अर्कातिरले दिग्विजय गरेकै छ । हली कार्यकर्ताले पुल्पुल्याएर बाक्लो जीब्रो बनाएका देउवालाई करेन्टको प्रभाव भनेर उचाल्नेहरु प्रशस्तै छन । जबकी शरीरबाट एउटा बिझेको काँढा निकाल्दा त पैतालादेखि टुप्पीसम्म असर गर्छ भने देउवाको कस्तो जीब्रो हो जसले करेन्टको झड्का स्वाभाविक ढंगमा पचाउन सक्यो ।

नेतृत्वको यो चरित्र कांग्रेसजनले रुचाएको अवस्था हो । उमेरले नभएर संस्कारबाट सोचमा परिवर्तन आउने हो । प्रजातन्त्र भनेको हाम्रो शरीरको अंग हो । मुटु, मस्तिष्क, फोक्सो, किड्नी तपाईंलाई सोधेर सञ्चालित हुँदैनन । तिनीहरु स्वचालित हुन ।

तिनीहरुले तपाईंबाट आफूलाई चल्ने सुरक्षित वातावरणको अपेक्षा गर्छन । पार्टी पनि त्यही हो । कांग्रेसलाई प्रजातान्त्रिक बनाउने हो भने आफू पद्दतिमा चल्नुस् न कि नेतृत्वको अनुहारमा आफ्नो भविष्य देख्न अहिले छोड्नुस् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ५ : ५९ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ