विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

आज पुस १, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर १७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

संसदमा सुरक्षा उल्लङ्घन ‘अत्यन्त गम्भीर’ : प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतीय संसदको तल्लो सदन लोकसभामा भएको सुरक्षा उल्लङ्घनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताएका छन् । मोदीले यस विषयमा बहस गर्नुपर्ने आवश्यकता नरहेको तर यसको पछाडि रहेका व्यक्तिहरू पत्ता लगाउन ‘बृहत् अनुसन्धान’ आवश्यक रहेको बताए ।

बुधबार दुई जना युवाले आगन्तुक दीर्घाबाट लोकसभामा हाम फालेर रङ्गको धुलो फ्याँकेका थिए । सोही समयमा एक पुरुष र एक महिला गरी अन्य दुई जनालाई प्रहरीले संसद बाहिर हिरासतमा लिएको थियो ।

घटनामा संलग्न चार जनाबाहेक संदिग्ध अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले अनुसन्धानकर्ताहरूलाई आफ्नो उद्देश्य मणिपुर हिंसा, बेरोजगारी र किसानहरूको समस्याप्रति ध्यान आकर्षित गर्नु रहेको बताएका छन् ।

विपक्षी सांसदहरूले सङ्घीय गृहमन्त्री अमित शाहसँग संसदभित्र भएको सुरक्षा उल्लङ्घनबारे बयान दिन माग गर्दै आएका छन् । यो विषयले संसदको दुवै सदनको बैठक अवरुद्ध भएका छन् । विपक्षीले गृहमन्त्रीको वक्तव्य माग गरेपछि तल्लो सदनका १३ र राज्य सभाका एक सदस्यलाई निलम्बित गरिएको थियो ।

शनिबार लोकसभाको तल्लो सदनका सभामुखले सुरक्षा उल्लङ्घनको गहन अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको बताएका थिए ।

फिलिपिन्सको राजधानीनजिकै सेना र विद्रोहीबीच झडप हुँदा ७ जनाको मृत्यु, ३ जना घाइते

फिलिपिन्सको राजधानी मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइबार बिहान भएको झडपमा एक जना सैनिक र छ जना संदिग्ध विद्रोहीको मृत्यु भएको फिलिपिन्सका रक्षा अधिकारीहरूले बताएका छन् ।

सरकारी सेना र १४ जना न्यू पिपुल्स आर्मी (एनपीए) विद्रोहीबीच चार घण्टासम्म चलेको गोलीबारी स्थानीय समय अनुसार आइतबार दिउँसो २ बजे बालयान शहरमा भएको फिलिपिन्स सेनाको दोस्रो इन्फन्ट्री डिभिजनका प्रवक्ता हेक्टर एस्टोलासले बताएका छन् ।

एस्टोलासका अनुसार एनपीएले केही योजना बनाउनका लागि यस क्षेत्रमा अस्थायी शिविर खडा गर्दै गरेको सूचना पाएपछि सरकारी सेनाहरूले आक्रमण शुरु गरेका थिए ।

झडपमा एक जना सैनिकसहित सात जनाको मृत्यु भएको थियो । अन्य तीन सैनिक घाइते भएका छन् । भाग्ने एनपीए विद्रोहीहरूको खोजी कार्य जारी रहेको एस्टोलासले बताएका छन् ।

एनपीए विद्रोहीहरू सन् १९६९ देखि सरकारसँग लड्दै आएका छन् । तिनीहरूले ग्रामीण क्षेत्रहरूमा आफ्नो आक्रमण केन्द्रित गर्दै सेनासँग झडप गरिरहेका छन् । सैन्य तथ्याङ्क अनुसार एनपीएमा दुई हजार सदस्यहरू छन् ।

फ्रान्स गाजामा ‘तत्काल र दिगो’ युद्धविरामको पक्षमा

फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले आइतबार गाजा युद्धमा ‘तत्काल र दिगो’ युद्धविरामका लागि दबाब दिएकी छिन् । उनले युद्धग्रस्त प्यालेस्टाइनी क्षेत्रको अवस्थाप्रति पेरिस ‘गहिरो चिन्तित’ बनेको बताइन् । कोलोनाले तेल अविवमा आफ्ना इजरायली समकक्षी एली कोहेनसँगको टिप्पणीका क्रममा भनिन्, “अत्यन्त धेरै सर्वसाधारण मारिएका छन्, अक्टोबर ७ को हमलापछि इजरायलले आक्रामक रूपमा दबाब दिँदा सम्पूर्ण क्षेत्रमा तनाव बढेको छ ।”

इस्लामिक लडाकु समूह हमासका अनुसार गाजामा युद्धविरामका लागि इजरायल बढ्दो अन्तर्राष्ट्रिय दबाबमा परेको छ । गाजामा हमासविरुद्धको युद्धमा अधिकांश महिला र बालबालिकासहित १८ हजार आठ सयको मृत्यु भएको छ । इजरायली अधिकारीहरूको पछिल्लो आँकडाअनुसार हमासको हमलामा अधिकांश सर्वसाधारणहित करिब एक हजार एक सय ४० मानिसको मृत्यु भएको थियो ।

हमासले दुई सय ४० जनालाई बन्धकसमेत बनाएको थियो । मन्त्री कोलोनाले यौन हिंसामा परेकालगायत हमासको हमलाका पीडितहरूलाई बिर्सन नहुनेमा जोड दिइन् । “भन्नु पर्दैन, फ्रान्स यी पीडित महिलाहरूको कुरामा विश्वास गर्छ”, हमासको हमलाका क्रममा व्यापक यौन उत्पीडनको आरोपका बारेमा उनले भनिन्, “बलात्कार, अङ्गभङ्ग र यो अपवित्रता देख्नुपरेका मानिसहरूसँग फ्रान्सले विश्वास गर्छ ।”

यसैबीच मन्त्री कोहेनले लेबनानमा युद्ध रोक्नका लागि फ्रान्सले सकारात्मक र महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएका छन् । इजरायल दक्षिणी लेबनानमा सशस्त्र समूह विशेष रूपमा शक्तिशाली इरान समर्थित हिजबुल्लाह समूहसँग नियमित रूपमा सीमापार गोलीबारीमा सामेल भएको छ । “इजरायलको उत्तरी सीमामा अर्को मोर्चा सुरु गर्ने कुनै मनसाय छैन तर हामी आफ्ना नागरिकहरूको सुरक्षाका लागि जे गर्नुपर्छ त्यो गर्नेछौँ”, कोहेनले भने ।

लिबियामा ६१ आप्रवासीको मृत्यु भएको आशङ्का

लिबियाको तटमा डुङ्गा डुब्दा कम्तीमा ६१ आप्रवासी बेपत्ता भएको वा उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ । आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले जनाएअनुसार लिबियाको उत्तरपश्चिमी तटमा जुवाराबाट प्रस्थान भएपछि आप्रवासीहरूको डुङ्गा उच्च छालहरूका कारण डुबेको विश्वास गरिएको छ । जीवितहरूलाई उद्धृत गर्दै नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी मुलुकहरूबाट महिला र बालबालिकासहित करिब ८६ आप्रवासी उक्त डुङ्गामा सवार रहेको आईओएमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

“२५ जनाको उद्धार गरी लिबियाको हिरासत केन्द्रमा सारिएको छ”, आईओएमले भनेको छ । जीवित सबैको अवस्था राम्रो रहेको र उनीहरूलाई आईओएमका कर्मचारीबाट चिकित्सा सहयोग प्राप्त भएको पनि विज्ञप्तिमा उल्लेख छ । इटाली हुँदै युरोप पुग्ने अपेक्षामा खतरनाक सामुद्रिक यात्राको जोखिम उठाउने आप्रवासीहरूका लागि लिबिया र ट्युनिसिया प्रमुख प्रस्थान विन्दु हुन् । संयुक्त राष्ट्रसङ्घीय एजेन्सी आईओएमका अनुसार यस वर्ष ट्युनिसिया र लिबियाबाट एक लाख ५३ हजारभन्दा धेरै आप्रवासी इटाली पुगेका छन् ।

इटालीका अतिदक्षिणपन्थी प्रधानमन्त्री जियोर्जिया मेलोनीले अवैध आप्रवासन रोक्ने वाचा गरेपछि गत वर्ष निर्वाचन जितेकी थिइन् । मेलोनीको कट्टर–दक्षिणपन्थी सरकारले उत्तरी अफ्रिकाबाट खतरनाक सामुद्रिक यात्राको प्रयास गर्ने मानिसहरूलाई बचाउने परोपकारी जहाजहरूको गतिविधिमाथि प्रतिबन्ध लगाउन धेरै उपाय अपनाएको छ । अवैध आप्रवासनसँग सामना गर्ने उनको दृष्टिकोणलाई शनिबार रोमको भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री ऋषि सुनकले पनि प्रशंसा गरेका छन् ।

दुवै नेताले आ–आफ्ना मुलुकका तटहरूमा आप्रवासी डुङ्गाहरूको अवतरणलाई रोक्ने र मानव तस्करहरू विरुद्ध लड्ने प्रयासलाई तीव्रता दिइने वाचा गरे । संयुक्त राष्ट्रसङ्घले केन्द्रीय भूमध्यसागरीय आप्रवासन मार्गलाई संसारको सबैभन्दा घातक मानेको छ । उक्त मार्गबाट प्रत्येक वर्ष सयौँ मानिसको ज्यान जाने गरेको छ ।

आईओएमका प्रवक्ता फ्लाभियो डि जियाकोमोले शनिबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यस वर्ष केन्द्रीय भूमध्यसागरीय मार्गमा दुई हजार दुई सय ५० भन्दा बढीको मृत्यु भएको छ, यो नाटकीय तथ्याङ्कले समुद्रमा जीवन बचाउनका लागि पर्याप्त काम भइरहेको छैन भन्ने देखाउँछ ।”

लिबियाबाट इटाली हुँदै सात सय ५० सवार माछा मार्ने डुङ्गा एड्रियाना जुन १४ मा दक्षिणपश्चिम ग्रिसको अन्तर्राष्ट्रिय जल क्षेत्रमा डुबेको थियो । उक्त दुर्घटनामा बाँचकोहरूका अनुसार डुङ्गामा मुख्यरूपमा सिरियाली, पाकिस्तानी र इजिप्टेली सवार थिए । तीमध्ये एक सय चार जना मात्र बाँच्न सफल भए भने ८२ शव फेला परेका थिए ।

नेटो समर्थित विद्रोहमा लिबियामा तानाशाह मुअम्मर गद्दाफीलाई सत्ताच्युत गरी हत्या गरिएपछिको एक दशकभन्दा धेरै समयदेखि जारी हिंसाले मुलुकलाई मानव तस्करहरूका लागि उर्वर भूमिमा परिणत गर्न सहयोग गरेको छ ।

गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ता : हमास

इजरायल–हमास युद्धका क्रममा गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ता भएको बताइएको छ ।

हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले इजरायली बमबारीबाट १९ हजार भन्दा बढीको मृत्यु हुनुका साथै ८ हजार भन्दा बढी मानिस भग्नावशेषमुनि हराइरहेको बताए ।

उनका अनुसार यसरी मृतक र बेपत्ता हुनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् ।

‘गाजामा ७१ दिनको युद्धमा धेरैको नरसंहार भएको छ । कब्जा गरिएको वेस्ट बैंकमा आक्रामकता जारी छ जहाँ अक्टोबर ७ देखि ३०० जनाको मृत्यु रेकर्ड गरिएको छ,’ ओसामा हमदानले लेबनानको बेरुतमा पत्रकार सम्मेलनमा भने ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ७ : ५४ बजे

उद्योगमन्त्री भण्डारी र युरोपियन कमिसनकी उपनिर्देशक फेरानबीच भेट

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपियन कमिसनका

आपत्तिजनक गाली गरेको भोलिपल्टै गृहमन्त्रीसँग माफी मागे भुसालले

काठमाडौं-उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आपत्तिजनक शब्दसहित गाली गरेका निकोलस

मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा

मुगु–  यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने संकलकहरुको सुरक्षाका लागि

बंक-नाइल सडकसँगै पुल निर्माण पनि सुस्त

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजनामा पर्ने कञ्चनपुरको बंक–नाइल–बुडर सडकखण्डमा निर्माणले

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकियो

काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ