आँखाको इन्फेक्सन र उपचार | Khabarhub Khabarhub

आँखाको इन्फेक्सन र उपचार

गाजल सेयर गरेर लगाउँदा कसैलाई इन्फेक्सन भए अर्कोलाई सर्छ


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय आँखाको इन्फेक्सन र अन्य समस्या भएका बिरामी धेरै बढेका छन्। नेपालमा वायु प्रदूषणका कारण आँखाको समस्या मात्रै नभएर अन्य समस्याका बिरामी पनि बढी रहेको चिकित्सकहरू बताउँछन्। अहिलेको यो मौसममा धुवा धुलो हुने समय हो। यो मौसममा ब्याक्टेरिया धेरै हुने कारणले आँखा रातो हुने, चिलाउने समस्या धेरै देखा पर्छन्। आँखाको इन्फेक्सनको प्रमुख कारण सरसफाइको कमी र वातावरणमा भएको धुलो र धुवा रहेको चिकित्सकको भनाइ छ। धुलोमा भाइरस र ब्याक्टेरिया धेरै हुने कारण आँखा रातो हुने या चिलाउने पाक्ने समस्या हुनसक्छ। आखिर के कारणले आँखामा समस्या आएको छ ? समस्या भएपछि हेरचाह कसरी गर्ने ? कस्तो अवस्थामा अस्पताल जानुपर्छ ? यसै विषयमा आधारित भएर आँखा रोग विशेषज्ञ डा. निशा श्रेष्ठसँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंशः

गर्मी महिनामा आँखामा हुने इन्फेक्सन भनेको कस्तो हो ?
बाहिरी वातावरणमा भएका किटाणुको कारणले आँखामा इन्फेक्सन हुन्छ। कोही मान्छे बाहिर हिडिँरहेको बेलामा फोहोर हातले सिधै आँखा छुन्छ भने उसको हातमा भएका किटाणु आँखामा जान्छन्। जसकारण आँखामा इन्फेक्सन हुन्छ। त्यसैले आँखामा धेरै किटाणु जाने माध्यम भनेको हात नै हो। हातले धेरै आँखा छुनु हुँदैन।

आँखामा इन्फेक्सन हुँदा के कस्ता लक्षण देखा पर्छन् ?
आँखामा इन्फेक्सन हुँदा आँसु झर्ने, आँखा रातो हुने, आँखामा कचेरा लाग्ने, आँखाको पाप्रा उक्किने, आँखाको भित्री जालो सेतो हुने, चम्किलो प्रकाशमा हेर्न गाह्रो हुने वा सूर्यको किरणमा हेर्दा आँखा पोल्ने साथै बिरामीलाई हल्का ज्वरो आउने, शरीर गल्ने लगायतका लक्षण देखा पर्छन्। इन्फेक्सनको प्रमुख लक्षण भनेको आँखा रातो हुने, चिलाउने हो। कहिले काहीँ आँखाको डिलमा अन्धो आउने हुन्छ। त्यो ठाउँमा दुख्ने सुनिने हुन्छ। साथै कुनै अवस्थामा आँखाका मांसपेशीमा इन्फेक्सन हुनसक्छ जसकारण आँखा सुनिने वा बाहिर निस्किने हुनसक्छ। आँखाको पर्दामा जुका लाग्यो भने पनि इन्फेक्सन हुन्छ।

आँखामा इन्फेक्सन भएको अरु व्यक्तिमा पनि सर्छ ?
भाइरल इन्फेक्सन भएपछि अरु व्यक्तिलाई पनि सर्नसक्छ। यो कसैलाई हेरेको भरमा सर्दैन। तर कसैलाई आँखा पाकेको छ भने उसले आफ्नो आँखा छुँदा हात धोएर मात्र छुने गर्नुपर्छ। इन्फेक्सन भएको मान्छेलाई छोएपछि आफ्ना आँखा छुँदा सफा हुनुपर्छ। यो इन्फेक्सन भएको बेला चस्मा लगाएर हिँड्दा घाममा हिँड्न पनि सजिलो हुन्छ।

आँखामा इन्फेक्सन हुँदा समयमा नै उपचार नभए कस्तो जोखिम निम्त्याउँछ ?
यो रोगमा लक्षण देखिने बित्तिकै उपचारमा जानुपर्छ। जति रोग छिप्पिँदै गयो त्यति नै उपचारमा कठिन हुन्छ। समस्या बढेपछि उपचारका लागि खर्च पनि बढी नै लाग्छ। आँखाको बाहिरी भागमा इन्फेक्सन छ भने त्यसले धेरै असर गर्दैन अन्धो आएको ठाउँमा पाक्नसक्छ। कुनै आँखा भित्रको युबियाको इन्फेक्सन भएको छ भने त्यसले दृष्टिलाई नै असर गर्नसक्छ। साथै आँखा भित्रको पर्दाको इन्फेक्सन भयो भने पनि पछि कालान्तरमा दृष्टिलाई असर गर्नसक्छ।

आँखामा इन्फेक्सन भएर अस्पताल गएपछि यसको उपचार कसरी गरिन्छ ?
आँखामा इन्फेक्सन ब्याक्टेरिया या भाइरसबाट हुन्छ। ब्याक्टेरिया बाट भएको इन्फेक्सन हो भने हामीले त्यसमा यान्टिबायोटिक चलाउनु पर्ने हुन्छ। कुनै भाइरल हो भने आफै नै निको भएर जाने हुन्छ। त्यसको माथि अर्को ब्याक्टेरिया इन्फेक्सन थपिने खालको हुन्छ। त्यसैले कहिलेकाहीँ भाइरल नै भए पनि यान्टिबायोटिक चलाउनुपर्ने हुन्छ। जुन किटाणुको कारणले गर्दा भएको हो। त्यो किटाणुलाई नै लक्षित गरेर उपचार गर्नु पर्दछ। आँखामा धेरै खाने भन्दा पनि लगाउने औषधिको प्रयोग गरिन्छ। झोल र मलम लगाउनु पर्दछ। यस्तो केशमा अप्रेशन खासै गर्नुपर्ने हुँदैन। कहिलेकाहीँ पर्दामा इन्फेक्सन भयो भने अवस्था हेरेर आँखामा इन्जेक्सन लगाउन सकिन्छ।

यसको रोकथाम कसरी गर्ने वा आँखामा इन्फेक्सन हुन नदिन के गर्ने ?
हामीले जहिले पनि आफ्नो आँखालाई सफा राख्नुपर्छ। अरूले प्रयोग गरेको कपडाले आँखा पुछ्नु हुँदैन। आँखा छोएपछि साबुन पानीले हात धुने गर्नुपर्छ। धेरै आँखामा हात लगाइराख्नु हुँदैन। आँखाको संक्रमण भएका व्यक्तिले कालो चस्मा लगाएर हिँड्दा निकै राम्रो हुन्छ। यो आँखाको इन्फेक्सन एकबाट अर्कोमा सर्ने रोग हो। यो धेरै माध्यमबाट सर्न सक्छ। कतिपय महिला केटी मान्छेहरुले गाजलहरू एक अर्कामा सेयर गरेर लगाउँदा कसैलाई इन्फेक्सन भएको छ भने त्योबाट पनि सर्छ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ७ : ०९ बजे

बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

काठमाडौं– बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ

नहरमा डुबेर कैलालीका एक युवक बेपत्ता

धनगढी– नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन् ।

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा