पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने « Khabarhub

पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताए ।

नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा पर्यटनमन्त्री किरातीले यस्तो जानकारी दिएका हुन्  । ‘जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्दैछौँ, हिजो मात्रै अन्तिम कुराकानी गरेका छौँ’, उनले भने।

विसं २०७९ पुस १७ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन । यो विमानस्थल भएर आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रियतर्फ अहिलेसम्म कुनैपनि उडान भएका छैनन् । विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

पर्यटनमन्त्री किरातीले पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्ने बताए पनि कुन-कुन एयरलाइन्सका जहाजबाट उडान हुने भन्ने खुलाएनन्

यसैबीच पर्यटनमन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने पनि जानकारी दिए । उनका अनुसार काठमाडौँ-क्लालम्पुर-भैरहवा-काठमाडौँ सेक्टरमा उडान हुने छन् । उक्त प्रयोजनका लागि टिकट बुकिङ खुलिसकेको निगमले जनाएको छ ।

पर्यटनमन्त्री किरातीले सञ्चालनमा नरहेका १८ विमानस्थलको व्यावसायिक सम्भावना हेरेर यथाशीघ्र सञ्चालन गरिने जानकारी गराए । नेपाल वायुसेवा निगमलाई व्यावसायिक रुपमा प्रतिस्पर्धी बनाउने उद्देश्यले आन्तरिक उडानमा बजार विस्तारका लागि थप जहाज खरिद गर्न लागेको र ‘हब’ विमानस्थलमा उडान भर्नेगरी तीन थान जहाज खरिद प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

पर्यटनमन्त्री किरातीले भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति नागरिक तवरबाट खबरदारी हुन जरुरी भएको उल्लेख गरे । नेपालको पर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकामा जोड दिँदै उनले सरकार र निजी क्षेत्रको साझेदारीलाई बढाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले समय सापेक्ष पर्यटन क्षेत्रलाई अघि बढाउन नीतिगत सुधार गरेर अघि बढ्ने विश्वास व्यक्त गरे । 

बजेटपछि ऐन निर्माणको दिशामा मन्त्रालय लाग्ने र त्यस प्रक्रियामा व्यवसायीको रायसुझाव लिइने उनले जानकारी दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीपछि पर्यटन क्षेत्र पुरानै लयमा फर्केको संकेतले यो क्षेत्रमा उत्साह थपेको बताए। उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्र र सरकारको साझेदारी फराकिलो बनाएर पर्यटकीय पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले पर्यटन क्षेत्रको सम्भावनालाई व्यवहारमा परिणत गर्न सबै क्षेत्रको सक्रियताको खाँचो औँल्याए । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन पूर्वाधार विकास र प्रवर्द्धनको कामसँगै अघि बढाइनुपर्ने धारणा राखे ।

नाट्टाका अध्यक्ष रमेश थापाले कोरोनापछिको पर्यटनलाई पुरानै लयमा फर्काउन अझै केही मेहनत जरुरी रहेको बताएका छन् । सो अवसरमा संस्थाले पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने व्यवसायी शाक्यलगायत विभिन्न व्यक्तिलाई कदरपत्रद्धारा सम्मान गरेको थियो । पर्यटनमन्त्री किरातीले ती पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ४ : ०२ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द