देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

May 18, 2023

 आज दिनभर टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति, प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र सांसदबीच सवाल जवाफ,नागरिकता विधेयकबारे एक महिनाभित्र टुंगो लाग्ने, सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत गरिने, भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको गृहमन्त्रीको भनाइ, ठूला-ठूला भ्रष्टाचारमा प्रमुख दलहरूबीच दलीय सहमति देखियो, राप्रपाले निजामती कर्मचारी आबद्ध कुनै पनि संगठन नबनाउने, नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा तीनदिन छलफल हुने, पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेलगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

काठमाडौंबाट पक्राउ परेका रिजाललाई बिहीबार नै सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो । उनलाई शरणार्थी प्रकरणमा भएको ठगीमा संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, बिहीबार नै पक्राउ परेका गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

उनलाई पनि दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौ जिल्ला अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए । शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, टोप बहादुर रायमाझीलगायतलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र सांसदबीच सवाल जवाफ,नागरिकता विधेयकबारे एक महिनाभित्र टुंगो लाग्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका भएका ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचार घटनाको छानबिन गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसद प्रभु साह र अमरेशकुमार सिंहको प्रश्नको जवाफ दिँदै उनले देशमा भएका ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचार घटनाको नयाँ शिराबाट छानबिन गर्नुपर्ने बताएका छन् ।

गौर हत्याकाण्ड, दरबार हत्याकाण्ड, मदनआश्रित हत्याकाण्डलगायत देशका भएका ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारका घटनाको नयाँ शिराबाट छानबिन गर्नुपर्ने पक्षमा सरकार रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

यसैबीच प्रचण्डले २०४८ सालयताका सबै उच्चपदस्थ व्यक्तिको सम्पत्ति र भ्रष्टाचार घटनाको छानबिन गर्न तयार रहेको बताए ।

यसका लागि राजनीतिक सहमति कायम गरेर अघि बढ्नुपर्ने बताउँदै उनले माओवादी लडाकुको नाममा भ्रष्टाचार भएको प्रमाणित भए आफू जेल जान तयार रहेको बताए ।

तत्कालीन अवस्थामै अडिट रिपोर्ट तयार भइसकेको र भ्रष्टाचार नभएको पुष्टि भइसक्दा अहिले राजनीतिक पूर्वाग्राही ढंगबाट माओवादी लडाकुको नाममा भ्रष्टाचार भएको आरोप लगाउने गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

उनले टीकापुर घटनाको छानबिन गर्नका लागि सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजकत्वको प्रतिवेदन सार्वजनिक गर्ने विषय सर्वोच्च अदालतसँग सम्बन्धित रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले गरेको प्रश्नको जवाफ दिने क्रममा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय सर्वोच्च अदालतको आदेशसँग सम्बन्धित रहेको बताए । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पक्षमा आफू रहेको पनि प्रधानमन्त्रीको भनाइ थियो ।

यस्तै उनले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा नै होल्डमा रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् । जसपा सांसद दीपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्र नागरिकताको विधेयक टुंगो लगाउने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भारतसँगको सीमा विवाद अन्त्यका लागि कूटनीतिक पहल भइरहेको जानकारी गराएका छन् । आफ्नो आसन्न भारत भ्रमणमा पनि कुनै पनि देश हितविपरीतका कार्य नहुने विश्वास दिलाए ।

सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको भन्दै उनले आफ्नो एक इन्च पनि नछाड्ने र अरुको एक इन्च पनि भूमि नलिने नीतिअनुसार नै भारत भ्रमणमा छलफल हुने जानकारी दिए । प्रबुद्ध समूहको प्रतिवेदन बुझ्ने र बुझाउने विषयमा पनि भारत भ्रमणमा छलफल हुने उनले बताए ।

प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा आशंका नगर्न आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राखेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धानमा कतैबाट हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका हुन्।

उनले शरणार्थी प्रकरणमा मात्रै नभएर विवादमा आएका अन्य ठूला-ठूला विषय, पुँजी बजारलगायतमा समेत निष्पक्ष, तथ्यमा आधारित अनुसन्धान गरी सरकारले यहीँबाट सुशासनको थालनी गर्ने बताए।

प्रधानमन्त्रीले चालु आर्थिक वर्षको नौ महिनामा अध्ययनका लागि देशबाट ६७ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको जानकारी दिएका छन् ।

उनले अध्ययनका लागि देशबाट चालु आर्थिक वर्षको ९ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको जानकारी गराएका हुन् । साथै सोहीअवधिमा ९ खर्ब ३ अर्ब ३९ करोड रेमिट्यान्स भित्रिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत गरिने

सरकारले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।    

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो व्यहोराको पत्र पढेर सुनाउँदै भोलि दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरूलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिए ।

प्रतिनिधि सभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८-७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७८-७९’ पेस गरेका हुन् ।

प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ५ गते साँझ ६ बजे बस्नेछ ।

भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको गृहमन्त्रीको भनाइ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली बुद्धिजीवीसँग आज भएको भेटमा उनले भ्रष्टाचारको जालो भताभुङ्ग पार्न आफू निरन्तर लागिपरेको र यसमा नेपाली ‘डायस्पोरा’को पनि साथ चाहिएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको अन्त्य नगरी आर्थिक समृद्धि र देश विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि सरकारले नछाड्ने दृढता व्यक्त गरे ।

‘प्रमाण पुग्ने दोषी जोसुकै भए पनि सरकारले छाड्दैन’, उनले भने, ‘अनावश्यक र सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणबिना सरकारले कसैलाई पनि छुँदैन ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष नपरून् भन्नेमा सरकार सचेत रहेको बताए। छानबिनलाई निष्कर्षमा पुर्‍याउन आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दह्रो साथ दिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

सो अवसरमा गृहमन्त्री श्रेष्ठलाई प्रवास समन्वय समितिले बधाई तथा शुभकामना व्यक्त गरेको थियो । भ्रष्टाचार विरोधी सरकारको कदमलाई विश्वभर रहेका नेपालीको साथ र समर्थन रहेको समितिले जनाएको छ । प्रवास समितिले ठगी, मानव तस्करी, सरकारी कागजात कीर्ते र राज्यविरुद्धको अपराध गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको नेतृत्वको प्रतिनिधिमण्डलमा सहइन्चार्ज लक्ष्मण पन्त, सचिव टेकबहादुर पाठक, कार्यालय सदस्य इन्द्रराज भट्टराई, सदस्यहरू सुरेन्द्र भुसाल, मनऋषि धिताल, डा कृष्ण कुमार श्रेष्ठ, रमेश तिवारी, हर्क थापालगायतको उपस्थिति थियो ।

ठूला-ठूला भ्रष्टाचारमा प्रमुख दलहरूबीच दलीय सहमति देखियो 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूलाऔठूला भ्रष्टाचारमा प्रमुख दलहरूबीच दलीय सहमति देखिएको आरोप लगाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध बिहीबार राप्रपाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले ठूला भ्रष्टाचारका काण्डहरूमा सबै दलका ठूला दलका नेताहरूको संलग्नता भएकै कारण जतिसुकै भ्रष्टाचार मुद्दा सार्वजनिक भएपनि टुङ्गो लाग्न नसकेको बताएका हुन् ।

उनले शरणार्थी प्रकरण पनि विदेशी चासोका कारण अनुसन्धान भएको भन्दै यसलाई पनि अनुसन्धान नै नसकी फाइल बुझाउने तयारी भइरहेको बताए । उनले यस प्रकरणमा कसैलाई पनि छुट दिन नहुने र राष्ट्रघाती काम गर्ने सबैलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गरे ।

लिङ्देनले राप्रपाको नेतृत्वमा नै हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापित गर्ने भन्दै त्यसका लागि कुनै विदेशीको आशीर्वाद र पैसा नलिने जिकिर गरे । उनले कांग्रेस एमाले र माओवादीबाट मुलुकको आर्थिक विकास र सुशासनको कुनै सम्भावना नै नरहेको बताए ।

राप्रपाले निजामती कर्मचारी आबद्ध कुनै पनि संगठन नबनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निजामती कर्मचारी आबद्ध कुनै पनि संगठन नबनाउने निर्णय लिएको छ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्,’अब भ्रष्टाचारका सबै स्रोतहरू नै बन्द गरौँ, त्यसैले राप्रपाले सरकारी वेतनधारीको भातृ संगठन नबनाउने निर्णय गरेको छ।’

उनका अनुसार एउटा सरकारी कार्यालयमा ७ वटा युनियनको बोर्ड झुन्डाएर संसारमा कुनै देशले प्रगति गरेको छैन। सरकारी वेतनधारीको भातृ संगठन जघन्य अपराध रहेको उनको भनाई छ ।

नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा तीनदिन छलफल हुने

सरकारले पेस गर्ने नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा तीन दिन छलफल हुने भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठकले शुक्रबार सरकारले पेस गर्न आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि तीनदिन छलफल गर्ने निर्णय गरेको हो ।

बैठकले नीति तथा कार्यक्रम माथि जेठ ७, ८ र ९ गते छलफल गर्ने र ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने निर्णय गरेको हो ।

सम्पत्ति शुद्धिकरण र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल

संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिको आज सम्पन्न बैठकले आफ्नो आन्तारिक कार्यविधि सर्वसम्मतिले पारित गरेको छ। सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य मंगलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैठकले उक्त कार्यविधि सर्वसम्मत पारित गरेको हो । समितिका ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि अर्का ज्येष्ठ सदस्य गुप्ताको सभापतित्वमा बैठक बसेको थियो ।

समितिका सबै सदस्यले बैठकमा प्रस्तुत सम्पत्ति शुद्धिकरण र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दफावार छलफलका लागि तत्काल अघि बढाउन समितिले पारित गरेर पठाउनुपर्ने धारणा व्यक्त गरेका थिए । सो बमोजिम बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन माथि छलफल प्रारम्भ भएको छ ।

यही जेठ २ गते पहिलो पटक बसेको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्याय र सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङग) निवारण ऐन तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन विधेयक समितिमा आएकाले यसमा दफाबार छलफल गरी निष्कर्षमा पुर्‍याउनुपर्ने जानकारी गराएका थिए ।

सङ्क्रमणकालीन न्यायका सम्बन्धमा १८६ वटा संशोधन परेको छ । उक्त विषयमा अब समितिमा दफावार छलफल प्रारम्भ भएको हो । समितिको बैठक भोलि ११ बजे पुनः बस्नेछ । दफावार छलफललाई निरन्तरता दिइने आजको बैठकका सभापति गुप्ताले बैठकमा जानकारी गराए ।

समितिको बैठकको कार्यविधिमा बिनासूचना निरन्तर पाँचवटा बैठकमा उपस्थित हुन नसके समितिको सदस्यबाट निष्कासन गरिनसक्ने व्यवस्था छ । तर समितिका सदस्यले बैठकमा उपस्थित हुन नसक्नाको लिखित कारण समितिका सभापतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

देश चिनाउने अभियानमा युवा अगाडि बढ्न जरुरी

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देश चिनाउने अभियानमा युवा अगाडी बढ्न जरुरी रहेको बताएका छन् ।

काठमाडौँमा सनुर्भी इन्टरनेशनल प्रालिले आयोजना गरेको ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ समारोहमा सहभागी हुँदै मन्त्री लिम्बूले आफ्नो मन्त्रालय खेलकुदमा मात्र सीमित नरहेको बताए । ‘हामी युवाको अन्य गतिविधीमा सहकार्य गर्न तत्पर छौँ’, उनले भने, ‘युवाको विचार, दृष्टिकोण तथा सिर्जनशीलतामा सहकार्य गर्न सके समृद्धि अवश्य सम्भव छ ।’

मन्त्री लिम्बूले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभा पुग्न धेरै मेहनत चाहिने बताए। ‘प्रयास गरिरहनुपर्छ । सफलता अवश्य मिल्छ’, उनले भने ।

अनुसन्धानमा बाधा पुग्नेगरि दुष्प्रचार नगर्न काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पछिल्लो घटनाक्रमका विषयमा कतिपय सञ्चार माध्यम एवं सञ्चार माध्यमको झल्को दिने गरी भ्रम फैलाउने सामाजिक सञ्जालबाट दुष्प्रचार भएको बताएको हो ।

काउन्सिलले एथेष्ट प्रमाणबिना र अपुष्ट स्रोत-बयानको हवला दिई घटनासँग असम्बन्धित व्यक्ति, सङ्घ संस्था, राजनीतिक दल र नेताको चरित्रहत्या एवं मानहानी हुनेगरि भएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘समाजमा भ्रम(अफवाह फैलाउने, अतिरञ्जित गर्ने, अनुसन्धान र न्यायिक निरुपणमा प्रभाव पार्ने किसिमबाट सत्य(तथ्य एवं सन्तुलन विमुख भइ सामग्री सम्प्रेषण हुनु पत्रकारिताका मूल्य र मान्यताविपरीत कार्य हो ।’ काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल एयरलाइन्सले १२ हजार सात सय रुपैयाँमै मलेसिया–भैरहवा उडाउने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।

“नेपाल एयरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, सो अवसरमा मलेसिया–भैरहवा–काठमाडौँका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ”, निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उनका अनुसार मलेसिया–भैरहवाका लागि रु १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाडौँका लागि रु १४ हजार सात सय २० भाडादर कायम गरिएको छ । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमै सटल बस (यात्रु ओसार पसार गर्ने बस)को व्यवस्था गर्ने उनको भनाइ छ ।

निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । भैरहवाबाट हाल निगमले साताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको टोलीले हालै गरेको मलेसिया भ्रमणमा सिभिल एभिएसन अथोरिटी मलेसियाका निर्देशकसँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी विविध पक्षमा छलफल गरेको निगमले उल्लेख गरेको छ ।

पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताए ।

नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा पर्यटनमन्त्री किरातीले यस्तो जानकारी दिएका हुन् । ‘जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्दैछौँ, हिजो मात्रै अन्तिम कुराकानी गरेका छौँ’, उनले भने।

विसं २०७९ पुस १७ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन । यो विमानस्थल भएर आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रियतर्फ अहिलेसम्म कुनैपनि उडान भएका छैनन् । विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

पर्यटनमन्त्री किरातीले पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्ने बताए पनि कुन-कुन एयरलाइन्सका जहाजबाट उडान हुने भन्ने खुलाएनन् ।

यसैबीच पर्यटनमन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने पनि जानकारी दिए । उनका अनुसार काठमाडौँ-क्लालम्पुर-भैरहवा-काठमाडौँ सेक्टरमा उडान हुने छन् । उक्त प्रयोजनका लागि टिकट बुकिङ खुलिसकेको निगमले जनाएको छ ।

पर्यटनमन्त्री किरातीले सञ्चालनमा नरहेका १८ विमानस्थलको व्यावसायिक सम्भावना हेरेर यथाशीघ्र सञ्चालन गरिने जानकारी गराए । नेपाल वायुसेवा निगमलाई व्यावसायिक रुपमा प्रतिस्पर्धी बनाउने उद्देश्यले आन्तरिक उडानमा बजार विस्तारका लागि थप जहाज खरिद गर्न लागेको र ‘हब’ विमानस्थलमा उडान भर्नेगरी तीन थान जहाज खरिद प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना निर्माण हुने भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना निर्माण हुने भएको छ ।

भारत सरकारको अनुदान सहयोगमा स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउनका लागि काठमाडौँस्थित भारतीय राजदूतावास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

रामेछापको मालागिरी शान्ति योगाश्रम र डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस निर्माणका लागि सम्झौता भएको हो । दुवै परियोजनामा कूल रु आठ करोड ३३ लाख लगानी हुने अनुमान गरिएको छ ।

परियोजना रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । परियोजना निर्माणले स्थानीयलाई गुणस्तरीय स्वास्थ्य तथा शैक्षिक सुविधा पुग्ने विश्वास लिइएको छ ।

कोसी प्रदेशका खेलकुदका सदस्य सचिव वाग्ले बर्खास्त

कोसी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्ले बर्खास्त भएका छन् । प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सदस्यसचिव वाग्ले बर्खास्तीमा परेका हुन् । बर्खास्त गर्नु अघि उनलाई दुई पटक स्पष्टीकरण सोधिएको थियो।

गत वैशाख १४ देखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोसी प्रदेश सरकारको नाम किन नलेखेको रु भन्दै कोसी सरकारले वाग्लेलाई स्पष्टीकरण सोधेको थियो ।

सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीका अनुसार प्रदेश सरकारले सोधेको प्रश्नको जबाफबाट सरकारले चित्त बुझाउन सक्ने अवस्था नभएपछि उनलाई बर्खास्त गर्नु परेको हो ।

थप २४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३९ नमुनामध्‍ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ८८ पुगेको छ भने संस्थागत ९ जना आईशोलेशनमा, १ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

बिहीबार मात्र कोरोनाबाट १५ जना संक्रमणमुक्त भएका छन् ।