आज जेठ ४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे १८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
अमेरिकाको मोन्टाना राज्यमा टिकटकमाथि पूर्ण प्रतिबन्ध
मोन्टाना छोटा भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।
मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले मोन्टाना राज्यका बासिन्दाका निजी विवरण चिनियाँ कम्युनिष्ट पार्टीबाट जोगाउने उद्देश्यले टिकटकमाथि प्रतिबन्ध लगाइएको स्पष्ट गरेका छन् ।
उनले राज्यका मुख्य सूचना आधिकारीलाई राज्य सञ्जाल र उपकरणहरूबाट उक्त एपलाई पूर्ण रुपमा ब्लक गर्न निर्देशन दिएको सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।
डिसेम्बर २०२२ मा मोन्टाना सरकारले राज्यका उपकरणमा उक्त एपको प्रयोग वर्जित गरेको थियो । सङ्घीय सरकारका साथै अमेरिकाका धेरै राज्यमा उक्त सामाजिक सञ्जालको प्रयोग निषेध गरिएको छ ।
आगामी जुन १ देखि उक्त सञ्जालमाथिको प्रतिबन्ध पूर्णरुपमा लागू हुनेछ । उक्त प्रतिबन्धलाई चुनौती दिँदै अदालतमा मुद्दा दायर हुनसक्ने समाचारमा जनाइएको छ ।
इटालीको उत्तरी भेगमा बाढीको प्रकोप, आठ जनाको मृत्यु
इटालीको उत्तरी भेग इमिलिया रोमाग्नामा अविरल वर्षासँगै आएको बाढीमा परी आठ जनाको मृत्यु भएको छ । बाढीबाट हजारौँ विस्थापित भएका छन् भने युरोपको प्रसिद्ध मोटर रेस प्रतिस्पर्धा ग्रान्ड प्रिक्स फर्मुला वान स्थगन भएको छ ।
नदीहरूमा पानीको सतहले जोखिमको रेखा पार गरेको छ भने हजारौं हेक्टर खेतीयोग्य जमिन जलमग्न भएको छ । शहरका सडकबाट पनि पानी बगिरहेको छ । बाढीबाट बच्न मानिसहरू घरका छतमा पुगेका छन् । एक वर्षमा हुने औसत वर्षा झण्डै ३६ घण्टामा भएकोले परिस्थिति भयावह बनेको अधिकारीहरूले बताएका छन् । बाढीका कारण ५० हजार मानिस बिजुलीको पहुँचबाट बाहिर भएका छन् ।
भोलिदेखि जापानको हिरोसिमामा आयोजना हुने विकसित सात राष्ट्र (जी सेभेन) को ४९ औँ शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुअघि प्रधानमन्त्री जर्जिया मेलोनीले बाढीपीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पाकिस्तानमा आर्थिक सङ्कट : कर्मचारीको तलब रोकियो
पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगत तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ ।
कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएका, बिना पारिश्रमिक उनीहरूले इदुल फित्र मनाएका र विद्यालयको शुल्क तिर्नसमेत धौ धौ भएको स्रोतलाई उद्धृत गर्दै पाकिस्तान टुडेले जनाएको छ । समयमा आफ्ना सन्तानको शुल्क नतिरे उनीहरू विद्यालयबाट निष्काशित हुनसक्ने चिन्ताले पनि कूटनीतिक कर्मचारीलाई पिरोलेको छ ।
अर्थ मन्त्रालयले गत डिसेम्बरमा सबै कर्मचारीको तलब निकासा गरिएको दाबी गरे पनि मार्च महिनाको तलब प्राप्त नभएको कूटनीतिक नियोगका कर्मचारीले बताएका छन् । पाकिस्तानी विदेश मन्त्रालयले पनि समयमै तलब निकासा गर्न अर्थ मन्त्रालयका अधिकारीलाई अनुरोध गरेको छ । विदेश मन्त्रालयले आफ्नो बजेटबाट कूटनीतिक कर्मचारीलाई जनवरी र फेब्रुअरीको तलब हस्तान्तरण गरेको थियो ।
विदेश मन्त्रालयले मातहतका निकाय र विभागमार्फत विदेशमा कार्यरत आफ्ना कर्मचारीका लागि रकम विनियोजन गरी प्र्रत्येक महिनाको एक वा दुई तारिखमा कर्मचारीको खातामा रकम दाखिला गर्दै आएको थियो । अर्थसचिवसँग यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा त्यो सफल हुन सकेन ।
हालैको एक बैठकमा कूटनीतिक कर्मचारीले तलब नपाएको विषय उठेपछि अर्थमन्त्री इशाक दारले जवाफ दिनुपरेको थियो । विदेशमा कार्यरत कर्मचारीलाई विदेशी मुद्रामा तलब दिनुपर्ने भएकाले आर्थिक समन्वय समिति र पाकिस्तानको केन्द्रीय बैंकको समन्वयमा आवश्यक व्यवस्था गरिने बताइएको छ ।
अमेरिकी अदालतले दियो मुम्बई हमलाका अभियुक्तलाई भारत सुपुर्दगी गर्ने अनुमति
सन् २००८ को मुम्बई आतंकवादी हमलाको मुद्दामा जेल परेका तहव्वुर राणालाई अमेरिकी अदालतले भारत सुपुर्दगी गर्न अनुमति दिएको छ।
क्यालिफोर्नियाको एक अदालतले बुधबार आफ्नो आदेशमा ६२ वर्षीय राणालाई सुपुर्दगी गर्न खोजेका अपराधमा सुपुर्दगी गर्न सकिने जनाएको छ। २६ नोभेम्बर २००८ मा भएको मुम्बई हमला पाकिस्तानमा रहेको लश्कर ए तैयब अतिवादीहरूले गराएको थियो।
राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले यी आक्रमणहरूमा पाकिस्तानी मूलका क्यानाडाली व्यापारी तहव्वुर राणाको भूमिकाबारे अनुसन्धान गरिरहेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार राणालाई मुम्बई हमलामा उनको भूमिकाको लागि भारतले सुपुर्दगी गर्न अनुरोध गरेपछि अमेरिकामा पक्राउ गरिएको थियो।
अदालतको सुनुवाइका क्रममा अमेरिकी सरकारका वकिलहरूले ‘राणालाई आफ्नो बाल्यकालको साथी पाकिस्तानी–अमेरिकी डेभिड कोलम्यान हेडली लश्कर ए तैयबमा संलग्न रहेको भन्ने थाहा थियो र उनको गतिविधिका बारेमा जानकार भएर पनि उहेडलीलाई सहयोग गरी नै रहे, सहयोग गरेर उनलाई बचाउन खोजिरहे’ भन्ने तर्क गरेका थिए।
मुम्बईमा भएको आतंकवादी हमलामा ६ अमेरिकीसहित कुल १६६ जनाको मृत्यु भएको थियो। भारत र अमेरिकाबीच सुपुर्दगी सन्धि छ। न्यायाधीशले राणाको भारत सुपुर्दगी पूर्णतया सन्धिको क्षेत्राधिकारभित्र रहेको फैसला सुनाएका छन्।
पाकिस्तानमा कङ्गो भाइरसका कारण एक जनाको मृत्यु
पाकिस्तानमा कङ्गो भाइरसका कारण एक जनाको मृत्यु भएको छ । पाकिस्तानबाट प्रसारण हुने एआरवाई समाचार च्यानलका अनुसार पाकिस्तानको कराँचीमा रहेको एक अस्पतालमा २८ वर्षे पुरुषको मृत्यु भएको हो ।
सिन्ध प्रान्तको स्वास्थ्य विभागका अनुसार कङ्गो भाइरसका कारण मृत्यु भएका २८ वर्षे मोहम्मद आदिल लियाकतावादमा बसोबास गर्दै आएका थिए । उनी पेशाले मासुपसले रहेको जनाइएको छ ।
भारतीय समाचार संस्था एएनआईका अनुसार सुरुमा बिरामीलाई हल्का टाउको दुख्ने लक्षण देखा परेको थियो । केही दिनपछि उनी नजिकैको निजी अस्पतालमा भर्ना भएको र पछि उच्च ज्वरो, नाकबाट रगत बग्नेजस्ता लक्षण देखा परेको थियो । उनलाई डेङ्गु र औलो भएको आशंकामा स्वास्थ्य परीक्षण पनि गरिएको बताइएको छ । यद्यपि दुबै परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।
कङ्गो भाइरस प्रायः परजीविका माध्यमबाट वस्तुभाउबाट मानिसमा सर्ने बताइएको छ । यस रोगको मृत्युदर उच्च रहेको मानिन्छ । हालसम्म यसविरुद्ध कुनै खोप उपलब्ध छैन ।
शान्तिवार्ता अघि बढाउन चीन विशेष दूत युक्रेनमा
युक्रेनमा जारी युद्ध अन्त्यका लागि वार्तालाई अघि बढाउन चीनका तर्फबाट विशेष दूत किभ पुगेका छन् । उनलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वागत गर्ने अपेक्षा गरिएको छ ।
किभमा अधिकारीहरूले रूसले अमेरिकाले आपूर्ति गरेको ‘प्याट्रियट एयर डिफेन्स सिस्टम’ ध्वस्त पारेको आशङ्कालाई पनि कम गर्न खोजेका थिए ।
चीनका विशेष दूत ली हुई रुससँगको द्वन्द्व सुल्झाउने बेइजिङको योजनालाई बढावा दिन युरोपेली भ्रमणका क्रममा अधिकारीहरूसँग दुई दिने वार्ताका लागि मङ्गलबार युक्रेनको राजधानी पुगेका हुन् ।
युक्रेनका एक उच्च अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै जेलेन्स्की र लीबीच भेटवार्ता हुने सम्भावना रहेको बताएका छन् ।
सन् २०२२ को फेब्रुअरीमा मस्कोले आक्रमण गरेपछि युद्धग्रस्त देशको भ्रमण गर्ने उच्च पदस्थ चिनियाँ कूटनीतिज्ञ ली चिनियाँ नेता सी जिन्पिङसँग जेलेन्स्कीले टेलिफोनमा कुरा गरेको तीन हप्तापछि किभ पुगेका हुन् ।
मङ्गलबार युक्रेनलाई ‘मध्यस्थताका लागि पहल’ को आवश्यकता नरहेको यूक्रेनी अधिकारीले बताएका थिए । नाम नबताउने शर्तमा युक्रेनका एक वरिष्ठ अधिकारीले एएफपीसँग भने, “युक्रेनको खर्चमा सम्झौता गरेर युद्ध अन्त्य गर्दा काम हुँदैन ।”
चीनले युक्रेनी सङ्कटको राजनीतिक समाधानका लागि सबै पक्षसँग संवाद गर्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको जनाएको छ ।
चीनलाई तटस्थ मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएका र मार्चमा मस्कोको भ्रमण गरेका सीले क्रेमलिनले आफ्नो छिमेकीमाथि गरेको आक्रमणको निन्दा गर्न इन्कार गरेको भन्दै आलोचना हुँदै आएको छ ।
आइसल्याण्डमा भएको युरोपेली नेताहरूको बैठकले युक्रेनमा रूसले युद्धकालमा पु¥याएको क्षति र विनाशको अभिलेख राख्न ‘क्षतिको रजिस्टर’ स्थापना गर्न सहमत भएको थियो ।
युरोपको ४६ सदस्यीय परिषद्ले तयार पारेको यो विधेयकले भविष्यमा रूसी नेताहरूमाथि मुद्दा चलाइनुअघि एउटा प्रमाणिक रेकर्ड तयार पारेको छ र क्षतिपूर्तिको आधार तयार पारेको छ ।
काउन्सिल अफ युरोपका महासचिव मारिजा पेजसिनोभिच बुरिकका अनुसार बुधबार बिहानसम्ममा संयुक्त राज्य अमेरिका र अन्य सबै जी–७ राष्ट्रसहित ४० देशले रजिस्टर निर्माणमा हस्ताक्षर गरिसकेका छन् ।
आइसल्याण्डमा शिखर सम्मेलनको दोस्रो दिन आइपुग्दा उनले भने, “यो पहिलो अत्यावश्यक कदम हो, जसले युद्धका पीडितहरूमा केन्द्रित न्याय सुनिश्चित गर्दछ ।”













प्रतिक्रिया