अब निसेलढोरमै स्वास्थ्य सेवा स्थानीय खुसी « Khabarhub

अब निसेलढोरमै स्वास्थ्य सेवा स्थानीय खुसी


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– ‘केटाकेटी बिरामी भइरहन्छन्, कहिलेकाँही हामी आफै पनि बिरामी हुन्छौँ, भनेको बेला गाडी पाइँदैन, अस्पतालमा पुग्न यहाँबाट एक दिन लाग्थ्यो, तर  अब गाउँमै स्वास्थ्य संस्था आएपछि भने खुसी लागेको छ’, निसीखोला गाउँपालिका–५का कमला विकले भनिन्। 

विकका चार छोराछोरी छन् । उनीहरु बिरामी पर्दा एक दिन खर्चेर अस्पताल जानु पर्दथ्यो । तर यसै साता गाउँपालिकाले निसेलढोरमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेपछि सामान्य उपचारका लागि अस्पताल पुग्नै पर्ने बाध्यता हटेकोमा उनीलगायतका स्थानीय खुसी छन् ।

निसेलढोर बागलुङको दुर्गममा पर्ने बस्ती हो । निसेलढोरका अधिकांश स्थानीय घुम्ती बसाइ गर्ने गर्छन् । असोज लागेपछि निसीखोला गाउँपालिका–५ को निसी गाउँ झर्ने र बर्खा लागेपछि निसेलढोर जाने स्थानीयको परम्परा नै हो । कहिले लेक त कहिले बेँसी गर्ने हुँदा निसेलढोरमा अहिलेसम्म स्वास्थ्य संस्था स्थापना हुन सकेका थिएन ।

एकदशक अगाडिसम्म निसेलढोरमा बाह्रै महिना बस्नेको सङ्ख्या निकै कम थियो । अहिले सडक सञ्जालले जोडिएपछि स्थायीरुपमा ६० घर परिवार बसिरहेका छन् । बिरामी हुँदा घरेलु ओखतीमुलो गर्दै आएका स्थानीयले अब स्वास्थ्य संस्थामा उपचार गराउनुका साथै औषधिसमेत पाउने भएका छन् । गाउँमा स्वास्थ्य संस्था नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था थियो । अब कसैले पनि अकालमा ज्यान गुमाउन नपर्ने उहाँको विश्वास छ । 

‘सहर बजारभन्दा धेरै टाढा छौँ, गाउँमा डाक्टर थिएन, अस्पताल थिएन, कोही बिरामी भयो भने झाँक्री धामी गर्ने गथ्र्यौं, धामीझाँक्रीले निको नबनाए मात्रै अस्पताल जान्थ्यौँ’, उनले भने , ‘अस्पताल लैजाँदै गर्दा कतिले त बाटोमै ज्यान गुमाए, अब त्यसरी अकालमा कसैलाई पनि मर्न पर्ने छैन, सरकारले गाउँमै अस्पताल ल्याइदियो, हामीहरु धेरै खुसी भएका छौँ ।’

सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आएपछि गाउँका सबै नागरिकले सहजरूपमा सेवा पाउने अवस्था भएको स्थानीय प्रेमबहादुर पुनको भनाइ छ । यतिका वर्षसम्म सामान्य स्वास्थ्योपचारका लागि हजारौँ खर्च गर्नुपरेको भन्दै अब जटिल किसिमका रोगबाहेक अन्य उपचार गाउँमै गराउन पाइने भएपछि उनले खुसी व्यक्त गरे । सरकारले दुर्गमको स्वास्थ्य संस्थालाई प्राथमिकतामा राखेर औषधि र उपकरणको कमी हुन नदिन आग्रह गरे ।

उनले भने, ‘हामीहरू धेरै टाढा छौँ, अस्पताल सञ्चालनमा आयो भन्ने मात्रै नहोस् यहाँबाट प्रवाह हुने सेवा गुणस्तरीय र प्रभावकारी बनोस्, हामीहरू सामान्य उपचारका लागि ठूलाठूला अस्पतालमा जान नपरोस्, यसलाई राज्यले विशेष प्राथमिकतामा राख्न जरुरी छ ।’

यहाँ सामुदायिक स्वास्थ्य इकाई सञ्चालनका लागि निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख विनियोजन गरेको थियो । गाउँपालिकाले तत्कालका लागि घर भाडामा लिएर एक जना अनमी र एक जना कार्यालय सहयोगी राखी सेवा विस्तार गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले जानकारी दिए। आगामी आवमा गाउँपालिकाले प्रदेश सरकारसँग सहकार्य गरी भवन निर्माण गरेर सेवालाई थप गुणस्तरीय र प्रभावकारी गराउने उनको भनाइ छ ।

निसीखोला गाउँपालिकामा स्वास्थ्यचौकी चार वटा, आधारभूत स्वास्थ्य इकाई दुई वटा, सामुदायिक स्वास्थ्य इकाई दुई वटा गरी आठ स्वास्थ्य संस्था सञ्चालनमा रहेको उनले बताए । अहिले वडा नं ४ को झिम्पामा पालिकास्तरीय १० शय्याको आधारभुत अस्पताल निर्माणको अन्तिम चरणमा रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्दको भनाइ छ । निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन । 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  २ : ०२ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति