किन बढ्यो युवामा ढाड, कम्मर, गर्धन दुख्ने समस्या ? | Khabarhub Khabarhub

किन बढ्यो युवामा ढाड, कम्मर, गर्धन दुख्ने समस्या ?


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

पहिला वृद्धाहरूमा हुने ढाड, कम्मर, गर्धन दुख्ने समस्या पछिल्लो समयमा युवामा पनि धेरै देखिन थालेको छ। यो समस्याले अहिलेका युवा पुस्ता बढी ग्रसित देखिन्छन्। पहिला यो प्राकृतिक रूपमा या हड्डी खिइएर हुने गथ्र्यो । तर आजभोलि युवा पुस्ता ग्रसित छन् । ढाड, कम्मर दुख्ने समस्याको समयमै उपचार गरिएन भने गम्भीर समस्या निम्तिन सक्छ । जब शरीरमा एक्टिभिटीको कमी हुन्छ । शरीर कमजोर हुँदै जान्छ । समयमै उपचार गरिएन भने गम्भीर समस्या निम्तिन सक्छ । शारीरिक सक्रियताको कमीले डिप्रेसन, मानसिक समस्या, मधुमेहदेखि मुटु रोगसम्म र साथै हड्डी खिइनेदेखि हड्डी खोक्रो हुनेसम्मका रोग लग्ने गरेको चिकित्सक बताउँछन् । ढाड, कम्मर, गर्धन दुख्ने समस्या कस्तो समस्या हो ? के कारणले दुख्छ ? निदानका उपाय के के हुन सक्छन् ? ढाडको दुखाइ कति बेला गम्भीर हुन्छ? ढाडको दुखाइबाट कसरी जोगिने ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि प्रकृति तथा दुखाई रोग विशेषज्ञ डा. सुनिल पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

अहिलेका युवामा ढाड, कम्मर, गर्धन दुख्ने समस्या किन बढिरहेको छ ?
अहिले हामी सक्रिय जीवनबाट डिजिटल लाइफमा परिणत हुँदै गएका छौं । यसले यो समस्या बढ्दै गएको छ । एकै ठाउँमा घन्टौँसम्म बस्ने मोबाइल फोन चलाउने र एउटै पोजिसनमा बसिरहने हुँदा यो समस्या बढेको छ । जब शरीरमा एक्टिभिटीको कमी हुन्छ शरीर कमजोर हुँदै जान्छ । शारीरिक एक्टिभिटीको कमीले डिप्रेसनदेखि मानसिक समस्यासम्म मधुमेहदेखि मुटु रोगसम्म बढ्दै गएको छ । साथै हड्डी खिइनेदेखि हड्डी खोक्रो हुनेसम्मका रोग लाग्छ । आजभोलि डिजिटल लाइफले हाम्रो मेकानिकल समस्या निम्ताएको छ । हामीले आजभोलि काम गर्नै छोड्यौं । बसीबसी काम गरेका छौँ । प्रकृतिसँग हुर्कने समय नपाएका कारण पनि समस्या बढिरहेको छ । उमेर बढ्दै जाने बेलामा पनि समस्या आउँछ । खानपिन व्यायाम जीवनशैली नमिल्दा पनि समस्या आउँछ । अप्राकृतिक र डिजिटल लाइफले गर्दा रोग प्रतिरोधात्मक क्षमता पनि घटिरहेको छ । अहिलेका युवा पुस्ता कुलतमा फस्ने क्रम पनि बढ्दो छ । यसले पनि समस्या ल्याएको छ । कहिलेकाहीँ दुर्लभ रूपमा क्यान्सर, ट्युमरले गर्दा, केहीमा पाठेघरको समस्या, तल्लो पेटका समस्या, थाइरोइड, हर्मोनका समस्या, मेटाबोलिक डिजिज लगायतले पनि यो समस्या देखापर्छ ।

समस्या थाहा पाउनको लागि के गर्ने ?
नेपालमा राम्रोसँग रोग चिनेर उपचार भएको जस्तो पाइँदैन सबै कुरा एकै ठाउँमा छैन। साधारण फिजिसियनकोमा बिरामी गयो भने अर्कै उपचार गर्छ । न्युरोलोजिस्ट कहाँ गयो भने अर्कै उपचार गर्छ। त्यसको लागि एउटा विशेषज्ञकहाँ जँचाउन जानुपर्छ । घरमा बसेर समस्याको समाधान हुँदैन। गुगल, युट्युब हेरेर यही नै भएको हो भनेर बस्नु हुँदैन विभिन्न प्रकारका औषधि खाएर बस्नु हुँदैन। आफ्नो अवस्था बुझेर तुरुन्तै उपचार गराउनु पर्दछ।

यो समस्याबाट बच्ने उपाय के के हुन् ?
हरेक बिरामीले आफूलाई के समस्या भएको हो भनी बुझेर तुरुन्तै विशेषज्ञकोमा जानुपर्छ । कुनै चिकित्सक कहाँ गएपछि उनीहरूले सम्बन्धित विशेषज्ञकोमा नपठाउँदा पनि यो समस्या थप बढ्नसक्छ । पहिले फिजिसियनले हेर्ने, दोस्रोमा सम्बन्धित विशेषज्ञले हेर्ने, तेस्रोमा सर्जनले हेर्ने त्यसपछि फेरि सम्बन्धित विशेषज्ञले हेर्ने हुन्छ । बिरामी चिकित्सक कहाँ गएपछि यो कसरी भयो के गर्दा ठिक हुन्छ ? के खाँदा ठिक हुन्छ ? भनेर सल्लाह लिनुपर्दछ। यस्ता रोगलाई ठुलो बनाएर डराउनु हुँदैन । लक्षण देखिने बित्तिकै उपचार गर्न जानुपर्छ ।

कस्ता लक्षण देखा पर्छन् त ?
यो समस्याको लक्षणको रूपमा ढाडको मांसपेशीमा तनाव भएर लामो समय एउटै आसनमा बस्न नसक्नु, अलि धेरै समयसम्म उभिँदा वा बसिरहँदा ढाडको मांसपेशी दुख्नु, कम्मरको पछाडिको भाग दुख्नु, लामो समयसम्म हिँड्न गाह्रो हुनु, खुट्टाहरू झमझम गर्नु, खुट्टा, कमजोर वा पीडा हुने, छिट्टो थकाइको महसुस हुने, उठ्न र बस्न गाह्रो हुने, निहुरेर केही सामान उचाल्न नसक्नु लगायतका लक्षणहरू देखा पर्छन्।

यो ढाड दुख्ने समस्या कतिबेला गम्भीर हुन्छ?
ढाड दुख्ने समस्या विस्तारै शरीरको तल्लो भागतर्फ वा खुट्टातिर सर्दै गयो भने गम्भीर हुन सक्छ । यसका साथै खुट्टा झमझमाउने वा लाटो भए जस्तो हुने, बारम्बार खुट्टा निदाउने र दिसा–पिसाब नै रोकिने भयो भने पनि गम्भीर हुनसक्छ ।

यो समस्या हुनै नदिन के गर्ने ?
कसैलाई पनि ढाड, कम्मर, गर्धन दुख्ने समस्या भयो भन्दैमा डराउनु पर्दैन । कहिलेकाहीँ ढाड कम्मर दुख्यो भने मालिस गर्दा ठिक हुन्छ । सड्केको बेला, चोटपटक लागेको बेलामा भने मालिस गर्नु हुँदैन । त्यस्तो बेलामा उपचारमै ध्यान दिनुपर्छ । ९५ प्रतिशत समस्या त हामीले आफै निम्त्याएका हुन्छौँ । यसका मुख्य कारण भनेको मेकानिकल कारण हो जसमा हामीले बस्ने तरिकामा ध्यान दिएका हुँदैनौँ । सुत्दा, बस्दा, काम गर्दा शरीरको गलत रूपमा प्रयोग हुन्छ । विशेषगरी बस्ने पोजिसनमा ध्यान दिँदा वा लामो समयसम्म एकै ठाउँमा नबस्ने गर्दा यो समस्याबाट मुक्त हुन सकिन्छ । साथै खानपिनमा ध्यान दिनाले पनि यस्ता रोगबाट बच्न सकिन्छ । हरियो सागपात, फलफूलका साथै व्यायाममा ध्यान दिनुपर्छ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ७ : ०५ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही