विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आज साउन २, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

सुरक्षा कारबाहीमा चार जना आतंककारी मारिए

भारत प्रशासित जम्मुकश्मीरमा सोमबार भएको संयुक्त सुरक्षा कारबाहीमा चार जना आतंककारी मारिएका भारतीय सेनाका अधिकारीहरूले मंगलबार बताएका छन् ।

भारतीय सेनाको विशेष बल राष्ट्रिय राइफल्स र जम्मुकश्मीर पुलिस र अन्य बलसहितको संयुक्त अभियान सोमबार पुन्चको सिन्धारा क्षेत्रमा सञ्चालन गरिएको जनाउँदै उनीहरूले राति करिब ११.३० बजे आतंककारीहरूसँग पहिलो मुठभेड भएको बताएका छन् । सोही रात निगरानीका अन्य उपकरणसहित ड्रोन तैनाथ गरिएको थियो ।

मंगलबार बिहानैदेखि सुरक्षा बल र आतंककारीबीच भीषण गोली हानाहान भएको थियो । संयुक्त कारबाहीमा मारिएका आतंककारी विदेशी आतङकवादी भएको अनुमान गरिएको छ । उनीहरुको पहिचान स्पष्ट भइनसकेको र थप जानकारीको प्रतीक्षा गरिएको भारतीय सेनाले जनाएको छ ।

गत आइतबार पुन्च जिल्लाको नियन्त्रण रेखा (एलओसी) मा आतङ्कवादीहरूको घुसपैठको प्रयासलाई भारतीय सेनाले विफल पारेको थियो । आइतबार रातिदेखि सोमबार बिहानसम्म पुन्च नदी नजिकै एलओसीमा भएको दोहोरो झडपमा दुई जना आतंककारी मारिएका थिए ।

सुरक्षाकर्मीले आतङ्वादीबाट एके ७४ राइफलसहित भारी मात्रामा हतियार र गोला बारुद नियन्त्रणमा लिएका थिए ।

राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने

गुजरात उच्च न्यायालयको आदेशविरूद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

मोदी थरलाई लिएर काङ्ग्रेस नेता गान्धीले गरेको टिप्पणीबाट आफूहरूको मानहानि भएको भन्दै भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले दायर गरेको उजुरीलाई सदर गर्दै सुरत अदालत र गुजरात उच्च अदालतले गान्धीलाई दोषी ठहर्‍याएका थिए ।

सुरत अदालतको निर्णयसँगै नेता गान्धीको लोकसभा सांसद पद खारेज भएको थियो । आफूले चुनावी सभामा मोदी थरलाई लिएर गरेको टिप्पणीको अपख्याख्या भएको उल्लेख गर्दै तल्ला अदालतले गरेका निर्णयलाई चुनौती दिँदै उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।

उनका वकिलहरूका अनुसार उक्त अदालतले आगामी शुक्रबार सुनुवाइ गर्ने जानकारी दिएको छ ।

टिकटकप्रति अमेरिकी प्रहार : राष्ट्रिय सुरक्षामा जोखिम

अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् ।

टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी चिनियाँ कम्युनिष्ट पार्टीसम्म पुर्‍याउने गरेको संघीय जाँच ब्यूरो(एफबिआई)ले उल्लेख गरेको जियानली याङले अमेरिकी अखबार द हिलमा लेखेका छन् ।

एफबिआईले सार्वजनिक गरेको उक्त सूचनाका आधारमा सिनेटर मार्क वार्नरको नेतृत्वमा सिनेटरहरूको एक समूहले हालै वाणिज्य विभागलाई लोकप्रिय सामाजिक सञ्जालमाथि नियमनको अधिकार प्रदान गर्ने कानून बनायो ।

राष्ट्रपति जो बिडेनले पनि उक्त कानूनलाई तत्काल अनुमोदन गरेर तुरुन्त पारित गर्न आह्वान गरेको द हिलमा जनाइएको छ ।

कोरियामा भीषण बाढी, पचास जनाको मृत्यु

दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने अन्य ७ जना बेपत्ता भएका छन् । आज बिहान डुबेको बसबाट त्यसका चालक सहित चार जनाको शव निकालिएको थियो ।

सरकारी अधिकारीका अनुसार उत्तरी ग्याङसङ प्रान्तमा २१ र मध्यचुङचेङ प्रान्तमा १९ जनाको मृत्यु भएको हो । ग्याङसङ प्रान्तमा चौतीस जना घाइते भएका छन् । देशभरका बाढीपहिरामा परी देशभर ५० जनाले ज्यान गुमाएका योनहाप समाचार समितिले जनाएको छ ।

पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भू–भाग डुबानमा परेका छन् । आपतकालीन सेवाका अधिकारीले देशका अन्य भागमा अन्य सात जनाले ज्यान गुमाएका बताएका छन् । गत साता पाँच सय मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।

जुलाई ९ देखि मध्य र तल्लो क्षेत्रमा पाँच सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ । गोन्जु र दक्षिण चुङचेओङ प्रान्तमा छ सइ २६ मिलिमिटर, छेउङयाङ नजिकैको काउन्टीमा छ सय १४ मिलिमिटर , सेजोङको मध्य शहरमा पाँच सय ८० मिलिमिटर र उत्तरको मुङयोङ र ग्योङसाङ प्रान्तमा पाँच सय २२ मिलीमिटर वर्षा भएको थियो ।

उत्तरी ग्योङसाङ प्रान्तमा ७ जना बेपत्ता छन् । बाढीका कारण घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको सङ्ख्या बढेको छ । मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट आइतबार राति सातवटा शव निकालिएको थियो ।

अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका दश हजार पाँच सय ७० जनालाई विस्थापित भएका छन् । सार्वजनिक सुविधाहरूको क्षतिको सङ्ख्या सात सय ८९ पुगेको छ भने निजी सम्पत्तिको पनि व्यापक नोक्सानी भएको छ ।

तीन सय ५२ वटा निजी सम्पत्तिमा बाढीले क्षति भएको, एक सय ४६ वटा सडक भत्किएका तथा एक सय ३९ घर बगेका योनहाप समाचार समितिले जनाएको छ । एघार हजारभन्दा बढी बाढीपीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

अमेरिकासहित पाँच देश प्राकृतिक प्रकोपको चपेटामा

जलवायु परिवर्तनका कारण अमेरिका, चीन, दक्षिण कोरिया, जापान, स्पेनमा प्राकृतिक प्रकोप बढेको छ । दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी पहिरोमा परी ३ दिनमा ४० जनाको मृत्यु भएको छ ।

अमेरिकाको अलास्कामा भूकम्पको धक्का महसुस भएको छ भने क्यालिफोर्नियाको तापक्रम ५४ डिग्री सेल्सियस पुगेको छ । आँधीका कारण अमेरिकाभर २६ सयभन्दा बढी उडानहरू रद्द गरिएका छन्।

यस बाहेक स्पेनको जंगलमा पनि आगलागी भएको छ । अर्कोतर्फ चीनमा चक्रवाती आँधी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अलर्ट जारी गरिएको छ । चीनका केही प्रान्तहरूमा सोमबार तापक्रम ५० डिग्री नाघेको छ । मौसमविद्हरू यी परिवर्तनहरू बारे विशेष गरी चिन्तित छन्।

स्पेनको क्यानरी टापुमा लागेको डढेलोका कारण ४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आगलागी करिब ९ हजार ८ सय एकड क्षेत्रफलमा फैलिसकेको छ । आगलागीबाट हालसम्म १२ घर जलेर नष्ट भएका छन् ।

चीनमा चक्रवाती आँधी ‘तलिम’ का लागि ओरेन्ज अलर्ट जारी गरिएको छ । यस वर्षको चौथो चक्रवाती आँधीले देशको दक्षिणी तटीय क्षेत्रमा हावाहुरी र मुसलधारे वर्षाको सम्भावना रहेको छ ।

यस्तै, जापानमा तापक्रम रेकर्ड स्तरमा पुगेपछि देशका ४७ प्रिफेक्चर मध्ये २० प्रान्तमा तातो हावाको लहरको चेतावनी जारी गरिएको छ। यसैबीच अविरल वर्षाका कारण केही क्षेत्रमा पहिरो गएको छ । टोकियोलगायत केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

यसैबीच, अमेरिकी जलवायु दूत जोन केरीले सोमबार बेइजिङमा चीनका जलवायु दूत सी सेनहुआसँग वार्ता गरेका छन । वास्तवमा अमेरिका व्यापार, ताइवान, मानव अधिकार र क्षेत्रीय दाबीमा विवादको बीचमा सम्पर्क पुनर्स्थापित गर्न चाहन्छ।

केरीले लगभग एक वर्षमा विश्वका सबैभन्दा खराब जलवायु प्रदूषकहरूमध्ये दुईका प्रतिनिधिहरू बीचको पहिलो व्यापक आमने सामने बैठक आयोजना गर्दैछन्।

चीनमा समुद्री आँधी, सयौँ मानिस विस्थापित

चीनको क्वाङतोङ प्रान्तमा तलिम नामक समुद्री आँधीले स्थिति तनावग्रस्त बनाएको छ । दक्षिण तटीय प्रान्तमा प्रतिघण्टा १ सय ४० किलोमिटरको गतिमा आएको आँधीका कारण लाखौँ मानिस विस्थापित भएका छन् ।

तटीय क्षेत्रबाट झण्डै साढे दुई लाख मानिसलाई अन्यत्रतिर सारिएको छ । हजारौँ माछा फार्महरू तहस नहस भएका छन् ।

हाइनान प्रान्तमा सुमद्रको लहर २० फिटसम्म माथि उठेको जनाइएको छ । समुद्री आँधीसँगै भारी वर्षा पनि भएको छ । जसका कारण हवाई उडानका साथै यातायात अवरुद्ध भएका छन्।

आँधीको प्रभाव भियतनाममा पनि परेको छ । भियतनामले पनि ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारेको जनाएको छ । आँधीको प्रभाव भोलिसम्म रहनसक्ने अनुमान गरिएको छ ।

स्कटल्याण्डको समुद्री तटमा ५० ह्वेल माछाहरू मृत भेटिए

स्कटल्याण्डको पश्चिमी टापुको समुद्री तटमा फसेका करिब ५० पाइलट ह्वेल मरेको अवस्थामा फेला परेका छन् ।

समुद्री किनारमा ठूलो मात्रामा ह्वेल फसेको फेला परेपछि उद्धारकर्मीहरूलाई बोलाइएको थियो । उद्धारकर्मीले १५ ह्वेलको भने जीवितै उद्धार गरेका थिए । तर तीनवटा भने केही समयपछि मरेका थिए । जीवित ह्वेलहरूमध्ये ८ वयस्क र ४ बच्चाहरू रहेका छन्।

मिडिया रिपोर्टहरूका अनुसार राम्रो उद्देश्यको बावजुद उद्धारकर्ताहरूले बाँकी ह्वेलहरूलाई पानीमा फिर्ता ल्याउन असमर्थ भएका थिए।

रिपोर्टहरूका अनुसार टापुको दुर्गमताका कारण चिकित्सा र उद्धारकर्मीहरूले उद्धार संयोजकहरूसँग कुराकानी गर्न सङ्केतहरू प्राप्त गर्न पाँच माईलसम्म ड्राइभ गर्नुपरेको थियो। ह्वेल मर्नुको कारणबारे स्पष्ट रुपमा केही खुलेको छैन ।

गत वर्ष न्यूजील्याण्डमा दुई छुट्टाछुट्टै घटनामा करिब ५०० पाइलट ह्वेल मरेका थिए । यसपछि गत वर्ष अष्ट्रेलियामा पनि म्याक्वेरी हार्बर नजिक २३० ह्वेल फसेका थिए, जसमध्ये २ सयको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ८ : ०० बजे

नेपालसामु बंगलादेशसँग दशकअघिको हारको बदला लिने अवसर

काठमाडौं – आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल

नर्वेले युक्रेनलाई दश करोड ३० लाख डलर सहयोग गर्ने

ओस्लो – नर्वेले युक्रेनलाई उसको ऊर्जा पूर्वाधार मर्मत र अर्को

ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत

ललितपुर – चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ललितपुर

राष्ट्रिय महाधिवेशनले सङ्घीयता विरोधीलाई जवाफ दिएको छः उपेन्द्र यादव

धनुषा – जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले

राष्ट्रपति पौडेलद्वारा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीमा जलवायु परिवर्तन र