सबल सार्वजनिक संस्था बन्दै विद्युत् प्राधिकरण | Khabarhub Khabarhub

सबल सार्वजनिक संस्था बन्दै विद्युत् प्राधिकरण


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उज्यालो नेपालको परिचय बनाएको नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ३८औँ वार्षिकोत्सव मनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा प्राधिकरणले वार्षिकोत्सव मनाएको हो । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको प्राधिकरणले मधेस प्रदेशमा शतप्रतिशत विद्युतीकरण गरेको छ । यस्तै, बागमती प्रदेशमा ९९ दशमलव २१, गण्डकी प्रदेशमा ९९ दशमलव शून्य दुई प्रतिशत बराबर विद्युतीकरण गरेको छ ।

यस्तैगरी, कोशी प्रदेशमा ९५, लुम्बिनीमा ९८, कर्णालीमा ६८ र सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत घरधुरीमा केन्द्रीय प्रसारण प्रणालीमार्फत बिजुली पुर्‍याएको छ । कूल सात सय ५३ स्थानीय तहमध्ये पाँच सय पाँच स्थानीय तहमा पूर्ण बिजुली पुर्‍याएको प्राधिकरणले दुई सय २७ स्थानीय तहका अधिकांश स्थानमा र बाँकी रहेका २१ स्थानमा साना तथा लघु जलविद्युत् आयोजनाबाट बिजुली उपलब्ध गराइएको छ ।  आगामी दुई वर्षमा बिजुली उपलब्ध गराउने लक्ष्य राखिएको छ । प्राधिकरणले ५६ लाख ५८ हजार घरधुरीमा आफैँ बिजुली पुर्‍याएको छ । प्रतिव्यक्ति विद्युत् खपत तीन सय ८० बराबर पुगेको छ । ग्रामीण क्षेत्रमा विद्युतीकरणको अन्तिम मार्च गरिरहेको प्राधिकरणले कोही नेपाली पनि अँध्यारोमा बस्नु नपरोस् भन्ने सङ्कल्प लिएको छ ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार, प्राधिकरण र निजी क्षेत्र तथा विकास साझेदार निकायसँग समन्वय गरी आवश्यक वित्तीय श्रोत व्यवस्थापन गर्दै जलाशयुक्त आयोजना निर्माण गर्ने प्रमुख प्राथमिकताका साथ सरकार लागिपरेको बताए ।

यस्तै, चार सय केभी क्षमताका प्रसारण लाइनसमेत निर्माण गरी आन्तरिक मागको सम्बोधन गर्दै बढी भएको बिजुली भारतलगायतका देशमा निकासीका लागि सरकार प्रयासरत रहेको उनको भनाइ छ । राष्ट्रिय ग्रिडको पहुँच पुग्ने गरी सबै नागरिकको घरधुरीमा नियमित र भरपर्दो रुपमा विद्युत् आपूर्ति गर्न, आधुनिक प्रविधिको प्रयोग गरी प्रसारण तथा वितरण प्रणालीको विस्तारका लागि आवश्यक नीति, कार्यक्रमका साथ मन्त्रालय अगाडि बढिरहेको मन्त्री बस्नेतको भनाइ छ ।

मुलुकलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउँदै नेपाली नागरिकलाई गुणस्तरीय, भरपर्दो रुपमा विद्युत् सेवा प्रदान गर्न, ऊर्जाको माध्यमबाट जनताको सामाजिक तथा आर्थिक रुपान्तरण गर्न सरकारले सार्थक प्रयास गरिरहेको उनले बताए । हाल न्यूनतम २० युनिटसम्म बिजुली उपभोग गर्ने झन्डै २२ लाख ग्राहकले निःशुल्क रुपमा प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७२/७३ मा कूल २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट रहेकामा आव २०७९/८० मा १३ दशमलव ४६ प्रतिशत कायम गर्न सफल भएको छ । आर्थिक वर्ष २०७२/७३ मा रु ३४ अर्ब ६१ करोड सञ्चित घाटा रहेको प्राधिकरणले आव २०७३/७४ मा रु एक अर्ब ५० करोड, आव २०७४/७५ मा रु तीन अर्ब ४३ करोड नाफा कमाएको थियो । यस्तै, आव २०७५/७६ मा रु नौ अर्ब ८१ करोड, आव २०७६/७७ मा रु ११ अर्ब ७५ करोड, आव २०७७/७८ मा भने घटेर रु छ अर्ब १० करोड मात्रै नाफा कमाउन सफल भएको थियो ।

यस्तै, आव २०७८/७९ मा रु १३ अर्ब ३७ करोड नाफा गरेको प्राधिकरणले आव २०७९/८० को अपरिष्कृत वित्तीय विवरणअनुसार रु १२ अर्ब ३३ करोड बराबर रहेको छ । प्राधिकरणको सञ्चित नाफा रु ३६ अर्ब ६७ करोड बराबर पुगेको छ । सार्वजनिक संस्थानहरुमध्ये धेरै नाफा कमाउने थोरै संस्थाहरुमध्ये प्राधिकरण अब्बल देखिएको छ । पछिल्ला दुई वर्षमा प्राधिकरणले वितरण तथा प्रसारण प्रणालीका लागि मात्रै रु ४८ अर्ब बराबरको लगानी आन्तरिक स्रोतबाट गरेको छ ।

प्राधिकरणको प्रणालीमा कूल जडित क्षमता दुई हजार आठ सय २२ मेगावाट बराबर पुगेको छ । प्राधिकरणले कूल आठ हजार ५२ मेगावाट बराबरको विद्युत् खरिद बिक्री सम्झौता गरेको छ । प्राधिकरणले जवा तिला, भारभूङ, वेगनास रुपा पम्प स्टोरेज र माथिल्लो मुस्ताङ जलाशययुक्त जलविद्युत् आयोजनाको अध्ययन जारी छ । आव २०७९/८० मा ६६ केभी तथा सोभन्दा माथिका प्रसारण लाइन चार सय १३ सर्किट किलोमिटर थप भएको छ ।

कूल सञ्चालन रहेको ६६ केभी र सोभन्दा माथिका प्रसारण लाइनको लम्बाइ पाँच हजार सात सय ४२ सर्किट किलोमिटर बराबर पुगेको छ । यस्तै, तीन हजार एक सय ७५ सर्किट किमी प्रसारण लाइन र १० हजार दुई सय ९० एमभिए क्षमताको ग्रिड सबस्टेसन निर्माणाधीन छन् । नेपालीको घरदैलोमा नियमित र भरपर्दो विद्युत् सेवा पुर्‍याउन वितरण प्रणाली विस्तारको कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

वितरण प्रणालीको स्तरोन्नति एवं सहरको सुन्दरता अभिवृद्धि हुनेगरी काठमाडौँ उपत्यकालगायत पोखरा र भरतपुरमा वितरण प्रणालीलाई भूमिगत गर्ने काम जारी छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, सञ्चालक समितिका सदस्य, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्की लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ४ : १८ बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार