दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय « Khabarhub

दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– आज भाद्र शुक्ल पक्ष चतुर्थी । गणेश चतुर्थीको अवसरमा सोमबार नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामना र आउँदै गरेको दशैँ भित्र्याउनका लागि गणेश भगवान र चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउँदैछन् । भगवान गणेशको जन्म दिन भएको मानिएको चतुर्थीको दिन नेवार समुदायले बिहानै घरलाई चोख्याएर बेलुका पूजा गर्न चथाः गणेशको तस्बिरसहित पूजामा चाहिने सामग्रीहरू भित्र्याउने गर्छन ।

गणेश चतुर्थीलाई नेवार समुदायले दशैँ भित्र्याउने चाडका रुपमा समेत लिन्छन् । यस दिनलाई दशैँको प्रारम्भ पर्वको रुपमा लिइन्छ । यस दिन विशेषगरी घरघरमा मासु भित्र्याउने चलन छ । नेवार समुदायमा चथाः पर्व राम्रो भए दशैँ राम्रो हुने धार्मिक विश्वास भएको पाइन्छ । आजकै दिन भक्तपुरका किसानहरूले अदुवा खेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने प्रचलन समेत  छ ।

यस दिन राति नेवार समुदायमा कौशी वा घरको आँगनमा चथाः गणेश र चन्द्रमाको विधिवत पूजा गर्ने गरिन्छ । पूजामा कमलको फूलको पातमा चथा गणेशको तस्बिर राखेर, नैबद्य, पंचपकवान, अनार, केरा, अम्बा, नासपाती, काँक्रो, सुन्तला, काँचो भिजाएको काँचो केराउ, कमलको फूल, नयाँ अदुवाको बोट तथा भुटेको मकै, भटमास, गहुँ, बदाम, मुगी, केराउ, चना, बकुल्ला समेत आठ प्रकारका गेडागुडी चढाइन्छ । साथै पूजामा ध्यूमा भुटेको आरुको वियाँ, दुबो, कालो तिलको लड्डु, मुला खाइसी (भोगते जस्तो एक प्रकारको फल) चढाउँछन् ।

 चथाः गणेशको पूजा सकेपछि आकाशतिर हेरेर चन्द्रमाको पूजा गरिन्छ । पूजामा घर परिवारका सबै सदस्यहरू बस्नुपर्ने परम्परा छ । पूजा सकेपछि घरका सबैजना बसेर चथाः गणेशलाई चढाएको पंचपकाव, काँक्रा, फलफूल र भुटेका गेडागुडी प्रसादको रुपमा खाने गरिन्छ । प्रसाद खाइसकेपछि दहीको सगुनसहितको भोज खाइन्छ ।

यस दिन चथाः गणेशको पूजा गरे खुशी मिल्ने, जीवनमा चिताएको मनोकाक्षा पूरा हुनुका साथै दशैँ राम्रोसँग मनाउन पाउने लोक मान्यता छ । चन्द्रमालाई विधिपूर्वक पूजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास छ । नेवार समुदायमा चथाःको दिन गणेश र चन्द्रमाको पूजा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतीक्षामा बस्ने र चन्द्रमा देखा परेपछि मात्र पूजा गरी प्रसाद खाएर घरभित्र जाने प्रचलन  छ ।

आज राति चन्द्रमाको पूजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरङ्ग अस्थायी र गौण हुने तथा उसका राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देश समेत दिने गरेको संस्कृतिविद् तथा इतिहासविद् प्रा.डा  पुरुषोत्तमलोचन श्रेष्ठ बताए ।

पौराणिक लोककथन अनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भनी ठूलो हेला र अपमान गरेपछि गणेशले सहन नसकेर रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जोकोहीलाई चोर दोष लागोस भनेर श्राप दिएछन् । गणेशको सोही श्रापको प्रभावले त्यसदिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो।

त्यसपछि देवीदेवताहरू समेतले चन्द्रमाको मुख हेर्न छाडेको र यसले गर्दा चन्द्रमाको ठूलो बेइज्जत भएको भनाइ छ । साथै चन्द्रमा बाहिर आउन, हिँडडुल गर्न समेत नसक्ने अवस्थामा पुगेको र त्यसपछि चन्द्रमा महादेवको शरणमा गइ महादेवको सहयोगले गणेशलाई दुबो, लड्डु र मुला चढाई क्षमायाचना गरेको कथा छ ।

चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अबदेखि भाद्र शुक्ल चौथीको एक दिन बाहेक अरु दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने वरदान दिएका थिए । साथै गणेशले राति विधिपूर्वक चन्द्रमाको पूजा गरे सो दिनमा चन्द्रमा दर्शन गरे पनि चोर दोष नलाग्ने वरदान समेत दिएकाले गणेश चतुर्थीको दिन राति चन्द्रमाको पूजा गर्ने परम्परा बसेको लोककथन पाइन्छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १ : ४३ बजे

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा