मनाइयो तीज, पशुपतिमा करिब पाँच लाख दर्शनार्थी | Khabarhub Khabarhub

मनाइयो तीज, पशुपतिमा करिब पाँच लाख दर्शनार्थी


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब पाँच लाख दर्शनार्थीले दर्शन, एवं पूजा आराधना गरेका छन् ।

बेलुकी ७ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमै आउने भक्तजन भने अझै बढी थिए । आएका धेरै भक्तजनले भने लाम बस्नुपर्ने भएकाले मूल मन्दिरभित्र प्रवेश नगरी परिसरबाटै गजुरको दर्शन गरेर फर्किएका छन् ।

बेलुकी आरती चलिरहेका बेला पनि पशुपति क्षेत्रमा भक्तजनको उत्तिकै भीड रहेको उहाँले सुनाउनुभयो । भाद्र शुक्ल तृतीयका दिनमा आज देवादिदेव महादेवको पूजा आराधना गरी महिलाले हरितालिका (तीज) पर्व मनाएका हुन् ।

पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । पशुपतिनाथ मन्दिरमा यस वर्ष विगतभन्दा सहजरूपमा दर्शन गर्न पाइएको भक्तजनले बताएका छन् । पन्ध्र वर्षपछि पशुपतिनाथको पूर्वी ढोका खोलेपछि भक्तजनलाई दर्शनमा सहज भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

राजधानीको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र नागेश्वर मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको सन्तानेश्वरलगायत काठमाडौँ उपत्यका र देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाए जस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।

 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १० : १३ बजे

समाचार झुटो भएको भन्दै ट्रम्पले दायर गरे वाल स्ट्रिट प्रमुखविरुद्ध मुद्दा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा