थारू बस्तीमा दसैँको रौनक, सखिया र झुम्रा नाच सुरु | Khabarhub Khabarhub

थारू बस्तीमा दसैँको रौनक, सखिया र झुम्रा नाच सुरु


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

देउखुरी– बडादसैँमा मात्र नाचिने थारूको सखिया र झुम्रा नाच सुरु भएको छ । सखिया र झुम्राको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा (सखिया नाचमा बजाइने बाजा) को आवाजले थारू गाउँमा अहिले बेग्लै रौनक छाएको छ । 

थारूहरूको घरआँगनमा अहिले मादल र मञ्जिराको झानकारमा महिलाले सखिया नाच्दै रमाइरहेको दृश्यले गाउँमा बेग्लै रौनक देखिएको छ । धेरै गाउँमा दसैँ नजिकिएदेखि सखिया र झुम्रा नाच सुरु भइसकेको छ । कतिपय गाउँमा घटस्थापनाको दिनदेखि यो नाच सुरु भएको छ ।

‘ढिक्रीका लागि चामलको पीठो तयार छ, सुकेको माछा (सिद्रा) पनि तयार गरेका छौ’, घोराही उपमहानगरपालिका–१७ कर्जाहीका राममोति चौधरीले भने, ‘हाम्रो गाउँमा दसैँ लागिसक्यो, नाचगान हुन थालेको छ, कूल देउतालाई चढाउने सामग्री तयार गरेका छौँ, आँगनमा बाबरीको फूल मगमगाइरहेको छ, मासुको परिकारका लागि (जिता)को तयारी गरेका छौँ, कुलदेउतालाई चढाउने (छाकी) रक्सी गोलरा (माटोको भाँडो) मा तयारी गरेका छौँ ।’

दसैँको नाचले गाउँघर रमाइलो भएको छ । करिब ७५ घर थारू समुदायको बस्ती रहेको गाउँमा युवापुस्ताले नाच सिक्ने र पुरानो पुस्ताले सिकाउने काम चलिरहेको बताए। थारू समुदायमा दशैँलाई नवमीका दिनमा धुमधामसँग मनाइन्छ । सोही दिन चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा मान्यजनबाट ग्रहण गर्ने चलन छ । 

थारू समुदायमा दसैँ आउनुभन्दा एक महिना अगाडिदेखि सखिया र झुम्रा नाच नाच्ने गरिन्छ । झुम्रा नाच र दसैँ विशेष विभिन्न सांस्कृतिक कार्यक्रम गरेर गाउँघर रमाइलो भएको छ । घोराही–१७ क्वाडीका पूर्ण चौधरीले भने, ‘परम्परागत चाड दसैँमा अरू समुदायभन्दा थारू समुदायको फरक हुन्छ, सखिया र झुम्रा नाचले दसैँको रौनकलाई अझ बढाएको हुन्छ, नवमीको दिन बिहानै कुलदेवतालाई भेरवा (कुभिन्डोबाट बनाएको भेडा) र भालेको बलि दिने गरिन्छ र त्यसको पित्तर (पिण्ड) दिने चलन छ ।’ 

त्यस दिन बलि दिइएको कुखुरा र कुभिन्डो पकाएर घरका सबैले खाने गर्छन् । नवमीका दिन थारू युवायुवती रातभर सखिया र झुम्रा नाच नाच्ने गर्छन् । प्रायः युवकले मादल बजाउने र युवतीले नाच्ने प्रचलन छ । रङ्गीबिरङ्गी पहिरन लगाएर छमछमी नाच्ने भुमरा तथा सखिया नाचको महत्वले दसैँको गरिमालाई समेत बढाएको हुन्छ । 

घोराही-३ का थारू अगुवा हिमलाल चौधरले भने, ‘घटस्थापनाका दिनदेखि थारू बस्तीमा झनै रमाइलो भएको छ, थारू बस्तीको नाचगान हेर्दा गाउँघरका सबैलाई रमाइलो भएको छ ।’ यो नाचमा नाच्नेहरु हरेक वर्ष नयाँ पहिरन लगाएर नाच्ने गर्छन् । थारू समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि विशेषगरी नाचसँगै दसैँमा गाउने गरिन्छ । 

सखिया नाच्नका लागि १५-२० युवतीले सेतो रङको फरिया तथा रातो चोलिया र रिबन लगाउने गर्छन् । युवकले भने सेतो रङको धोती र रुचिअनुसारको कमिज लगाई मादल भिरेर बजाउने चलन छ । सखिया नाच मादलको तालसँगै तीन खण्डमा नाच्ने गरिन्छ । यसपालिको दसैँमा दाङका थारू बस्तीमा मादल बज्न सुरु भएका छन् । नाचगानले गाउँघरमा रौनक थपिएको छ ।

पाँच वर्षदेखि सखिया नाच नाच्दै आएका घोराही–१७ की सरिता चौधरी दसैँका लागि नाचको तयारी गर्न पाउँदा खुसी भएका छन् । उनले भने, ‘दसैँ आउन अब केही दिन बाँकी हुँदा गाउँबस्तीमा थारू नाचगान सुरु भएको छ, यसपालि आफू पनि नाचमा भाग लिन पाउँदा धेरै खुसी लागेको छ, दाङका सबै थारू बस्तीमा अहिले सखिया र झुम्रा नाचले गाउँको रौनक नै फरक भइसकेको छ ।’ 

युवायुवती परम्परागत पोसाक र गहना लगाएर साँझ पर्नासाथ गाउँमा सखिया र झुम्रा नाचमा रमाइरहेका छन् । थारू भाषामा ‘सखी’को अर्थ साथी  हुन्छ । साथीहरूसँगै नाच्ने हुनाले यसलाई सखिया भनिएको थारू कल्याणकारी सभाका पूर्वअध्यक्ष भुवन चौधरी बताउँछन् । सखियालाई ‘बर्का नाच’ पनि भन्ने गरिन्छ । सखियामा देवीदेवताको पूजाआजा गरी नाचिने हुनाले यसलाई थारू समुदायको धार्मिक महत्वसित जोडिन्छ । यो नाच हरेरी मनाइसकेपछि नाच्ने गरेको उनले बताए। 

हरेरीमा गाउँमा नाचगानको अवसर खुलाउन गाउँका सबै मादल जम्मा गरेर गुरुवाले मन्त्र पढ्छन् । त्यसपछि नाचगान सुरु हुन्छ । त्यसपछि मात्रै सखिया नाच गर्न सकिन्छ । ‘देवीदेवताको मञ्जुरी माग्न पूजा गर्नुपर्ने मान्यता छ’, चौधरीले भने, ‘छाँकी (रक्सी) चढाएर पूजा गरिसकेपछि मात्रै सखिया नाच नाच्न र गाउन मिल्छ ।’ 

नाच सुरु गर्दा मुख्य मादल र मञ्जिरामा छाँकी चढाएर आकाश, पाताल, पूर्व, पश्चिम, उत्तर र दक्षिणतर्फ फर्किएर बजाउने गरिन्छ । त्यसपछि सखिया नाच सुरु हुन्छ । थारू समुदाय कृषि काममा व्यस्त रहने समुदाय भएकाले दिनभरि घरको काम गर्ने र साँझको फुर्सदको समयमा नाच नाच्ने गर्छन् । पुराना पिँढीले नयाँ पिँढीलाई शिक्षा र सीप सिकाउने उद्देश्यले नाच सिक्ने र नाच्ने गरिरहेको अध्यक्ष चौधरीले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १ : ५८ बजे

तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं– नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्

सभामुख घिमिरेले गरे अन्तरिम सरकारका मन्त्रीहरूको शपथ समारोह बहिष्कार

काठमाडौं– सभामुख देवराज घिमिरेले अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कञ्चनपुर कारागारबाट भागेका २३९ कैदीबन्दी फिर्ता

कञ्चनपुर– जेन-जी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ कैदीबन्दी फिर्ता

टिकटकको भविष्य ‘चीनमा निर्भर’ रहने ट्रम्पको धारणा

न्यूयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकको भविष्य

पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल

गण्डकी– पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने भएको