गाजाको अस्पतालमा हमला, कसले के भने ? | Khabarhub Khabarhub

गाजाको अस्पतालमा हमला, कसले के भने ?


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

पेरिस- गाजाको एक अस्पतालमा भएको हमलामा कम्तीमा ५ सय जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । उक्त हमलाप्रति विश्वभर आक्रोश र निन्दा व्यक्त गरिएको छ भने अम्मान, ट्युनिस, बेरुत र तेहरानमा विरोध प्रदर्शनसमेत भएको छ ।

उक्त क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले उक्त अस्पतालमा हवाई हमला गरेको आरोप लगाएको छ । इजरायली सेनाले हमासको आरोपलाई ‘झुट’ भन्दै हमासको सहयोगी इस्लामिक जिहादले प्रहार गरेको रकेट अस्पतालमा बज्रिएको जनाएको छ । उक्त आक्रमणको विश्वभर आक्रोश र निन्दा व्यक्त गरिएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसले गाजाको अस्पतालमा सयौँ प्यालेस्टाइनी नागरिक मारिने गरी भएको हमलाबाट आफू भयभीत भएको बताए ।

उनले हमलाप्रति कसैलाई आक्षेप नलगाई हमलाको कडा भर्त्सना गरे । अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोटबाट आफू आक्रोशित र अत्यन्त दुःखी भएको भन्दै विस्फोटबाट जीवनको भयानक क्षति भएको बताए । उनले उक्त खबर सुन्नेबित्तिकै आफूले तुरुन्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग कुराकानी गरेको जानकारी दिए । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले अहली अस्पतालमा इजरायली बमबारीको कडा शब्दमा भर्त्सना गरे । उक्त हमलाबाट गाजामा प्यालेस्टिनी नागरिकमध्ये सयौँ निर्दोषको मृत्यु भएको उनले बताए । उनले नियोजित रूपमा भएको बमबारी अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन रहेको टिप्पणी गरे ।

मध्यपूर्वको अर्को क्षेत्रीय शक्ति साउदी अरेबियाले नागरिकहरूमाथि इजरायलको निरन्तर हमलाको निन्दा गरेको छ । उसले अस्पतालमा भएको हमलालाई सबै अन्तर्राष्ट्रिय कानून र मान्यताहरूको स्पष्ट उल्लङ्घन रहेको बताएको छ । जोर्डनको विदेश मन्त्रालयको एक विज्ञप्तिमा इजरायलले उक्त हमलाको जिम्मेवारी लिनुपर्ने भन्दै हमलाको कडा निन्दा गरेको छ । त्यसपछि जोर्डनले मध्यपूर्वमा शान्ति स्थापना गर्न अमेरिकी राष्ट्रपति बाइडेन सहभागी हुने एक शिखर सम्मेलन रद्द गर्ने घोषणा गरेको छ र त्यसको जवाफमा बाइडेनले अम्मानको भ्रमण स्थगित गरेका छन् । अम्मानस्थित इजरायली दूतावासमा दर्जनौँ प्रदर्शनकारीले हमला गर्ने असफल प्रयास गरेका थिए । युरोपेली युनियनका विदेश मामिला प्रमुख जोसेप बोरेलले घटनाप्रति खेद प्रकट गर्दै एक पटक पुनः निर्दोष नागरिकले उच्च मूल्य चुकाउनुपरेको बताए । “यो अपराधको जिम्मेवारी स्पष्ट रूपमा स्थापित गर्नुपछ र अपराधीहरूलाई जवाफदेही बनाउनुपर्छ”, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

इरानका राष्ट्रपति इब्राहिम रइसीले बुधबार सार्वजनिक शोक दिवस घोषणा गरेका छन् । उनले अस्पतालमा भएको हमलाको बदला इजरायल र उसको सहयोगी अमेरिकाविरुद्ध लिइने बताए । “गाजाका अस्पतालमा घाइते प्यालेस्टिनी पीडितहरूमाथि आज साँझ खसाइएको अमेरिकी–इजराइली बमहरूको ज्वालामा चाँडै नै यहुदीहरू जल्नेछन्”, राष्ट्रपति रइसीको भनाइ उद्धृत गर्दै इर्ना समाचार समितिले जनाएको छ ।

राति नै तेहरानस्थित बेलायती र फ्रान्सेली दूतावासबाहिर सयौँ प्रदर्शनकारी जम्मा भएका थिए । आफ्नो आक्रोश पोख्न मध्य तेहरानको प्यालेस्टाइन स्क्वायरमा हजारौँ जनता भेला भएका थिए । इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले एक विज्ञप्तिमा ‘आक्रामण’ अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदबाट ‘तत्काल समाधान’ का लागि आह्वान गरे ।

इराकी सरकारले हमलाका पीडितहरूका लागि तीन दिनको शोकको घोषणा गरेको छ । टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले घटनाप्रति खेद व्यक्त गर्दै सबैभन्दा आधारभूत मानवीय मूल्यहीन इजरायली आक्रमणको पछिल्लो उदाहरण रहेको बताए । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “गाजामा यो नृशंस कार्यलाई रोक्न म सबै मानवतालाई आमन्त्रित गर्दछु ।” फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले अस्पतालमा घातक हमला गरेर कुनै पनि कुराले सर्वसाधारणलाई निशाना बनाउनुको औचित्य स्थापित गर्न नसक्ने बताए । “गाजापट्टीमा मानवीय पहुँच खोल्न ढिलो गर्न हुन्न”, उनले भने । इरान समर्थित लेबनानको हेजबोल्लाह समूहले मङ्गलबार गाजापट्टीको अस्पतालमा भएको हमलाको निन्दा गर्न ‘क्रोध दिवस’ मनाउन आह्वान गरेको छ ।

उसले उक्त हमलालाई ‘नरसंहार’ भन्दै हमलाका लागि इजरायललाई दोषी ठहर गरेको छ । “बुधबार शत्रुका विरुद्ध क्रोध दिवस हो”, हमासको सहयोगी हेजबोल्लाहले विज्ञप्तिमा भनेको छ, । उसले हमलालाई नरसंहार र क्रुर अपराधको संज्ञा दिएको छ । बेरुतको उपनगर अवकरस्थित अमेरिकी दूतावासबाहिर सयौँ प्रदर्शनकारी र लेबनानी सुरक्षा फौजबीच झडप भएपछि हेजबोल्लाहको उक्त भनाइ आएको हो । प्रदर्शनकारीहरूले ‘इजराइल मूर्दाबाद’ र ‘अमेरिका मूर्दाबाद’ भन्ने नारा लगाएका थिए । अरब लिगका प्रमुख अहमद अबुल गेटले पश्चिमा मुलुकहरूले यो त्रासदीलाई तुरुन्तै रोक्नुपर्ने बताए । “हाम्रो अरब संयन्त्रले युद्ध अपराधको दस्तावेजीकरण गर्छ र तिनीहरूका अपराधी न्यायबाट उम्किन सक्तैनन्”, उनले चेतावनी दिँदै भने ।

अफ्रिकी युयिननका प्रमुख मुसा फाकी महामतले घातक हमलापछि इजराइलमाथि ‘युद्ध अपराध’ को आरोप लगाए । “सयौँ मानिस मारिने गरी आज गाजाको अस्पतालमा भएको इजराइली बम हमलाप्रति खेद प्रकट गर्न हामीसँग पूरा रूपमा शब्द नै छैन”, इजरायलमाथि अन्तर्राष्ट्रिय कारबाहीको माग गर्दै उनले भने । कतारको विदेश मन्त्रालयले हमलालाई ‘क्रुर नरसंहार’ र “रक्षाहीन सर्वसाधारणविरुद्ध जघन्य अपराध” भनेको छ । एक विज्ञप्तिमा कतारले अहली अरब अस्पतालमा भएको हमलालाई “अन्तर्राष्ट्रिय कानूनका प्रावधानहरूको गम्भीर उल्लङ्घन” र “भिडन्तका क्रममा भयानक वृद्धि” भनेको छ ।

मङ्गलबार ट्युनिसियाको राजधानीस्थित फ्रान्सेली दूतावासबाहिर सयौँ क्रुद्ध प्रदर्शनकारी भेला भएका थिए । उनीहरूले अस्पतालमा भएको हमलाप्रति अमेरिकाको निन्दा पनि गरेका थिए । ‘फ्रान्सेली र अमेरिकीहरू यहुदीका सहयोगी हुन्’ भन्दै प्रदर्शनकारीले नारा लगाएको थिए । प्रदर्शनकारीहरूले दुवै देशका राजदूतहरूलाई फिर्ता गर्न माग गर्दै ट्युनिसियाली भूमिमा अमेरिकी दूतावास रहनु हुन्न भन्ने नारा लगाएका थिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले घातक हमलाप्रति खेद प्रकट गर्दै गाजापट्टीमा नागरिक र स्वास्थ्य सेवाको तत्काल सुरक्षाको माग गरेको छ । “अल अहली अरब अस्पतालमा भएको आक्रमणको डब्लुएचओले कडा भर्त्सना गर्दछ”, डब्लुएचओले एक विज्ञप्तिमा भनेको छ, “अस्पताल चलिरहेको थियो, त्यहाँ बिरामी, बिरामीका हेरालु र आन्तरिक रूपमा विस्थापित मानिसहरूले आश्रय लिइरहेका थिए, प्रारम्भिक रिपोर्टले सयौँको मृत्यु भएको र घाइते भएको सङ्केत गर्दछ ।”

इन्टरनेसनल कमिटी अफ दि रेड क्रस आइसीआरसीले पनि ‘अस्पतालहरू मानव जीवन बचाउनका लागि आश्रयस्थल हुनुपर्छ, मृत्यु र विनाशको दृश्य होइन’ भन्दै हमलाप्रति निन्दा गरेको छ । मेडिकल च्यारिटी डक्टर्स विदआउट बोर्डर्स (एमएसएफ) ले अस्पतालमा भएको हमलाप्रति खेद व्यक्त गरेको छ । “गाजा सहरस्थित अहली अरब अस्पतालमा भएको हालैको बमबारीबाट हामी भयभीत छौँ, अस्पतालका चिकित्सकहरूले बिरामीहरूको उपचार गरिरहेका थिए र विस्थापित गाजावासीलाई आतिथ्यता प्रदान गरिरहेका थिए”, एमएसएफले भनेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ३ : ३८ बजे

पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचन अन्तिम समयमा आएर पुनः

एसिया कप खेल्ने एपिएफका खेलाडीको बिदाइ

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले महिला टी–२० एसिया कपमा

विश्व खाद्यान्न मूल्य जुनमा स्थिर : एफएओ

रोम – विश्व खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुराका चल्ला बरामद

रौतहट – रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा

विश्वासको मत लिँदा ओलीलाई छेक्न सक्लान् प्रचण्डले ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते संसद्बाट