विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक १ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर १८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

गाजाको अस्पतालमा हमला, कसले के भने ?

गाजाको एक अस्पतालमा भएको हमलामा कम्तीमा ५ सय जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । उक्त हमलाप्रति विश्वभर आक्रोश र निन्दा व्यक्त गरिएको छ भने अम्मान, ट्युनिस, बेरुत र तेहरानमा विरोध प्रदर्शनसमेत भएको छ ।

उक्त क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले उक्त अस्पतालमा हवाई हमला गरेको आरोप लगाएको छ । इजरायली सेनाले हमासको आरोपलाई ‘झुट’ भन्दै हमासको सहयोगी इस्लामिक जिहादले प्रहार गरेको रकेट अस्पतालमा बज्रिएको जनाएको छ । उक्त आक्रमणको विश्वभर आक्रोश र निन्दा व्यक्त गरिएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसले गाजाको अस्पतालमा सयौँ प्यालेस्टाइनी नागरिक मारिने गरी भएको हमलाबाट आफू भयभीत भएको बताए ।

उनले हमलाप्रति कसैलाई आक्षेप नलगाई हमलाको कडा भर्त्सना गरे । अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोटबाट आफू आक्रोशित र अत्यन्त दुःखी भएको भन्दै विस्फोटबाट जीवनको भयानक क्षति भएको बताए । उनले उक्त खबर सुन्नेबित्तिकै आफूले तुरुन्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग कुराकानी गरेको जानकारी दिए । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले अहली अस्पतालमा इजरायली बमबारीको कडा शब्दमा भर्त्सना गरे । उक्त हमलाबाट गाजामा प्यालेस्टिनी नागरिकमध्ये सयौँ निर्दोषको मृत्यु भएको उनले बताए । उनले नियोजित रूपमा भएको बमबारी अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन रहेको टिप्पणी गरे ।

मध्यपूर्वको अर्को क्षेत्रीय शक्ति साउदी अरेबियाले नागरिकहरूमाथि इजरायलको निरन्तर हमलाको निन्दा गरेको छ । उसले अस्पतालमा भएको हमलालाई सबै अन्तर्राष्ट्रिय कानून र मान्यताहरूको स्पष्ट उल्लङ्घन रहेको बताएको छ । जोर्डनको विदेश मन्त्रालयको एक विज्ञप्तिमा इजरायलले उक्त हमलाको जिम्मेवारी लिनुपर्ने भन्दै हमलाको कडा निन्दा गरेको छ । त्यसपछि जोर्डनले मध्यपूर्वमा शान्ति स्थापना गर्न अमेरिकी राष्ट्रपति बाइडेन सहभागी हुने एक शिखर सम्मेलन रद्द गर्ने घोषणा गरेको छ र त्यसको जवाफमा बाइडेनले अम्मानको भ्रमण स्थगित गरेका छन् । अम्मानस्थित इजरायली दूतावासमा दर्जनौँ प्रदर्शनकारीले हमला गर्ने असफल प्रयास गरेका थिए । युरोपेली युनियनका विदेश मामिला प्रमुख जोसेप बोरेलले घटनाप्रति खेद प्रकट गर्दै एक पटक पुनः निर्दोष नागरिकले उच्च मूल्य चुकाउनुपरेको बताए । “यो अपराधको जिम्मेवारी स्पष्ट रूपमा स्थापित गर्नुपछ र अपराधीहरूलाई जवाफदेही बनाउनुपर्छ”, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

इरानका राष्ट्रपति इब्राहिम रइसीले बुधबार सार्वजनिक शोक दिवस घोषणा गरेका छन् । उनले अस्पतालमा भएको हमलाको बदला इजरायल र उसको सहयोगी अमेरिकाविरुद्ध लिइने बताए । “गाजाका अस्पतालमा घाइते प्यालेस्टिनी पीडितहरूमाथि आज साँझ खसाइएको अमेरिकी–इजराइली बमहरूको ज्वालामा चाँडै नै यहुदीहरू जल्नेछन्”, राष्ट्रपति रइसीको भनाइ उद्धृत गर्दै इर्ना समाचार समितिले जनाएको छ ।

राति नै तेहरानस्थित बेलायती र फ्रान्सेली दूतावासबाहिर सयौँ प्रदर्शनकारी जम्मा भएका थिए । आफ्नो आक्रोश पोख्न मध्य तेहरानको प्यालेस्टाइन स्क्वायरमा हजारौँ जनता भेला भएका थिए । इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले एक विज्ञप्तिमा ‘आक्रामण’ अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदबाट ‘तत्काल समाधान’ का लागि आह्वान गरे ।

इराकी सरकारले हमलाका पीडितहरूका लागि तीन दिनको शोकको घोषणा गरेको छ । टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले घटनाप्रति खेद व्यक्त गर्दै सबैभन्दा आधारभूत मानवीय मूल्यहीन इजरायली आक्रमणको पछिल्लो उदाहरण रहेको बताए । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “गाजामा यो नृशंस कार्यलाई रोक्न म सबै मानवतालाई आमन्त्रित गर्दछु ।” फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले अस्पतालमा घातक हमला गरेर कुनै पनि कुराले सर्वसाधारणलाई निशाना बनाउनुको औचित्य स्थापित गर्न नसक्ने बताए । “गाजापट्टीमा मानवीय पहुँच खोल्न ढिलो गर्न हुन्न”, उनले भने । इरान समर्थित लेबनानको हेजबोल्लाह समूहले मङ्गलबार गाजापट्टीको अस्पतालमा भएको हमलाको निन्दा गर्न ‘क्रोध दिवस’ मनाउन आह्वान गरेको छ ।

उसले उक्त हमलालाई ‘नरसंहार’ भन्दै हमलाका लागि इजरायललाई दोषी ठहर गरेको छ । “बुधबार शत्रुका विरुद्ध क्रोध दिवस हो”, हमासको सहयोगी हेजबोल्लाहले विज्ञप्तिमा भनेको छ, । उसले हमलालाई नरसंहार र क्रुर अपराधको संज्ञा दिएको छ । बेरुतको उपनगर अवकरस्थित अमेरिकी दूतावासबाहिर सयौँ प्रदर्शनकारी र लेबनानी सुरक्षा फौजबीच झडप भएपछि हेजबोल्लाहको उक्त भनाइ आएको हो । प्रदर्शनकारीहरूले ‘इजराइल मूर्दाबाद’ र ‘अमेरिका मूर्दाबाद’ भन्ने नारा लगाएका थिए । अरब लिगका प्रमुख अहमद अबुल गेटले पश्चिमा मुलुकहरूले यो त्रासदीलाई तुरुन्तै रोक्नुपर्ने बताए । “हाम्रो अरब संयन्त्रले युद्ध अपराधको दस्तावेजीकरण गर्छ र तिनीहरूका अपराधी न्यायबाट उम्किन सक्तैनन्”, उनले चेतावनी दिँदै भने ।

अफ्रिकी युयिननका प्रमुख मुसा फाकी महामतले घातक हमलापछि इजराइलमाथि ‘युद्ध अपराध’ को आरोप लगाए । “सयौँ मानिस मारिने गरी आज गाजाको अस्पतालमा भएको इजराइली बम हमलाप्रति खेद प्रकट गर्न हामीसँग पूरा रूपमा शब्द नै छैन”, इजरायलमाथि अन्तर्राष्ट्रिय कारबाहीको माग गर्दै उनले भने । कतारको विदेश मन्त्रालयले हमलालाई ‘क्रुर नरसंहार’ र “रक्षाहीन सर्वसाधारणविरुद्ध जघन्य अपराध” भनेको छ । एक विज्ञप्तिमा कतारले अहली अरब अस्पतालमा भएको हमलालाई “अन्तर्राष्ट्रिय कानूनका प्रावधानहरूको गम्भीर उल्लङ्घन” र “भिडन्तका क्रममा भयानक वृद्धि” भनेको छ ।

मङ्गलबार ट्युनिसियाको राजधानीस्थित फ्रान्सेली दूतावासबाहिर सयौँ क्रुद्ध प्रदर्शनकारी भेला भएका थिए । उनीहरूले अस्पतालमा भएको हमलाप्रति अमेरिकाको निन्दा पनि गरेका थिए । ‘फ्रान्सेली र अमेरिकीहरू यहुदीका सहयोगी हुन्’ भन्दै प्रदर्शनकारीले नारा लगाएको थिए । प्रदर्शनकारीहरूले दुवै देशका राजदूतहरूलाई फिर्ता गर्न माग गर्दै ट्युनिसियाली भूमिमा अमेरिकी दूतावास रहनु हुन्न भन्ने नारा लगाएका थिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले घातक हमलाप्रति खेद प्रकट गर्दै गाजापट्टीमा नागरिक र स्वास्थ्य सेवाको तत्काल सुरक्षाको माग गरेको छ । “अल अहली अरब अस्पतालमा भएको आक्रमणको डब्लुएचओले कडा भर्त्सना गर्दछ”, डब्लुएचओले एक विज्ञप्तिमा भनेको छ, “अस्पताल चलिरहेको थियो, त्यहाँ बिरामी, बिरामीका हेरालु र आन्तरिक रूपमा विस्थापित मानिसहरूले आश्रय लिइरहेका थिए, प्रारम्भिक रिपोर्टले सयौँको मृत्यु भएको र घाइते भएको सङ्केत गर्दछ ।”

इन्टरनेसनल कमिटी अफ दि रेड क्रस आइसीआरसीले पनि ‘अस्पतालहरू मानव जीवन बचाउनका लागि आश्रयस्थल हुनुपर्छ, मृत्यु र विनाशको दृश्य होइन’ भन्दै हमलाप्रति निन्दा गरेको छ । मेडिकल च्यारिटी डक्टर्स विदआउट बोर्डर्स (एमएसएफ) ले अस्पतालमा भएको हमलाप्रति खेद व्यक्त गरेको छ । “गाजा सहरस्थित अहली अरब अस्पतालमा भएको हालैको बमबारीबाट हामी भयभीत छौँ, अस्पतालका चिकित्सकहरूले बिरामीहरूको उपचार गरिरहेका थिए र विस्थापित गाजावासीलाई आतिथ्यता प्रदान गरिरहेका थिए”, एमएसएफले भनेको छ ।

भारतले मानवयुक्त चन्द्र अभियान सञ्चालन गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने र एक अन्तरिक्ष स्टेसन स्थापना गर्ने भारतको योजना रहेको बताएका छन् । भारतले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ ।

विश्वको सबैभन्दा धैरै जनसङ्ख्या रहेको भारत आफ्नो पहिलो चालकसहितको अन्तरिक्ष मिसनका लागि शनिबार एउटा महत्वपूर्ण परीक्षण उडानका लागि तयार भएको बेला प्रधानमन्त्री मोदीको उक्त घोषणा आएको हो ।

उनले अन्तरिक्ष एजेन्सीका अधिकारीहरूसँग भारतीय अन्तरिक्ष पहलको सफलतालाई अगाडि बढाउनुपर्ने बताए । “सन् २०३५ सम्ममा ‘भारतीय अन्तरिक्ष स्टेसन’ र सन् २०४० सम्ममा चन्द्रमामा पहिलो भारतीय पठाउनेसहित मुलुकले अब नयाँ र महत्वाकांक्षी लक्ष्य बनाउनु पर्छ”, मङ्गलबार अबेर उनले एक वक्तव्यमा भने ।

प्रधानमन्त्री मोदीले चन्द्रमामा ‘मिसनहरूको शृङ्खला’ का लागि योजनाहरूको विकास गर्न अधिकारीहरूलाई आग्रह गरे । भारतले कम बजेटमा अन्तरिक्ष कार्यक्रम सञ्चालन गरेको छ ।

भारत गत अगस्टमा चन्द्रमाको अज्ञात दक्षिणी ध्रुवमा ठूलो स्तरमा आफ्नो यान अवतरण गराउने विश्वको पहिलो देश बनेको थियो । साथै उसले सूर्यको सबैभन्दा बाहिरी भागको निरीक्षण गर्नका लागि एउटा अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

बीआरआई फन्डिङमा एक सय अर्ब डलरभन्दा बढीको घोषणा

चीनले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा एक सय अर्ब अमेरिकी डलरभन्दा बढी नयाँ लगानी गर्ने भएको छ । बीआरआईको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले उक्त घोषणा गरेका हुन् ।

बीआरआई विदेशमा चीनको प्रभाव विस्तार गर्ने राष्ट्रपति सिको केन्द्रीय स्तम्भ हो जसमा बेइजिङले विश्वभर २० खर्ब अमेरिकी डलरभन्दा बढीको सम्झौता गरेको बताएको छ । ग्लोबल साउथमा संसाधन र आर्थिक विकास ल्याउनका लागि समर्थकहरूले यसको सराहना गरेका छन् ।

तर गरिब मुलुकहरूमा यसले ऋणको भारी बोकाउने भन्दै यसको आलोचना पनि हुँदै आएको छ । बीआरआईको प्रमुख ऋणदाता चाइना डेभलपमेन्ट बैंक र एक्स्पोर्ट–इम्पोर्ट बैंकले अतिरिक्त एक सय अर्ब डलर ऋण प्रस्ताव गर्ने राष्ट्रपति सिले बुधबार घोषणा गरे ।

उनले दुवै बैंकले बीआरआई परियोजनाहरूका लागि तीन खर्ब ५० अर्ब युआन (४७ अर्ब ९० करोड अमेरिकी डलर) को वित्तीय अवसर स्थापित गर्ने बताए । उनका अनुसार परियोजनाको आधिकारिक ऋण संस्था सिल्क रोड फन्डमा अर्को ८० अर्ब युआन लगानी गरिने छ ।

सन् २०१३ मा बीआरआई सुरु भएयता बेइजिङले आयोजना गरेको आफ्नो किसिमको यो तेस्रो ठूलो शिखर सम्मेलन हो । सम्मेलनमा एक सय ३० मुलुकका प्रतिनिधि सहभागी भएका थिए ।

इजरायलसँग मिलेर काम गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा सर्वसाधारणको मृत्यु हुन नदिन अमेरिकाले इजरायलसँग मिलेर काम गर्ने बताएका छन् ।

तेल अभिभमा नेतन्याहूको युद्ध क्याबिनेटलाई भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भने, “आफ्ना जनताको रक्षाका लागि काम गर्नका लागि हामी इजरायललाई सहयोग जारी राख्नेछौं । हामी निर्दोष नागरिकहरूलाई थप त्रासदी रोक्नका लागि तपाईं र यस क्षेत्रका साझेदारहरूसँग काम जारी राख्नेछौं ।” तेल अभिभमा नेतन्याहूको युद्ध मामिला हेर्ने उच्चस्तरीय समितिसँग भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भने ।

प्रतिक्रियामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सर्वसाधारणको मृत्यु टार्ने प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए ।

अक्टोबर ७ मा इजरायलभित्र घातक आक्रमण गर्ने र गाजा पट्टीलाई नियन्त्रण गर्ने क्रममा हमासले जानीजानी सर्वसाधारणलाई गरेको र निशानानजिक पुर्‍याएको आरोप लगाएका छन् ।

तर नेतन्याहूले बाइडेनसँग भने, “इजरायलले युद्धमा नागरिकहरूलाई हानिको अवस्थाबाट टाढा राख्न सक्दो प्रयास गर्नेछ ।”

“हामीले उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छौं र हामी उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिरहनेछौं’’ इजरायली प्रधानमन्त्री नेतन्याहूले अमेरिकी राष्ट्रपति बाइडेनसँग भने, “राष्ट्रपति महोदय, न्यूनतम आवश्यकता पूरा भएको सुनिश्चित गर्न हामी तपाईंसँग मिलेर काम गरिरहनेछौं ।”

इजरायली हवाई अभियानलाई उत्प्रेरित गरेको र गाजा पट्टीमा जमीनी आक्रमणको खतरा बढेपछि बाइडेनले इजरायलको ऐक्यबद्धता भ्रमण गर्न लागेका हुन् ।

भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा २०० देखि ३०० जनाको मृत्यु भएको हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूले आक्रमणका लागि इजरायललाई दोषी ठहराएका छन्, जसले अरब विश्वमा आक्रोश फैलाएको छ ।

इजरायलले इस्लामिक जिहादका लडाकूहरूले नै हानेको क्षेप्यास्त्र गलत निशानामा पर्दा अस्पतालमा ठूलो हताहत भएको दावी गरेको छ ।

नेतन्याहूले अस्पतालमा भएको आक्रमणबारे विश्व समुदायले चासो व्यक्त गरेपछि भने, “पूरै विश्व नै आक्रोशित भएको छ । तर यो आक्रोश इजरायलप्रति होइन, आतङ्कवादीहरूप्रति लक्षित हुनुपर्छ ।”

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : १२ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला