नेपाली संगीतका शब्द शिल्पी भैरवनाथ रिमाल | Khabarhub Khabarhub

नेपाली संगीतका शब्द शिल्पी भैरवनाथ रिमाल



गीत संगीतको कुरा गर्दा गायक गायिकाको आवाजको चर्चा हुन्छ। संगीतकारको सङ्गीतको जादु र घनत्वको चर्चा हुन्छ। तर गीतकारको चर्चा कमै हुन्छ। भारतमै फिल्मको गीतहरू प्रसारण गर्दा गीतकारको नाम नभन्ने हो भने हामी गीत दिन तयार छैनौँ भनेर चर्चित गीतरकार साहिर लुधियानवीले आवाज उठाएपछि प्रसार भारतीले बल्ल गीतकारको नाम दिन सुरु गरेको थियो। यो कुरा ५० को दशक पछिको हो। नेपालमा पनि कयौँ गीतकारका गीत चर्चित हुन्छन् तर गीतकारको नाम थाहा हुँदैन। ‘जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ’ नारायण गोपालको स्वर सबैलाई थाहा छ। तर गीतकारको नाम थाहा हुँदैन।

‘उ यात्री एउटा जङ्गली पातमा’ शुभबहादुर सुनामको संगीतमा दीप श्रेष्ठले गाएको लोकप्रिय गीत सबैलाई थाहा छ। तर गीतकारको नाम थाहा हुँदैन। त्यस्तै गीतकारको नाम हो भैरवनाथ रिमाल ’कदम’। उनको पुरा नाम भैरवनाथ रिमाल र ‘कदम’ उपनाम हो।

उनले आफ्नो उपनाम कदम राख्नुमा एउटा तर्क दिएका छन्। उनको उपनामका तीन अक्षरमध्ये ‘क’ को अर्थ करुणा ‘द’ को अर्थ दया र ‘म’ को अर्थ ममता हो। उनले करुणा, दया र ममताको प्रतिकलाई कदमको रुपमा उपनाम राखेका हुन्।

उनका गीतलाई संगीत गर्ने संगीतकारमा भैरवबहादुर थापा, नातिकाजी श्रेष्ठ, नारायण गोपाल , शिव शङ्कर, शुभबहादुर सुनाम, दीप श्रेष्ठलगायत छन् । रिमालका धेरै गीत रेडियो नेपालमा लोकप्रिय भएका छन्। तर उनले चलचित्रको लागि गीतहरू लेखेनन्। उनका गीत अहिलेसम्म चलचित्रमा प्रयोग भएका पनि छैनन्।
अन्य गीतकार किरण खरेल, कालीप्रसाद रिजाल, गोपाल योञ्जन, मबीबी शाह सबैका गीतहरू चलचित्रमा प्रयोग भएका छन्। तर भैरवनाथ रिमालका गीत चलचित्रमा छैनन्।

रेडियो नेपालमा बज्ने गीत मात्र लेखेर उनी बसेको देखिन्छ। कान कम सुन्ने भैरवनाथ रिमाल रेडियो नेपालमा गीत रेकर्ड भएपछि घरमा फर्किएपछि फेरि त्यही गीत ठुलो स्वरमा सुन्ने गर्दथे। गीत सुनेर आफ्नो गीतमाथि विवेचना गर्थे।

यस्तै एउटा संयोग उनको गीतमा भयो। नारायण गोपालले आफ्नो सङ्गीतमा उनको गीत रेडियो नेपालमा रेकर्ड गराए। ‘जुन फुल मैले चाहेको थिए कसैले टिपेछ’। रेडियो नेपालमा रेकर्ड भएर गीत ओके भयो। वाद्यवादक खुशी भए। गायक नारायण गोपाल खुसी भए। सबै घर फर्किए। भैरवनाथ रिमालले त्यो गीत घरमा लगेर ठुलो स्वरमा सुन्दा एक ठाउँमा ‘केवल चाह मुटुमा रह्यो, चोट पारी हुनुपर्नेमा केवल चाहिँ मुटुमा रह्यो चोट पारी भएछ।

यो थाहा पाउने बित्तिकै भैरवनाथ रिमाल गायक नारायण गोपालकोमा पुग्छन्। ‘ओहो महाराज यो गीत यहाँ गल्ती भएछ’ भनेपछि नारायण गोपालले प्रति उत्तरमा भनेछन्, ‘मैले गीत गाएँ। गीत रेकर्ड भइसक्यो, अब गीत चल्छ, यो गल्ती कसैलाई याद हुँदैन।’ उनले भनेजस्तै त्यो गीतमा शब्दको गलत प्रयोग कसैलाई याद भएन। अहिलेका गायक गायिकाले पनि केवल चाहिँ मुटुमा रह्यो चोट पारी नै गाउँछन्।

भैरवनाथ रिमाललाई गीतकारका रूपमा चिनाउने पहिलो श्रेय भैरवबहादुर थापालाई जान्छ। उनले आफ्ना छोरी शान्ति र सङ्गीतालाई गाउन लगाएको गीत होस वा असीम प्रधानको सङ्गीतमा सङ्गीता थापा शाक्यले गाएको गीत होस्। यी र यस्तै धेरै गीतका कारण भैरवनाथ रिमाल परिचित छन्। तर फत्तेमान राज भण्डारीले गाएको गीत ‘नचिने झैँ गरौँ भने’ र ’जिन्दगीका पान भरी ’ गायिका अरुणा लामाले गाएको ‘उदास मेरो जीवन कथा’ भैरवनाथ रिमाल ‘कदम’ का यादगार गीतहरू हुन्।

ती तीनै गीतहरू फत्तेमान राजभण्डारी र अरुणा लामाले गाए पनि त्यो गीतसँगको सम्बन्ध भैरवनाथ रिमाल ‘कदम’को नारायण गोपालसँग छ। यी सबै गीतको सङ्गीतकार नारायण गोपाल हुन्। नारायण गोपालले भैरवनाथ रिमालको गीतलाई सङ्गीत गरेर धेरै मात्रामा फत्तेमान राजभण्डारीलाई गाउन गाउन लगाएका रहेछन्। एउटा गीत अरुणा लामालाई ‘उदास मेरो जीवन कथा कसैलाई भनिन’ गाउन लगाएका थिए।

भैरवनाथका गीतहरू दीप श्रेष्ठको सङ्गीतमा दीप श्रेष्ठ स्वयम्ले पनि गाएका छन्।। ’झस्किदिन्छ मुटु मेरो’, ‘म वन माली’ जस्ता गीत भैरवनाथ रिमालका दीप श्रेष्ठले संगीत गरेका लोकप्रिय गीत हुन्। तर दीप श्रेष्ठ र शुभबहादुर सोनामको सहकार्यमा भैरवनाथ रिमालको एउटा गीतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो। त्यो गीत हो ‘हुँ यात्री एउटा जंगली पातमा’ संगीतकार सङ्गीत संयोजक शुभबहादुर सुनाम कुनै पनि प्रकारले दीप श्रेष्ठसँग एउटा गीतको सहकार्य गर्न चाहन्थे।

शुभबहादुर सुनामले ‘आऊ आऊ मेरो दिलमा तिमी’ बोलको गीत सङ्गीत गरेर दीप श्रेष्ठलाई सुनाए। दीप श्रेष्ठले यस्तो हैन मैले गाउने खालको गीत ल्याइदिनुहोस् भनेपछि यो गीत ओमविक्रम विष्टले तारा थापासँग गाएका थिए। फेरि शुभबहादुर सुनामले भैरवनाथको शब्दमा ‘हुँ यात्री एउटा जङ्गली पातमा’ सङ्गीत गरेर दीप श्रेष्ठलाई सुनाए। त्यो गीत दीप श्रेष्ठले गाएर लोकप्रिय भयो। यो नै दीप श्रेष्ठ र शुभबहादुरको सहकार्य भएको पहिलो र सफल गीत मानिन्छ।

त्यसैगरी भैरवनाथ रिमालको शब्दमा अरुणा थापाले गाएका गीतहरू पनि लोकप्रिय छन्। अरुणा थापाका सबै लोकप्रिय गीतहरू मध्ये एउटा गीत ‘लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो’ शिवरंजनी रागमा आधारित छ। अरुणा थापाको सङ्गीतको यो गीत मदन परियारले सङ्गीत संयोजन र अरुणा थापाको स्वर छ। अरुणा थापाका अन्य धेरै गीत जस्तै यो गीत बज्दा उनका शुभेच्छुकहरू भावुक हुने गर्छन्। यो भैरवनाथ रिमालकै रचना हो।

भैरवनाथको यो गीतपछि फेरि चर्चामा आयो। त्यो गीत हो चन्दन लोम्जेलको सङ्गीतमा चन्दन लोम्जेलकी पत्नी डेजी बराइलीले गाएको ‘भिखारी हुँ हिँड्दछु म सधैँ जंगल चहारी’। यो गीत त्यो समयमा सर्वाधिक लोकप्रिय भयो।

भैरवनाथको गीत गाएपछि डेजी बराइलीको अन्य गीतको गायन शैली भन्दा यो गीतमा फरक शैली देखियो। भैरवनाथका गीतहरूमा सरल शब्द, गहन अर्थ र जीवन र जगतसँग हुने सम्बन्धको प्रतिबिम्ब देखिन्छ। उनले भजन पनि लेखेका छन्। राष्ट्रिय गीत पनि उनले लेखेका छन्।

भैरवनाथ नारायण गोपालका प्रिय गीतकार र मित्र हुन्। त्यस्तै फत्तेमानका पनि प्रिय गीतकार हुन्। धेरै गायक गायिकाले बाबा सम्बोधन गर्ने भैरवनाथ जीवनको अन्तिम कालसम्म पनि गीत सङ्गीतकै सेवामा समर्पित थिए।

भैरवनाथको गीत गाएर आफ्नो यात्रा सुरु गर्ने धेरै गायक गायिकाले उनलाई आफ्नो गुरु वा बाह्रखरी गीतका गीतकारका रुपमा पनि चिन्छन्। कसैलाई अपमान गर्न नजान्ने भैरवनाथ आफूले प्रयोग गरेको करुणा, दया र ममता उपनामको कदम जस्तै शालिन र सभ्य गीतकार हुन्। उनी हामीसँग नभए पनि उनका सबै अजर, अमर गीतहरू हाम्रो कानमा गुन्जिरहन्छन्।

भैरवनाथ रिमालले नेपालमा रहेका संगीतकार सबैसँग सहकार्य गरेको देखिन्छ। अग्रज सङ्गीतकार भैरवबहादुर थापा, नातिकाजी श्रेष्ठ, शिवशङ्कर, नारायण गोपाल, तारादेवी र मधु क्षेत्रीसँग पनि सहकार्य भएको देखिन्छ । तर दार्जिलिङका संगीतकर्मीसँग उनको कमै सहकार्य भएको छ। त्यस मध्येमा चन्दन लम्जेलसँग सहकार्य गरेका छन्। नेपालदेखि दार्जिलिङसम्म प्रसिद्ध मानिएका भैरवनाथ रिमालप्रति हार्दिक श्रद्धाञ्जली।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ७ : ३२ बजे

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज

उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाद्वारा धन्यवाद ज्ञापन

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र

जसपा बैठक : राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका

आचारसंहिता उल्लङ्घन गरेका मिलन लिम्बुलाई आयोगले स्पष्टीकरण सोध्ने

काठमाडौं  – इलाम क्षेत्र नं. २ को उपचुनावमा निर्वाचन आचारसंहिता

आगामी वर्षको बजेट सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको नीति तथा