न सर्दी छ, न गर्मी छ, न वर्षा छ, न घाम छ अपूर्व यो शरतकाल सबैको सुख- धाम छ ।।
कवि शिरोमणि लेखनाथ पौड्यालले भने जस्तो भएन तिहार । आकास खुले पनि मन मुर्झायो । फूल फुले पनि चेली र माइतीका लागि भुइँचालोले कहिल्यै नमेटिने कालो धर्सा कोरिदिएको छ । दाजुभाइको दीर्घ जीवनको कामना गर्न फुलाइएका फूल गलामा नभई अन्तिम बिदाइमा चढ्न पुगे । दशा ग्रहबाट माइती जोगाउन जोहो गरिएका ओखर फोर्न नपाउँदै आँसुले धेरैका रहर बगायो ।
मस्त निद्रामा आमाको काखमा लपेटिएर जीवनरस ग्रहण गरेको बच्चाले जन्मदाता गुमायो । जन्मदाताले कोख गुमाइन । छोराले अभिभावक नामको छानो गुमायो । अभिभावकले सहाराको लौरो गुमाए । दशैँमा ठूलाबडाबाट बीस सय आयुको आशीर्वचन पाएका दर्जनौं बालबालिका चिचिलामै भगवानका प्यारा भए । अझ चुहेको घर टाल्न र सन्तानको मुहारमा खुसी ल्याउन लाहुर पसेकाहरूले त सर्वस्व हारे ।
माया, प्रेम फल्ने, फुल्ने त्यही घर बनाउँदा पसिना बगाउनेको निधारमा आफैँले बोकेको दलिन बज्रिएर प्राण पखेरु उड्यो । बाउ आमा सन्तानको मलामी जानुपर्ने उल्टो यात्रा हिँड्न बाध्य भए । आखिर कहानी सबैको हुन्छ । फरक यति मात्र हो कि कसैले कहानी कलमले लेखिन्छ त कसैको आँसुबाट । जन्म, मृत्यु र भाग्य भगवानको हातमा धर्म, कर्म र इज्जत भने आफूले कमाउने रहेछ ।
सिंह राशि हुनेलाई कुकुरले खेद्छ । ताला व्यापारीको घरमा चोर लाग्छ । पैताला नभिजाई समुद्र पार गर्न सकिएला तर परेला नभिजाई जिन्दगी पार गर्न कठिन छ । हरेक हृदयभित्र दुख लुकेको हुन्छ । कोही रोएर देखाउँछन् त कोही हाँसेर लुकाउँछन । जित, हार आफ्नो सोचमा भर पर्छ । मान्नुभयो हार ठान्नुभयो जित ।
यो कलियुग हो । झूट बोल्नेले मौका, साँचो बोल्नेले धोका र नबोल्नेले सजाय पाउँछ । हातले बाँधेको गाँठो, दाँतले फुकाउनु पर्छ । यदि तपाईं उचाइको सिंढी चढिरहनुभएको छ भने पछाडि छुटेकासंग असल व्यवहार गर्नुस किनकी फर्किदा ती मानिस बाटामा भेटिनेछन् । कुनै बच्चालाई केही उपहार दिनुभएन भने एकछिन रुन्छ तर संस्कार दिएन भने जिन्दगीभर रुन्छ । हिम्मत गरेर अघि बढ्नेको किस्मत बढ्छ । पसिना र आँसु कहिल्यै झूटो हुँदैन किनकी पीडा नभई आँसु झर्दैन र दुख नगरी पसिना बग्दैन ।
खेतमा झुलेका मनोहर पहेँला बाला, बारीमा कोदोका बाला र फापरका झुप्पा, आली र बारीका कान्लामा भट्मास र बोडीका कोसाहरूले प्रकृति शोभायमान भए पनि शोकले जाजरकोट र रुकुम निःशब्द बनेका छन । आफ्नो बगैँचामा राताम्मे मनमोहक हलुवाबेद, पूर्णिमाको जूनको आभा पोखिएजस्ता सर्लक्क अम्बाका दाना, सुन्तला, अमला, ज्यामिर, नासपाती, कागती, केरा, भोगटे, चाक्सीले छर्ने माधुर्यले त्यहाँ कसैलाई छुँदैन । बारीको कान्लामा प्लास्टिकको ओतभित्र जीवन खुम्चिएको छ ।
हिउँदमा लागेको हुस्सुको पर्दा उठाएर हेर्दा कथा व्यथाका अनगिन्ती पहाड हाजिर भएका छन् । आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको देखि बलिया बाङ्गा बाघलाई बुढापाका माघलाई सम्मका मुक्तिहरु ज्यूँ का त्यूँ उपस्थित छन् । सम्भवतः भविष्य भएसम्म आस हुन्छ । आस र त्रासका थुप्रै पात्रो गुजारेका नेपाली फेरि अर्को विवश भीष्म पितामह बनेका छन । न नेता फेर्न सकिन्छ, न छिमेकी । तिनै लाचार भीष्मले हस्तिनापुर छोड्न नसके जस्तो आफ्नो मन सङ्लो बनाउने प्रयासमा दाजुभाइ जुटेका छन ।
हिलोबाट उम्कन हिलोमै नटेकी सम्भव छैन । जसरी कालो चुक घोप्ट्याए जस्तो रात काटेपछि सुन्दर घमाइलो बिहानी आउँछ, त्यसरी नै आँसुमा हाँसो नखोजी सुख्खै छैन । शोकले बढार्ने भइ दिएको भए सम्भवत: मृत्युले जन्मको बाटो सधैँ सधैँका लागि बन्द गर्ने थियो ।
जीवनको स्वाद प्रकृतिसंग छ । बाँच्नुको सार्थकता जीवनको स्वादमा आधारित छ । आज यान्त्रिकताको बढ्दो नियन्त्रीकरणभित्र मान्छे प्रविधिको दास हुँदै गइरहेछ । घडीको सूईसंगै घुम्नुपर्ने आजको मान्छे क्रमशः मान्छेबाट रोबटमा अवतरण भइरहेछ । भावना, कल्पना र संवेदनहीन अवस्थामा बाँचेको मान्छेलाई के भन्ने ? मन विनाको मान्छे र रोबटबीच कति फरक होला ? शायदै यही अवस्थाबाट दिक्क भएर जर्ज ह्यारिसनहरु शान्तिका लागि गंगाको किनारमा गेरु बस्त्रधारी भएर निस्किएका होलान् । म्याडोनाहरु संस्कृत भाषाको सम्मोहनमा लहस्सिएका होलान् । आखिर मान्छेको अर्को नाम भनेकै प्रयोग हो । अझ त्यो भन्दा पर गएर भन्ने हो भने मान्छे गुण र दोषको सम्मिश्रण हो ।
मन परेको त्यही मान्छे आँखामा हाले पनि बिझाउँदैन, तर मन नपरेको मान्छे एक कोश परबाटै एलर्जी हुन्छ । मान्छे त मान्छे नै भयो, एकैदिन जन्मिएका काँडा र फूलले पाउने व्यवहारको अन्तर कस्तो हुन्छ ? संसार आफैँमा सुन्दर छैन, तर त्यसलाई हेर्ने आँखा सुन्दर हुनुपर्छ । खाना हैन, जीब्रोमा स्वाद हुनुपर्छ । आनन्द दृश्यले हैन, मनले ग्रहण गर्नुपर्छ । सृष्टिको नियम उहिले जे थियो, अहिले पनि त्यही छ । चराहरू उडिरहेकै छन् । बादलहरू विभिन्न आकृतिमा विभाजित भइरहेका छन् । आँखाको सिमानाभन्दा विशाल मैदानहरु छन् । त्यही नजिक उठेका हिमालहरू छन् । अझ पहाडलाई पनि उछिनेर उठेका स्निग्ध ध्यानमग्न ऋषि महर्षि बसे झै हिमालयहरू छन् ।
रात खुम्चिदै उज्यालो टेक्न पुग्छ । प्रत्येक दिन बिहान, दिउँसो, साँझका नाममा बालक, युवा र वृद्धको नियति झै खुम्चिन र फक्रिन पुग्छ । दिउँसोको सफा आकास होस् या रातमा आफ्नो वरिपरि तारा जडेर चन्द्रमाको दुधिलो उज्यालोमा आफूलाई आकर्षक बनाउने आकास होस, ती सबै शोभायमान छन् । सृष्टिको रहस्य र सम्पूर्ण सौन्दर्य चारैतिर समेटेर मानिसलाई कति तरंग र भावनाका फूलहरू बर्साइरहेका छन् ।
जति हेर्यो, उति हेरिरहूँ लाग्ने भावुकताको मातले छोएर संवेदनाको तरलतासम्म पुग्ने यस्ता क्षणहरू, सौन्दर्यकृत प्रकृतिका उपहारहरू त्यसै त्यसै नष्ट भइरहेका छन् । ऋतु ऋतुमा हुने परिवर्तन र त्यस परिवर्तनबाट मानिसभित्र छाउने उर्जा प्रकृतिको अजस्र धारा हो, धारा । शिशिरको पतझड, वसन्तको पालुवा, वर्षादको झमझम र शरद्को स्निग्धता कुनै संगीतको कुनै सुरभन्दा कम छैन् । प्रकृतिका यी रस पिउनेको जीवनमा सधैँ नवीन अनुभूतिको आलोक खुलिरहन्छ ।
आशावादीहरुका लागि संसार सुन्दर छ । उसको आँखा शिल्पी बनेर उघ्रिन्छ । महात्मा बनेर चिम्लिन्छ । यो धरा सधैँ नूतन, सनातन, अजर र अमर छ । प्रकृतिको यही इन्द्रेणीमा साहित्य, संगीत र कलाका मुनाहरु पलाइरहन्छन् । यही इन्द्रेणी हो कविता निरन्तर सिर्जना भइरहेछ ।
यही इन्द्रेणी हो संगीत निरन्तर बजिरहेछ । यो कल्पनाको इन्द्रेणी, यो भावनाको इन्द्रेणी र संवेदनाको इन्द्रेणी जुन सधैं सुन्दर र रहस्यमयी छ । यो अनन्त इन्द्रेणी रहेसम्म कविता लेखिइरहन्छ, संगीत बजिरहन्छ र सम्पूर्ण कलाहरु रचना भइरहन्छन् । कविताको आनन्द लिन पनि आफूसँग केही कविता हुनैपर्छ ।
सौन्दर्य पिउन आफूभित्र सौन्दर्य हुनुपर्छ । यन्त्रणाबाट आफू नियन्त्रित आजको मान्छे आफैं निस्सासिएको छ । यत्रो पृथ्वीमा आउने अवसर पाएको मान्छे यति ठूलो पृथ्वीको विचित्रता र अनन्तता हेर्न त परै जाओस् , अब आफ्नै घर आँगनमा फुल्ने र सयपत्रीको सौन्दर्यलाई पनि उ आफूमा आत्मसात् गर्ने संवेदना हराउँदै बाँचेको छ ।
हामीलाई राजनीतिमा बाँडिदै फुर्सद छैन । हामीलाई साम्प्रदायिकतामा विभाजित हुँदै फुर्सद छैन् । हामीलाई आफ्नै स्वार्थ, महत्वाकांक्षा र भौतिक लिप्सामै निरन्तर टाँसिदैमा फुर्सद छैन् । हो, मान्छे अब बाघ भालुबाट हैन, मान्छेबाटै आक्रान्त छ । भोक लाग्दैन, भोजनमा स्वाद छैन । तिर्खा लाग्दैन, पानीमा धीत छैन । निद्रामा नीद छैन, कल्पनाहीन, भावनाहीन मान्छे बाँचेको छ ।
मान्छेका जीवनमा प्रश्न धेरै छन्, तर उत्तर छैन् । भएको उत्तर पनि अपुरो छ । महाभारतमा आफ्नो प्राण अर्पण गर्ने त्यत्रा सैनिकहरूको नाउँ कहाँ छ ? रामायणमा ती सबै दानव र बाँदरहरुको नाम कहाँ छ ? सिंहदरवार बनाउँदा थिच्चिने, मिच्चिने र रातदिन पसिना बगाउने श्रमिकहरूको नाउँ कहाँ छ ? धरहरा बनाउने सयौं कर्मीहरुको नाउँ कहाँ छ ? नाउँ छ त फगत कौरव र पाण्डवहरूको ।
नाउँ छ त फगत राम र रावणको । नाउँ छ चन्द्रशम्शेरको, अनि अमर छन् फगत भीमसेन थापा । तिम्रै इतिहास हेर न एण्डरसन र नेपोलियनको इतिहास जीवित छ । अरु योद्धा कता गए ? हुन पनि इतिहास जित्नेहरुको घोडा हो भन्छन् । सत्य जान्नु, बुझ्नु र भोग्नु भनेको जिन्दगीको असली रसास्वादन हो । सत्य आगो हो, जुन चाहे पनि नचाहे पनि स्वीकार्नै पर्छ ।