आज मंसिर २, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर १८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
बङ्गलादेशमा ‘मिधिली’ चक्रवातका कारण सात जनाको मृत्यु
बङ्गलादेशमा आएको चक्रवात ‘मिधिली’ को प्रभावका कारण ७ जनाको मृत्यु भएको छ ।
चक्रवातले शुक्रबार दिउँसोपछि बङ्गलादेशको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको हो । राजधानी ढाकाबाट करिब ४ सय किलोमिटर दक्षिणपूर्वमा पर्ने कक्स बजार जिल्लामा भारी वर्षाका कारण माटोको घरको पर्खाल भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको स्थानीय सरकारी स्रोतले जनाएको छ ।
दक्षिणपूर्वी चट्टोग्राम र मध्य टाङ्गेल जिल्लामा रूखले किचेर थप तीन जनाको मृत्यु भएको छ । आँधीले तटीय जिल्लाहरूमा बालीनालीमा क्षति पुर्याएको छ भने दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बङ्गलादेशको तटीय क्षेत्रमा शुक्रबार भीषण हावाहुरीका कारण बिजुलीका खम्बा उखेलेपछि विद्युत आपूर्ति बन्द भएको छ ।
चक्रवातले अनुमान गरेभन्दा छिटो भूस्खलन गरेका कारण माझीहरूलाई सुरक्षित आश्रय स्थलमा फर्कन पर्याप्त समय व्यवस्थापन गर्न नसक्दा अनुमानित ३०० मछुवाहरू देशको दक्षिण पश्चिममा रहेको सुन्दरवनमा आश्रय लिन बाध्य भएको विश्वास गरिएको छ ।
स्थानीय अङ्ग्रेजी पत्रिका न्यू एजले शनिबार प्रकाशित गरेको एक रिपोर्टमा ‘बरगुना डिस्ट्रिक्ट फिसिङ ट्रालर ओनर्स एसोसिएसन’ का अध्यक्ष गोलम मोस्तोफा चौधरीलाई उद्धृत गर्दै भनिएको छ, ‘३०० जना मछुवा बोकेका २५ वटा माछा मार्न प्रयोग गरिने साना डुङ्गा गन्तव्यसम्म फर्केका छैनन् ।’
भारतको जम्मु कश्मीरका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार हुँदै
भारतको जम्मु कश्मीरका दुर्गम क्षेत्रमा तीव्र गतिमा स्वास्थ्य सेवा विस्तार भइरहेको पाइएको छ । सामुदायिक स्वास्थ्य केन्द्रका माध्यमबाट भारत सरकारले जम्मु कश्मीरमा स्वास्थ्य विस्तार गरिरहेको छ । जम्मु कश्मीरस्थित राजौरी जिल्लाको कन्डी क्षेत्रमा स्थापित सामुदायिक स्वास्थ्य केन्द्रमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना सेहद कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा प्रदान गरिएको हो ।
यस कार्यक्रमअनुसार स्वास्थ्य जाँच, औषधि, एम्बुलेन्सजस्ता सेवाहरु निशुल्क प्रदान गरिन्छ । भारतीय समाचार संस्था एएनआईका अनुसार कन्डी कोट्रानाका क्षेत्रमा बसोबास गर्ने ८५ प्रतिशत मानिसहरु गरिबीको रेखामुनी रहेका छन् ।
सो क्षेत्रमा बसोबास गर्ने गरिब जनताको स्वास्थ्य सेवाई मध्यनजर गर्दै एक्सरे, ईसीजी, अल्ट्रासाउन्ड, दन्त सेवा र आकस्मिक सेवाहरु उपलब्ध गराइएको छ । कन्डी सामुदायिक स्वास्थ्य केन्द्रमा ब्लक मेडिकल अधिकृतका रुपमा कार्यरत डा। विनोद भटले कन्डी र पिर पञ्जल क्षेत्रमा जाडोयाममा देखा पर्ने समस्यालाई मध्यनजर गर्दै उच्च सावधानी अपनाइएको जानकारी दिए ।
एएनआईसँगको कुराकानीमा उनले अहिले निकै चिसो बढेकाले आफूहरुले स्वास्थ्यकर्मीहरुलाई सावधानी अपनाउन निर्देशन दिएको बताए । उनले पर्याप्त मात्रामा आपूर्ति गरिएकाले चिसो मौसममा पनि स्वास्थ्य उपकरण एवम् औषधिको अभाव नहुने उल्लेख गरे ।
करको दायरा बढाउन पाकिस्तानलाई आईएमएफको आग्रह
अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पाकिस्तानलाई करको दायरा बढाउन आग्रह गरेको छ । आईएमएफले पाकिस्तानी अधिकारीलाई कृषि, घरजग्गा, खुद्रा व्यापारजस्ता क्षेत्रलाई करको दायरामा ल्याउन आग्रह गरेको हो ।
आर्थिक समस्याको सामना गरिरहेको पाकिस्तानका अधिकारीहरुसँगको भेटवार्ताका क्रममा आईएमएफले यस्तो आग्रह गरेको पाकिस्तानको जियो न्युजले जनाएको छ ।
पाकिस्तान र आईएमएफबीच ३ अर्ब डलरबराबरको सम्झौता हुनुअघि आईएमएफले पाकिस्तानलाई करको दायरा बढाउन आग्रह गरेको हो ।
पाकिस्तानको संघीय राजश्व बोर्डले अन्तर्राष्ट्रिय दाताहरुसँग कर संकलन योजनाबारे छलफल गरेको र यसबारे आईएमएफले थप सुझाव दिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ । आईएमएफले कृषि क्षेत्रलाई करको दायरामा ल्याउन पाकिस्तानका प्रान्तीय निकायहरुबाट निश्चित समयसीमाको अपेक्षा गरिएको बुझिएको छ ।
भारतको झारखण्डमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु
भारतको झारखण्ड राज्यको गिरिडीह जिल्लामा शनिबार कार रूखमा ठोक्किँदा ५ जनाको ज्यान गएको छ ।
प्रहरीले दिएको जनाकारीअनुसार दुई बालबालिकासहित १० जना टिकोडिहस्थित विवाह समारोहबाट फर्केर थोरिया गाउँ जाने क्रममा दुर्घटना भएको हो ।
तीव्र गतिमा रहेको गाडी मुफ्सिल प्रहरी चौकी क्षेत्रको बाघमारामा पुगेपछि चालकले नियन्त्रण गुमाउँदा उक्त कार सडकको छेउमा रहेको रुखमा ठोक्किएको हो ।
यस घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई बालबालिकासहित पाँच जना घाइते भएका छन् । शव पोष्टमार्टमका लागि पठाइएको र घटनामा घाइते भएकाहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
अमेरिका र मेक्सिकोका राष्ट्रपतिबीच छलफल
अमेरिकी राष्ट्रपति जो बाइडेन र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरबीच शुक्रबार छलफल भएको छ ।
सो छलफलमा दुई राष्ट्रपतिबीच संयुक्त राज्य अमेरिकामा घातक लागूऔषध फेन्टानिल तस्करी नियन्त्रण गर्न र दुई देशबीचको सीमा भएर उत्तरतर्फ जाने आप्रवासीहरूको बढ्दो संख्यालाई व्यवस्थित गर्न एकसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
‘मेक्सिको र संयुक्त राज्य अमेरिका सँगै उभिएर सँगै काम गरेमा मेरो विचारमा कुनै पनि कुरा हाम्रो पहुँचभन्दा बाहिर छैन,’ अमेरिकी राष्ट्रपति बाइडेनले भने । बाइडेन र लोपेज ओब्राडोरबीचको सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण बन्ने गरेको छ ।
केही हदसम्म फेन्टानिल उत्पादन र पत्रकारहरूको हत्याजस्ता विषयलाई लिएर बाइडेनले मेक्सिकोको आलोचना गर्दै आएका छन् । लोपेज ओब्राडोर अमेरिकी नेतालाई बेवास्ता गर्न डराएको देखिँदैन ।
उनले सुरुमा यो वर्षको एपेक सम्मेलनमा सहभागी नहुने बताए तापनि अन्त्यमा भने मन परिवर्तन गरेका थिए ।
दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते
दक्षिण कोरियाको एउटा अस्पतालमा शनिबार आगलागी हुँदा ३८ जना घाइते भएका छन् ।
योन्हाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सोलबाट करिब २ सय किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित छतले अस्पतालमा शुक्रबार स्थानीय समय अनुसार बिहान ८ बजेर १० मिनेट जाँदा आगलागी भएको थियो ।
बिरामीहरू सहित लगभग ९० उद्धारकर्तामध्ये १४ जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको छ भने समान्य चोटपटक पनि लागेको छ । करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।
घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ ।
च्याट जीपीटीका सीईओ अल्टम्यान बर्खास्त
च्याट जीपीटीका सीईओ शाम अल्टम्यान बर्खास्त भएका छन् ।
च्याट जीपीटी निर्माता ओपन एआईको बोर्ड बैठकले अल्टम्यानलाई सीईओबाट बर्खास्त गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
कम्पनीले माइक्रोसफ्ट ब्याक्ड फर्मको नेतृत्व गर्न सक्षम नभएको उल्लेख गर्दै बर्खास्त गरेको हो । ओपन एआई बोर्डले एक विज्ञप्तिमा भनेको, ‘अल्टम्यानलाई बर्खास्त गर्ने निर्णय अत्यन्तै विचारका साथ लिइएको हो। सावधानीपूर्वक विचार गरेपछि बोर्ड यो निष्कर्षमा पुग्यो कि शाम अल्टम्यान आफ्नो कामको बारेमा स्पष्ट थिएनन् ।’
३८ वर्षीय अल्टम्यानले करिब एक वर्षअघि जीपीटी बनाएका थिए। अभूतपूर्व क्षमता भएको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याटजीपीटीको विमोचनसँगै उनी प्राविधिक संसारमा सनसनी बनेका थिए ।
सिइओको बर्खास्तीपछि ओपन एआईका अध्यक्ष तथा सहसंस्थापक ग्रेग ब्रकम्यानले पनि अध्यक्षबाट राजीनामा दिएको जनाएको छ।
प्रतिक्रिया