मुम्बई– भारतका लोकप्रिय र्यापर हनी सिंह र उनको प्रेमिका टिना थडानीबीच ब्रेकअप भएको छ ।
टिना पेशाले अभिनेत्री तथा मोडल हुन् । उनले कैयौँ प्रोजेक्टमा काम गरिसकेकी छन् । हनी र टिना एक वर्षयता प्रेममा थिए । हनी आफैँमा डिभोर्स भएका पुरुष हुन् । उनको पूर्व पत्नी शालिनी तलवारसँग डिभोर्सको मुद्दा अदालतमा चलिरहेको छ ।
हनी र टिनाले इन्स्टाग्राममा एक अर्कोलाई अनफलो गरेका छन् । उनीहरूले एक अर्काको सामाजिक सञ्जालमा रहेका दुवैको तस्बिर हटाइसकेका छन् । हनी र टिनाले गत वर्षको अप्रिलबाट डेट सुरु गरेका थिए । उनीहरूलाई नजिकबाट जान्नेका अनुसार दुवैको जीवन निकै फरक छ । उनीहरु एकापसमा समझदारीमा नआइरहेको बेला दुवैले सहमतिमा अलग्गिने निर्णय लिएका हुन् । अलग्गिएपछि उनीहरु काममै व्यस्त छन् ।
हालैको एक अन्तरवार्तामा हनीले ब्रेकअपको संकेत गरेका थिए । उनले नयाँ एल्बमको बारे कुरा गर्दै यो संकेत गरेका थिए । ‘मैले मेरो रोमान्टिक एल्बममा निकै परिवर्तन गर्नुपर्यो । किनकि म पहिला प्रेममा थिएँ, अहिले त्यो प्रेम मसँग रहेन’, हनीले भनेका थिए ।
हनीले सन् २०११ मा शालिनीसँग विवाह गरेका थिए । तर उनीहरूले गत वर्ष अलग्गिने निर्णय लिए । हनीले क्षतिपूर्तिस्वरुप शालिनीलाई एक करोड रुपैयाँ पनि दिनुपर्यो । तलवारले हनीमाथि घरेलु हिंसा र अर्की महिलासँग शारीरिक सम्बन्धको आरोप लगाएका थिए ।
प्रतिक्रिया