भ्रष्टाचार प्रकरणमा संलग्न कसैलाई पनि उन्मुक्ति दिइने छैन : गृहमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

भ्रष्टाचार प्रकरणमा संलग्न कसैलाई पनि उन्मुक्ति दिइने छैन : गृहमन्त्री श्रेष्ठ


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार प्रकरणमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् । बुधबार काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा खबरहब, रेडियो क्यान्डिड र इस्टिच्युट फर सोसियो इकोनोमिक एण्ड स्ट्राटेजिक स्टडिज (आईएसएसआर) ले आयोजना गरेको ‘सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले कुनै पनि प्रकरणका दोषीलाई उन्मुक्ति नदिइने बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको भन्दै तथ्य र प्रमाणका आधारमा दोषी कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका हुन् ।

उनले अहिले व्यक्तिभन्दा पनि तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको जिकिर गरे । त्यस्तै श्रेष्ठले राष्ट्र र जनताविरुद्ध भएका कामको प्राथमिकताका आधारमा अनुसन्धान अघि बढाइने पनि जानकारी दिए । उनले राजनीतिलाई सफा नगरेसम्म मुलुक परिवर्तन हुन नसक्ने भएकाले राजनीतिक नेतृत्वबाटै परिवर्तनको सुरुवात हुनुपर्ने जिकिर गरे । कार्यक्रममा उनले मुलुकमा नकारात्मक चर्चा गर्ने संस्कृति मौलाएको बताउँदै नकारात्मक चर्चा गर्नेभन्दा देशलाई समृद्ध र सभ्य बनाउनेतर्फ काम गर्नुपर्ने उल्लेख गरे ।

गृहमन्त्री श्रेष्ठले हालै एक अन्तर्राष्ट्रिय अखबारमा नेपाल असफल राष्ट्र बन्नेतर्फ उन्मुख रहेको भन्ने समाचार आएकोबारे टिप्पणी गर्दै देशलाई सफल र समृद्ध बनाउन अझै सम्भव रहेको बताए । उनले देशबाट युवाहरुको पलायन संस्कृतिजस्तै बन्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै पलायनले संस्कृतिकै स्वरुप लिन थालेको प्रति सचेत हुनुपर्ने उल्लेख गरे । गृहमन्त्री श्रेष्ठले युवाहरुको विदेश पलायनले संस्कृतिको स्वरुप लिए त्यसलाई सुधार गर्न कठिन हुने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नेपाली सेनाका पूर्वउपरथी बिनोज बस्न्यातले राजनीतिक अस्थीरताका कारण देशमा सुशासन हुन नसकेको धारणा राखे । उनले केही समयअघि एकजना सांसदले सेनाको सङ्ख्या घटाउनुपर्ने भन्ने अभिव्यक्ति दिएको औँल्याउँदै राजनीतिक नेतृत्वमा रणनीतिक सोचको अभाव रहेको समेत टिप्पणी गरे ।

भ्रष्टाचार प्रकरणमा संलग्नलाई अनुसन्धान एवम् कारवाहीको दायरामा ल्याउने गृहमन्त्रीको कदमको स्वागत गर्दै पूर्वउपरथी बस्न्यातले देशमा संस्थागत भ्रष्टाचार बढिरहेको र यो ठूलो चुनौतिका रुपमा रहेको जिकिर गरे । उनले कुनै बैंकले आफ्ना ग्राहकलाई केही घण्टामै कार्ड उपलब्ध गराउने भएपनि सरकारले दिने राष्ट्रिय परिचयपत्र वा सवारी चालक लाइसेन्सका लागि भने धेरै लामो समय कुर्नुपर्ने अवस्था रहेको बताएका थिए ।

कार्यक्रममा राजनीतिक विश्लेषक हेमन्त सेढाईले भ्रष्टाचारको जरो नै काट्नुपर्ने टिप्पणी गरे । भ्रष्टाचार प्रकरणमा कोही पक्राउ पर्नेबित्तिकै प्रमुख तीन दलका शीर्ष नेताहरुले भेट गरिहाल्ने अवस्था आएकोतर्फ इङ्गित गर्दै सेढाईले भ्रष्टाचारमा सर्वदलीय सहमति भएको टिप्पणी गरे ।

भ्रष्टाचारमा संलग्न शीर्षहरुलाई नै कारवाही हुनुपर्ने उनको जिकिर थियो । उनले कर्मचारीतन्त्रमा राजनीति हावी हुँदै गएको भन्दै कर्मचारीहरुमा हाजीर गर्दै टाप कस्ने (हाटा) प्रवृत्ति बढेको उल्लेख गरे । उनले यसको नियन्त्रणका लागि कर्मचारीतन्त्रमा रहेको ट्रेड युनियनहरु खारेज गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा नेपाल प्रहरीका पूर्वउपरीक्षक रवीन्द्र रेग्मीले प्रहरीलाई स्वतन्त्रतापूर्वक कार्यसम्पादन गर्ने र जवाफदेही बनाउनेतर्फ सरकारले कदम चाल्नुपर्ने उल्लेख गरे । उनले प्रहरीलाई जनमुखी बनाउने हिसाबले प्रहरी ऐन ल्याउनुपर्ने धारणा राखे ।

त्यसैगरी, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईंले पछिल्लो समय सामाजिक सञ्जालका कारण समाजमा विकृति बढेको टिप्पणी गरिन् । उनले आजकल सञ्चारमाध्यममा आएका समाचार पत्याउनै गाह्रो पर्ने गरेको भन्दै सामाजिक सञ्जालका कारण मानिसहरुमा नकारात्मकता बढेको टिप्पणी गरिन् ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य कुसुम महर्जनले देशमा नीतिगत भ्रष्टाचार भन्दा नैतिकताको भ्रष्टाचारको विकराल समस्या रहेको उल्लेख गरिन् ।

कार्यक्रममा आईएसएसआरका अध्यक्ष नरेश श्रेष्ठ, राजनीतिक विश्लेषक सौरभराज पन्त, अध्येता सुदन ओलीसँगै राजनीतिक दलका प्रतिनिधि, पूर्वकर्मचारीहरु, सामाजिक अभियन्ता, बुद्धिजीवि एवम् पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ९ : २५ बजे

आज २०८१ साल असोज १८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज १८ गते शुक्रबार तदनुसार

त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि क्यानडाले जित्यो

काठमाडौं – त्रिकोणात्मक टि-२० सिरिजको उपाधि क्यानडाले जितेका छ। क्यानडाको

पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण

बाढीले पुल बगाएका स्थानमा फड्के निर्माण

पाँचथर – यही असोज १२ गते आएको बाढीले पुल बगाएका

इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण

बेरुत – इजरायली सेनाले बिहीबार लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा