ब्रेकिङ स्टोरी

नेपाली चलचित्र ‘आदर्श नारी’

By खबरहब

August 19, 2023

नेपालबाट सिनेमा बनाउनेक्रम पञ्चायतकालमा राष्ट्रिय निर्देशन मन्त्रालय अन्तर्गत प्रचारप्रसार डिभिजनलाई प्राप्त भयो। यसले बनाएका हिरासिंह खत्रीका तीन सिनेमापछि शाही नेपाल चलचित्र संस्थानबाट फिल्म बनाउने अर्को प्रहर सुरु भयो।

शाही नेपाल चलचित्र संस्थानले चलचित्र बनाउने क्रममा पहिलो निर्देशकका रूपमा प्रकाश थापालाई अनुबन्धित गर्याे। ‘मनको बाँध’ नामक फिल्म बनायो। त्यसपछि शाही नेपाल चलचित्र संस्थानले पहिलो रङ्गिन चलचित्र ‘कुमारी’ बनायो। त्यसपछि ‘सिन्दुर’, ‘जीवन रेखा’, ‘के घर के डेरा’ लयागतका फिल्म बनायो।

शाही नेपाल चलचित्र संस्थान हुँदाहुँदै नेपालमा निजी क्षेत्रबाट फिल्म बनाउने क्रम जब सुरुभयो। त्योबेला तीन वटा फिल्मको घोषणा भयो। सुजता फिल्मसको जोनी, हेम्स एक्पेरिमेन्टल मुभिजको ‘आदर्श नारी’ र बिएस थापाद्वारा निर्देशन गर्न लागिएको ‘कान्छी’। यी तीन फिल्म मध्ये ‘आदर्श नारी’ हेम्स एक्पेरिमेन्टल मुभिज अर्थात् हेम्सको पहिलो मुभी थियो। यस फिल्मका निर्देशक हेमबहादुर लामा (हेम लामा)।

बर्माबाट आएका एक सुसूचित नेपाली, जो यहाँ प्याकर्स मुभर्सको अर्थात् ‘युनिभर्सल्स प्याकर्स मुभर्स’ नामक एउटा व्यावसायिक कम्पनी चलाएर बसेका थिए। उनले आफ्ना भाइहरू मनोज पाख्रिन र बिपी पाख्रिनको सहयोगमा ‘आदर्श नारी’ को कथा, पटकथा र संवाद लेखन सुरु गरे।

जीवनमा निर्देशनको कुनै अनुभव नभएका हेम लामाले कलकत्ताबाट बङ्गाली क्यामेराम्यान मगाएर आदर्श नारीको छयांकन सुरु गरे। यो फिल्मका लागि उनले नायकका रुपमा आफ्ना छोरा विजय जेम्स लामा र नायिकाका रूपमा अंशुमाला शाहीलाई चयन गरे।

यो फिल्म बन्नुभन्दा अगाडि फिल्मका नायकका रूपमा विजय लामा भए पनि नायिकाका रूपमा सविता चाम्लिङ चयन भएकी थिइन्। तर सविता ताम्लिङ अभिनयको अभ्यास गर्दागर्दै उनको क्षमता नदेखिएपछि उनको ठाउँमा धीरेन्द्र शाहीकी छोरी अंशुमाला शाहीलाई चयन गरियो।

नायिका अंशुमाला शाहीको वास्तविक नाम सुष्मा शाही भए पनि फिल्ममा उनले अंशुमाला शाही प्रयोग गरिन् किनभने यो भन्दा अगाडि उनले ‘मनको बाँध’, ‘परिवर्तन’, ‘कान्छी’ जस्ता फिल्मबाट सुष्मा शाहीबाट अभिनेत्रीका रुपमा स्थापित भइसकेकी थिइन्।

यस फिल्ममा अंशुमाला शाही, विजय लामाका साथमा अन्य कलाकार खगेन्द्र सुब्बा याक्सो, पुनम लामा, उज्ज्वल घिमिरे र बाल कलाकारका रूपमा सन्नी रौनियार र हनी रौनियार दिदीबहिनीले अभिनय गरेका थिए।

सन्नी रौनियार १९ वर्षपछि गएर ‘प्रेम पिण्ड’ नामक फिल्ममा नायिकाको रूपमा आइन्। यस फिल्मका प्राय कलाकारमध्ये उज्ज्वल घिमिरेले पनि पछि प्रकाश थापाको फिल्म ‘सन्तान’मा खलनायको रूपमा अभिनय गरे। पछि उनी गोठालो फिल्मबाट निर्देशका रूपमा मैदानमा आए। उनले राम्रा फिल्महरू पनि बनाए। नेपालमा निर्देशनको राम्रो कलाकर्मीका रुपमा उनलाई लिइन्छ।

‘आदर्श नारी’मा गीतकारका रूपमा मनोज लामाले लेखे। सङ्गीतकारका रूपमा मदन परियारले संगीत गरे। मदन परियारले यसमा गायक गायिकाका लागि तारा थापा, प्रकाश श्रेष्ठ, भक्तराज आचार्यलगायत धेरैलाई चयन गरेका थिए। गीत सिक्ने क्रममा वा अभ्यास गर्ने क्रममा निर्माता हेम लामा र गायक भक्तराज आचार्यबीच मनमुटाब भयो। हेम लामाले भक्तराज आचार्यलाई फिल्मबाट निष्कासन गरे।

यो निष्कासनको विरोधमा आचार्यले गोरखापत्रमा सम्पादकलाई लामो चिठी लेखे। त्यो इतिहासको पानामा सुरक्षित छ। यस फिल्ममा आचार्यले गाउने भजन गीतपछि अर्कै कलाकारले गाए। नायक र नायिकाका निम्ति पाश्र्व गायक रूपमा प्रकाश श्रेष्ठ, तारा थापाले मदन परियारले सङ्गीत गरेको गीत गाए।

मदन परियार यस फिल्मको निम्ति सङ्गीतकारको रूपमा आउँदा रेडियो नेपालमा सङ्गीत संयोजनमा लामो समय काम गरेको अनुभव थियो। बम्बईमा गएर आरडी वर्मनसँग सङ्गीतकर्मीका रूपमा काम गरेको अनुभव थियो। उनले मनोज लामाको सङ्गीतमा ‘ए मेरो देश’, ‘यो खुसीको मौसममा’, ‘मेरो देश यहाँको धर्ती’ जस्ता गीतहरू सङ्गीत गरे। यो चलचित्रका गीतहरू त्यति लोकप्रिय भएनन्। तर गीतलाई मदन परियारले न्याय गरेको पाइन्छ।

यस फिल्ममा नृत्य निर्देशका रूपमा सुरेश मिश्र र मिना मिश्रले संयुक्त रूपमा काम गरेका छन्। सुरेश मिश्र चलचित्रको पर्दामा नृत्य निर्देशका रूपमा पहिलो पटक आएका थिए। यद्यपि उनी पहिला वसन्तजङ्ग रायमाझीका सहायकका रूपमा पनि काम गर्थे भने नेपालमा सुटिङ भएको देवान्दको फिल्म ‘हरे राम हरे कृष्ण’ फिल्ममा ‘दम मारो दम’ गीतमा नृत्य गरेका थिए।

सुरेश मिश्र यो चलचित्रमा नृत्य निर्देशका रूपमा आउँदा काठमाडौँको पाँचतारे होटलमा सांस्कृतिक समूहको प्रतिनिधित्व गरेर काम गरिरहेका थिए। सुरेश र बिना मिश्रको टोलीको यस फिल्ममा गीतहरूको छायांकन महेन्द्र पुलिस क्लब, जावलाखेलको महेन्द्र युवालय गरेर विभिन्न ठाउँमा भएको थियो।

यस फिल्मका विभिन्न सहयोगीका रूपमा बिपी पाख्रिनले पनि भूमिका निर्वाह गरेका थिए। द्वन्द्व निर्देशका रूपमा यस फिल्ममा पहिलो पटक उदयसिंह बोहोरालाई लिएको थियो।

बम्बईमा कार्यरत उदयसिंह बोहोरा यो फिल्ममा द्वन्द्व निर्देशका रूपमा काम गर्न नेपाल आएका थिए। नेपालमा नेपाली फिल्मका लागि द्वन्द्व निर्देशका रूपमा काम गर्न बम्बईबाट आउने पहिलो व्यक्ति गोपाल भुटानी थिए भने दोस्रो व्यक्ति उदयसिंह बोहोरा हुन। बोहोराले यस फिल्ममा फाइटहरु कम्पोस्ट गरेका थिए। यो एक हिसाबले नयाँ र नव प्रवेशीहरुको यादगार फिल्म थियो।

यसमा नायिकाको रूपमा अभिनय गरेकी अंशुमाला शाहीले यसपछि निर शाहद्वारा निर्देशित २५ वसन्तमा अभिनय गरिन् भने टेलिभिजनमा केही टेलिसिरियलमा पनि अभिनय गरिन। साहित्यमा धेरै ध्यान दिने उनी सहित्यकार शङ्कर लामिछानेका निबन्धहरू खुब मन पराउँछिन। उनको विवाह नेपालका टेलिभिजनको एक प्रस्तोता विजय कुमारसँग सम्पन्न भयो। अंशुमालाई शाही सम्भावना हुँदा हुँदै पनि चलचित्रबाट पलायन भइन।

आदर्श नारी बनाएपछि हेम लामाले अर्को फिल्म ‘भाग्यचक्र’ बनाउन घोषणा गरे। तर कुनै कारणवश यो बन्न सकेन। यद्यपि लामाले निर्देशका रूपमा प्रकाश थापालाई अनुबन्धन गर्ने कुरा गरेका थिए। तर भाग्यचक्रको निर्माणको पहल सुरु नै नभई ओझेलमा पर्याे।

आदर्श नारी लामाको लागि महत्त्वपूर्ण फिल्म थियो किनकी आफ्नो छोरालाई यसमा ब्रेक दिएका थिए। यो उज्ज्वल घिमिरेको लागि महत्त्वपूर्ण फिल्म थियो। किनकी उनका समकालीन मित्रहरू रवीन्द्र खड्का ‘बदलिँलो आकाश’मा एउटा भूमिकामा आइसकेका थिए। त्यसैगरी अन्य उनका कालाकार साथीहरू निर शाहसँग कुनै फिल्मसँग आबद्ध भइसकेका थिए।

यस फिल्म खलनायकका रूपमा अभिनय गरेका खगेन्द्र सुब्बा याक्सु हुन्। जो राम्रो अभिनय र व्यक्तित्व भएर पनि पर्दामा आउन सकेनन्। उनका केही फोटोहरू स्टुडियोमा टाँसिएका हुन्थे। तर चलचित्रमा उनलाई सकैले दाहोर्याएनन्।

आदर्श नारीमा सङ्गीत गरेपछि मदन परियार पनि दोहोरिएर कुनै फिल्ममा आएनन्। उनका पिता गोफ्ले परियार पनि नेपालका वरिष्ठ वाद्यवादक हुन्। उनकी छोरी सपनाश्री पनि कुशल गायिका हुन्। तर उनले आदर्श नारीपछि कुनै ठुलो पर्दाको फिल्म बनाउने मौका पाएनन्।

आदर्श नारी मा अभिनय गरेकी एक बाल कलाकार सन्नी रौनियार मात्र नेपाली चलचित्र ‘प्रेम पिण्ड’, ‘दैव संजोक’मा नायिकाका रूपमा आइन्। पछि उनी पनि चलचित्रबाट पलायन भइन्।

नेपालमा प्राइभेट क्षेत्रबाट सिनेमा बन्न सुरु हुँदा एउटा जोस–जाँगर र उत्साह लिएर आएका हेम लामाले बनाएको या पहिलो फिल्म धेरै नव प्रतिभाको लागि उत्साहको झलक थियो। तर काल, सन्दर्भ र समय फरक हुँदै गएपछि यसका नायक पनि चलचित्रबाट टाढा भएर विमान चालकको रूपमा अध्ययन गर्न अमेरिकाको टेक्सस पुगे। उनी चलचित्रबाट १२ वर्ष हराए। पछि उनी कोसेली नामक फिल्मबाट आए।

यस फिल्ममा नायिकाका रूपमा पहिलो पटक चयन भएकी सविता चाम्लिङले अभिनय छोडेर गायनमा केही यात्रा गरिन्। सिके रसाइलीका सङ्गीतमा केही गीत गाएपछि सङ्गीत पनि छोडिन्।

यस फिल्मका गीतकार मनोज लामाले पछि भारत पाकिस्तान बङ्गलादेशका संयुक्त लगानीका चलचित्रमा केही गीत लेखे। पछि उनी पनि गीति क्षेत्रबाट हराए। विभिन्न कोणबाट हेर्दा सफल र सार्थक सिद्ध भएको अभियान यो पहिलो फिल्मबाट तुहिएको आदर्श नारी नै हो। योसँगै बनेका अन्य दुई फिल्महरू कान्छीका निर्माताले फिल्म बनाइरहे। जुनीका निर्माताले पनि फेरि फिल्म बनाए। तर आदर्श नारीका कुनै पनि निर्माता र सङ्गीतकारहरू दोहोरिएर आएनन्। गायक र गायिका प्रकाश श्रेष्ठ र तारा थापाले पछिसम्म गीतहरू गाए।

प्रकाश थापालाई यो फिल्मपछि धेरै गीतहरू गाउने मौका मिल्यो। जसमध्ये ‘अर्को जन्म’, ‘बदलिँदो आकाश’सँगै नेपाल र भारतबाट बनेका धेरै फिल्ममा उनले गीत गाए।

आदर्श नारी नेपालबाट बनेको निजी क्षेत्रको पहिलो लहरको तेस्रो फिल्म हो। जसमा अभिनय गरेका दुई कलाकार मिना श्रेष्ठ र मोहन निरौला पछि पनि चलचित्र जगतमा सक्रिय रहे। तर अन्य केही कलाकार हराए। आदर्श नारीको चर्चा यत्तिनै निर्देशक हेम लामाको २०७८ सालमा निधन भयो। उहाँ प्रति हार्दिक श्रद्धाञ्जली।