किन गायब हुन्छन् चिनियाँ नेता, सैन्य अधिकारी र अर्बपति ? | Khabarhub Khabarhub

किन गायब हुन्छन् चिनियाँ नेता, सैन्य अधिकारी र अर्बपति ?



चिनियाँ रक्षामन्त्री ली साङ्फू बेपत्ता छन्। चिनियाँ नेता सी चिन फिङप्रति वफादार ठानिएका अनि मन्त्रीस्तरीय वरीयता भन्दामाथि रहेका पाँच जना चिनियाँ स्टेट काउन्सिलर मध्येका एक प्रभावशाली सदस्य तत्कालीन चिनियाँ विदेशमन्त्री चिन गाङ बेपत्ता भएको केही महिनापछि नै बेपत्ता भएका दोस्रो वरिष्ठ अधिकारी हुन्।

निरन्तर वरिष्ठ राजनीतिक तथा सैन्य अधिकारी हराउन थालेपछि वरिष्ठ अमेरिकी कूटनीतिज्ञ राहम एमानुएलले प्रश्न उठाएका छन्। चिनियाँ रक्षामन्त्री ली साङ्फू तीन सातादेखि कतै देखिएका छैनन्। रक्षामन्त्री लीको अकस्मात भियतनाम भ्रमण रद्द गरेको समाचार बाहिर आएपछि अमेरिकी कूटनीतिज्ञ राहम एमानुएलले प्रश्न उठाए पनि बेइजिङले कुनै प्रतिक्रिया जनाएको छैन। यही बीचमा राष्ट्रपति सी प्रशासनले कैयौँ उच्च पदस्थ सैनिक अधिकारी सम्भावित सैन्य विद्रोह टार्न पदबाट बर्खास्त गरेको दाबी अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ।

चिनियाँ विदेशमन्त्री गाङको अवस्था अज्ञात रहेकै बेला, ली साङ्फू बेपत्ता हुनुले उनलाई पदबाट बर्खास्त गरिसकिएको आशंका गरिएको छ। जनरल लीको बारेमा चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ताले आफू ‘उक्त परिस्थितिबारे जानकार नरहेको’बताएकी छन्।

चीन सरकारले गएको महिना देशको रकेट प्रणाली सम्बन्धी फौजका दुई जना जर्नेललाई विनाकारण कारबाही गरेपछि सेनाभित्र तिव्र असन्तुष्टि बढेको ठानिएको थियो। यही असन्तुष्टि र सम्भावित विद्रोहको घानमा सैनिक अदालतका अध्यक्षसमेत परेका छन्। उनलाई पनि नियुक्तिको केही महिना मै पदबाट हटाइएको थियो। उनीहरु सबैलाई घरमै नजरबन्दमा राखिएको आरोप लागि रहेको छ।

यस्तो छ बेपत्ता श्रृंखला
गएको मंसिरमा चिनियाँ पूर्व टेनिस खेलाडी पेङ सुआइले चिनियाँ कम्युनिष्ट पार्टीका भूतपूर्व प्रान्तीय नेता एवं पूर्व उप–प्रधानमन्त्री झाङ गाओलीमाथि जबर्जस्ती यौन सम्पर्क गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा एक पोष्ट गरेकी थिइन्। तर चिनियाँ इन्टरनेटमा हंगामा मच्चाएको वेइबोमा रहेको उनको पोष्ट तत्काल हटाइयो। खुलापत्रको रुपमा लेखेको उक्त पोष्टमा झाङले आफू र उप–प्रधानमन्त्री झाङ कम्तीमा १० वर्षसम्म सम्बन्धमा रहेको उल्लेख गरेकी थिइन्। तर उक्त पोष्ट लगत्तै उनी बेपत्ता भइन्। त्यसको एक सातापछि स्टार टेनिस खेलाडी पेङ सुआईले आफूमाथि कसैले यौन दुर्व्यवहार नगरेको सिंगापुरको एक पत्रिकामा बयान दिइन्।

यो बीचमा सार्वजनिक रुपमा चिनियाँ उच्च नेतृत्वमाथि प्रश्न उठाउने अरु थुप्रै ‘हाइ प्रोफाइल’ लाई चीन सरकार वा कम्युनिस्ट नेतृत्वले गायब पारेको छ। बेपत्ता पारिएका वा अपहरणमा परेका सेलिब्रिटी, हाइप्रोफाइल व्यक्ति वा कलाकारको सूचीमा पर्ने चिनियाँ कलाकार एई वेइवेइ लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको वकालत् गर्ने र चीन सरकारको आलोचना गर्ने व्यक्ति हुन्। जो २०११ मा बेइजिङमा पक्राउ परे र ८१ दिन उनलाई विनाकारण कारागारमा थुनियो। यो घटनापछि चीन सरकारले उनको पासपोर्टसमेत खारेज गरेको थियो। लामो समय कडा निगरानीमा राखिएका उनी हाल भागेर बेलायत पुगेका छन्।

अर्बपति फिल्मस्टार तथा पप गायिका झाओ गएको अगस्टमा सार्वजनिक जीवनबाट यसैगरी गायब भइन्। युवालाई भड्काउने वा कम्युनिस्ट पार्टीको आदर्शबाट टाढा लैजाने काम गरेको भन्दै सरकारले उनको अनलाइन प्रस्तुति, फिल्म र टिभी शोमा प्रतिबन्ध लगायो। त्यसपछि झाओ नजरबन्दमा परिन्। पूर्वी चीनस्थित आफ्नै गृहनगरमा सीमित उनको अहिलेको जीवनशैली अज्ञात छ।

सी प्रशासनको प्रतिशोधको राजनीतिक घानमा पक्राउ परेका पूर्व सहायक मन्त्रीसमेत रहेका नेता हुन् मेङ होंगेइ। २०१६ मा इन्टरपोल प्रमुखको रुपमा चुनिएपछि विश्वभर चर्चामा आएका थिए। उनी २०१८ मा चीन भ्रमणकै क्रममा चीनबाट बेपत्ता पारिए। चिनियाँ राष्ट्रपति सीको भ्रष्टाचार विरोधी अभियानका सारथि भनिएका उनी सीको राजनीतिक शत्रुहरूको शुद्धिकरण अभियानमा प्रयोग भए। तर सन् २०२० मा घुस खाएको आरोपमा चिनियाँ कम्युनिस्ट पार्टीले कारबाही मात्र गरेन १३ वर्ष जेल सजाय तोक्यो। उनी अहिले जेलमा छन् भने उनकी पत्नी ग्रेस आफ्ना दुई सन्तानसहित फ्रान्समा शरण लिएर बसेकी छन्।

यही प्रतिशोधको घानमा परेका हङकङ केन्द्रित प्रकाशक तथा पुस्तक व्यापारी गुइ मिनहाइ सन् २०१५ को अक्टोबरमा थाइल्याण्डबाट गिरफ्तार भए। चिनियाँ मूलका स्वीडिस नागरिक गुइ चिनियाँ राजनीतिक सम्भ्रान्तको विवादास्पद जीवन शैलीबारे पुस्तक प्रकाशन गरेकै कारण पटकपटक पक्राउ परेका थिए। अहिले उनी कसैको सम्पर्कमा छैनन्।

प्रभुत्व कायम राख्ने र नामेट पार्ने खेल
हङकङको मिङ पाओ समाचारपत्रका अनुसार, अहिले चीनका रक्षामन्त्री हराएपछि बेपत्ता चिनियाँ नेता तथा पदाधीकारीको विषय फेरि चर्चामा आएको छ। किनकी, विदेशमन्त्री चिन हराएको विषयमा चित्तबुझ्दो जवाफ दिन नसकेको बेइजिङले नवगठित रकेट फोर्सका प्रभावशाली जनरललाई पनि अहिले नजरबन्दमा राखेको छ।

यो शिलशिला कहाँ पुगेर रोकिन्छ भन्न सकिन्न। राष्ट्रपति सीले सन् २०१४ र २०१५ मा पूर्व सिएमसी भूतपूर्व उपाध्यक्ष सु काइहोउ र पूर्व पीएलए जेनेरल गुओ बोसीयोङलाई भ्रष्टाचारको आरोप लगाएर हिरासतमा थुनेपछि सुरु भएको यो श्रृंखलामा धेरै प्रभावशाली नेता परिसकेका छन्।

पहिले नै सेवा निवृत्त भइसकेका नेतालाई निशाना बनाएर सीले चिनियाँ जनमुक्ति सेनामा कायम रहेको ठानिएको भूतपूर्व चिनियाँ नेता जियाङ जेमिनको प्रभावलाई कम गराएका थिए।

अहिले चीनमा चलिरहेको सैन्य तथा राजनीतिक व्यक्तित्त्व निशानामा पर्ने श्रृंखला यस्तै प्रभुत्व कायम राख्ने तथा प्रभुत्त्व नामेट पार्ने खेल हो। पेन्टागनद्वारा अनुदान प्राप्त नेशनल डिफेन्स युनिभर्सिटीका सिनियर फेलो जोअल वुथ्नोले भनेका छन्, ‘पछिल्ला घटनाले सीको नियन्त्रणको प्रतिरोध गर्ने सैन्य अधिकारी कोही पनि कष्टमुक्त छैनन् भन्ने प्रष्ट हुन्छ।’

रक्षामन्त्री अथवा विदेशमन्त्री एकाएक बेपत्ता हुनुले, प्रतिरोध गर्ने जो कोहीलाई जुनसुकैबेला नियन्त्रणमा लिएर कारबाही चलाउन सकिन्छ भन्ने सन्देश राष्ट्रपति सीले दिइरहेका छन्।

उनले सन् २०१५ मा कर्मचारी, राजनीति, रसद र हतियारसम्बन्धी चार वटा सैन्य मुख्यालयलाई खारेज गरेर १५ साना एजेन्सीमा परिवर्तन गरेपछि निरन्तर सेनाको संरचना परिमार्जन गरिरहेका छन्। सैन्य अधिकारीमाथि निगरानी बढाइरहेका छन्।

वित्तीय लेखा परीक्षक समेत सिएमसी मातहतमा रहने भएपछि प्रतिकुलका व्यक्तिलाई भ्रष्टचारजन्य कसुर लगाएर हिरासतमा राख्नु अनौठो भएन, वरिष्ठ अन्तर्राष्ट्रिय रक्षा अध्ययनकर्ता टिमोथी हिथ भन्छन्, ‘सीको विरोध गर्नसक्ने सम्भावना भएका पीएलएका अधिकांश नेता निशानामा छन्।

उदीयमान वरिष्ठ चिनियाँ नेता सुन झेङ काई यही निशानामा परेका थिए। कुनै बेला चीनको केन्द्रीय नेतृत्व सम्हाल्ने दाबेदार नेताका रुपमा चर्चामा आउने सुन अहिले गुमनाम छन्। चीनको राज्य सञ्चालनमा शक्तिशाली सात सदस्यीय पार्टी स्थायी समितिको सदस्यका प्रबल दाबेदार मानिएको बेला उनीविरुद्ध गम्भीर अनुशासन उल्लंघनको छानबिन चल्यो।

चर्चित चोङकिङ महानगरमा चिनियाँ कम्युनिस्ट पार्टी प्रमुख बाटै उनको राजनीति सिध्याइयो। त्यसबेला चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण बैठकमा राष्ट्रपति सी र प्रधानमन्त्री लि खछियाङका सम्भावित उत्तराधिकारी भनेर चर्चा बटुलिरहेका सुन पार्टीको पोलिटब्यूरोका सबैभन्दा कान्छा सदस्य थिए।

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरोमा २५ सदस्य हुन्छन्। पोलिटब्युरो भन्दामाथि शासन सञ्चालनमा सबैभन्दा शक्तिशाली सात सदस्यीय स्थायी समिति मात्र हुन्छ।

सीको प्रतिरोध गर्ने नेता सबै निशानामा
हङकङको मिङ पाओ समाचार पत्रका अनुसार चीनको चर्चित् महानगर चोङकिङका प्रभावशाली र उदाउँदा पार्टी प्रमुख बो सीलाई सी राष्ट्रपति बनेपछि एकाएक भ्रष्टाचारजन्य कसुर र एक बेलायती व्यापारीको हत्या अभियोगमा मृत्युदण्डको सजाय दिइयो।

बोलाई हत्या र भ्रष्टाचारको आरोपमा सन् २०१३ मा सबै जिम्मेवारीबाट निलम्बन गरी जन्मकैदमा परिवर्तन गरियो। त्यसपछि उनको अवस्था अज्ञात छ। त्यसपछि सीलाई केन्द्रीय राजनीतिमा चुनौती दिनसक्ने ठानिएका अर्का उदीयमान वरिष्ठ चिनियाँ नेता सुन झेङ काई त्यस्तै निशानामा परे। पोलिटब्यूरो सदस्य बनिसकेका प्रभावशाली नेता सुन झेङ काई निकट थुप्रै सैन्य वरिष्ठ अधिकारी अहिले पनि सेवामा छन् तर उनिहरुको सबै निगरानीमा छन्। लगत्तै चिनियाँ कम्युनिष्ट पार्टीका अर्का उदीयमान युवा नेता वान खिङ लि आङमाथि भ्रष्टाचारको अभियोग लाग्यो। पार्टी अनुशासन आयोगले वानले ‘गम्भीर अनुशासन उल्लंघन’गरेको आशंकामा छानबिन थालिएको जनाएपछि उनी एकाएक बेपत्ता भए।

चिनियाँ कम्युनिष्ट पार्टीका उदीयमान नेताका रुपमा हेरिएका सबैभन्दा कम उमेरमा मेयर मितव्ययिताको नीतिका कारण वान ग्वाङझाओ नगरमा निकै सम्मानित युवा मानिन्थे। तर सी प्रशासनको निशानामा परे।

सीले सत्तामा आएको दुई वर्षपछि आन्तरिक सुरक्षा मामिलाका भूतपूर्व प्रमुख झु योङ काङलाई पनि भ्रष्टाचारको अभियोगमा गिरफ्तार गराएका थिए। जो चीनको राजनीतिमा बो सीलाई निकट र सीको प्रतिद्वन्द्वी नेता मानिन्छन्। उनको अवस्था पनि अहिले अज्ञात नै छ।

समाचार अनुसार, सन् २०१२ मा राष्ट्रपति नियुक्त भएलगत्तै पार्टीमा, प्रशासनमा र सेनामा ठूलो ओहदामा पुगेका हरेक व्यक्तिलाई लक्षित गरेर भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेका सीले सम्भवना बोकेका सयौं प्रतिस्पर्धीलाई पक्राउ गराएकै कारण तेस्रो पटक राष्ट्रपति बन्दासमेत प्रमुख नेता (राष्ट्रपति र प्रधानमन्त्री) सत्ताबाट बाहिरिएपछि कसले शासनसत्ता सम्हाल्छ भन्ने भरपर्दो उत्तराधिकारी जन्मिएको छैन।

चीनमा प्रायः १० वर्ष अर्थात् दुई कार्यकाल सत्ता सञ्चालन गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीको कार्यकाल पूरा हुने गरेकोमा आफ्नो उत्तराधिकारी अघि बढाउन नसकेका सीले आफ्नै कार्यकाल मात्र लम्ब्याएर बसेका छन्। बेलायती सञ्चारमाध्यम बीबीसीका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीमा नेतृत्व हत्याउने तिब्र होड छ। तर नेतृत्व हस्तान्तरण सहज छैन।

आधिकारिक रुपमा चिनियाँ जनकांग्रेसले कुनै घोषणा नगर्दासम्म जे पनि हुन सक्छ, जो पनि नेतृत्वमा आउनसक्छ। बोस्टन विश्वविद्यालयका विज्ञ प्राध्यापक जोसेफ फ्युस्मिथ भन्छन्, ‘सीले तीन कार्यकाल पुरै मुलुकको नेतृत्व गर्दा देखाएको निर्विवाद नेतृत्व र अतुलनीय शक्ति दुरुपयोग अर्को चार वर्षपछि छताछुल्ल हुनसक्छ।’

बन्द कोठाभित्र हुने महत्वपूर्ण निर्वाचनबाट चीनले आगामी नेतृत्व चुन्दा तत्काल नयाँ पुस्ताका नेता अगाडि सार्ने सम्भावना अहिले देखिएको छैन। नेता सुन, वान तथा बो सी जस्तै राष्ट्रपति सीप्रति अनुदार देखिएका नयाँ पुस्ताका थुप्रै नेताले पूर्वाग्रही ढंगले एक्कासी पद गुमाएका छन्। भ्रष्टाचार दाग लगाइएको छ।

यसले विष्फोटक रुप लिनसक्छ। अहिले राष्ट्रपति सीले राजनीतिक तथा सैन्य मोर्चामा रहेका माथिल्लो तहका अधिकारीको बफादारितामा शंका गरेर राजनीतिक षडयन्त्र गरिरहेका छन्, यो प्रत्युत्पादक बन्न सक्छ।

पार्टीको शक्तिशाली निर्णायक निकाय पोलिटब्यूरो र स्थायी कमिटीका सदस्य नै फौजदारी अभियोग र दण्ड सजायको भागिदार बन्न थालेपछि चीनको राजनीतिमा भ्रष्टाचार विरोधी अभियानले सी धारका राजनीतिक प्रतिस्पर्धी र अन्य गुट निस्तेज बनेका छन्।

अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएका वरिष्ठ चीन विश्लेषक नील टमसका अनुसार, सीले सत्तामा पुग्दा जो जोसँग सम्झौता गरेका थिए, कम्युनिस्ट पार्टीभित्रका ती पुराना नेताहरु नै सीको सत्ता कब्जा गर्ने अभियानका क्रममा किनारामा पुगिसकेका छन्।

अर्बपति निरन्तर बेपत्ता
चीनमा सी नेतृत्वमा आएपछि वरिष्ठ सैन्य अधिकारी र प्रभावशाली नेता मात्र होइन, थुप्रै अर्बपति बेपत्ता भएका छन्। केही समयअघि, चिनियाँ प्रविधि उद्योगमा चर्चामा आएका बाओ फ्यान बेपत्ता भए। यो अर्बपति व्यवसायी हराउने श्रृंखलाको अर्को घटना थियो।

चाइना रेनासान्स होल्डिङ्सका संस्थापक बाओ फ्यान बेपत्ता हुनुअघि, चीनको प्रशासनले उनको व्यवसायमाथि अनुसन्धान चलाइरहेको समाचार बाहिर आएको थियो। तर कुन सरकारी निकायले के अनुसन्धान गरिरहेको थियो। त्यो सार्वजनिक नभई उनी लामो समय बेपत्ता भए।

चीनको अर्थतन्त्रमा आफ्नो नियन्त्रण बढाउने राष्ट्रपति सीको नीति कै कारण उनी नेतृत्वमा आएपछि, चीनको फोसुन समूहका संस्थापक गुओ ग्वान चाङ सन् २०१५ मा कैयौँ दिन हराएका थिए। सी प्रशासनले इङ्लिस प्रिमियर लिगको एउटा क्लबको स्वामित्व लिएको समाचार बाहिरिए लगत्तै अर्बपति गुओ ग्वान चाङलाई निगरानीमा राखेको थियो। पश्चिमा मुलुकमासमेत चिनिएका चिनियाँ व्यवसायी गुओ ग्वान चाङ हराएको दुई वर्षपछि, सरकारी अनुसन्धान प्रक्रियामा सघाई रहेको बताउने, चिनियाँ-क्यानडिअन व्यवसायी स्यो जिअन ह्वा हङकङको एउटा होटेलमा पक्राउ परे।

चीनका सबैभन्दा धनी व्यवसायीको शीर्ष सूचीमा रहेका उनलाई हङकङ केन्द्रित व्यवसाय गरेको आरोप लगाइएको थियो। तर अहिले उनलाई भ्रष्टाचारको आरोपमा जेलमा हालिएको छ। लगत्तै सन् २०२० को मार्चमा कोरोना महामारीले चीनको अर्थतन्त्र ओरालो लागिरहेको बेला, चिनियाँ राष्ट्रपति सीको कोभिड व्यवस्थापनको आलोचना गर्ने चीनका घरजग्गा व्यवसायी रेल जिच्याङ बेपत्ता पारिए। अहिले उनी सीको आलोचना गरेकै कारण त्यही भ्रष्टाचारजन्य कसुरको आरोपमा १८ वर्षको जेल सजाय भोगिरहेका छन्।

रेल जिच्याङलाई जेल हाले लगत्तै चीनका सफल व्यापारिक समूह अलिबाबाका संस्थापक ज्याक मा हराए। उनी सन् २०२० को अन्त्यमा चीनमा डिजिटल कारोबार कम्पनी एन्ड फाइन्यान्सिअललाई शेयर बजारमा सूचीकृत गर्ने तयारीमा थिए। त्यही बेला सी प्रशासनले उनलाई नियन्त्रणमा लियो। झण्डै दुई वर्ष सार्वजनिक जीवनमा कतै नदेखिएका ज्याकमा अहिले पूर्ववत् व्यवसायमा फर्किएका छन् तर उनी बेपत्ता हुनुको कारण खुलाएका छैनन्।

चाहेर अथवा नचाहेर आर्थिक उदारीकरणको बाटोमा गईसकेको चीनमा अहिले अर्बपतिहरूको समूह ठूलो छ। जसले बन्दुकको नालबाट राजनीतिक शक्ति आर्जन हुन्छ भन्ने माओ त्सेतुङको पदचाप पछ्याई रहेका सीलाई आफ्नो सम्पत्तिको बलमा शक्ति आर्जन हुनसक्छ भन्ने धक्का दिनसक्ने त्रासले लखेटेको हुनसक्छ। त्यसैले रहस्यमयी ढङ्गले चीनका अर्बपति व्यवसायी अनि उच्च राजनीतिक सम्भावना बोकेका राजनीतिक पुस्ता एकपछि अर्को गर्दै सीको निशानामा परिरहेका हुनसक्छन्। वर्तमान रक्षामन्त्री अथवा पूर्व विदेश मन्त्री त्यसैको एउटा अध्याय हो।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ९ : ५८ बजे

बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

काठमाडौं– बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ

नहरमा डुबेर कैलालीका एक युवक बेपत्ता

धनगढी– नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन् ।

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा